पहाड-मधेश सम्झँदै
विष्णुविभु घिमिरे साहित्यकार हुनुहुन्छ । उहाँसँग २३ वर्ष कलेजमा पढाएको अनुभव पनि छ । घिमिरेको जन्म २०१० साल भाद्र कृष्ण अष्टमीका दिन इलामको बरबोटेमा भएको हो । पिता हरिनारायण र माता तोरणकुमारीका दुई छोरी र पाँच छोरा जन्मेका हुन् । उहाँको एक भाईको सानैमा निधन भएको हो । उहाँ साहिलो हुनुहुन्छ । उहाँका दुई कवितासंग्रह ‘कठघरामा उभिएर’ (२०४५) र ‘काँडाकाँडामा टेकेर’ (२०५७) प्रकाशित छन् । उहाँको कथा, पटकथा र संवादमा ‘जनाईको साँचो’ र ‘सहयात्रा’ टेलिश्रृंखला बने । उहाँले ‘अहिले’ (झापा, समसामयिक संकलन, २०३४), ‘गरिमा’ (२०३९-०४७), ‘विमोचन’ (२०४९-०५४), ‘सुरुचि साप्ताहिक’ (एक वर्ष) सम्पादन गर्नुभयो । रेडियो नेपालको स्तर निर्धारण समिति र नेपाल टेलिभिजनमा टेलिफिल्मको स्तर निर्धारण समितिको सदस्य रहनुभयो । घिमिरेले २०५६-०६० र २०६३-०६४ मा साझा प्रकाशनको अध्यक्ष भई काम पनि गर्नुभयो । घिमिरेले प्रतिभा पुरस्कार (विराटनगर), युवा वर्ष मोती पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, मानश्री पुरस्कार आदि पाउनुभएको छ । यस्ता विभिन्न पुरस्कारबाट सम्मानित घिमिरेका बाल्यकालका केही सम्झना :
बुबाले मेहेनत गरी अक्षर चिन्नुभएको हो । उहाँका अक्षर सार्है राम्रा थिए । दोस्रो विश्वयुद्ध सुरु भएपछि (२००० सालतिर) बुबा इलामबाट दार्जिलिङ्ग जानुभएछ । त्यहाँ पूर्णबहादुर थापाका नामबाट सेनामा भर्ती हुनुभएछ । दुई वर्ष सेनामा रहँदा उहाँ इरान, इराक पुग्नुभएछ । त्यहाँबाट फर्केपछि उहाँलाई तराईमा बस्ने सोच आएछ । यो सोच साकार हुन अलि वर्ष लाग्यो ।
दाजुहरु बिब्ल्याटें प्राथमिक विद्यालय जानुहुन्थ्यो । मैले दाईहरुकै पछि लागेर अक्षर चिने । पहिलोपटक घरको आँगन छाडेर जाँदा नै म स्कुल पुगें । त्यहाँ कक्षा ३ सम्म पढें । कक्षा ४ पढिन् । इलाम बजारस्थित पब्लिक आदर्श हाईस्कुलमा कक्षा ५ मा भर्ना पाएँ । नजिकैका दाई विष्णु घिमिरेले नै मलाई मेहेनत गराएकाले मैले कक्षा ५ मा भर्ना पाएँ ।
इलामका पढ्दा हामी पिपलबोटेमा बस्थ्यौं । छविलाल भट्टराईका दुईटा पाली थिए । एउटामा नेकपा एमालेका नेता विद्यार्थीका रुपमा झलनाथ खनाल बस्नुहुन्थ्यो । अर्कोमा हामी बस्थ्यौं । छविलालका छोरा हाम्रा साथी थिए । उनी हैजा लागेर बिते । त्यो देखेर म खुबै डराएँ । त्यो घटना अझैं म सम्झन्छु ।
स्कुल छुट्टी भएपछि हामी घुम्न निस्कन्थ्यौं । कहिले पानी ट्याङ्कीमा पुग्थ्यौं । एकदिन घुम्दै जाँदा एउटा मानिसको पोष्टमार्टम गरेको देखियो । त्यो मान्छे माईखोलामा डुबेर मरेको रहेछ । खुला आँगनमा पोष्टमार्टम गरेको देखेपछि म तीन दिन सुत्न सकिन ।
म इलाम बजारमा पढ्न जाँदा हाम्रो परिवार भने बसाई सरेर झापा झरिसकेको थियो । हामीलाई पहाड छोड्न पर्ने अवस्था आयो । भाईको निधन भएपछि आमाले त्यहाँ बस्न पनि मन पराउनु भएन ।
मैले कक्षा ५ मात्र इलाममा पढें । कक्षा ६ पढ्न झापा पुगियो । त्यो २०१८ सालको कुरा हो । हामी ज्यामिरगढीमा बस्न थाल्यौं । धुलाबारी हाईस्कुल पढीयो । मैले २०२७ मा त्यहि स्कुलबाट एस.एल.सी. दिएँ । एस.एल.सी. दिँदा १८ जना थियौं । पाँचजना छात्रा थिए । म तेस्रो श्रेणिमा उत्तीर्ण भएँ । इलाममा पढाई राम्रो थियो । झापामा त्यत्तिको राम्रो हुन सकेन । झापामा शिक्षक फेरिरहन्थे । इलामका दार्जिलिङ्गको शिक्षाको प्रभाव थियो । त्यति बेला नै दार्जिलिङ्गमा पढेलेखेका मानिस प्रशस्त थिए ।
धुलाबारी हाईस्कुलमा सुरेन्द्रप्रसाद जोशी आएपछि पढाई राम्रो भएको हो । उहाँ आउनुअघि स्कुल त स्कुल जस्तै थिएन । उहाँ पाँच वर्ष त्यहाँ बस्नुभयो ।
तराईमा औलोले खुब सताउँथ्यो । औलोबाहेक बिफर र हैजाको प्रकोप थियो । बिफरको उपचार पनि गरिन्थ्यो । बिफरकै घाउ उप्काइन्थ्यो । छाताको करंगले नाडीमा घोचेर त्यही पाप्रो राखिन्थ्यो । यो उपचार गरेपछि खेतमा खोली हालेर बस्नुपर्थ्यो । नुन र तेल खानु हुन्न भनिन्थ्यो । एकपटक बिफर आएपछि फेरि आउँदैन भनिन्थ्यो ।
झापामा एक बाली अन्न लगाए प्रशस्त खान पुग्थ्यो । खोल्साखोल्सी प्रशस्त थिए । पानी धेरै हुन्थ्यो । जताततै जंगलैजंगल थियो । जंगल बाक्लो पनि थियो । ज्यामिरगढीमा करुवा, सतार र राजवंशीको बाक्लो बस्ती थियो । त्यो ठाउँमा प्रशस्त पानी पर्थ्यो । सबै खेतहरू जलमग्न हुन्थे । ३ दिन पानी परेपछि सात दिने झरि र ७ दिन कटेपछि ११ दिने झरि पर्यो भन्ने चलन थियो । पूर्वमा पाल्या खोला र पश्चिममा निन्दा खोला थिए । पानी पर्न छाडेपछि जताततै माछा हुन्थे । हामी चामलसँग माछा साटेर खान्थ्यौं । वर्षाले गर्दा पानीका सबै तरकारीका बोट त मरिसकेका हुन्थे ।
म खेतीपातीमा सघाउने खालको थिइँन । भावुक स्वभावको थिएँ । बाख्रा चराउन जान्थे । फुर्सदमा म बल्छि हालेर माछा मार्थे । बिहानको स्कुल जाँदा एक वा डेढ घण्टा बाटामा बित्थ्यो । फर्कदा १२/१ बज्थ्यो । घाम हुन्थ्यो । बाटामा आँपमा रुखहरू प्रशस्त हुन्थे । आँप झारेर खाँदै घर फर्किइन्थ्यो । कहिलेकाही पौडी खेल्न जाइन्थ्यो । म पौडन सिपालु थिएँ । वर्षामा पौडी खेलेपछि आँखा पाक्थे ।
धान काटेर खेतबाट उठाएपछि गाउँ भरका गाईवस्तु खेतमा छाडिन्थे ।
बुबा पनि विभिन्न खालका पुस्तक र पत्रिका लिएर घर आउनुहुन्थ्यो । भवानी घिमिरेले सम्पादन गर्नुहुने ‘भानु’ साहित्यिक पत्रिका घर आउँथ्यो । तुलसी कुँवरले लेखेको ‘रने’ उपन्यास मैले सानैमा पढेर सकेको थिएँ । लालटीन बालेर एकजनाले पढेपछि अरुले सुन्ने चलन थियो । यसरी बुबाले बंगाली भाषामा लेखेको काशीराम दासको ‘रामायण’ सुनाउनुहुन्थ्यो । बुबालाई बंगाली राम्रो आउँथ्यो । रामायण पढ्दै अर्थ लगाउनुहुन्थ्यो ।
स्कुलमा होमवर्क नगर्दा सजाय पाइन्थ्यो । घुँडा टेकाउने, कुखुरा बनाउनेजस्ता सजाय पाइन्थ्यो । यस्ता सजायमा घण्टा बित्दथे । हामीलाई सरहरूले लात्ती हानेको याद छ । यस्ता कुरा सहनुपर्थ्यो । हामीलाई कृष्ण खनाल सर गणित पढाउनुहुन्थ्यो । एकपटक उहाँले एउटा समस्या गर्न लगाउनुभयो । मैले एक अक्षर बिराएँ । त्यहि निहुँमा उहाँले ३/४ छडी हिर्काउनुभयो । त्यसैले मैले श्रेस्ता गणित पढें । खनाल सरले पढाउने गणित पढिनँ ।
गोमन सर्पको बिगबिगी थियो । ३/४ पटक सर्पसँग जम्काभेट भएर म बाँचेको छु । बौलाहा कुकुरले पनि खुब सताउँथे ।
घोडा सवारीको मुख्य साधन थियो । म घोडा चढ्न सिपालु थिएँ । भारतको सिमानजिकै गाउँ भएकाले डाका खुब लाग्थ्यो । सधैं आगो बालेर ‘खबरदार, खबरदार’ भनेर कराएको सुनिन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ फागुन १० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)