गोपालप्रसाद श्रेष्ठ सानो छँदा

देशभर शहरको मान्छे

गोपालप्रसाद श्रेष्ठ नेपालको दूरसञ्चारको विकासमा धेरै नयाँ काम गरेका व्यक्तित्व हुनुहुन्छ । उहाँले देशमा आकाशवाणी सेवा सुरु गर्नुभयो । उहाँले ग्लोबल कम्युनिकेसन्स खोलेर निजीस्तरमा एसटीडी (देशभर फोन गर्न सकिने) र आईएसडी (विदेश सम्पर्क गर्न सकिने) सेवा गर्नुभयो । त्यसपछि यो सबैका लागि खुला भएको थियो । उहाँले सौर्य ऊर्जा (सूर्यको तापबाट निकालिने शक्ति) का लागि पहिलो काम गर्नुभएको थियो । उहाँको जन्म काठमाडौंको बत्तीसपुतलीमा वि.सं. १९८६ मंसिरमा भएको हो । उहाँका पिताको नाम श्यामलाल र माताको नाम हर्षमाया हो । उहाँहरू पाँच दाजुभाई र दुई दिदीबहिनी जन्मनुभएको थियो । उहाँ माहिलो छोरा हो । राणा शासन रहँदै आकाशवाणी सेवाका लागि उहाँ भोजपुर पुग्नुभयो । राणाविरुद्ध आन्दोलन चलिरहँदा त्यहींको आकाशवाणीबाट नेपालको पहिलो रेडियो प्रसारण भएको थियो । उहाँले गरेको योगदानबारे २०४४ पुस १७ को ‘विश्व समाचार’ नामक साप्ताहिक पत्रिका लेख्छ- ‘आकाशवाणी क्षेत्र विस्तार र गुणात्मक सुधार ल्याउनमा आकाशवाणी सुदृढीकरण योजनाका प्रमुख गोपालप्रसाद श्रेष्ठको सक्रियता र लगनशीलताले निकै राम्रो भूमिका खेलेको देखिन्छ । आज पूर्वी नेपालको सिमानादेखि पश्चिम नेपालको सिमासम्म गरी हाल ८५ वटा आकाशवाणी स्टेसन स्थापना भई सञ्चालन भइरहेका छन् । ती ८५ मध्ये ४३ वटा सौर्यऊर्जाबाट चलेका छन् ।’ तत्कालीन नेपाल दूरसञ्चारले २०५६ मा प्रकाशित ‘नेपालमा दूरसञ्चार : विगतदेखि वर्तमानसम्म’ पुस्तकमा उहाँको खुबै प्रशंसा गरेका अंश भेटिन्छन् । निजी क्षेत्रमा एसटीडी र आईएसडी आएपछि दूरसञ्चारको आम्दानी निकै बढेको थियो । यसरी दूरसञ्चारको विकासका क्रममा उहाँले ७५ वटै जिल्ला पुग्ने अवसर पाउनुभयो । विश्वका १३ देशमा तालिम र भ्रमणको अवसर पाउनुभयो । यसपटक दूरसञ्चारका क्षेत्रमा विषेश काम गरेका श्रेष्ठका बाल्यकालका केही सम्झना :
मैले अक्षर चाहिं घरमै चिनें । एउटा काठको फल्याक थियो । फल्याकमा रातो माटो लेपिन्थ्यो । त्यो सुकेपछि खरीढुंगाले लेखिन्थ्यो । त्यसबेला एकैपटक कक्षा ३ मा पढ्न जाने चलन थियो ।
हामी बत्तीसपुतलीबाट त्रिपुरेश्वरमा सर्‍यौं । ९० सालको भूकम्प आउँदा हामी त्रिपुरेश्वरमै थियौं । त्यसबेलाको त्रिपुरेश्वर सानो र सार्‍है साँघुरो थियो । टुकुचामा पुल त थियो । तर निकै साँघुरो थियो । भूकम्पपछि त हो- नयाँ सडक (न्यूरोड) बनेको । न्यूरोड बनेपछि बाटो यत्रो किन बनाएको होला ? जस्तो लाग्थ्यो । अहिले न्यूरोडको बाटो कति सानो लाग्छ । त्यहाँ सडक आसपासमा बत्ती बल्दा खुब अचम्म लाग्थ्यो । बत्ती निला थिए । निलो बत्तीमा मानिस निलै देखिन्थे । आफू निलो छु भन्ने कसैलाई हुन्नथ्यो । तर अरुलाई निलो देख्थ्यो र जो पनि जसलाई जिस्क्याउँदै भन्थ्यो, ‘तँ त मरिस कि क्या हो ? निलो भइछस् ।’
म पाँच वर्षको भएपछि त्रिपुरेश्वरबाट हाम्रो परिवार कुपन्डोल सर्‍यो । त्यहाँ सरेपछि म १९९४ सालमा कक्षा ३ मा पढ्न भनी पाटन स्कुल गएँ । पाटन स्कुल लखनखेलमा थियो । दाजू र म स्कुल जान्थ्यौं । घरबाट १०/१५ मिनेटमा स्कुल पुगिन्थ्यो । स्कुल खरले छाएको थियो । बाटो ग्य्राभेल गरिएको थियो । तर राम्रो थियो । गाडी एक/दुईटा थिए । गाडी नचलेपछि बाटो पनि बिग्रने भएन ।
१९९४/९५ सालतिर काठमाडौं उपत्यकाभर ४/५ वटा गाडी त थिए । राजा र राणाहरू गाडीमा हिड्थे । उनीहरू आउँदा आदरपूर्वक विभिन्न शब्दले स्वागत गर्ने चलन थियो । जातीअनुसार फरक शब्द थिए ।
पाटन स्कुल र दरबार हाईस्कुलका विद्यार्थीबीच, ‘तिमीहरू ठूला की आफू ठूलो ?’ भन्ने भइरहन्थ्यो । त्यसबेला पाटनका विद्यार्थी दरबार स्कुलका विद्यार्थीलाई, ‘पाटन स्कुल ह्याज नो रुल्स, ब्वायज आर मङ्कीज, टिचर्स आर फूल्स’ भन्थे । दरबार स्कुलका विद्यार्थी पाटनका विद्यार्थीलाई ‘दरबार स्कुल ह्याज नो रुल्स, ब्वायज आर मङ्कीज, टिचर्स आर फूल्स’ भनेर पालोको पैंचो फेर्थे ।
पाटन पढ्दा मेरा साथी डिल्ली शमशेर थिए । शिक्षक लोकमानसिंह हुनुहुन्थ्यो । मेरा नीजि शिक्षक जगतमान वैद्य हुनुहुन्थ्यो ।
सानोमा हामी भोगटेको भकुन्डो खेल्थ्यौं । अलि नपढ्ने केटाकेटी गुच्चा खेल्थे । चंगा उडाउने चलन थियो । चंगा पनि दशैंका बेलामात्र उडाइन्थ्यो । त्यसबेला एक/दुई पैसामा चंगा आउँथ्यो । एउटा कपि त एक पैसामा आउँथ्यो । पेन्सिल त दुई पैसामा आउँथ्यो ।
मैले ३ र ४ कक्षामात्र पाटन स्कुलमा पढें । पिताजी राणाको दरबार (सिंहदरबार) मा काम गर्नुहुन्थ्यो । म पनि सानोमा सिंहदरबार छिरेको थिएँ । तर सार्‍है सानो भएकाले कस्तो थियो ? त्यति याद छैन । बुबाले हामीलाई जताजता लानुभयो, हाम्रो परिवार उतै सर्‍यो । कक्षा पाँचपछि मैले दरबार हाईस्कुलमा पढें । त्यसपछि मात्र मैले फाउन्टेन कलम चलाउन पाएँ । चलन पनि त्यसपछि नै आएको हो । हामी मसीको भाँडो लिएर स्कुल जान्थ्यौं । सुरुसुरुमा कलमले लेख्न नजानेर छर्कन्थ्यौं । लुगाभरी मसी लाग्थ्यो ।
हजुरबुबाको निधन भएपछि हामी फेरि बत्तीसपुतली गयौं । हजुरबुबाले गुह्येश्वरीमा भजन गाउने चलन चलाउनु भएको थियो । हजुरबुबा बितेपछि बुबाले त्यो चलन चलाउने प्रयास गर्नुभयो । त्यहाँको सबैभन्दा पुरानो भजन हाम्रै हजुरबुबाको योगदान हो ।
हामी धेरै समय त बत्तीसपुतलीमा बसेनौं । बागबजार सर्‍यौं । त्यसपछि मरुहिटीमा घर किनेर बस्यौं ।
त्यसबेला अंग्रेजीको फर्स्ट बुक थियो । ईश्वरचन्द्र विद्यासागरले लेखेको त्यो किताब पढेपछि त विद्धान भएको ठहर्थ्यो । ‘भेडा पाना’ सम्म बाजे पढेको, ‘कुखुरा पाना’ सम्म बुबाले पढेको भनेर गफ हुन्थ्यो । त्यसको पहिला-पहिलाका भेडा र कुखुराको चित्र थियो । बाबुले पढेको किताब छोरालाई हुन्थ्यो । मैले ‘प्रोज, पोयट्री’ को किताब पढेको थिएँ ।
हामीले स्कुल पढ्दा संस्कृत, नेपाली, साइन्स, म्याथ, ज्योग्राफी/हिस्ट्री जस्ता विषय थिए । मैले थर्ड डिभिजनमा एस.एल.सी. पास गरेको हुँ ।
दरबार स्कुलमा हामीलाई बोधविक्रम अधिकारी, तीर्थराज उप्रेती, अमरबाबु वशु, तुलसीरमण उपाध्यायले पढाउनुभयो । हामी अलि राम्रो पढ्ने विद्यार्थीलाई तीर्थराज, तुलसीरमण जस्ता सरहरू घरमै बोलाएर पनि पढाउनुहुन्थ्यो । त्यसबेलाका सरहरू पैसाको मुख हेर्दैनथे । सबै विद्यार्थीलाई छोरा समान ठान्थे । मेरा साथीहरू मोहिन शाह, मनमोहनलाल सिंह थिए ।
पाटनका सर जगतमान त देवताजस्तै हो । म एकपटक बिरामी भएँ । उहाँ मलाई भेट्न आउनुभएको थियो । उहाँले सुकाएको अमला ल्याउनुभएको रहेछ । उहाँले अमलाका टुक्रा दिंदै भन्नुभयो, ‘लौ यो तिम्री गुरुमाले पठाएको । बिरामी हुँदा खाए पनि बेफाइदा गर्दैन ।’
त्यसबेला छोराहरू विद्यार्थीका रुपमा नै बढी थिए । मेरा दिदीबहिनीले पढें । शुक्रराज शास्त्रीकी दिदी चन्द्रकान्ता निकै सक्रिय थिइन । उनले महिलाहरूलाई पढाउने र शिपका लागि तालिम दिने गर्थीन । पछि अंगुरबाबा जोशीजस्ता महिला पनि पढ्न आए । यसरी छोरी पढाउनुपर्छ भन्ने चेतना फैंलदै गएको देखिन्थ्यो ।
त्यसबेला एक पैसा, दुई पैसा, पाँच पैसा, पचन्नी (२० पैसा), सुकी, मोहर, डबल (एक रुपैयाँ) चलन चल्दै आयो । क्रमशः चलेका यी पैसाको महत्व धेरै थियो । २० पैसा त चाँदीको हुन्थ्यो । बिहे हुँदा केटी हेर्न जाँदा दुवैतर्फबाट २० पैसा राखेकोभन्दा महाजन वा ठूला मान्छे ठान्थे । एक पैसाको भटमास वा बकुल्ला किन्दा खल्तीभर हुन्थ्यो । कुटुकुटु खाँदै कतै जाँदा पुग्थ्यो । सानोमा हामी कमेज र सुरुवाल लगाउँथ्यौं । कमेजमा खल्ती हुन्थ्यो ।
हामीले मरुहिटीमा घर किन्दा १६ सय रुपैयाँ परेको थियो । पछि डिल्लीबजारमा ३५ सयमा घर किन्दा खुब खुला ठाउँसहितको आलिसान बंगला मिलेको थियो ।
हामीलाई सानोमा गँठे आयो भनेपछि खुब डर लाग्थ्यो । गँठेले अक्षता छर्केर केटाकेटीलाई लठ्याउँछ भन्थे । सेतो जामा लगाएको र चुल्ठो बाटेको गँठेले केटाकेटीलाई लान्छ भनेपछि हामी भाग्थ्यौं र लुक्थ्यौं ।
सानो छँदा भोटो देखाउने जात्रा, इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथको जात्रामा जान्थ्यौं । मेरो मामाघर पनि पाटन हो । पाटनको सालँमा मेरो मामाघर थियो । मेरी आमा एक्ली छोरी हुनुहुन्थ्यो । मामाहरू थिएनन् । आमासँग मामाघर त धेरैपटक गइयो । आमा बितेपछि त्यता कमै गइयो ।
स्कुलमा निबन्ध प्रतियोगिता भएको थियो । मैले पुरस्कार जितेको थिएँ । राम्रो नपढ्दा धेरैले पिटाई खान्थे । म राम्रो पढ्थे । मैले भने पिटाई खाइँन । तर पिटे पनि सताउन होइन राम्रो पढोस् भनेर नै सरहरूले पिट्नुहुन्थ्यो ।
म सानैमा पशुपतिको वनकालीमा मेरो ब्रतवन्ध गरिएको हो । सगुन ख्वाउने भनेर सबैले अण्डा फुटाएर दिन्थे । सगुन खाएर मलाई वान्ता आयो । म धेरै दिन बिरामी नै भएँ । त्यसको धेरै वर्ष मैले अण्डा नै खाइनँ ।
म जागिर खान पहिलोपटक नै भोजपुर गएँ । काठमाडौंबाट त्यहाँ पुग्न मलाई २१ दिन लागेको थियो । पछि त हेलिकप्टरबाट पनि धेरै ठाउँ गइयो । ती बेलाका सम्झना झन धेरै छन् ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ पुस ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<