कल्पना प्रधान सानो छँदा

खोई देउता रिसाएनन् ? कसैको मुख बांगिएन ?

मेरो सानो खरायो,
आज कता हरायो !
हिजो सँगै खेलेथ्यौं,
घरभित्र भुलेथ्यौं !
को पहिले पुग्ने हो,
भन्दै हामी कुदेथ्यौं !
खोज्दाखोज्दै बित्यो दिन,
डुब्न लाग्यो घाम ।
कल्ले देला बुबु उल्लाई,
कल्ले देला माम ?
चिथोर्छ कि बिरालोले,
गर्छ म्याउँ-म्याउँ ।
खोजी गर्न लौ न आमा,
हामी सगै जाऔं ।
खाटमुनि लुक्यो कि !
आगनीमा पुग्यो कि !
भालु आई चोरेर
जंगलतिर लग्यो कि !
यो रमाइलो कविता सबैले सुनेको र पढेको कविता हो । यो कविता कल्पना प्रधानले लेख्नुभएको हो । यही कविताको एउटा प्रसंग छ । कुरा २०२६ सालको हो । कल्पना प्रधानले आफ्नो दुईवर्षे छोरोका निम्ति एउटा दम दिएर चल्ने खेलौना खरायो किनिदिनुभयो । खाली ‘चिची’ भनेर मासु खान माग्ने छोराको बानी कम गर्न उहाँले खेलौना खरायो किनिदिनुभएको थियो । छोरो त्यही खरायोसँग खेल्थ्यो । अल्मलिन्थ्यो । एकदिन त्यो खरायो हरायो । खरायो हराएपछि नाबालक छोरा रुन, कराउन थाल्यो । कसले चोर्‍यो ? थाहा भएन । छोरो भने ‘खरायो हरायो’ भनेर कराइरह्यो । राति सुतेन । बल्लबल्ल निदाएको छोरो निद्रामा हुँक्क हुँक्क गरिरह्यो । छोराको चित्त दुखेकोमा उहाँ निकै दुःखी हुनुभयो । छोरो त सुत्यो । उहाँलाई निद्रा लागेन । उठेर एउटा कविता केर्नुभयो । त्यो रात त्यसै बित्यो । बिहान भयो । ‘बालक’ पत्रिकाका सम्पादक वासु रिमाल ‘यात्री’ एकाबिहानै प्रधानका घरमा आउनुभयो । त्यसबेला कल्पना माथिल्लो तलामा केही काम गर्दै हुनुहुन्थ्यो । यात्रीले कल्पनाले लेख्नुभएको कविता पढ्नुभयो । ‘यो कसले लेखेको हो ?’ यात्रीले कल्पनाका पति परशु प्रधानलाई सोध्नुभयो । परशुले भन्नुभयो, ‘श्रीमतीले लेखिन् होला ।’ यात्रीले कविता मनपरेको बताउँदै खल्तीमा हाल्नुभयो । राम्रो छैन जस्तो लाग्दै कल्पनाले लाज मान्नुभयो । उहाँलाई के भनौं के नभनौं ? भयो । कविता ‘बालक’ मा छापियो । त्यही कविता जनकशिक्षा सामग्री केन्द्रले सुरुमा कक्षा ३ को र पछि कक्षा २ को ‘महेन्द्रमाला’ मा समावेश गर्‍यो । कविता छापिएपछि कल्पनालाई लेख्ने जाँगर चल्यो । त्यो जाँगरले धेरै पुस्तकको जन्म भयो । एउटा रमाइलो कुरा के छ भने ‘खरायो हरायो’ भनेर रुने कल्पनाका ती छोरा प्रतीक प्रधान अहिले ‘दी काठमान्डू पोस्ट’ का सम्पादक हुनुहुन्छ ।
कल्पनाको जन्म २००३ सालमा खोटाङ्ग जिल्लाको दिप्रुङ, मार्सेमा भएको हो । उहाँका पिताको नाम मोहनप्रसाद रेग्मी र माताको नाम अम्बिकादेवी रेग्मी हो । उहाँ मातापिताकी एक्ली छोरी हो । उहाँले काठमाडौंको भीमसेनगोला प्रा.वि.मा १८ वर्ष पढाउनुभयो । उहाँका १७ वटा बालकथासंग्रह, तीनवटा बालउपन्यास, तीनवटा बालकवितासंग्रह गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका प्रकाशित बालकथासंग्रह ‘रुपैयाँ फल्ने रूख’, ‘मेरो सानो घोडा’, ‘हीरा र मोती’, ‘पञ्चतन्त्रका पाँचकथा’, ‘अर्थ न बर्थका कुरा’, ‘सेती परी, काली परी’, ‘खिच्रीमिच्री’, ‘अपरा’, ‘शोकाकुल ढुंगाहरू’, ‘सुनचाँदीको बालक’, ‘दयालु परी’, ‘घोडाको मोल’, ‘मित्रता’, ‘बीनाको बर्थडे’, ‘दाउरेको छोरो’, ‘हिमकन्या’ र ‘मामाको बिहे’ हुन् । उहाँका बालउपन्यास ‘खरायो र उसको छाया’ (यो पुस्तक फेरि ‘खरायो र छाया’ शीर्षकमा प्रकाशित छ), ‘ल्वादे र ग्वादे’ र ‘पराक्रमी फर्सी’ हुन् । उहाँका तीन बालकवितासंग्रह ‘चिं मुसी चिं’, ‘नानीका साना कविता’ र ‘मेरो सानो खरायो’ हुन् । उहाँले रत्न बालकोष पुरस्कार, बालसाहित्य समाज पुरस्कार, समाज कल्याण बाल पुरस्कार, शिशु सेवा बाल पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कारसहित सातवटा पुरस्कार/सम्मान पाउनुभएको छ । यसपटक श्रीमती प्रधानका बाल्यकालका केही सम्झना :
हाम्रो परिवारमा धेरैजना थियौं । दुई काका र हाम्रो परिवार एकै ठाउँमा बस्थ्यौं । सबैका गरी हामी नानीहरू दसजना जति थियौं । हामी सानामा स्कुल जान पाएनौं । घरमा गुरु आएर पढाउनुहुन्थ्यो । हामीलाई इन्द्रबहादुर अधिकारीले नेपाली, अंग्रेजी आदि पढाउनुभएको हो । हामीले काठको फल्याकमा धूलो छरेर सिन्काले कोर्दै अक्षर चिनेका हौं । कहिलेकाही बाँसको पट्यास (बाँस बढ्दै जाँदा एउटा बोक्रा निस्कन्छ र झर्छ, मोटो तर कागजजस्तो त्यस भागलाई पट्यास भनिन्छ) मा पनि लेख्यौं । हामीले सुरुमा ठूलो वर्णमाला पढ्यौं । अंग्रेजीका किताबहरू ‘बुक वान’ र ‘बुक टु’ थिए ।
म कक्षा ९ मा मात्र स्कुल भर्ना भएँ । भोजपुरको विद्योदय हाइस्कुलकी विद्यार्थी बने । २०२८ सालमा ‘नेपाली प्रवेशिका’ उत्तीर्ण भएँ ।
म सानो छँदा अलि सोझी थिएँ । तर मनमा केही गर्छु भन्ने लिइरहन्थें । त्यसबेलाको समाज देखेर म अचम्म मान्थें । उस्तै मानिसमा पनि कसैलाई कामी, दमाई, घर्ती भनेर हेला गरेको मलाई मन पर्दैनथ्यो । किन हेला गरेको होला ? आइमाईलाई बोक्सी किन भनेको होला ? बोक्सीले कसरी खान्छे ? मेरो मनमा प्रश्न उठ्थ्यो । म कसैलाई भन्दिनथें । बोल्दिनथें । त्यसबेला कामी, दमाई, घर्तीलाई घरको दलानसम्म आउन दिने चलन थियो । मान्छेमान्छेबीचमा पनि यस्तो भेदभाव ?
मेरा एकजना बस्नेत साथी थिए । उनलाई मैले, ‘तिमीले दूधको तर (छाली) खाएको छ ?’ भनेर सोधें । उनले ‘छैन’ भने । मैले, ‘म खाना खान बसेका बेला छेउमा आउ । म दिन्छु,’ भने । मैले त छाली त दिएँ । आमाले देखिहाल्नुभयो । मैले, ‘झीगा परेको’ भनेर टारें । अर्को एउटा रमाइलो घटना छ । हाम्रा घरमा केटाकेटीले भान्सामा जानु हुन्न भन्ने थियो । सानाले पकाएको छुनु हुन्न भन्ने थियो । एकदिन आमा भान्सामा सबै खाना ठीक पारेर बाहिर जानुभयो । मैले गएर सबै छोएँ र भागें । पर बसेर हेरें । भान्सामा ठूलाबडा गएर खाना खानुभयो । केही भएन । कोही कामेनन् । मेरो मुख पनि बांगिएन । आमाले मलाई पनि बोलाउनुभयो । मैले पनि खाएँ । मलाई केही भएन । अनि यो त अन्धविश्वास रहेछ भन्ने थाहा पाएँ ।
देउता सबैका हुन् भनिन्थ्यो । सबैका हुन् भने घर्तीले छोएको पानी देउताले चढाउँछु भन्ने ठानें । मैले त्यस्तै पानी चढाइदिए । देउता रिसाएनन् । सबै मानिस अरूका कुरा सुन्दा रहेछन् । आफैं पत्तालगाउने त गर्दा रहेनछन् भन्ने भयो ।
एकपटक दर्जीकी श्रीमतीले भनिन्, ‘हामीचाहिं नचल्ने हाम्रो थुक लागेको चोलो लगाएर खाना पकाउनु हुने ?’ मलाई उनको कुरा ठीक लाग्यो ।
म सानोमा अलि सामाजिक थिएँ । हामी धेरै केटाकेटी एकैपटक खाना खान बस्थ्यौं । सबैलाई कचौरामा दूध दिएको हुन्थ्यो । कसैको पोखियो भने मेरो भाग दिन्थें । पाहुना आए पनि म नै मेरो भाग दिन्थें । म रिसाउन्नथें । खाना मन नलागेको भए ‘मन लागेको छैन’ भन्थें । ८/९ वर्षकी हुँदा अरू रिसाएको देखेपछि ‘ए रिसाउनुपर्ने रहेछ’ भन्ने लाग्यो ।
म अलि ठूली हुँ । अरूभन्दा फरक हुँ । अझ छोरी भएर पनि छोरा हुँ भन्थें । आमाले अर्‍हाएको पनि त्यति नमान्ने स्वभाव थियो । आमालाई नै म, ‘तिमीजस्तो आइमाई होइन’ समेत भन्थें । कथा भन्नुहुन्छ भने म काम गर्छु भन्दै दङ्ग्याउँथे । बुबा ३० वर्षकै उमेरमा बित्नुभयो । एक्ली भएकाले हजुरबुबा र हजुरआमाको मायाले म अलि पुल्पुलिएकी हुँ । मलाई सानो छँदा ‘जानुका’ भनेर बोलाउनुहुन्थ्यो । मेरा साथी भनेका काकाका छोराछोरी नै हुन्थे ।
त्यसबेला रेडियो थिएन । ग्रामोफोन थियो । धर्मराज थापाका गीतका रेकर्ड थिए । हातले घुमाएर ग्रामोफोनमा गीत सुन्नुपर्थ्यो । काका लक्ष्मीप्रसादले धेरै किताब लानुभएको थियो । ‘नेभाप्रस’ (नेपाल भाषा प्रकाशिनी समिति) लेखेका किताब थिए । घरमा नाटक, उपन्यास, कथा, कविताका धेरै किताब थिए ।
दसैंमा मामाघर जान्थ्यौं । मेरो मामाघर भोजपुरको गोगनेका न्यौपाने हुन् । गोगनेका मान्छे हाम्रा गाउँका भन्दा बढी लेखापढा थिएँ । मामाघरकै वातावरणले मैले कविता लेख्न सिकें । तर लेखेको देखाउँदा जसले पनि ‘छिः’ भन्थे । म च्यातेर फ्याक्थें । दसैंमा कहीं पाँच त कहीं दुई पैसा दक्षिणा हुन्थ्यो । म सबै आमालाई दिन्थें । दसैंमा रोटे पिङ त खेलिएन । लिङ्गे पिङ खेलिन्थ्यो । दसैंमा ४/५ वटा खसी काटिन्थें । काम गर्नेहरूलाई खुवायो । आफू खायो । खुब रमाइलो हुन्थ्यो ।
गाउँमा पुराण लगाउँथे । म एकोहोरो सुन्थे । म एकोरिएको देखेर मेरा साथी र ठूलाबढा जिस्क्याउँथें । एक सालको मंसिरमा भैसी थुनेर हेरेबाहेक हामी गोठालो जानु परेन । हाम्रो गाउँमा प्रशस्त फलफूल हुन्थ्यो ।
अहिलेका नानीबाबुहरूले राम्रो पढुन् । मुख फर्काउने बानी नगरुन् ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ कात्तिक २ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<