सम्झनाका धेरै वर्ष – झौखेलदेखि काशीसम्म
प्रा. हरिश्चन्द्र न्यौपाने एक सय एक वर्षका हुनुहुन्छ । उहाँ नेपाली र संस्कृत भाषाका भाषाविद् र राजगुरु हुनुहुन्छ । विभिन्न कलेजमा २८ वर्ष र राजपरिवारका विभिन्न सदस्यलाई करिब ४० वर्ष पढाउनुभएको छ । उहाँले पढाएका कलेजमा दरबार कलेज (यो कलेज पछि गएर त्रिचन्द्र कलेजमा गाभिएको थियो), त्रिचन्द्र कलेज, सरस्वती कलेज, न्यासनल कलेज, वाल्मीकि संस्कृत महाविद्यालय हुन् । उहाँ वि. सं. १९६४ भाद्र कृष्णप्रतिपदा (भदौ ८ गते शनिबार) भक्तपुरको झौखेलमा जन्मनुभएको हो । उहाँका पिताको नाम पं. नन्दीकेशर र माता गंगादेवी हुनुहुन्थ्यो । उहाँ भक्तपुरको झौखेल गाविस ४ मा जन्मनुभएको हो । उहाँले भारतको बनारसस्थित गवर्नमेन्ट संस्कृत कलेजबाट साहित्याचार्य गर्नुभएको छ । २००४ सालमा नेपाल सरकारको सेवा थाल्नुभयो र २०३४ सालमा सेवानिवृत्त हुनुभयो । उहाँका विद्यार्थी धेरै छन् । न्यौपानेले विख्यात त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु तृतीय, शुभराज्यभिषेक पदक र गद्दीआरोहण रजतमहोत्सव पदक पाउनुभएको छ । मधुमेह र उच्च रक्तचापबाट बिरामी न्यौपाने विभिन्न चिकित्सकसँग उपचार गराइरहनुभएको थियो । यसपटक काठमाडौंको मालीगाउँका बस्दै आउनुभएका न्यौपानेका बाल्यकालका केही सम्झना :
मेरो बाल्यकाल राजधानीको काँठमा बित्यो । हाम्रो घर-खेत-बारी थियो । कहिलेकाहीँ गाई-बाख्रा चराउन जान्थें । हामी खेती आफैं गथ्र्यौं । म सानोमा ज्ञानी थिएँ । कुटपिट गर्दिनथें ।
त्यसबेला पढ्ने व्यवस्था थिएन । पढे-लेखेका भन्ने कोही थिएन । मैले रामायणको थोत्रो भाग फेला पारें । त्यसमा किस्किन्दा काण्ड रहेछ । त्यही काण्ड पढेर मैले अक्षर चिनेको हुँ ।
हामी चार भाइ र ६ दिदी जन्मेका थियौं । बुवा-आमाका १४ सन्तान जन्मेका थिए । चारजनाको धेरै उमेर नहुँदै निधन भयो । उसबेला औषधिमूलो हुन्नथ्यो । रोग लाग्दा झारफुक गर्थे । केही बिरामी भए, कसरी बाँच्नु र ?
म अढाई वर्षको उमेरमा मलाई पत्थरी भयो । त्यो पत्थरी अपरेशन गरेर निकालियो । बेलायतको दूतावासजस्तो कार्यालयअन्तर्गत काठमाडौंमा उपचार केन्द्र थियो । गोरा डाक्टरले अपरेसन गरेका थिए । पत्थरीको समस्या १५ वर्षको भएपछि बनारसमा दोहोरियो । त्यहाँ मारवाडी अस्पतालमा उपचार गरियो । मलाई पाँच वर्षको हुँदा औलोको ज्वरो आयो । एक वर्ष सतायो । तर पछि म निको भएँ ।
म तीन महिनाको हुँदा बुवा बित्नुभयो । आमाले सधैं पढ भन्नुहुन्थ्यो । संयोग त्यस्तै भयो । सात वर्षको भएपछि म बनारस (काशी) गएँ । त्यहाँ मेरी फुपू हुनुहुन्थ्यो । उहाँलाई साथी चाहिएकाले म त्यहाँ गएँ । तर म फुपूको साथीमात्र भइनँ, मैले पढ्ने मौका पनि पाएँ । मेरा दाजु र दिदी कसैले पनि पढेनन् ।
काशीमा पनि हिन्दु धर्मग्रन्थ नै पढिन्थ्यो । १३ वर्ष पढेपछि मलाई वेद कण्ठ भयो । त्यसपछि लौकौमदी पढें । उसबेलाको काशी रमाइलो थियो । सम्पूर्ण धार्मिक कामबाहेक अरू केही देखिन्नथ्यो ।
काशीमा मैले केही साथी पाएँ । धेरैजसो त उतैका थिए । उनीहरू मारवाडी, गढवाली आदि थिए । गुरुहरू पनि उतैका थिए । मसँग पढ्ने दामोदर भट्टराई थिए । नेपालबाट गएका अरू पनि थिए । सबैथोक त बिर्सें पनि ।
काशीमै मैले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पिता शंकटाप्रसादसँग चिनजान गर्ने मौका पाएँ । शंकटाप्रसादका चार छोरा हुन् । कृष्णप्रसाद कान्छा हुन् भने उनका दाजुहरू बटुक, नारायण र गोपाल हुन् । शंकटाका चारै छोरा मेरा साथीजस्ता हुन् । अहिले पनि भेट हुँदा कृष्णप्रसाद मलाई चिन्छन् । ‘दाजु’ भनेर बोलाउँछन् । कृष्णप्रसाद त मैले शास्त्री पास गरेपछि जन्मेका हुन् । उनी पकनाजोलका हुन् । इलाहाबादबाट काशी पुगेका हुन् । राणा शासनका पालामा देश निकाला भएका राणाहरूसँग शंकटाको परिवार भारत पसेको रहेछ ।
काशीमा बालचन्द्र शर्मा र उनका दाजु गोविन्दचन्द शर्मा (ढुंगाना) सँग पनि चिनजान भयो । बालचन्द्रले अंग्रेजीमा एम.ए. गरेका थिए भने गोविन्द आफूलाई होमियोप्याथीका डाक्टर भन्थे ।
काशीमा सिनेमा हेर्न गइन्थ्यो । मैले ‘सफेद सवार’ सिनेमा हेरेको याद छ । सेतो-कालो चलचित्र हुन्थे । सिनेमामा बोली हुन्नथ्यो । आठ पैसाको टिकट काट्यो । सबैभन्दा अगाडि बस्यो । सिनेमा हेर्यो । त्यो ठाउँ ‘थर्ड क्लास’ का लागि छुट्याएको हो । माघतिर बिदा हुन्थ्यो । हामी गंगा नदीपारि जान्थ्यौं । अरू बेला फुर्सद हुँदा यताउता घुम्थ्यौं ।
काशीमा रहँदा बिहान दाल-भात खाए पनि बेलुका रोटी-तरकारी खाइन्थ्यो । अलि धेरै पढेपछि हामीलाई पुरोहितका रूपमा विभिन्न ठाउँमा जानुपर्थ्यो । विभिन्न अनुष्ठानमा भाग लिनुपर्थ्यो । रमाइलो हुन्थ्यो । पुरी र छेना (पनिर) को तरकारी दिन्थे । दुई/अढाई रुपैयाँ दक्षिणा पनि दिन्थे । रमाइलो लाग्थ्यो ।
कहिलेकाहीँ नेपाल आउँथेँ । आमा पनि काशी बस्न जानुभयो । आमाको उतै निधन भयो ।
नेपालमा भने केही परिवर्तन भएका थिए । हामी झौखेल (भक्तपुर) बाट काठमाडौं आउँदा हिडेर आउँथ्यौं । गोठाटार र अहिलेको एयरपोर्ट हुँदै काठमाडौं आइन्थ्यो । अलि महत्वपूर्ण घरायशी सामानका लागि काठमाडौं जाइन्थ्यो । थोरै र सानोतिनो सामानका लागि भक्तपुर गए हुन्थ्यो ।
अलिपछि काठमाडौं-झौखेलका लागि एउटा लरी चल्यो । त्यसले पाँच आना भाडा लिन्थ्यो । दुई घण्टा लगाउँथ्यो । हिंडेर आए पनि दुई घण्टा लाग्थ्यो । हामी चाहिं बेकारमा पाँच आना पनि खर्चनु र दुई घण्टा लगाउनुभन्दा हिंड्नु नै ठिक ठान्थ्यौं । हिड्थ्यौं । कहिले एक्लै हिडिन्थ्यो । कहिले आमासँग त कहिले साथीसँग हिडिन्थ्यो ।
कहिलेकाही मामाघर गइन्थ्यो । मेरो मामाघर सुन्ताखानमा थियो । दशैंमा गइन्थ्यो । दक्षिणा पाउँदा खुबै रमाइलो लाग्थ्यो । मेरा दुईटा मामाघर थिए । दुई घरमा चार पैसाका दरले आठ पैसा हुन्थ्यो । मनमौजी खर्च गरिन्थ्यो । उसबेला सबैथोक सस्तो थियो । ३ पैसामा एक माना चिउरा आउँथ्यो । ५ पैसामा दुई माना भट्मास आउँथ्यो । मैले सानैदेखि मासु खाइँन । ध्यू भने एक रुपैयाँ एक धानी आउँथ्यो ।
म सानोमा डण्डीबियो खेल्थे । काशीमा केही खेलिएन ।
र, अन्त्यमा समाज परिवर्तनशिल छ । विकास भनेको विकृति होइन । परिवर्तन भने पनि भाषा र व्याकरणमा जे पायो त्यहि हुँदैन । यो सत्य सबैले बुझ्नुपर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ भदौ २८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)