प्रकट पगेनी सानो छँदा

आमाको माया

प्रकट पगेनी गीतकार/गजलकार हुनुहुन्छ । उहाँको खासनाम ‘शिवराज पगेनी’ हो । उहाँ २०१३ साल असोज २४ मा कास्कीको देउराली-उकालीमा जन्मनुभएको हो । उहाँका बुबा पं. कुबेरदत्त शर्मा र आमा नन्दकुमारी पगेनीका ३ छोरा र एक छोरी जन्मेका हुन् । प्रकट कान्छो छोरा हो । उहाँका ३२ गीत रेकर्ड भएका छन् । उहाँका ‘यो मन कतै अल्झेको छ’ (२०५६) र ‘जुनको चिठी जुनालाई’ (२०६०) नामक गीतिसंग्रह प्रकाशित छन् । उहाँका अरु दुई पुस्तक प्रकाशन हुन लागेका छन् । उहाँका धेरै गजल, गीत, कविता, कथा, लेख, मुक्तक विभिन्न पत्रिकामा प्रकाशित भएका छन् । उहाँले नाटकमा पनि काम गर्नुभएको छ । २०३९ सालमा भएको नाटक महोत्सवमा पोखराको युवा नाटक परिवारले राजधानी आएर ‘गोलार्द्धको कालो आकाश’ प्रस्तुत गर्‍यो । उहाँले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाउनुभयो । उहाँ डेढ दर्जन जति क्षेत्रीय पुरस्कार पाउनुभएको छ । राम्रा अक्षर भएका पगेनीले पोखरामा ‘पगेनी आर्ट मिडिया’ नामक साइनबोर्ड आदि बनाउने डिजाइन संस्थासमेत चलाउनुभयो । दश वर्ष लुम्ले कृषि केन्द्र, दुई वर्ष लिबर्ड नामक संस्थामा र २ वर्ष प्रगति बोर्डिङ स्कुलमा काम गर्नुभयो । यसपटक पगेनी सानो छँदाका केही सम्झना :
सबभन्दा पहिले त मेरो नाम कसरी ‘प्रकट’ भयो भन्ने नै घटना रमाइलो छ । त्यहि सुनौं । म कक्षा ६ मा पढ्दा कक्षामा तीनजना शिवराज भयौं । शिवराज गुरुङ, शिवराज घिमिरे र शिवराज पगेनी । त्यसबेला हाम्रो विद्यालयमा एकजना अमेरिकी महिला पढाउनुहुन्थ्यो । उहाँ पिस कोर संस्थामार्फत् आउनुभएको थियो । उहाँ पढाउनेबाहेक केही लेखेर समय बिताउनुहुन्थ्यो । हामी उहाँलाई खुब आदर गर्थ्यौं । एकपटकको कुरा हो । आमाले मलाई भुटेको मकै र मोही दिंदै उनै पिसकोर बस्ने कोठामा पुर्‍याउन लगाउनुभयो । म मकै र मोही लिएर गएँ । उहाँ केही लेख्दै हुनुहुन्थ्यो । मैले उहाँलाई ‘डिस्टर्व’ गर्नुहुन्न भन्ने ठानें । चुप लागेर कुनामा बसिरहे । केहीबेरपछि उहाँले मलाई देख्नुभयो र भन्नुभयो, ‘शिव, तिमी कहाँबाट प्रकट भयौं ?’ उहाँ नेपाली बोल्नुहुन्थ्यो । लेख्नुहुन्थ्यो । प्रकट भन्ने शब्द मलाई मनपर्‍यो । अनि शिवराज नै शिवराज भएका कक्षामा म ‘प्रकट’ भएँ । अनि प्रकट पगेनी ‘शिव’ भएँ । मेरा प्रमाणपत्रहरूमा शिव पगेनी ‘प्रकट’ भन्ने नाम छ । बजारमा मलाई प्रकट पगेनी भनेर चिनिन्छ ।
मेरो बुबा र आमाको विवाह भारतमा भएको थियो । आमाको माइती पनि भारत गएर बसेको रहेछ । बुबाले त आफ्नो जीवनको धेरै समय भारतमै बिताउनुभयो । आमा र बुबाको विवाह भारतको सिलोङमा भएको हो । उहाँहरू २००९ सालमा नेपाल फर्कनुभएको हो । बुबा नागाल्यान्डमा नोकरी गर्नुहुन्थ्यो । मेरा दुई दाजूहरूले त भारतमै पढ्नुभयो । म कान्छो भएकाले आमाको प्यारो छोरो भएर नेपाल बसें ।
आमा भारतमा पढेकी साक्षर महिला हुनुहुन्थ्यो । कास्कीको त्यो भेगमा उहाँ जति पढेकी महिला कोही थिएनन् । आमा देवी भागवत, रामायण, महाभारत पाठ गर्नुहुन्थ्यो । गाउँभरका सबै भेला भएर सुन्थे । बिहान खाना खाएपछि आँगनभरि छरछिमेकी महिला-पुरुषको भेला हुन्थ्यो ।
आमाले धार्मिक किताबमात्र पढ्नु भएन । गाउँ र वरपरका धेरै पुरुष लाहुर गएका थिए । घरमा भएका श्रीमतीलाई लेखेका पत्रसमेत पढ्नुहुन्थ्यो । पत्र लेखिदिनुहुन्थ्यो । उहाँलाई अंग्रेजी पनि आउँथ्यो । उहाँ अंग्रेजी बोल्नुहुन्थ्यो ।
आमा पढेकै र सधैं पढिरहने भएकाले पढनुपर्छ भनेर कसैले भन्नु परेन । मेरो पढाई देउराली-उकालीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट सुरु भयो । मैले उक्त स्कुलमा कक्षा तीनसम्म पढें । त्यहाँ मेरा साथीहरू अम्बिका घिमिरे, सूर्यबहादुर खड्का ‘बिखर्ची’, उत्तम घिमिरे, बाबुलाल श्रेष्ठ, बुद्धिबहादुर घिमिरे आदि थिए । हाम्रा सरहरू आशबहादुर नेपाली, केशवराज घिमिरे हुनुहुन्थ्यो ।
मेरा अक्षर राम्रा थिए । अहिले पनि छन् । त्यसबेला ३२ पाना भएको हात्ती-मार्का भएको कपि हुन्थ्यो । सबै साथीहरू मलाई नाम लेख्न लगाउँथे । नेबिकोको चकलेट खान दिन्थे । मेरो होमवर्क सारिदिन्थे । त्यो क्रम कक्षा १० सम्म चल्यो ।
कक्षा २ मा पढ्दाकै बेलाको एउटा घटना छ । २०२० सालको कुरा हो । मेरो साथी जितेन्द्रराज घिमिरे अग्लो थियो । उ मभन्दा जेठो पनि थियो । देउराली मन्दिरछेउमा अर्को देउराली मन्दिर बनाउने भनेर हामी तम्सियौं । माटो चाहियो । देउरालीको पोखरीमा माटो निकाल्न पस्यौं । माटो त निकालियो । हात धुन लाग्दा म त पानीमा डुबेछु । म त पानीमै बेहोश भएँछु । साथीहरूले निकालेछन् । घर लगेछन् । धेरै बेरपछि मेरो होश खुल्यो । त्यो घटनापछि म पानीसँग डराउँछु । अहिले पनि डर लाग्छ । पौडन अझै आउँदैन । तर पोखराका सुन्दर तालहरूमा डुंगा खियाउन मनपर्छ ।
कक्षा ४ मा म देउराली-उकालीकै विश्व शान्ति मा.वि.मा भर्ना भएँ । एस.एल.सी. पनि त्यहि स्कुलको विद्यार्थीका रुपमा दिएँ ।
बाबा जागिर खान सधैं भारत बस्नुभयो । बेलाबेला आउने भएर म बुबासँग असाध्य डराउँथे । आमा भने धेरै माया गर्नुहुन्थ्यो । जीवनमा सरल, नम्र हुनुपर्छ भनेर आमाले सिकाउनुभयो । आमाले कहिल्यै पिट्नु भएन । तर बुबा र दाजूहरूले पिटेको मलाई याद छ ।
म कक्षा ३ मा पढ्दा (२००७ साल) नै मलाई त्यस क्षेत्रमा भएको विकास देखेर अनौठो लाग्छ । पोखराबाट कुन्छासम्म सडक खनिएको थियो । त्यो बेला लमजुङको सदरमुकाम कुन्छा नै थियो । बाटो महेन्द्र दलले खनेको थियो । यातायातका साधन भनौं की सामान बोक्ने साधन भनौं- खच्चड थिए ।
भारीमा पैसा बोकिन्थ्यो । मान्द्रोमा राखेर पैसा गनिन्थ्यो । म ५/६ वर्षको हुँदा हजुरआमाको काँधमा बसेर पैसा गर्न गएको सम्झन्छु । पैसा गन्दै १, २, ३, ४ र ५ थुप्रो बनाइन्थ्यो ।
त्यसबेला त्यहि बाटोमा टेलिफोन थियो । जीप पनि जान्थ्यो । जहाजबाट जीप पोखरा पुर्‍याइएको थियो । जीप देख्दा अनौठो लाग्थ्यो । हामी भने पेट्रोलको गन्ध सुँघ्न जीपका पछाडी दौडन्थ्यौं । थाकेर फर्कन्थ्यौं । ती जीप सरकारी थिए । त्यहाँका बासिन्दाले कहाँ चढ्न पाउँथे र ? जीपमा जिल्ला विकास समितिका सभापति, तत्कालिन अञ्चलाधीश चढ्थे । अहिले पनि त्यहि बाटो भएर देउराली-उकाली पुगिन्छ ।
त्यसबेला रेडियो थिएन । घिमिरे बाजेका घरमा ग्रामोफोन थियो । हामी गीत सुन्न त्यहाँ पुग्थ्यौं । हामीजस्ता धेरै केटाकेटी त्यहाँ भेला हुन्थ्यौं । ठूला पनि त गीत सुन्न आएका हुन्थे । हामी ग्रामोफोनलाई ‘फोन बाजा’ भन्थ्यौं । हातले घुमाएर दम दिएपछि ग्रामोफोन बज्थ्यो । धर्मराज थापाका गीत पछिसम्म पनि त्यसमा सुनिन्थ्यो । म कक्षा ६/७ मा पढ्दा रेडियो आयो ।
केटाकेटी हुँदाको एउटा रमाइलो दृश्य सधैं दोहोरिन्थ्यो । देउरालीको पश्चिममा फेदीखोला र पूर्वमा खाल्टेखोला छ । त्यसबेला सामान बोक्ने खच्चडको ताँती खाल्टेखोलादेखि देउराली हुँदै फेदीखोलासम्म र फेदीखोलाबाट देउराली हुँदै खाल्टेखोलासम्म हुन्थ्यो । बिहान उकालो नचढाए घाममा हिड्न सक्दैनन् भनेर सबेरै खच्चड हिडाइन्थ्यो । ती सामान बोक्ने खच्चड काठमाडौं र बुटबल पुर्‍याइन्थे र ल्याइन्थे । त्यसबेला खच्चड हिड्ने बाटो कुन्छा-नुवाकोट- ककनी-जितपुर-काठमाडौं हुन्थ्यो । उता बुटवल पनि पुग्थे । बुटवल- पाल्पा-स्याङ्जा-पोखरा-कुन्छा अर्को बाटो थियो । त्यहि बाटोलाई हुलाकीमार्ग भनिन्थ्यो ।
ए, हुलाकीमार्ग भनेपछि मैले त्यसबेलाका हुलाकीहरूलाई सम्झें । त्यहि बाटोमा हुलाकी हिंड्थे । उनीहरूले पेंटी बाँधेको हुन्थ्यो । त्यसमा पैसाजस्ता बज्ने धातुका टुक्रा हुन्थे । हुलाकी भाला भएको लौरो बोकेर हिड्थे । त्यसमा घुंगुरु हुन्थ्यो । पेंटी र भाला दुवै बज्थ्यो । त्यहि आवाज सुनेपछि हामी हुलाकी आएको थाहा पाउँथ्यौं । लौरो बिसाएपछि मात्र बोल्ने नियम बसाइएको हुन्थ्यो । लौरो बिसाएर पानी खान माग्थे । फेरि लौरो बोकेपछि उनीहरू बोल्दैनथे । लौरो बोकेपछि आफ्नै श्रीमतीसँग पनि बोल्दैनथे । उनीहरूलाई सबैले माया गर्थे । एउटा हुलाकीले कुनै एक ठाउँमा आफूले बोकेको चिठीको थैलो पुर्‍याएपछि अर्को हुलाकीलाई दिन्थे र फर्कन्थे । चिठी बोक्ने थैलो सार्‍है बलियो कपडाको बोरा नै हुन्थ्यो । त्यसमा पानी छिर्दैनथ्यो । हुलाकी भिज्थे । चिठी नभिजाई पुर्‍याइन्थ्यो । हुलाकीलाई राजाको सवारी र जन्तिले पनि नछेक्नु भनिन्थ्यो । हुलाकीको त्यो नियम एउटा अचम्मको कथाजस्तो लाग्छ । त्यसबेला पनि सञ्चारलाई यसरी महत्व दिइएको थियो ।
अब फेरि मेरै पढाईको कुरा गरौं । म त्यति धेरै पढ्दिनथे । तर कक्षा छुटाउँदिनथे । पढाएको सम्झन्थे । अनुशासित थिएँ । मलाई सबैले माया गरेर अगाडी बेन्चमा राखिदिन्थे । म ध्यान दिएर सुन्थे । मेरा साथीहरू धोक्थे । जाँचको बेलामा पनि म चाहिं पढ्दिनथें । चाँडै सुत्थे । आमा कराउनुहुन्थ्यो । तर म कहिल्यै कक्षामा म पहिलो भइँन । तर चौथोभन्दा तल पनि झरिन ।
दशैं हाम्रा लागि पिडा हुन्थ्यो । आमा त रुनुहुन्थ्यो । बुबा दशैंमा आउनुहुन्नथ्यो । उहाँको जागिर नै त्यस्तो थियो । तर दशैंमा प्रशस्त लत्ताकपडा र खानेकुरा पठाइदिनुहुन्थ्यो । गाउँमा सबैका बाबा आउँथे । हाम्रै मात्र नआउँदा पिडा हुनु स्वभाविक हो । दशैंका लुगा त भारतबाटै आएकाले अरुका भन्दा राम्रा हुन्थे ।
दशैंभन्दा तिहार रमाइलो हुन्थ्यो । बुबा नभएको ख्याल हुन्नथ्यो । दीदि हुनुहुन्थ्यो । आमा भारतमा हुर्केकाले देउरालीमा पाक्नेभन्दा फरक ढंगका मिठाई हाम्रा घरमा पाक्थे ।
रुपातालनजिक लाग्ने सिस्ठेनी जात्रा हाम्रा लागि रमाइलो गर्ने पर्वजस्तो हुन्थ्यो । आमाले दुई रुपैयाँ दिंदा पनि मज्जाले खर्च गर्दा पैसा फिर्ता आउँथ्यो ।
दशैं र तिहार पिङ हालिन्थ्यो । कुनै पिङ घरमा झुण्ड्याएर बनाइन्थ्यो । कुनै बाँस गाडेर लिङ्गे पिङ हुन्थे । पिर्के (रोटे) पिङ र जाँते पिङ हुन्थे । तर तिहारलगत्तै पिङ फुकाइन्थे । पिङ त्यत्तिकै राख्यो भने असिना पर्छ भन्ने भनाई सुनिन्थ्यो । तर त्यसमा वैज्ञानिक सत्यता छैन । विश्वासमात्र हो ।
दशैं, तिहार, सिस्ठेनीबाहेक फागूपूर्णिमा निकै रमाइलोसँग मनाइन्थ्यो । देउराली वरपर गुरुङ, मगर, थापाको बस्ती थियो । ती बस्तीमा फागू धेरै रमाइलो गरेर मनाइन्थ्यो । त्यहाँ दिनभर-रातभर नाच हुन्थ्यो । धेरै गीत गाइन्थ्यो । अबीर लगाउनेभन्दा पनि दोहोरी गीत गाउने चलन थियो ।
तीजमा त देउरालीमा मेला लाग्थ्यो । राती हाम्रो घरमा बास बस्नेको संख्या धेरै हुन्थ्यो । मच्छड लाग्ने त्यो गाउँमा हाम्रो घरमा मात्र झूल थियो ।
म कक्षा १० को टेस्टमा फेल भएँ । २०३२ मा थर्ड डिभिजनमा एस.एल.सी. पास गरें । मलाई खेलकुदमा रुचि थिएन । सानैमा कविता लेख्थे । कवितामा धेरै पुरस्कार पनि पाएँ । हस्तलेखन, वादविवाद, निवन्धमा पनि पुरस्कार पाएँ ।
मलाई आमाले सरल, शिष्ट र नम्र हुन सिकाउनुभयो । म पनि सबैलाई सरल, शिष्ट र नम्र हुन आग्रह गर्छु । जीवनमा यति भए पुग्छ । मुखले मात्र होइन्, व्यवहारमा हुनुपर्छ नि ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ पुस १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

2 thoughts on “प्रकट पगेनी सानो छँदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<