रामप्रसाद ज्ञवाली सानो छँदा

सानो हुँदाका धेरै सम्झना, कुन भन्ने कुन नभन्ने

रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ । उहाँ एक साहित्यकार हुनुहुन्छ । उहाँको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो । उहाँ कुन्तादेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ । संस्कृतमा शास्त्री र नेपालीमा एमए (प्रथम श्रेणीमा प्रथम) गरेका ज्ञवालीले करिब एक दर्जन साहित्यिक कृति लेख्नुभएको छ । ‘विवश आँसु’ (नाटक, २०४४), ‘परिवर्तनको मोडमा’ (उपन्यास, २०५५), ‘जीवनका घुम्तीहरू’ (उपन्यास, २०५३), ‘औँसीका फूलहरू’ (महाकाव्य, २०५३), ‘आख्यानकार पारिजात’ (समालोचनाग्रन्थ, २०५८), ‘पुतली र झुसिल्किरा’ (कवितासंग्रह, २०५९), ‘एकादेशमा’ (खण्डकाव्य, २०६१), ‘सानी परेवी र बाज’ (बालकथा, २०६१), ‘असुरग्याँस’ (कवितासंग्रह, २०६२), ‘सम्पत्ति’ (एकांकीसंग्रह, २०६३) र ‘पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या’ (सैद्धान्तिक समालोचना, २०६३) उहाँले लेखेका कृति हुन् । उहाँले कक्षा १ देखि १० सम्मका लागि दस प्रकारका व्याकरण, पूर्वप्राथमिकदेखि प्राथमिक तहसम्मका ६ पुस्तक, प्रवीणता प्रमाणपत्र तहका चार, दस जोड दुईका चार र स्नातक तहका चार पुस्तक लेख्नुभएको छ । उहाँ विभिन्न निजी शैक्षिक संस्था तथा विभिन्न साहित्यिक संस्थासँग काम गर्दै आउनुभएको छ । यसपटक ज्ञवालीका बाल्यकालका केही सम्झना :
आफू केटाकेटी छँदा घटेका रमाइला र नरमाइला घटनाहरू बिर्सन नसकिने हुँदा रहेछन् । मेरा पनि १०-१५ वटा त्यस्तै रोचक सम्झनाहरू छन् । केही त आज भन्न पर्छ ।
त्यतिखेर म पाँच वर्षको थिएँ । बुबा रिन लाग्यो भनेर नोकरी खोज्दै भारततिर जानुभएको थियो । हामी पाँच भाइ थियौं । २-२ वर्षको फरक भएका आमाले रोगी हुनुहुन्थ्यो । एकदिन माआ र दाइहरू खेत रोप्न भनेर जानुभएको थियो । म घरमा थिएँ । भाइ कोक्रामा सुतिरहेको थियो र अलि बेरपछि मलाई एकदमै भोक लाग्यो । घरमा खानेकुरा नभेटेपछि म छिमेकीका घरमा गएँ । त्यहाँ पाहुनाहरू पुरी-तरकारी खाँदै थिए । मैले ढोकाबाट मुन्टो छिराएर उनीहरूलाई हेर र भोकले छटपटिएको हुँदा मैले घुटुक्क थुक निलें । छिमेकीले मलाई घृणापूर्वक हेरिन् । पाहुनलाई सुनाउँदै भनिन्- ‘ए रामे के कुकुरले जस्तो ढोकामा ढुकेको ? जा गइहाल् ! यी उपल्लारेनी कुकुर्नी पनि कति ब्याउनसकेकी होला ? वर्षेपिच्छे ग्यालग्याल्ती छाउराहरू जन्माएर !’ पाहुनाहरू हलल्ल हाँसे । मेरो मुटुमा गाँठो पर्‍यो र म रुँदै घर फर्कें । आमालाई कुकुर्नी भनेको, हामीलाई कुकुरका छाउरा भनेर हेपेको कुराले मलाई ठूलो चोट परेछ । म दिनभरि रोइरहें । साँझ आमा र दाइहरू आइपुग्दा पनि म हिक्कहिक्क गर्दै रोइरहेको थिएँ । आमाले माया गर्दै- ‘के भयो छोरा ?’ भन्नुभयो । आमाको मायाले मेरो मनमा झन् भक्कानो पर्‍यो । मैले रुँदैरुँदै दिउँसोको सबै कुरा सुनाएँ । आमा पनि अर्कोतिर फर्केर रुनुभयो र भन्नुभयो- ‘म अभागीको खप्परै उस्तो, लोग्ने घरमा छैनन् भनेर हामीलाई सबैले हेपेका ! मर्न पाए बरु आनन्द हुन्थ्यो !’ त्यसपछि आमासँगै हामी सबै रोयौं । म यो नमिठो घटना कहिल्यै बिर्सन सक्दिनँ ।
म ६ वर्षको हुँदा हाम्रो गाउँमा अचम्मको भाँडो आयो । त्यस सानो भाँडोभित्रबाट धेरै मान्छेहरू कुरा गर्थे । कहिले गीत गाउँथे, कहिले कथा हाल्थे, कहिले झगडा गर्थे । गाउँघरका केटाकेटी, तरुनातरुनी र बूढाबूढी साँझ परेपछि त्यही भाँडालाई बीचमा राखेर वरिपरि बस्थे र रमाइलारमाइला कुरा गर्थे । त्यति सानो भाँडाभित्र बसेर अनौठा अनौठा कुरा गर्ने मान्छे को होलान् ? त्यति धेरै मान्छे त्यसभित्र कसरी अटाएका होलान् ? ती कस्ता होलान् ? एकपटक तिनीहरूलाई हेर्न पाए हुने । मेरो मनमा यस्तै कुरा खेल्थे । ‘ए विष्णुपन्जरे हजुरबा, त्यो भाँडाभित्र बसेका मान्छेहरूलाई बाहिर आउन भन्नुस् न ! कस्तो हेर्न मन लाग्यो !’ मैले प्वाक्क भनिहालेँ । पहिले त सबैजनाले अचम्म मान्दै मतिर हेरे । अनि एकैचोटि ठुलो स्वर निकाल्दै हाँसेर भने- ‘यो रामे बजिया पनि रमाइलो छ ।’ विष्णुपन्जरे हजुरबाले भन्नुभयो – ‘हेर नाति, यो रेडियो हो । यसभित्र मान्छे छैनन् । तँ ठुलो भएपछि आफैं थाहा पाउँछस् ।’ मेरो चित्त बुझेन । मलाई आफ्नो घरमा पनि रेडियो भए हुन्थ्यो भन्ने लागि रह्यो । आमालाई भनेको उहाँले अँध्यारो मुख लाउनुभयो । अनि मैले आफैं रेडियो बनाउने अठोट गरेँ । एउटा इँटा खोजे । त्यसमा प्वाल पारें । प्वालमा बाँसको मसिनो र लामो सिन्को घुसारेँ । पुरानो कपडा च्यातेर इँटालाई दुईतिरबाट बाँधेँ । अब त्यो काँधमा भिर्न हुने भयो । अब के थियो र, रेडियोको एरियल पनि थियो । अनि गाउँका साथीहरूलाई पछिपछि लगाएर आफै गाउँदै अगाडि-अगाडि हिडें, ‘क माने कछुवा ख खरायो ।’ पछि पछि साथीहरू पनि त्यस्तै गर्दै थिए । आमाले हामीलाई देख्नुभयो । पहिले त आमा छक्क पर्नुभयो, अनि भन्नुभयो- ‘हेरहेर यो रामेको चाला !’ त्यसपछि उहाँ मुख छोपेर हाँस्नुभयो । यो रमाइलो घटना पनि म कहिल्य बिर्सन सक्दिनँ ।
घिउ चोरेर खाएको घटना पनि म कहिल्यै बिर्सन्नँ । म आठ वर्षको थिएँ । जाडोको बेला थियो । कान्छो भाइ करिब चार वर्षको थियो । ‘भाइलाई राम्ररी हेरेस है रामू’ भन्दै आमा दाइहरूलाई लिएर मेलामा जानुभयो । दिउँसो ३ बजेतिर मलाई भोक लाग्यो । खानेकुरा खोज्दा अरू केही भेटिएन । सिङमाङमा राखेको घिउको बट्टामात्र भेटियो । बिर्को खोलेर हेरेको त मज्जाले जमेको सेतो र सफा घिउ मगमग बासना आइरहेको थियो । मैले मन थाम्नै सकिनँ । घिउको डब्बा लिएर कफाफट आँटी (चोटा) मा गएँ । चम्चाले घिउ झिक्दै कटौरीमा हालेँ । ग्वामग्वाम घिउ खान के थालेको थिए, कान्छो भाइ आइहाल्यो । ‘तिम्ले के खाको ? मलाई नि देउ न !’ भाइले भन्यो । यसले आमालाई भनिदियो भने त पिटाइ हुन्छ भन्ने खोचेर उसलाई थोरै घिउ दिंदै भनें- ‘कान्छो घिउ खाएको कुरा आमालाई नभन है ! भनेनौ भने म भोलि पनि दिन्छु नि !’ भाइले घिउ खाँदै र खुसी हुँदै टाउको हल्लाएर भन्यो- ‘हुन्छ’ । घिउ हालेको कटौरी चिल्लो भएकाले धोएँ । जति धोए पनि चिल्लो गएन । त्यसैले धान राखेको ठूइँलोमा घुसारेर लुकाएँ । भाइले त्यो पनि देख्यो । घिउको डब्बा पहिले जहाँ थियो, त्यही राखिदिएँ । त्यसदिन कसैले थाहा पाएन । पर्सिपल्ट आमाले डब्बा खोल्नुभयो । घिउ कसले खाएछ भनी एकदिन हल्लाखल्ला भयो तर कुरा त्यत्तिकैमा सकियो । तीन महिनापछिको कुरो हो । भाइले मैले भनेको के कुरा मानेन कुन्नि, मलाई रिस उठ्यो र उसलाई पिटिदिएँ । भाइ त ‘पख्लास्, तँलाई’ भन्दै आमासँग गयो र रुँदै भन्यो, ‘हेर्नुस न आमा ! दाइले पिट्छ । त्यो अस्ति नै घिउ खाएको छ नि ! यही दाइले हो । आफूले धेरै खायो, मलाई इति दियो, मलाई नभन्नु है भनेर मैले नभनेको ! कटौरी पनि ठूइँलोमा लुकाएको छ !’
आमाले धानको ठुइँलोबाट कटौरी झिक्नुभयो । कटौरी हरियो भइसकेको थियो । आमाले रिसाएर मतिर हेर्नुभयो । म डरले भिजेको मुसोजस्तै भएँ । ‘तलाई बदमास घिउ कल्ले चोर्‍यो भनेको त तैँले पो गुम्स्याएको ?’ मतिर आँखा तर्दै आमाले भन्नुभयो । अब आमाले पिट्नुहुन्छ होला भनी म मनमनमा डराउँदै थिएँ तर एकछिनपछि मतिर हेर्दै आमा मज्जाले हाँस्नुभयो र भन्नुभयो- ‘खानाको काल !’
केटाकेटी छँदाका यस्ता घटनाहरू त कति छन् । कति कक्षा चारमा फेल भएपछि घर जान डराएर अबिर दली घर पुगेको अनि पास भएँ भनी झूटो बोलेर बुबालाई कक्षा पाँचका किताब किन्न लगाएको घटना जति मज्जाको छ, योभन्दा पनि नबिर्सने घटना छ- बाबुसित अंश चाहियो भनी मागेको ।
यो घटना पनि कक्षा चारमा पढ्दाखेरिकै हो । खेतमा पानी लगाउने पालो हाम्रो थियो । तर बुबा नभएको देखेर हामीलाई हेप्दै हाम्रो पानी आफ्नो खेतमा हाल्ने हेपाहालाई हँसियाको झटारो हानेको र उसका खेतका आलीहरू खन्दै भत्काइदिएको घटना यति रोचक छ कि सम्झेर आफै छक्क पर्छु ।
बढी जान्ने भएर अरिङ्गालको गोलोमा ढुङ्गाले हान्दा अरिङ्गालले चिलेर १५ दिनसम्म ओछ्यानमा सुत्नुपरेको घटना सम्झँदा जिउ सिरिङ्ग हुन्छ भने पिङ्ग मच्चाउँदा पछारिएर अहिलेसम्म दाड दुख्ने गरेको घटना बिर्सन सक्ने कुरै भएन । ११ वर्षको छँदा भारतको हरिद्वार जान हिंडेको, गोरखपुर रेलबाट पानी खान भनी ओर्लदा रेल हिँडेको रेलमा पस्न नसकेर झ्यालमा झुन्डिदा झन्डै मरेको घटना झन् कहालीलाग्दो छ ।
यस्ता अनेक सम्झना यस सानो लेखमा अटाउनु सम्भव छैन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ कात्तिक ९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<