घोटा चढ्दा पिटाई
हेल्मुट कुटिन एस.ओ.एस. नामक अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष हुनुहुन्छ । एस.ओ.एस. को स्थापना सन् १९४९ मा भएको हो । कुटिनको जन्म सन् १९४१ मा युरोपेली मुलुक इटालीको बोल्झानो भन्ने ठाउँमा भएको हो । दोस्रो विश्वयुद्धअघि बोल्झानो अष्ट्रियामा थियो । त्यसैले जन्मदा उहाँ अष्ट्रियाली बालकका रूपमा जन्मनुभएको हो । उहाँ आफैं एस.ओ.एस. मा हुर्कनुभएको हो । सन् १९५३ देखि उहाँ एस.ओ.एस.मा बस्न आउनुभयो । एस.ओ.एस.को पहिलो बालग्राम अष्ट्रियाको इम्स्ट भन्ने ठाउँमा खुलेको हो । त्यही बालग्राममा कुटिन हुर्कनुभयो । एस.ओ.एस.मा संस्थापक हर्मन माइनरले उहाँलाई पाल्नुभयो । युवा भएपछि कुटिन इन्स्ब्रुस्क भन्ने ठाउँमा रहेको युवाग्राममा बस्न आउनुभयो । इन्स्ब्रुस्क विश्वविद्यालयमा अर्थशास्त्र पढ्नुभयो । सन् १९६७ मा हर्मन माइनरकै सल्लाहमा कुटिनले पर्यटनका क्षेत्रमा काम थाल्नुभयो । उहाँ प्रशिक्षक पनि हुनुभयो । एस.ओ.एस.का लागि उहाँको पहिलो काम भियतनाममा भयो । अहिलेको हो ची मिन्ह सहरमा एस.ओ.एस. बालग्राम बनाउन पाउनुभयो । त्यो भियतनामको पहिलो बालग्राम थियो । सन् १९६८ मा उहाँ भियतनामकै बालग्रामको निर्देशक नियुक्त हुनुभयो । त्यसबेला भियतनामी बालग्राम विश्वकै ठूलो थियो । किनभने कुटिनले भियतनाममा अझ धेरै बालग्राम बनाउनुभएको थियो । उहाँ भियतनाममा रहँदा युद्ध भयो । सन् १९७५ मा युद्ध सकियो । सन् १९७६ मा उहाँले भियतनाम छाड्नुभयो । राम्रो काम गरेबापत सन् १९७१ मा उहाँलाई एसियाका लागि एस.ओ.एस.का विशेष प्रतिनिधि बनाइयो । उहाँ एसियाका लागि खटिएको केही वर्ष नबित्दै ५० भन्दा बढी बालग्राम र ५० भन्दा सहयोगी केन्द्र बने । सन् १९८५ मा हर्मन माइनरको निधन भयो । माइनरको निधनले विश्वका धेरैलाई रुवायो । माइनरको काम उहाँका नजिकैका सहयोगी कुटिनलाई जिम्मा लगाइयो । सन् १९८८, सन् १९९३, सन् १९९८ र सन् २००३ मा लगातार कुटिन निर्वाचित भएर एस.ओ.एस.का अन्तर्राष्ट्रिय प्रमुख हुँदै आउनुभएको छ । अन्तर्राष्ट्रिय प्रमुखका रूपमा काम थालेपछि उहाँले भियतनाममा रोकिएको बालग्राम बन्ने काम सन् १९८७ मा सुरु गर्नुभयो । त्यसै वर्ष चीनमा दुईटा बालग्राम बने । ती चीनका पहिला बालग्राम थिए । हर्मन माइनरजस्तै कुटिनले पनि विवाह गर्नुभएको छैन । उहाँ एस.ओ.एस.लाई नै आफ्नो परिवार ठान्नुहुन्छ । उहाँ हालै नेपाल आउनुभएको थियो । यसपटक कुटिनका बाल्यकालका केही सम्झना :
म जन्मँदा दोस्रो विश्वयुद्ध चलिरहेको थियो । युद्धले विश्व नै डरलाग्दो भएको थियो । त्यसैले त्यसबेलाका अनेकन घटना छन् ।
अहिले म नेपालमा जे देख्छु, अष्ट्रिया त्यसबेला त्यस्तै थियो । मानिस गरिब थिए । देशमा शान्ति थिएन । लामो पेन्ट लगाउने इच्छा हुन्थ्यो । तर स्टकिङ र सर्ट लगाएर चित्त बुझाउनुपर्थ्यो । त्यसबेला देशमा खानाको कमी थियो । स्कुलमा माया दिने अवस्था थिएन । धेरै जनाको घर थिएन । त्यसबेलाका दिन हामीसँग केही नभएका दिन थिए ।
एकपटकको कुरा हो । म र मेरो दाइ घर छाडेर अलि टाढा गयौं । अग्लो ठाउँ थियो । त्यहाँ घोडा चर्थे । हामी साना भएकाले आमाबुबाले त्यहाँ जानुहुन्न भन्नुहुन्थ्यो । तर हामी गयौं । दाजुले घोडा चढ्दा बस्न प्रयोग हुने सामान बनाउनुभएको थियो । हामी घोडा चढ्यौं । त्यत्तिकैमा घोडा पाल्ने किसान आए । उनले हामीलाई देखे । कुटेर खेदाए । घोडामाथि राख्ने त्यो सामान भाँचिदिए ।
पिट्ने कुरा गर्दा म स्कुलमा पिट्ने गरेको सम्झन्छु । स्कुलहरूमा सजाय दिने चलन थियो । लाठीले पिटिन्थ्यो । हामी ठूला हुँदै जाँदा स्कुलमा पिट्ने चलन हराउँदै गयो । म उत्तिको पिटाइ खाने विद्यार्थी होइन ।
मैले ९ वटा फरक स्कुलमा पढें । देशमा अशान्ति भएकाले यस्तो भएको हो । सुरुका दुई स्कुलमा म राम्रो विद्यार्थी थिएँ । तेस्रो स्कुलमा मेरो पढाइ बिग्रियो । चौथो र पाँचौंमा असाध्यै राम्रो भयो । छैटौंमा ठिक्क रह्यो । कलेजमा एक वर्ष फेल भएँ । तर पछि पास भएँ ।
मेरी दिदी हराउनुभयो । उहाँको निधन भएको एक वर्षपछि पत्ता लाग्यो । त्यो देखेर आमाको तत्काल निधन भयो । मभन्दा माथिका चार दाजु र दिदी पनि युद्धमा बेपत्ता भए । परिवारमा म र बुबामात्र रह्यौं । यत्रो दुःख बुबाले सहन सक्नुभएन । अनि म एस.ओ.एस. मा भर्ना हुन पुगें । एस.ओ.एस.को हाम्रो परिवारमा ९ सदस्य थियौं । सातजना केटा र दुई केटीको परिवार थियो । त्यसबेला दुःख हुन्थ्यो । अहिले त एस.ओ.एस. मा धेरै सुख छ । हामी जे पाउँथ्यौं, बाँडेर खान्थ्यौं अनि मिलेर खेल्थ्यौं । किताब भए, पालोपालो गरेर पढ्थ्यौं । अहिले जे पनि सुविधा छ ।
मलाई हिउँमा चिप्लेटी, फुटबल, ह्यान्डबल र पौडी मन पर्थ्यो । हिउँको चिप्लेटी र फुटबलचाहिँ मलाई धेरै मनपर्थ्यो । तर फुटबल खेल्न जुत्ता हुँदैनथ्यो । खाली खुट्टा खेल्नुपर्थ्यो । मलाई सानो छँदा अंगुर, स्याउ र स्ट्रबेरी मनपर्थ्यो ।
त्यसबेला केटाले मात्र पढ्नुपर्छ भन्ने थिएन । म त कक्षामा दुई केटीहरूका बीचमा बस्थें । कलेजमा भने केटा र केटीको फरक कक्षा र फरक छात्रावास थियो । एकतर्फबाट अर्कोतर्फ जान मिल्दैनथ्यो ।
स्कुल पढ्दा मलाई इतिहास, गणित र भाषाजस्ता विषय मनपर्थ्यो । स्कुल पढ्दा यति अंक ल्याएर प्रथम, द्वितीय हुन्छ भन्ने थिएन । ‘ग्रेडिङ’ हुन्थ्यो । राम्रो विद्यार्थी, ठिक्कको विद्यार्थी र कमजोर भनेर मात्र छुट्टन्थ्यो ।
मसँग पढेका साथीहरू अहिले अष्ट्रियामा नगरप्रमुख, सांसद्, नगर परिषद्का सदस्य आदि बनेका छन् ।
एसओएसको परिचय
एस.ओ.एस.ले विश्वका १ सय ३२ देशमा सेवा गरिरहेको छ । ती देशमा ४ सय ७० वटा बालग्राम छन् । ३ सय ५४ युवाग्राम छन् । २ सय ६१ किन्टरगार्टेन छन् । १ सय ९० वटा एस.ओ.एस. स्कुल छन् । ३ सय ५९ सामाजिक केन्द्र, १ सय १५ व्यावसायिक तालिम केन्द्र, ५६ औषधोपचार केन्द्र र २० वटा आपतकालिन उद्धार कार्यक्रम छन् । यसरी कूल सेवा केन्द्र वा शाखा १ हजार ७ सय ९९ पुग्छन् । सबैबाट १० लाखभन्दा बढी बालबालिका, युवाले सेवा पाएका छन् । राजधानीको जोरपाटी, सानो ठिमी र कोटेश्वरमा शाखा छन् । सुर्खेत, पोखरा (रामबजार र छोरेपाटन), बनेपा (काभ्रे), इटहरी र चितवनमा एस.ओ.एस. का शाखा छन् । बुटवलमा नयाँ बन्दैछ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ माघ १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)
मामा, खुसी लाग्यो. यो पेज एसओएस को वेब पेजमा, फेसबुकका सोस ग्रुपहरुमा नि राख्नपर्ने खालको रहेछ/