एकनाथ ढकाल सानो छँदा

अंग्रेजी पढ्ने इच्छा

एकनाथ ढकाल खोटाङ जिल्लाका शिक्षासेवी हुनुहुन्छ । उहाँले खोटाङको बुइपास्थित चम्पावती माविमा १८ वर्ष शिक्षक तथा प्रधानाध्यापक भई काम गर्नुभयो । २०१३ मा उक्त विद्यालय स्थापना हुँदा खोटाङ, संखुवासभा र सोलुखुम्बुमा स्कुल खुलेका थिएनन् । २०२३ सालदेखि २०४१ सालमा उक्त स्कुलमा रहँदा उहाँले धेरै विद्यार्थी पढाउनुभयो । उहाँ सांसद् हरि रोक्का, सर्वधन राई आदिलाई आफ्ना विद्यार्थी भन्न रुचाउनुहुन्छ । त्यसो त उहाँले पढाएका धेरै विद्यार्थी पाइलट, डाक्टर, सरकारी अधिकारी भएका छन् । बुइपापछि उहाँ २०४१ मा काठमाडौं उपत्यका आउनुभयो । ललितपुरको एकान्तकुनास्थित महेन्द्र भृकुटी मावि, भट्टेडाँडास्थित महाकाली देवी मावि र संखुस्थित मगर गाउँ माविमा पढाउनुभयो । बीए., बीएड गरेका ढकालको जन्म २००० साल माघ ११ मा बुइपाको छिप्तीमा भएको हो । उहाँका पिता श्रीनारायण र माता शिवमाया हुनुहुन्थ्यो । स्कुलमा ‘गोरेटो’ भित्तेपत्रिका निस्कन्थ्यो । उक्त भित्तेपत्रिकापछि पत्रिकाका रुपमा निस्कन्थ्यो । त्यहि पत्रिकामा उहाँले धेरै कविता लेख्नुभएको थियो । वामपन्थी विचार राखेको भन्दै उहाँलाई धेरै पुरस्कार दिइएन । यसपटक धेरै विद्यार्थीका प्यारा शिक्षक एवं प्रधानाध्यापक एकनाथ ढकालका बाल्यकालका केही सम्झना :
म सानो छँदा त्यहाँ स्कुल थिएन । बुबा नपढेको भए पनि पढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मैले ५/६ वर्षको उमेरदेखि धुलौटे पाटीमा ‘क..ख…’ लेख्न थालें । ७/८ वर्षको हुँदा अक्षर चिने । त्यसपछि बुबाले रुद्री, चण्डी, वेद पढ्न लगाउनुभयो ।
म सात वर्षको हुँदा बुबाले चण्डी पढ्न दिनुभयो । बुबा घाँस लिन जंगल जानुभयो । त्यहि बेला हजुरआमाले बाख्रा ल्याउन अर्‍हाउनुभयो । हाम्रा घरमा ५२ वटा बाख्रा थिए । बाख्रा लिन जाँदा बाटामा अमलाको रुख थियो । बाख्राले अमला कुटुकुटु खान्थे । म अमला खान रुखमा चढें । ५२ हात माथि चढेपछि अमलाको झुप्पो भेट्न खोज्दा सुकेको हाँगा टेकेर म लडें । त्यसपछिका तीन वर्ष म थला परें । उपचार घरेलु थिए । कहिले बाँसको काम्रो बाधिन्थ्यो त कहिले जडीबुटी गरिन्थ्यो । पछि चाहिं मेरो खुट्टा ठिक भयो ।
त्यसपछिको मेरो पढाई जनकपुरमा भयो । हजुरबुबाले मलाई जनकपुर लानुभएको हो । यो २०१२ सालको कुरा हो । खोटाङबाट जनकपुर पुग्न ६/७ दिन लागेको थियो । पैदल हिंडनुपर्थ्यो ।
म जनकपुरको ज्ञानकुप संस्कृत पाठशालामा भर्ना भएँ । दुई वर्ष त्यहाँ पढें । भारतको बिहार राज्यस्थित मधुबनीमा प्रथम परिक्षा दिएँ । फर्स्ट डिभिजनमा पास भएँ ।
जनकपुरमा पढ्दा एक सालको दशैंमा घर जाने विचार आयो । हामी दुई जना थियौं । म १४ वर्षको थिएँ । बाटो बिर्सेर आपत पर्‍यो । हामी टाँडीको जंगलमा फस्यौं । रात पर्‍यो । असोज/कात्तिकको महिना थियो । राती जंगलमै बस्यौं । ओढ्ने/ओछ्याउने केही थिएन । रातभर त बसियो । बिहानीपख झकाइएछ । निदाइयो । ब्युँझदा त शितले निथ्रुक्कै भिजिएको रहेछ । जेनतेन घर पुगियो । जनकपुर फर्कने तयारी गरिरहेका बेला पूर्णिमा रात मलाई ज्वरो आयो । ६ महिना त यसै घरमा बित्यो ।
बुबा संस्कृत पढ्नुपर्छ भन्नुहुन्थ्यो भने हजुरबुबा अंग्रेजी पढ्नुपर्छ भन्नुहुन्थ्यो । हजुरबुबा भन्नुहुन्थ्यो, ‘भविष्यमा सब अंग्रेजी पढ्ने हुन्छन् । त्यसैले अंग्रेजी पढ्नुपर्छ ।’ बुबा र हजुरबुबा विपरित हुनुहुन्थ्यो । बुबा चाहिं, ‘अंग्रेजी त गाईखानेको भाषा हो,’ भन्नुहुन्थ्यो । मैले अंग्रेजी पढ्ने भन्ने सुनेर बुबा रुनुभएको थियो । मेरा तीनजना काकाले संस्कृत पढ्नुभएको थियो । तर हजुरबुबाले मलाई अंग्रेजी पढ्नुपर्छ भनेको चाहिं मलाई अचम्म लागेको थियो । उहाँले अंग्रेजीमा भविष्य देख्नुभएको थियो ।
२०१५ सालमा घर फर्के । म घर फर्कनुपर्ने कारण चाहिं अंग्रेजी थियो । म संस्कृत होइन, अंग्रेजी पढ्न चाहन्थे । २०१७ सालसम्म त्यसै बसें । ओखलढुंगामा कक्षा दशसम्म पढ्ने स्कुल खुल्यो । काका देवराज ढकालले मलाई अंग्रेजी पढाउन ओखलढुंगा लानुभयो । मलाई अंग्रेजीमा एकदेखि सयसम्मको गन्ती र १२ वटा अंग्रेजी शब्दमात्र आउँथ्यो । भारतबाट गएका हेडसर हुनुहुँदो रहेछ । उहाँले, ‘अल्जेब्रा कति पढ्या छ ? अर्थमेटिक कति पढ्या छ ?’ भनेर सोध्नुभयो । मैले त्यस्तो केही पढेको थिएन । उहाँले, ‘राम भात खा रहा है’ लाई अंग्रेजीमा अनुवाद गर्न अर्‍हाउनुभयो । मैले सकिन । मेरा काका नेता हुनुहुन्थ्यो । उहाँले अर्‍हाउनुभयो र मलाई कक्षा ८ मा भर्ना गरियो । भर्ना गर्दा हेडसरले एउटा कागज गराउनुभयो । कागजमा तीन महिनाभित्र कक्षाको स्टान्डर्डअनुसार मेरो पढाई नसुध्रे कक्षा झार्ने भनिएको थियो । कागजमा काकाले होइन, मैले सहि गरेको थिएँ ।
डेढ महिना नपुग्दै मेरो पढाई कक्षा स्टान्डर्डअनुसारको भयो । म कक्षा स्टान्डर्डअनुसारको हुन धेरै पढ्थें । सधैं पढिरहन्थे । अरु कुरामा ध्यान दिन्नथें । धेरै पढ्दापढ्दा मेरो शरीरमा जुम्रासमेत परेका थिए । मेरो पढाई राम्रो भएपछि हेडसरले त्यो कागज च्यातिदिनुभयो । मैले कक्षा ८ राम्रोसँग पास गरें ।
कक्षा ४ मा कक्षाको चौथो भएँ । हाम्रो कक्षामा ३२ जना विद्यार्थी थिए । २ जना छात्रा थिए । पढाई राम्रो भए पनि कक्षा १० सक्न पाइँन । मेरो त्यहि उमेरमा विवाह भयो । सानैमा बिहे गर्ने चलन थियो । अहिले त २० वर्षभन्दा पहिले बिहे गर्नुहुँदैन ।
बिहेपछि एक वर्ष पढाई रोकियो । २०२० सालमा मैले बुइपाकै स्कुलमा एसएलसी दिन पाएँ । उक्त स्कुलबाट एसएलसी दिने हाम्रो ब्याच नै पहिलो थियो । एसएलसीको केन्द्र भोजपुरको विद्योदय माविमा परेको थियो । त्यसबेला एक हजार पूर्णांकको एसएलसी हुन्थ्यो । दश विषय हुन्थे । लिटरेचर, १८ वटा पोयम्स, १२ वटा प्रोज, नेपाली, भूगोल, विज्ञान, जीवविज्ञान, स्वास्थ्य तथा शरीरविज्ञान जस्ता विषय थिए । बुइपा स्कुलमा कक्षा १० मा ६ विद्यार्थी थिए । टेस्ट परीक्षामा दुई जना फेल भए । एसएलसी दिंदा चार जना भयौं । एसएलसीमा चाहिं मनोजकुमार श्रेष्ठ र म मात्र पास भयौं । एसएलसी दिने चाहि सबै केटामात्र थियौं । मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेको हुँ ।
हामीलाई गोरखबहादुर श्रेष्ठले अंग्रेजी पढाउनुहुन्थ्यो । उहाँ धेरै राम्रो शिक्षक हुनुहुन्थ्यो । गोरखबहादुर सर जीवविज्ञान, गणित, विज्ञान, भूगोल जे पनि पढाउन सक्नुहन्थ्यो । पशुपति भट्टराई नेपालीका शिक्षक हुनुहुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ फागुन १७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<