खाली खुट्टा सुन्निए
हरिगोपाल श्रेष्ठसँग नेपालमा कम्प्युटर भित्र्याएदेखि स्कुल, कलेजमा यस विषयको पाठ्यक्रम बनाएको लामो अनुभव छ । उहाँले कम्प्युटरसम्बन्धी १७ वटा पुस्तक लेख्नुभएको छ । राजधानीका विभिन्न शिक्षण संस्थाका साथ रहेर काम गर्नुभएको छ । विभिन्न २५ देशको भ्रमण गर्नुभएको छ । आधा दर्जनभन्दा बढी पुरस्कार पाउनुभएको छ । शिक्षक तथा प्रशिक्षक भएर ३० वर्षभन्दा बढी बिताउनुभएको छ । उहाँ २००२ साल जेठमा काठमाडौंको मखन टोलमा जन्मनुभएको हो । उहाँका पिताको नाम हरिबहादुर र माताको नाम लक्ष्मीकुमारी हो । कम्प्युटरसम्बन्धी उहाँको पहिलो लेख २०३२ सालमा गोरखापत्रमा छापिएको थियो । त्यसपछि उहाँले कम्प्युटरकै विषयमा धेरैपटक विभिन्न पत्रपत्रिकामा लेखहरू लेख्नुभएको छ । समाजसेवामा रुचि राख्ने श्रेष्ठको बाल्यकालका केही सम्झना यसपटक ‘सानो छँदा’ स्तम्भमा :
मेरो पिताले तत्कालीन नेपाली ४ पास र ११ पासमात्र गर्नुभएको थियो । यो भनेको स्कुलको शिक्षा होइन । घरव्यवहारमा चाहिने केही अत्यावश्यक पढाइ हो । त्यसैले उहाँले अंग्रेजी शिक्षा पाउनुभएको थिएन । उहाँ रामेछापमा जन्मनुभएको हो । सानै उमेरमा काठमाडौंमा आउनुभयो । गुठी अड्डा र कुमारी चोकमा राइटर पोस्टको म्यादी कर्मचारी बन्नुभयो । यो काममा थोरै आम्दानी हुन्थ्यो । मलाई स्कुल पढाउन खर्च पुग्दैनथ्यो । म जेपी स्कुलमा पढ्थेँ । प्रतिमहिना २ रुपैयाँ तिर्न गार्हो पर्थ्यो ।
म कक्षा ५ मा पढ्दाको कुरा हो । शुल्क तिर्न पनि ज्यादै गार्हो भयो । समय-समयमा नाम काटेको सूचना पाए पनि म कक्षामा नछुटाई जान्थे । अर्धवार्षिक र वार्षिक परीक्षामा पनि ५/६ महिनाको शुल्क नतिरेकाले परीक्षा दिन नपाउने भएँ । अंग्रेजी शिक्षक उदयमान श्रेष्ठ हाम्रो छिमेकमा बस्नुहुन्थ्यो । मेरो पिता भनसुन गर्न उहाँको घर जानुभयो । त्यसपटक मैले परीक्षा दिन पाएँ ।
कक्षा ५/६ सम्म पनि हामी जुत्ता नलगाई खाली खुट्टा स्कुल जान्थ्यौं । भुइँतलामा कक्षा थियो । चिसोले खुट्टा सुन्निन्थे ।
किताब राख्ने झोला हुँदैनथ्यो । गाडीको चक्काको ट्युब काटेर बनाइएको रबरको तुनाले किताब र कपी बाइन्ड गरी बोकेर स्कुल जान्थ्यौं । मसी भरीको फाउन्टेन पेन वा होल्डरले स्कुलमा लेख्नुपर्थ्यो । हाफटाइममा खाजा किनेर खान आमाले महिनामा २/३ पटक २ पैसामात्र दिनुहुन्थ्यो । त्यो पैसाले आइसक्रिम वा आलुवः (आलुको चाङलाई लाम्चो पारेर बेसनमा घुलेर तेलमा फ्राइ गरेको रोटी) किनेर खान्थे । कहिलेकाहीँ स्कुलबाहिर बेचिराखेको काँक्राको टुक्रा वा आलुबखरा किनेर खाइन्थ्यो । जेपी स्कुलको उत्तरतर्फ कहिलेकाहीँ सर्वमान्य नेता गणेशमानसिंहको चाक्सीबारीनेर फलफूल चोर्न साथीहरूका साथ जान्थ्यौं ।
उदयमान सरको घरमा जेपी स्कुलका विद्यार्थीले वार्षिक परीक्षा दिँदा चेक गरिसकेका फ्याँक्ने ३/४ सय कापी म लिन जान्थे । मेरो पिताजीले दुवैतर्फ खाली भएको, एकातर्फ मात्र खाली भएको र दुईतर्फ लेखिएको गरी ३ प्रकारको पानाहरू चाङचाङ पारी छुट्याइदिनुहुन्थ्यो । दुवैतर्फ खाली भएको ४०/५० पेजको कापीहरू बनाई स्कुल लिएर जान्थेँ । एकातर्फ खाली पेजबाट बनेको कापीमा घरमा अंग्रेजी लेख्न प्रयोग गर्थेँ । दुवैतर्फ लेखिएको पानामा बाँसको कलम र कालो मसी प्रयोग गरी ठूला अक्षरको नेपाली राइटिङ लेखेर पितालाई दैनिक ४/५ पेज देखाउनुपर्थ्यो । पिताजीले अंग्रेजी अक्षर नचिने पनि अंग्रेजी पनि ४/५ पेज जे भए पनि लेखेर दैनिक बुझाउनुपर्थ्यो ।
मलाई चित्र कोर्न सार्है मन पर्थ्यो । तर चित्र लेखेपछि चित्रकार बन्छ भनी पिताजीले मलाई देखिसक्नु हुन्नथ्यो । रङ किन्न र कपी किन्न पैसा छैन भन्नुहुन्थ्यो । तर मोटो टाकाले ठूलो अक्षर लेखेको र अंग्रेजी लेखेको फ्याँल्ने कापी मुठा पारेर मरुटोलमा रङ पसलमा दिन्थेँ । त्यसको सट्टा आधा आधा चम्चा नीलो, हरियो, रातो र पहेँलो रङ पाउँथेँ । तीनै रंगलाई पानी मिसाई स-साना औषधिका खाली सिसीमा घोल रङ तयार गर्थें । ऐना हेर्दै कपाल काटेर कुचोको डाँठमा बाँधेर ब्रुस बनाउँर्थें । यसरी चित्रहरू बनाई रङ्गाउँदै साथीहरूबीचमा चित्र कोर्न जान्ने मान्छे कहलिन्थेँ । एसएलसीमा ड्रइङ्ग लिएर प्रवेशिका परीक्षा उत्तीर्ण भएँ । ड्रइङमा जहिल्यै पहिलो हुन्थे । विभिन्न प्रदर्शनीमा भाग लिएर चित्रकलामा मेडल पाएको थिएँ ।
बल खेल्न मन लाग्थ्यो । तर पैसा हुन्नथ्यो । टुँडिखेल जान्थेँ । त्यहाँ एनआरटी, संकटा वा अरू क्लबका खेलाडी खेलिरहेका हुन्थे । म गोलकिपरका पछाडि पर्खेर बस्थेँ । गोलकिपरले समात्न नसकेर हुत्तिएको बल दौडेर समात्न जान्थेँ । त्यो बल फेरि खेलाडी वा गोलकिपरलाई पास दिन्थेँ । त्यति गर्न पाउँदा आफूलाई ज्यादै रमाइलो हुन्थ्यो । खेल्न मन लागेपछि मखन गल्लीमा पर्शुराम दाइको घरेलु बगैंचामा भोगटेको सिजनमा भोगटे चोर्न गइन्थ्यो । मेरो सार्है मिल्ने साथी कृष्णचन्द्र श्रेष्ठ र म बगैंचामा लुकेर पुग्थ्यौं । फुटबलका लागि ठिक्कको भोगटे चोर्थ्यौं । टुँडिखेल पुथ्यौं । ५/६ जनाको दुई समूह बनाई खेल्थ्यौं । राति ६/७ बजे घर फर्कथ्यौं । मलाई पिताजीले देख्नु होला भनी भर्याङमा विस्तारै हिंडेर आवाज नआउने गरी भान्छा पुग्थेँ । पिताजी खाना खान भान्छामा आउँदा माताजीसँग पहिलेदेखि नै बसिराखेको भन्ने भान पार्थें । अर्थात साँझमा घर फर्किसकेको भनी पिताजीलाई देखाउन पर्थ्यो । अन्यथा सजाय पाइने वा गाली खानुपर्थ्यो ।
मेरा माताजीले अंग्रेजी फस्टबुक पढ्नु भएकाले मलाई अंग्रेजी र दुनट (दुई एकान दुई, दुई दुना चारको गणित तालिका) पढ्न सघाउनुहुन्थ्यो । म जेठो छोरो भएकाले माताजीलाई सानो छँदा भान्छामा सघाइदिन्थेँ । काम सघाइदिँदा मलाई दुनट घोकाई कन्ठ गराउनु हुन्थ्यो । पूजाकोठामा बस्दा भगवानका श्लोकहरू उच्चारण गरी भजन गर्न सिकाइदिनु हुन्थ्यो । स्वस्थानी कथावाचन गर्नुभन्दा अघि र पछिका आराधना श्लोक पनि मलाई माताजीले नै सिकाउनुभएको थियो ।
असल मान्छे बन्न पहिले शिक्षा आर्जन गर्नुपर्छ । नम्र भएर बोल्नुपर्छ । आफ्नो खुट्टामा आफैं उभिन सक्ने हुनुपर्छ भन्ने जस्ता ज्ञान मलाई माताजीले दिनुहुन्थ्यो । शिक्षित व्यक्तिलाई समाजमा उच्च स्थान मिल्छ । त्यसबेला अर्थात आजभन्दा ५०/६० वर्षअघि धेरै पढेका आफन्त तथा छिमेकीको उदाहरण दिएर सधैं सम्झाउनु हुन्थ्यो ।
माताजी काठमाडौंकै हो । पिताजी बाहिरबाट आएकाले कहिलेकाहीँ धेरै कुराहरू मिल्दैनथे । फरक संस्कारले गर्दा यसो भएको हो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ चैत २९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)