जयकुमारनाथ शाह सानो छँदा

खेलमा सधैं अब्बल

जयकुमार नाथ शाहले क्रिकेट खेलका क्षेत्रमा धेरै कामहरू गर्नुभएको छ । शाह नेपालका लागि ग्रिसका अवैतनिक महावाणिज्यदूत हुनुहुन्छ । नेपाली क्रिकेट खेलाडीलाई विदेशका मैदान पुर्‍याउन उहाँको ठूलो योगदान छ । उहाँ सन् १९६५ देखि सन् २००६ सम्म नेपाल क्रिकेट संघको अध्यक्ष रहनुभयो । यहि ४१ वर्षमा नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट संघको सदस्य भयो । राम्रो काम गरेवापत उहाँलाई सन् २००३ मा एसियाली क्रिकेट संघको क्षेत्रीय र सन् २००४ को विश्व पुरस्कार प्रदान गरियो । उहाँले गोरखा दक्षिणबाहु पनि पाउनुभएको छ । शाहको जन्म सन् १९३० मे २१ मा ललितपुरको कुपन्डोलमा भएको हो । उहाँका पिता जगदीशप्रसाद नाथ शाह र आमा होमकुमारी देवी हो । उहाँकी एक दिदी र एक भाई जन्मनुभएको थियो । आफ्नै खर्चमा सकेत नेपालको क्रिकेट खेललाई विश्वभर पुर्‍याउन उहाँले धेरै प्रयास गर्नुभयो । यसपटक शाहका बाल्यकालका केही सम्झना :
सात वर्षको छँदा मैले श्रीदरबारमा क्रिकेट खेलेको देखेको हुँ । यो खेल राणा दरबारमा मात्र खेलिन्थ्यो । दोस्रो विश्वयुद्ध भयो । दोस्रो विश्वयुद्धपछि सन् १९४६ (२००३ साल) मा नेपाल क्रिकेट संघको स्थापना भएको हो । त्यसपछि मात्र यो खेल जनताको स्तरमा आयो ।
जनताको स्तरमा आएपछि ३/४ वटा मात्र टिम देखिए । हाम्रो टिम चाहिं क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) नै थियो । क्यानबाहेक काठमाडौं खेल मण्डल क्रिकेट पनि खेल्थ्यो । खेल मण्डल वास्तवमा फुटबलका लागि प्रख्यात थियो । अनि भारतीय दूतावासको टिम थियो ।
मलाई मामा धीर विक्रम शाहले क्रिकेट सिकाउनुभएको हो । मेरा सबै मामाहरू खेलकुदमा धेरै चासो राख्नुहुन्थ्यो । मामा धीर विक्रम चाहिं मेरो आदर्श हुनुहुन्थ्यो ।
त्यसबेला क्रिकेटका लागि सबै खेल-सामग्री बेलायतबाट आउँथे । क्रिकेट ब्याट ५० रुपैयाँसम्मका थिए । बल चाहिं ८/१० रुपैयाँ पर्थ्यो । क्रिकेटका महँगो खेल-सामग्री प्रयोग गर्नेलाई त्यसबेला ‘प्रीन्सेस’ (राजकुमार) भनेर आदर गरिन्थ्यो ।
पढाईको कुरा गर्दा हामीले घरमै पढ्यौं । घरमा तुलसी सर र खड्ग सर आउनुहुन्थ्यो । उहाँले पढाउनुहुन्थ्यो । मैले र भाईले मात्र स्कुल जाने मौका पायौं । दिदीले भने घरमा जति पढ्नुभयो, त्यतिमा पढाई रोकियो ।
घरमा पढ्दा सिलेटमा अक्षर सिकिन्थ्यो । हामीले क, ख, ग ….र ए बि सि… एकै साथ सिक्यौं । त्यसबेला ‘ट्रान्सलेसन’ रटाउने चलन थियो । अंग्रेजी र त्यसैको नेपाली वाक्य लेखेर घोक्नुपर्थ्यो ।
त्यसबेलाको काठमाडौं रमाइलो थियो । अलिअलि गाउँजस्तो थियो । पिच थिएन । वागमतीमा एकतर्फा पुल थियो । वागमतीमा पानी सफा थियो । त्यहि पानी पौडी खेलिन्थ्यो । पानी घुटघुट खान हुन्थ्यो ।
घरको पढाईपछि म आठ वर्षको उमेरमा भारतको राँची पढ्न गएँ । राँची पुग्न घरबाट घोडा चढेर भीमफेदी जानुपर्थ्यो । त्यहाँबाट बस, लरी वा ट्रकमा रक्सौल पुगिन्थ्यो । रक्सौलबाट सुगौली अनि पलेजाघाट पुगिन्थ्यो । त्यसपछि स्टिमर चढेर पटना जानुपर्थ्यो । पटनाबाट रेल चढ्नुपर्थ्यो । हामी गोमो भन्ने ठाउँ पुग्थ्यौं । त्यसपछि राँचीरोड अनि बस चढेर राँची पुगिन्थ्यो । यो यात्रा ३/४ दिनको हुन्थ्यो ।
राँची स्कुल सरकारी थियो । हेडसर बेलायती थिए । अलि बढी सुख-सुविधा थिए । खेलकुदमा बढी ध्यान दिइन्थ्यो ।
राँची त्यसबेला बिहार राज्यमा थियो । अहिले झारखण्डमा छ । राँची जिल्ला स्कुलमा म भर्ना भएँ । म त्यहाँ नातेदारका घरमा बस्थें ।
राँचीमा पनि खेलकुदमा प्रशस्त ध्यान दिएँ । फुटबल पनि खेल्थें । हाइजम्पमा त म पूरा बिहारमा दोस्रा भएको थिएँ । टेबुल टेनिसको च्याम्पियन बनेँ ।
हामीले अंग्रेजी, हिन्दी, इतिहास, भूगोल, गणितमा अंकगणित, बीजगणित र ज्यामिति पढ्नुपर्थ्यो । म गणितमा कमजोर विद्यार्थी थिएँ । त्यसैले मैले विशेष खालको विषय भनेर ‘कार्पेन्टरको म्यानुअल ट्रेनिङ’ छानेको थिएँ । हाम्रो कक्षा ११ मा स्कुल सकिन्थ्यो । मैले ३ सय ५७ ल्याएँ । ३ सय ६० आएको भए दोस्रो श्रेणी हुन्थ्यो । म तेस्रो श्रेणीमा उत्तीर्ण भएको थिएँ ।
राँचीमा रहँदा मैले नेपालकै जस्तो खाना खान पाएँ । दुई छाक नै भात खाइन्थ्यो । सानो कक्षामा रहँदा हाफपेन्ट लगाए पनि ठूलो कक्षामा पेन्ट नै लगाएँ । सबै विद्यार्थीले जुत्ता लगाउँथे ।
म अलि चकचके केटो थिएँ । बाठो तर पढ्न अल्छि गर्थें । पढ्न उत्तिको मन गर्दिनथें । खेलमा बढी ध्यान दिएकाले मलाई हेडसर पनि खेल्न दिनुहुन्थ्यो । म सरको प्यारो थिएँ । गृहकार्य धेरै दिने चलन थियो । म चाहिं गर्दिनथें । त्यसबेला पिटाई खुब खानुपर्थ्यो । विद्यार्थी पिट्ने चलन थियो । छडी नलिई सरहरू हिडेको देखिन्नथ्यो ।
एकपटकको कुरा हो । मलाई सरले बेन्चमा उभिनु भन्नुभयो । म डेस्कमा उभिएँ । म अग्लो थिए । डेस्कमा उभिंदा झनै अग्लो भएँ । म त सरभन्दा धेरै अग्लो हुनपुगें । मेरो त्यो उचाई देखेर सरले पिट्नु भएन । त्यसपछि मैले पिटाई खानुपरेन ।
बिहान पढाई हुन्थ्यो । दिउँसो खाली हुइँन्थ्यो । म बिहान कक्षा नगए पनि खेल्न चाहिं पुग्थें । कतिपटक त दुईटा दल बनाएर झगडा गरिन्थ्यो । कुस्ती लडिन्थ्यो । शिवनारायण लाल, वाई. एस. थापा र म एक दल हुन्थ्यौं । थापा देहरादुनका थिए । लाल राँचीकै थिए । लाल दोस्रो श्रेणीमा कक्षा ११ पास भएका थिए ।
कुपन्डोल रहँदाका चाडपर्व अझै सम्झन्छु । दशैंमा यहाँ घरघरमा पूजा हुन्थ्यो । तर राँचीमा सामुहिक पूजाको चलन थियो । दशैंमा ५/१० रुपैयाँसम्म दक्षिणा पाइन्थ्यो । होली यहाँको सभ्य थियो । अहिले असभ्य भएको छ । भारतमा त्यसबेला अलि असभ्य होली खेलिन्थ्यो । तिहारका कुरा गर्दा मैले सन् १९३७ मा माइला मामाकी छोरी गीता राणासँग पहिलोपटक भाइटिका लगाएको याद छ । त्यसपछि आफ्नै दिदीसँग भाइटिका लगाएँ ।
अनि टुँडीखेलको बढाईं रमाइलो हुन्थ्यो । एकपकटको कुरा हो । जुद्ध शमशेरले रेडियोमा बोल्छन् भन्ने हल्ला भयो । तर रेडियो होइन, माइक्रोफोनमा चाहिं उनले बोले । यो हामीलाई अनौठो लागेको थियो ।
अहिलेजस्तो पहिले सुविधा थिएन । सुविधाले उन्नति गर्न सजिलो हुन्छ । मन लगाएर सबैले एक क्षेत्रमा काम गर्नुपर्छ । यसो गर्दा सफल हुन सकिन्छ । काम गर्दा धैर्य हुनुपर्छ । अनुशासन उत्तिकै चाहिन्छ । चुरोट र रक्सी खानेले खेलकुदमा उन्नति गर्न सक्दैनन् ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ फागुन २४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<