मोहनबहादुर कायस्थ सानो छँदा

राणाविरुद्ध नारा

मोहनबहादुर कायस्थ इलेक्ट्रीकल इन्जिनियर हुनुहुन्छ । उहाँसँग नेपाल विद्युत् प्राधिकरणको निर्देशक भई लामो समय यस क्षेत्रमा काम गरेको अनुभव छ । उहाँले २०२७ सालमा एसिस्टेन्ट इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा सुरु गर्नुभएको हो । २०५८ सालमा निर्देशकका रुपमा सेवा पूरा गर्नुभएको हो । प्राधिकरणबाट सेवाअवधि सकेर बिदा लिए पनि उहाँ करिब दुई दर्जन पुस्तकका लेखकका रुपमा चिनिनुहुन्छ । उहाले विद्युतका विषयदेखि कथा, कवितासम्मका पुस्तक लेख्नुभएको छ । उहाँ जन्म २००१ साल वैशाख ३ मा बन्दीपुरको नारायणटोलमा भएको हो । बुबा बिलबहादुर र आमा दयालक्ष्मीका २ छोरा र एक छोरी जन्मेका हुन् । त्रिचन्द्र कलेजबाट आई.एस्सी. गरेपछि उहाँले भारतमा पढ्ने छात्रवृत्ति पाउनुभएको थियो । आन्ध्रप्रदेशको भीसाखापटनमस्थित आन्ध्र युनिभर्सिटिबाट इलेक्ट्रीकल इन्जिनियर पूरा गर्नुभएको हो । दक्षिण एसियाभरमा ‘लाइटिङ’सम्बन्धी उहाँ एक प्रतिष्ठित विज्ञ मानिनुहुन्छ । विश्वका २० भन्दा बढी देशको भ्रमण गरेका कायस्थ विभिन्न संघसंस्थामा बसेर काम गर्दै आउनुभएको छ । यसपटक कायस्थ सानो छँदाका केही सम्झना :
हाम्रो घरमा काकाहरू पढ्नुहुन्थ्यो । मलाई अक्षर चिन्न गार्‍हो भएन । उहाँहरूले सिकेको हेरेर नै मैले पनि जाने । पढेर होइन, हेरेर जानेको हुँ । क ख …सिके । क का… जाने । २००६ सालमा त्यसबेलाको प्राइमरी स्कुलमा पढ्न थालें । हामी हाम्रो विद्यालयलाई भाषा स्कुल भन्थ्यौं । गुरु ज्ञानहरि आचार्य मेरा स्कुले शिक्षक हुनुहुन्थ्यो ।
बुबा भने लमजुङको दुराडाँडामा व्यापार गर्नुहुन्थ्यो । २००७ सालपछि दुराडाँडाकै सर्वोदय मिडिल स्कुलको कक्षा १ मा भर्ना भएँ । कक्षा सुरु भएपछि ठूला विद्यार्थीलाई माथिल्लो कक्षामा सारियो । ठूला पनि ठूलै थिए । कोहीकोही त छोराछोरी भएका विद्यार्थी भएर पनि स्कुल पढ्न आएका थिए ।
२००७ सालमा ‘मोहन शमशेर – मुर्दावाद’ भनेर नारा लगाएको याद छ । हामी फुच्चे केटा कमेज र कट्टु लाएर हिड्दै नारा लगाउथ्यौं ।
२००८ सालको कुरा हो । म चंगा उडाउन चाहन्थे । चंगाको धागोमा शिशाको टुक्रा दल्नुपर्थ्यो । मैले फुटेका चुरालाई कमेजको फेरमा पोको पारेर धुलो पारें । शिशा कुट्दा कमेज त प्वाल परेछ । ‘यो कमिज त फाट्यो’ भन्ने भयो । त्यो फ्याँके र अर्को कमिज लगाएँ । त्यो कमिज फ्याँकेको कुरा मैले कसैलाई भनिनँ । कमेज फ्याँकेको कसैलाई भनिनँ । तर धेरैपछि मात्र त्यसो गर्नु गलत रहेछ भन्ने भयो । त्यो त फट्याईं रहेछ जाने ।
मैले बाटोमा निस्केर खोपी खेल्नेजस्ता काम चाहिं कहिल्यै गरिन । स्कुल पढ्दा म लजालु स्वभावको विद्यार्थी हुँ ।
वादविवाद र कथा सुन्न मन पराउँथे । तर भाग भने लिन्नथें । पढाई मध्यम खालको हो । भलिबल त खेलियो । तर झुम्राको बनाएर । कहिलेकाही बेलायत गएर फर्केका लाहुरे ल्याएको फुटबल खेलिन्थ्यो ।
सर्वोदयमा पढ्दा म बुबा-आमासँग बसिन । काका बुद्धकुमारसँग दुराडाँडामा बसे । हजुरबुबा र हजुरआमा केशकुमारी सधैं पढ्न जोड दिनुहुन्थ्यो । हजुरबुबा जगतबहादुर त्यस क्षेत्रका प्रसिद्ध वैद्य हुनुहुन्थ्यो । वैद्य त्यसबेलाका बिरामीलाई घरेलु उपचार गर्ने स्थानीय चिकित्सक हुन् । उहाँ घरघर गएर उपचार गरिदिनुहुन्थ्यो ।
बुबा चाहिं केही समय मालपोतमा मुखिया हुनुभयो । त्यसपछि व्यापार गर्नुभएको हो ।
म चाहिं पढ्नेजस्तो देखिएकाले सबैको जोड यसमा थियो । हाम्रो परिवारका २२/२५ सदस्यमध्ये धेरै पढेको म मात्र हुँ । काका पसल चलाउनुहुन्थ्यो । म उहाँको पसलमा सामान आएको बिल टिपीदिन्थे । बहिखाता सधैं दुरुस्त राखिदिन्थे । काका मलाई, ‘सार त, लेखिदेऊ त’ भन्नुहुन्थ्यो । यसबाट पनि केही शिक्षा मिल्यो । सबैले नरम मिजासबाट पढ्नुपर्छ भनेपछि म पनि पढ्न ध्यान दिन थालें ।
सात/आठ वर्षको हुँदा नै म बन्दिपुर र दुराडाँडा आउनेजाने गर्न सक्थें । बीचमा बस्ने ठाउँ हुन्थे । चिठी ल्याईदिनुपर्थ्यो । आफू पैसा बोक्थें र सामान बोक्ने भरियासँग यताउता गर्थें । विश्वासिलो थिएँ । त्यसबेला नेपाली मुद्राभन्दा भारतीय मुद्रा प्रचलनमा थियो । हामी एक सय भारतीय रुपैयाँ साट्थ्यौं । १/२ रुपैयाँ नाफा गरेर बन्दीपुर लगेर त्यो फेरि साट्थ्यौं ।
स्कुल ढिलो पुग्दा वा कहिलेकाहीं काम परेर नजाँदा कहिल्यै हप्काईसमेत खानुपरेन । म धेरै सोझो थिएँ । आफ्नै सुरमा काम गर्थें । पढ्थें ।
२००९ सालतिरको कुरा हो । खन्युँ (खनिउँ) को रुख चढेको थिएँ । म लडें । हात भाँच्चिएछ । २/३ कक्षाको विद्यार्थी सानै थिएँ । दुख्न थालेपछि हात सुन्नियो । त्यसबेला उपचार गर्ने पनि धामीझाँक्रि थिए । कुखुरा काटेर रगतसमेत खुवाएर हात भाँच्चिएको ठिक हुन्छ भन्थे । यो त गलत हो । तर दुराडाँडाका शोभाकर अधिकारीले बाँसको काम्रो बाँधीदिनुभयो । महिना दिन काम्रो राखेपछि हात ठिक भयो । त्यसपछि म रुख चढ्न छाडें ।
२००९/१० सालतिर विश्वेश्वरप्रसाद कोइराला, विश्वबन्धु थापा, तुलसी गिरी गएका थिए । उनीहरू जाँदा हामीलाई सलामी दिन तालिम दिइएको थियो । ड्रेस त थिएन । तै पनि हामीले सलामी दिएका थियौं ।
२०१०/११ मा विश्वेश्वरप्रसादले हामी २० जनाभन्दा केही बढी विद्यार्थीलाई दुराडाँडामा सम्बोधन गरेका थिए । उनको भाषण मैले सुने । कोइरालालाई नजिकबाट हेर्ने मौका पाएको थिएँ ।
२०१२ सालतिरको कुरा हो । हामीलाई विद्यार्थी राजनीति लाग्यो । हामी पनि नेपाल विद्यार्थी फेडरेसनमा लाग्यौं । अनि राजनीतिका लागि विभिन्न ठाउँ जान थाल्यौं । हामी लमजुङको नल्मा गाउँ गयौं । एउटा घरमा बास बस्यौं । त्यो घर गुरुङको थियो । मसँ जाने अरु मभन्दा जेठा साथी/दाईहरूमा बाहुनका छोरा पनि थिए । बास बसेको घरबाट खाना पकाउन सरसामान दिइयो । खाना पकाउन थालियो । म नेवारको छोरोले केही छुनु हुँदैन थियो । अरु गफ गर्न थालेपछि म त खाना चलाउन पुगेछु । मैले खाना छोएपछि सबैले ‘किन छोएको ?’ भनेर कराए । तर खाना पकाउने अरु सरसामान नभएकाले सबैले खाए । राजनीति पनि गर्ने छोएको खान हुने र नहुने भन्ने नै गलत हुन् ।
सर्वोदय स्कुललाई एस.एल.सी. दिलाउने स्विकृती थिएन । म कक्षा दश पढ्न काठमाडौं आएँ । क्षेत्रपाटीस्थित जे.पी. स्कुलबाट एस.एल.सी. दिएँ । सेकेन्ड डिभिजनमा पास गरेँ ।
काठमाडौं आउँदा परिवारमा अलि कुरा नमिलेको वातावरण भयो । कुरा नमिलेको भनेको बुबा-काकाबीच म मात्र पढ्न बाहिर जाने । अरु छोराहरू पढ्न नजाने भएपछि यस्तो भएको हो । काकाहरूले ‘तेरो छोरोमात्र पढ्ने ?’ भन्ने प्रश्न गर्नुभयो । मैले पढ्ने कुरामा जिद्दी गरें । आफैं कमाउँछु, आफैं पढ्छुसमेत भनें । व्यापार मन नलाग्ने, पढ्न नपाउने अवस्थामा आईपुग्दा मलाई धेरै चिन्ता लागेको थियो ।
काठमाडौं आउँदा सुरुको खर्च बुबा-आमाले दिनुभयो । त्यसपछि फूपाजू बटुकलाल प्रधानाङ्गले मलाई ‘ल, तिमी पढ्नु’ भनेर महिनाको सय रुपैयाँ दिनुहुन्थ्यो । यो रकम खर्चका लागि पर्याप्त थियो ।
जे.पी. स्कुलमा म गाउँले केटो थिएँ । मेरो बोली पहाडे थियो । भर्ना हुन जाँदा रामजीप्रसाद शर्माले मान्नु भएन । स्कुलको बरण्डामा निस्केर उभीइरहेको थिएँ । गोरखाका एकजना शिक्षक पनि त्यहाँ हुनुहुँदो रहेछ । उहाँ हरिहरनाथ रेग्मी हुनुहुन्थ्यो । उहाँ मेरो नजिक आउनुभयो र सोध्नुभयो, ‘किन उभिइरहेको ?’ मैले ‘भर्ना हुन आएको हेडरसरले हुन्न भन्नुभयो’ भने । त्यसबेला टिफिन वा बिदामा मात्र गेट खुल्थ्यो । रेग्मीसरलाई मेरो माया लागेछ । उहाँले गणितको ‘साध्य २१’ भन्न लगाउनुभयो । म गणितमा जान्ने विद्यार्थी थिएँ । मैले भनें । उहाँले हेर्नुभयो । उहाँले साथीलाई अंग्रेजीमा चिठी लेख्न लगाउनुभयो । मैले मिति लेखें । सम्बोधन लेखें । विवरणमा ‘म काठमाडौं आएको छु । केही हेरेको छैन । पछि पत्र लेख्छु’ लेखें । मेरो अंग्रेजी राम्रो थिएन । तर पत्रको रुप मिल्यो । उहाँ खुसी हुनुभयो र भन्नुभयो, ‘मैले तिम्रो भर्ना गरें ।’ कागजमा भर्नाका लागि रोल नम्बर दिनुभयो । मेरो स्कुलमा भर्ना भयो । भर्ना गर्न १५/२० रुपैयाँ लागेको थियो ।
हरिहर सर मेरा लागि सबैथोक हुनुभयो । लेख्न प्रेरणा प्रदान गर्ने पनि उहाँ नै हो ।
काठमाडौंमा म पकनाजोल-साउनेपाटीमा डेरा गरी बसें । मेरा साथी रामप्रसाद गुरुङ थिए । उनलाई मैले अंग्रेजी पढाउन ल्याएको थिएँ । कोठा भाडा ८ रुपैयाँ थियो । हामी खाना आफैं पकाउँथ्यौं । खाना पकाउने ठाउँ बार्दलीमा थियो । खाना दाउरामा पकाइन्थ्यो । राष्ट्रकवि माधवप्रसाद घिमिरेका चेला नरहरि बराल हाम्रो छिमेकी कोठामा बस्थे । उनले मलाई पढ्ने-लेख्ने काममा खुब ‘गाइड’ गरे ।
त्यसबेला तीर्थराज अधिकारीले कवितामा भूगोल लेखेका थिए । त्यति कविता कन्ठस्थ पार्दा मलाई भूगोलमा खुब मद्दत पुगेको थियो । काठमाडौंमा आएर हरिहर सरले पढाएपछि त मैले धेरै कुरा बुझें । गाउँमा त के पढिए छ र ? जस्तो लाग्यो । जे.पी. स्कुलमा जस्तो गाउँमा पढ्न पाएको भए कस्तो हुन्थ्यो जस्तो लाग्यो । त्यसबेलाका शिक्षकका राम्रा थिए । विद्यार्थी-शिक्षकको मात्र नाता थिएन । सिक्ने-सिकाउने मात्र कुरा हुन्थ्यो ।
हामीलाई रेग्मीसरबाहेक जे.पी. स्कुलमा मित्रनाथ देवकोटा, अमृतप्रसाद रेग्मी, सोमनाथ तिमिल्सिना, तीर्थराज तुलाधर, कीर्तिरत्न वज्राचार्य आदिले पढाउनुभयो । मेरा साथीहरू मच्छिन्द्रलाल कायस्थ, शान्तवीरसिंह तुलाधर, बुद्धरत्न शेरचन, भगवानरत्न तुलाधर, राधेश्याम कायस्थ आदि थिए ।
त्यसबेला जे.पी. स्कुलमा नुवाकोटबाट आएका धेरै साथी थिए । पूर्वतिरबाट आएका विद्यार्थी डिल्लीबजार, बागबजारतिर बस्थे र पद्मोदयमा पढ्थे ।
एस.एल.सी. दिने दिन आउँदा एउटा नराम्रो घटना घट्यो । मेरा सबै किताब चोरिए । रामप्रसादका लुगा राम्रा थिए । उनका लुगा चोरिए । फूपाजूको सहयोगमा मैले फाल्तु किताब त किने । तर चाहिने मात्र किने र पढें । नोटकपि चाहिं चोरी नभएकाले मैले पढ्न पाएँ । तर पनि म पास भएँ ।
त्यसबेला पकनाजोल, क्षेत्रपाटीमा खुब चोरीहुन्थ्यो । २०१५ सालमा सांसदको कोट चोरी भयो भन्ने सुनिन्थ्यो । सांसदको कोटमा दाँत थिए रे । ‘दाँत चोरी भयो’ भन्ने हल्ला थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ पुस २० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<