बिन्द्रा हाडा सानो छँदा

बुवाको पार्कर कलम हराएको त्यो दिन

बिन्द्रा हाडालाई सरकारी जागिर खाने सबैले माथिल्लो तहमा पुगेकी सफल महिला भनेर चिन्छन् । सरकारी सेवामा परराष्ट्र, हुलाक, प्रशासनजस्ता सेवा हुन्छन् । प्रशासन सेवामा तीन महिला मात्र सहसचिव छन् । ती तीनजनामा बिन्द्रा एक हुनुहुन्छ । बिन्द्रा खुला (योग्यता पुगेका जसले पनि दिन मिल्ने) लिखित परीक्षा उत्तीर्ण गरी सहसचिव हुने पहिलो महिला हुनुहुन्छ । सानै उमेरमा माथिल्लो तहमा पुग्ने उहाँको जन्म २०२२ साल असारमा काठमाडौंको भोटाहिटीमा भएको हो । उहाँका पिताको नाम विष्णुदास र माता चण्डेश्वरी हाडा हो । रसायनशास्त्रमा एमएस्सी, कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तरसम्म पढेकी बिन्द्राले थुप्रै देशको भ्रमण गर्नुभएको छ । अर्थ मन्त्रालयमा सेवा दिंदै आएकी उहाँको बाल्यसम्झना प्रस्तुत छ :
मेरा बुवा सरकारी जागिरे हो । आमा गृहणी हो । मेरो एउटा भाइ छ । मेरो र भाइको छ वर्ष फरक छ । हाम्रो परिवार संयुक्त परिवार हो । अहिले पनि बुवा र काका छुट्टिनुभएको छैन । हजुरआमासमेत हुनुहुन्छ ।
मैले श्रीपञ्चमीका दिन ‘ॐ’ लेखेर अक्षर सिकेकी हुँ । मेरो पहिलो गुरु मेरै बुवा हो । मैले क, ख, —– घरमै सिकेँ । अनि भोटाहिटीको बालकुमारी निमाविमा कक्षा १ मा भर्ना भएँ । साना केटाकेटी जति एकै ठाउँमा बस्थ्यौं । हामीलाई सुकुलमा राखेर पढाइन्थ्यो । कक्षा २ देखिमात्र हामीलाई डेस्क बेन्चमा बस्न मिलेको थियो । सानो छँदाका केही साथी सम्झन्छु । एकजना त सावित्री राजभण्डारी हुन् । अर्की भोटाहिटीकै रजनी थिइन् । त्यसबेला हामी भुइँ कोरेर कोठा बनाई खेल्ने एउटा खेल खेल्थ्यौं । अनि डोरी नाघ्ने पनि गर्थ्यौं । घरमा भए गुडिया बनाएर खेल्थ्यौं । कक्षा ३ मा हामी अंग्रेजी, गणित, सामाजिक, नेपाली पढ्थ्यौं । स्कुल पुग्न पाँच मिनेट लाग्थ्यो । स्कुल जाँदा साथीहरू हुन्थे । धेरैजसो म एक्लै हिँड्थे । सानैदेखि म आफ्नो काम आफैं गर्ने स्वभावकी हुँ ।
कक्षा एकको परीक्षा दिन जाँदा एउटा कलमको मसीले पुग्दैन जस्तो लाग्यो । मैले बुवाको पार्कर कलम झिकेर लगें । त्यो त हरायो । अहिले पनि महँगो त्यो कलम हराएकोमा मलाई कस्तो कस्तो लाग्छ ।
बुवा सरकारी जागिरमा भएकाले विभिन्न ठाउँमा सरुवा भयो । काठमाडौंबाट बुवाको सरुवा नेपालगन्जमा भयो । हामी हवाईजहाज चढेर त्यहाँ गएका थियौं । त्यहाँ पुगेपछि म सरस्वती माविमा पढ्न थालें । त्यहाँ मैले कक्षा ४ देखि ७ सम्म पढें । काठमाडौंमा अंग्रेजी पढेकाले त्यहाँ त म धेरै जान्ने पो भएँ । त्यहाँ कक्षा ३ सम्म अंग्रेजी पढाइन्नथ्यो । अरू विषयमा पनि म जान्ने थिए । मैले ‘भेरी गुड’ पाउन थालें । त्यही भेरी गुडले मलाई हौसला मिल्यो । म राम्रो पढ्न त्यतिबेलादेखि थालें । नेपालगन्जमा मलाई पढाउने शिक्षकशिक्षिका सावित्री श्रेष्ठ, कमला श्रेष्ठ, शान्ति श्रेष्ठ, शुभद्रा चटर्जी र तापस गुप्ताको नाम अझै सम्झन्छु । त्यहाँ अनिता श्रेष्ठ, सविना जोशी, शुभद्रा भट्टराई, गीता श्रेष्ठ, सुष्मा रिजाल, रजनी श्रेष्ठ मिल्ने साथी थिए ।
नेपालगन्जमा बस्दा म आँटिली भइसकेकी थिएँ । अहिलेजस्तो वातावरण पनि थिएन । म बजार गएर किनमेल गर्थें । एक रुपैयाँमा तीनवटा अण्डा आउँथ्यो । खसीको मासु १४ रुपैयाँ शेर आउँथ्यो । त्यसबेला शेरको चलन थियो । पछि शेरको चलन हट्यो । किलो ग्रामको चलन चल्यो । घ्यू पनि १४ रुपैयाँ शेर आउँथ्यो ।
नेपालगन्जबाट बुवाको सरुवा भैरहवामा भयो । हामी नेपालगन्जबाट भारतको गोरखपुर हुँदै भैरहवा गएका थियौं । त्यहाँ मैले भैरहवा माविमा कक्षा ७ र ८ पढें । भैरहवामा पढ्दा नै मलाई सेवा गर्न रहर लागेको थियो । म जुनियर रेडक्रस सर्कलमा सहभागी भएँ । हामीलाई स्वास्थोपचारमा साधारण तालिम पनि दिइएको थियो । भैरहवामा बस्दा म एक्लै पोखरा जान्थेँ । त्यहाँ मामा जागिर खानुहुन्थ्यो । त्यहाँ विद्या रिमाल, मिठु लम्साल, सुष्मा राणा मेरा साथी थिए ।
भैरहवाबाट बुवाको सरुवा इलाममा भयो । हामी भैरहवाबाट काठमाडौं गयौं । काठमाडौंबाट हवाइजहाज चढेर भद्रपुर गयौं । भद्रपुरबाट विर्तामोड, चारआली हुँदै मोटर चढेर इलाम गएका थियौं । म इलामको आदर्श व्यावसायिक माविमा पढ्न थालेँ । त्यहाँ कक्षा ९ मात्र पढें । इलाममा पुरन श्रेष्ठ सर हुनुहुन्थ्यो । त्यस्तै हामी गम्भीर सर र हेड सर भन्थ्यौं । कर्ण सर एकाउन्ट र ठाकुर सर गणित पढाउनुहुन्थ्यो । इलामका साथी शारदा श्रेष्ठ, अशोक श्रेष्ठ, सुभाषभक्त राज, मनोज न्यौपाने हुन् ।
म सानैदेखि भूतप्रेतमा विश्वास गर्ने खालकी थिएँ । इलाममा हामी एकजना राईको घरमा डेरा लिएर बसेका थियौं । राईको बारीमा भूत हुन्छ भन्थे । मकै फलेको बेला थियो । मलाई पोलेको मकै खुबै मनपर्छ । मकै खान मन लाग्यो । पूजा नगरी मकै लियो भने हात मकैको बोटमा टाँसिन्छ भन्थे । भात पकाउने एकजना दाइ थिए । उनलाई उकासेँ । राति ९:३० बजेसम्म जेनेरेटरले बिजुली बल्थ्यो । बत्ती निभेपछि दस बजे दाइलाई बारीमा पठाएँ । दाइले मकै चोरेर ल्याए । हात टाँसिन्छ भन्थे । टाँसिएन । यसरी मकै पोलेर खाइयो ।
म राम्रा अक्षर लेख्थें । धेरैले मन पराउँथे । शिक्षक-शिक्षिकाले त धेरै स्याबास दिनुहुन्थ्यो । सानो छँदा ‘सिलेट’ मा लेखियो । त्यसपछि बुवाले बासको कलम मसीमा चोपेर सिकाउनुभएको थियो । त्यसरी लेख्दा मेहनत पर्थ्यो । त्यसैले अक्षर राम्रा भएका हुन् । मलाई बुवा र आमाले कहिल्यै ‘पढ छोरी’ भन्नु परेन । म साना कक्षामा हुँदा ठूला कक्षाका सबै किताब पढिसक्थें । ती ठूला कक्षाका किताब पढ्दा केही बुझिन भने बुवाले बुझाइदिनुहुन्थ्यो । जाँच जहिल्यै राम्रो हुन्थ्यो । मलाई माथि पुर्‍याउन बुवा, आमा र शिक्षक-शिक्षिकाकै योगदान छ ।
सबैतिर पढ्दा कक्षामा ३० वा ३५ विद्यार्थी थिए । सबै ठाउँमा एक तिहाइ छात्रा हुन्थे । मैले देशका विभिन्न ठाउँमा पढेकाले मलाई भूगोल सजिलो भयो । मलाई ती ठाउँमा बोलिने भाषा पनि आउँछ । त्यसबेलाको समाज त्यस्तै थियो । केटासँग बोल्न हुन्न भन्थे । त्यसैले इलामबाहेक अरू ठाउँमा सँगै पढेका केटा साथीहरूको नाम याद छैन ।
मेरो मामाघर काठमाडौंकै यट्खामा हो । मामा पाँचजना हो । धेरै मामाकी एउटी मात्र भान्जी भएकाले म पुलपुलिएकी थिएँ । अति चकचक गर्थें । एकपटक मलाई मोटरसाइकलले किचेको छ । भोटाहिटीमा एकपटक मेरो हात भाँचिएको छ । म अलि जिद्दी स्वभावकी हुँ । दसैंमा हामी मामाघर जान्थ्यौं । नेवार समुदायमा दसैंमा टीका लगाउँदा दक्षिणा दिने चलन थिएन । फलफूल दिनुहुन्थ्यो । नयाँ लुगा भने लगाइन्थ्यो । मामाघरका हजुरबुबाले सबै नातिनातिनालाई मखन ल्याउनुहुन्थ्यो । मखनको एउटा कपडा पसलमा गएर सबैलाई लुगा किनिदिनुहुन्थ्यो । दसैंभन्दा मलाई इन्द्रजात्रा मनपर्ने चाड हो । दसैं घर भीडभाड र अस्तव्यस्त हुने भएकाले मन नपरेको हो । इन्द्रजात्रामा तयारी कम गरे पुग्छ । लाखे र सभाभकु शत्रुशत्रु हुन् । ती इन्द्रजात्रामा नाच्छन् । आपसमा भेट हुनुहुँदैन भन्ने प्रचलन छ । लाखे र सभाभकु नाचेको मलाई रमाइलो लाग्थ्यो । इन्द्रजात्रापछि मलाई तिहार रमाइलो लाग्छ । सरसफाइ, बत्ती र राम्रा लुगाले गर्दा तिहार रमाइलो लागेको हो ।
स्कुल पढ्दा नाटकमा भाग लिन्थे । गीत गाउन पनि सक्थें । नाटकमा त धेरैपटक पुरस्कार पाएकी छु । त्यसबेलाका नाटक समाज हुने अन्यायविरुद्धका हुन्थे । ठगी गरेर लुट्नेविरुद्ध हुन्थे । नाच्न भने बुवाले दिनुभएन । बुवालाई छोरी नाचेको मन पर्दैनथ्यो ।
काठमाडौंमा जयनेपाल र विश्वज्योति सिनेमाहल थिए । अहिले पनि छन् । ती हलमा काका र मामाहरूले सिनेमा हेर्न लानुहुन्थ्यो । बुवाआमा पनि धार्मिक फिल्म हेर्न जानुहुन्थ्यो । कहिलेकाहीं त यस्ता फिल्म हेर्न हजुरआमा पनि जानुहुन्थ्यो ।
अन्त्यमा सबैले आमाबुवाका कुरा सुन्नुपर्छ । ती कुरा सन्तानका लागि गलत हुँदैनन् । आफै जान्ने छु भन्नुहुन्न ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ असोज ४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<