संस्कृत हुँदै विज्ञान
प्रा. डा. होमनाथ भट्टराई
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति हुनुहुन्छ । गणितका प्राध्यापक भट्टराईले अमेरिकाको युनिभर्सिटी अफ ओरेगनबाट विद्यावारिधि (पीएचडी) गरेको २१ वर्ष बितिसकेको छ । उहाँको जन्म २००१ साल असारमा अर्घाखाँचीको वाङ्ला गाउँमा भएको हो । उक्त गाउँ अहिले सन्धिखर्क गाउँ विकास समितिमा छ । उहाँका पिताको नाम पण्डित टीकाराम र माताको नाम भीमा हो । दुई दिदी जन्मेपछि पहिलो आमाको निधन भयो । बुबाले दोस्रो विवाह गर्नुभयो । होमनाथ जेठो छोराका रूपमा जन्मनुभयो । उहाँका चार भाइ जन्मे । उहाँले विद्यालय र स्नातक तहका गणितका पाठ्यपुस्तक लेख्नुभएको छ । स्वदेश तथा विदेशका विभिन्न जर्नलमा रिपोर्ट प्रकाशित छन् । उहाँ गोरखादक्षिणबाहु तेस्रो, शिक्षा पुरस्कार, महेन्द्र विद्याभूषण आदिबाट सम्मानित हुनुभएको छ । २०६३ साल जेठदेखि नास्टका उपकुलपति नियुक्त भट्टराईले १५ भन्दा बढी देशको भ्रमण गर्नुभएको छ । उहाँले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा धेरै कार्यपत्र पेस गर्नुभएको छ । उहाँ सानो कक्षादेखि उच्च शिक्षा पूरा गर्दा सधैं प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । यसपटक प्रा. डा. भट्टराईका बाल्यकालका केही सम्झना :मेरो न्वारानको नाम होमनाथ नै हो । मलाई सानोमा बाबुराम भनिन्थ्यो । त्यो बेलाको वाङ्ला दुर्गम गाउँ थियो । अर्घाखाँचीबाट काठमाडौंभन्दा भारतनजिक हुन्थ्यो । तीन दिन हिँडेर बुटवल पुगिन्थ्यो । त्यसपछि भारत जाने गरिन्थ्यो । जागिर खान, पढ्न वा अलि ठूलो किनमेलका लागि भारत पुग्नुपर्थ्यो ।
वाङ्ला गाउँमा अहिलेजस्तो स्कुल थिएनन् । घरमा पढाउने मान्छे राखेर केटाकेटी पढाउने चलन थियो । बुबा कामका लागि भारततिर धेरै समय रहनुहुन्थ्यो । त्यसैले भारत जाउआउ भइरहन्थ्यो । म छ महिनाको हुँदा आमा मलाई लिएर अहिलेको पाकिस्तानको क्वेटा र लाहोरसम्म पुग्नुभएको थियो रे । त्यो सन् १९४७ भन्दा पहिलेको कुरा हो । सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएर दुई राष्ट्र बनेका हुन् ।
आमा साक्षर हुनुहुन्थ्यो । आमाले नै सुखसागर, कृष्णचरित्र, रामायण आदि पढेर सुनाउनुहुन्थ्यो । बुबा, काका सबै पण्डित भएकाले र आमाले धार्मिक पुस्तक पढेर सुनाउनाले नैतिकता सिकियो । धार्मिक प्रभाव पनि पर्यो । सांस्कृतिक छाप पर्यो । पढ्दा पनि चण्डी, रुद्री, दुर्गा कवच, कौमुदी पढियो । तमसुक लेख्ने पनि पढियो । हामीलाई पढाउने पं. रुद्रनाथ आचार्य हुनुहुन्थ्यो । उहाँ हाम्रो नातेदार हुनुहुन्थ्यो । उहाँ आमाका मामा हुनुहुन्थ्यो । उहाँले गाउँघरका बालबालिका भेला पारेर तीनै धार्मिक पुस्तक पढाउनुहुन्थ्यो । उहाँ संस्कृतको व्याकरण पढाउनुहुन्थ्यो । पं. आचार्यले पढाउन छाडेपछि म उहाँकै घर गएँ । उहाँको घर ‘डिभर्ना’ मा थियो । उहाँकै घरमा ‘लघु कौमुदी’ पढें । स्कुल नगई म १० वर्षको हुँदासम्म रह्यो ।
हाम्रो परिवार खान-लाउने परिवार हो । बुबा भारतको सेनामा पण्डित भएकाले धेरै भरोसा थियो । यता घरपरिवार खेतीमा भर परेको थियो । कृषि भएकाले कहिलेकाहीँ गोठालो गइन्थ्यो । हाम्रो घरमा कुमाल परिवार ‘बाधा’ बसेको थियो । धेरै काम उनीहरूले सघाउँथे । उनीहरूले अरू काम गर्दा म गोठालो जान्थें । घरमा प्रशस्त गाई, बाख्रा थिए । त्यसबेला हामी खाली खुट्टा हिँड्थ्यौं ।
दस वर्षको भएपछि म कोलकाता गएँ । बुबा त्यहीँको सैनिक पल्टनमा पण्डित हुनुहुन्थ्यो । त्यहाँ पुगेपछि मेरो संस्कृत पढाइ छुट्यो । अंग्रेजी सुरु भयो । मेरो पढाइ राम्रो होस् भनेर बुबाले एकजना शिक्षकको व्यवस्था गर्नुभएको थियो । ‘मास्टरजी’ निवासमै आएर पढाउनुहुन्थ्यो । मैले त्यसरी एक वर्ष पढें । एक वर्षपछि त्यहाँको एउटा अंग्रेजी स्कुलमा पढ्न थालें । त्यहाँकी हेडमिस बेलायती हुनुहुन्थ्यो । त्यो स्कुल बारेकपुर एयरपोर्टमा थियो । मैले त्यहाँ सेकेन्ड स्ट्यान्डर्डमा पढें । मास्टरजी र त्यही स्कुलका कारण अंग्रेजीको जग बस्यो । म कोलकाता गएको दुई वर्षपछि पल्टन अन्यत्र सर्यो । बुबाको सरुवा भयो । मेरो पढाई छुट्यो । बुबालाई पढाउने इच्छा थियो । त्यसैले मलाई बनारस लानुभयो । काठमाडौं आउन त्यति सजिलो नभएकाले नै पश्चिम नेपालबाट पढ्न चाहनेहरू बनारस पुग्थे । म पनि पुगें । बनारस पुगेपछि मेरो अंग्रेजी पढाइ छुट्यो । संस्कृत सुरु भयो । म रामानुज संस्कृत पाठशालामा पढ्न थालें । त्यहीबाट प्रथमा (कक्षा ८ बराबर) को परीक्षा दिएँ ।
बनारस र अर्घाखाँचीबीच संस्कृत पढाइको सम्बन्ध थियो । अर्घाखाँचीको खिदिममा हरिहर गौतमले ‘हरिहर व्याकरण पाठशाला’ स्थापना गर्नुभएको थियो । उहाँ धेरै धनी हुनुहुन्थ्यो । पाठशालामा बसेर पढ्ने सबैको खर्च आफैं दिनुहुन्थ्यो । त्यसक्षेत्रका विशिष्ट गुरु दधिराम मरासिनीले त्यही पाठशालामा शिक्षक भएर काम गर्नुभएको थियो । त्यसबेला त्यस क्षेत्रबाट पढेर आएका सबैजसो हरिहर पाठशालाका विद्यार्थी छन् । म मात्र कोलकाता पुगें । हरिहर पाठशालाको शाखा बनारसमा थियो । उक्त शाखामा पश्चिम नेपाल- गुल्मी, पाल्पा, प्यूठान आदि जिल्लाबाट गएका धेरै विद्यार्थी पढ्थे । नेपालको पढाइ सक्न त्यहाँ जानुपर्थ्यो । त्यहाँ गएर संस्कृतमा मध्यमा सकिन्थ्यो । त्यति पढाइका लागि पनि हरिहर गौतमले खर्च बेहोर्नुहुन्थ्यो । त्यहाँ ज्ञानहरि आचार्य, ढुण्डीराज शास्त्री आदि पढ्नुहुन्थ्यो । मेरो संगत त्यहाँ पढ्ने नातेदार, छिमेकी, साथीसँग थियो । संगत भए पनि मैले उक्त शाखामा पढिनँ ।
मचाहिँ संस्कृत विश्वविद्यालयमा भर्ना भएँ । पूर्वमध्यमाको प्रथम खण्डको परीक्षा दिएँ । व्दितिय खण्ड र प्राइभेटबाट यूपी बोर्डको हाइस्कुल परीक्षा एकैपटक दिएँ । २०१७ मा हाइस्कुल परीक्षा दिएपछि एसएलसीबराबरको पढाइ सकियो । संस्कृतको विद्यार्थी भए पनि अंग्रेजी जानेकाले मैले यो परीक्षामा सामेल हुन पाएको थिएँ । मेरा लागि गणित अलि कठिन विषय थियो । बाबुहरि ज्ञवालीका सहयोगमा मैले गणितमा धेरै नम्बर ल्याएँ । हाइस्कुल परीक्षा गणित, अंग्रेजी, हिन्दी, नेपाली, इतिहास र संस्कृत गरी ६ सय पूर्णांक थियो ।
बनारसमा हामी नातेदारहरू समूहमा मिलेर एक ठाउँमा बस्थ्यौं । खाना आफैं पकाए पनि भाँडा माझ्ने मानिस थियो । त्यस्ताले थोरै पैसामा काम गरिदिन्थे ।
अर्घामा हामी लारीबियो (डन्डिबियो) खेल्थ्यौं । कोलकातामा खेलकुद हुन्थ्यो । क्रिकेट नै खेलिन्थ्यो । फिल्म हेरिन्थ्यो । सैनिक पल्टनमा प्रत्येक बिहीबार फिल्म देखाइन्थ्यो । हामी सानाहरू बेलैमा खाना खाएर फिल्म हेर्न पुग्थ्यौं । हामी फिल्मलाई बाइस्कोप हेर्ने भन्थ्यौं । कालो-सेता फिल्म हुन्थे । पर्दा टाँगेर देखाइन्थ्यो । कलाकारले मुख चलाएको र आवाजको समय फरक फरक हुन्थ्यो । मिलेजस्तो लाग्दैनथ्यो ।
मेरो पढाइ राम्रो थियो । कहिल्यै सजाय पाइनँ । आमाले बढी पिट्नुभयो होला । बुबा त कहिलेकाहीँ घर आउनुहुन्थ्यो । तैपनि पढाइमा चासो दिनुहुन्थ्यो । गाउँमा कौमुदी पढ्दा भने बुबाले अप्ठ्यारामा पार्नुहुन्थ्यो । कोही पण्डित घरमा आए भने बुबा भन्नुहुन्थ्यो, ‘यसलाई कति आउँछ, सोध्नुहोस् त ?’ त्यसबेला चाहिँ मलाई गाह्रो लाग्थ्यो ।
एक साँझको कुरा हो । म पढिरहेको थिएँ । मेरो नबोली पढ्ने बानी थियो । बुबाले भन्नुभयो, ‘बोलेर पढ् ।’ गुरुले नबोली पढ्नु भन्नुभएको छ भनें । अर्को दिन हामी पढेका ठाउँमा बुबा पुग्नुभयो । उहाँले गुरुसँग सोध्नुभयो । गुरुले त्यसबेला केही गर्नुभएन । केही बोल्नु पनि भएन । बुबा हिँडेपछि गुरुले टाउकाको पछाडि घुम्ने गरी हिर्काउनुभयो ।
म ६/७ वर्षको थिएँ । एक साँझ खाना खाएर सुत्न गएँ । आमा खाँदै हुनुहुन्थ्यो । म भाते निद्राले सुस्ताउन लागेको रहेछु । आमाले काम अह्राउनुभयो । मलाई अल्छी लागेको रहेछ र मैले भनेछु, ‘आमा म ठूलो भएर दुइटी बिहे गर्छु । भाइले दुई बिहे गर्छ । चारजनाले सबै काम भ्याइहाल्छन् नि ।’ आमाले केही भन्नुभएन । भोलिपल्ट मैले भनेका कुरा आमाले अरूलाई सुनाउदा चाहिँ लाज लाग्यो । त्यो सम्झँदा अझै लाज लाग्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ चैत ८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)