बद्रीप्रसाद खतिवडा सानो छँदा

मकवानपुरदेखि काठमाडौंसम्म, संस्कृतदेखि अंग्रेजीसम्म

बद्रीप्रसाद खतिवडा पुराना शिक्षक हुनुहुन्छ । उहाँ लामो समयसम्म शिक्षक रहनुभयो । कयौं वर्ष राजनीतिमा लागेर बिताउनुभयो । शिक्षक आन्दोलनका क्रममा उहाँलाई शिक्षक पेसाबाट निकालिएको हो । उहाँको जन्म विसं १९९१ पुस ८ गते मकवानपुरको मकवानपुरगढीमा भएको हो । उहाँ नीरनाथ र एकमाया खतिवडाका कान्छो छोरो हुनुहुन्छ । मातापिताका चार सन्तान जन्मेका हुन् । त्रिभुवन विश्वविद्यालय स्थापना भएपछिको पहिलो ब्याचमा बीकम गर्नुभएको हो । त्यसपछि बाटोसम्बन्धी कामका लागि जागिर पाउनुभयो । त्यसपछि औलो उन्मूलनका लागि वीरगन्ज बसेर डेढ वर्ष सेवा गर्नुभयो । २०१९ सालमा दुई रुपैयाँ तलब र ९० रुपैयाँ प्रधानाध्यापक भत्ता दिने गरी उहाँ हेटौंडाको भुटनदेवी निमाविको प्रधानाध्यापक हुनुभयो । २०४२ सालसम्म त्यही स्कुलमा कार्यरत रहनुभयो । शिक्षक आन्दोलन पनि त्यही स्कुलबाट सुरु भयो । उक्त आन्दोलन देशभर भयो । आन्दोलन गरेको आरोपमा उहाँलाई रसुवाको धुन्चे सरुवा गरियो । उहाँ जान मान्नु भएन । असहमतिको पत्र बुझाइदिनुभयो । दुई वर्षपछि २०४४ मा त्यही पत्रलाई राजीनामाका रूपमा स्वीकृत गरियो । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उहाँलाई गोरखा दक्षिणबाहु तेस्रो दिने भनियो । उहाँले त्यो सम्मान लिन्न भनी सार्वजनिक गर्नुभयो । यसपटक उहाँका बाल्यकालका केही सम्झना :
हामी कृषक परिवारका सदस्य हौं । ब्राह्मण भएपछि हलो जोत्नु हुन्न भन्थे । मैले हलो जोत्नेबाहेक सबै काम गरें । हाम्रो खेती थियो । आफूले सकेको खेती गर्थ्यौं । नसकेको अरूलाई दिन्थ्यौं । खान अभाव हुँदैनथ्यो । म घरको सबैजसो काम गर्थें । त्यसो त के सबैजना नै घरको सबै काम गर्थ्यौं । म भने गाई दुन्थें । मोही पार्थें । भकारो सोर्थें । गाईवस्तु चराउन लाने गर्थें । गोठालो जाँदा ५ किलोमिटर उकालो जानुपर्थ्यो । गाईवस्तु चराउन जाँदा ८/१० किलोमिटर पार गरेको ख्याल हुन्नथ्यो । गोठालो जाने काम १८ वर्षको हुँदासम्म भयो ।
त्यसबेलाकै कुरा हो, २००० सालमा हामीले ४२ रुपैयाँमा एउटा गोरु किनेर ल्यायौं । बुवा मान्छेदेखि पशुसम्मको नाम राख्न सिपालु हुनुहुन्थ्यो । बुवाले त्यो गोरुको नाम ‘बयालिसे’ राखिदिनुभयो ।
त्यसबेला त्यहाँ एक वर्षमा एक बाली धान रोपिन्थ्यो । अरू बेला खेतहरू बाँझै रहन्थे । चेतनाको कमी थियो । अहिले तीन बाली खेती हुन्छ ।
हामी कुवा र खोलाको पानी खान्थ्यौं । कर्रा खोलाको मूल भएका ठाउँमा हाम्रो बसोबास भएकाले पानीको अभाव कहिल्यै भएन । यसरी नै परिवार बाँचेको थियो । सानो छँदा भोगटेको भकुन्डो खेल्थ्यौं । डन्डी-बियो पनि खेल्थ्यौं । कोही कोही त चंगा बनाउँथे र उडाउँथे ।
हामी आफैं ध्वाँसोको मसी बनाउँथ्यौं । काठ र बाँस तासेर कलम पनि बनाउँथ्यौं । कालो लगाएर पाटी बनाएको हुन्थ्यो । त्यस्ता पाटीमा पनि हामीले लेख्यौं ।
मलाई के पनि याद छ भने २००० सालमा एक धार्नी खसीको मासुको मोल पाँच सुका पर्थ्यो । अहिले त्यति मासुलाई करिब ९ सय पर्छ । एक रुपैयाँमा पाँच पाथी धान आउँथ्यो ।
गाउँमा दसैं र तिहार त खुबै रमाइलो हुन्थ्यो । म सानो छँदा नागपञ्चमीमा नाग टाँस्न, कुश राख्न र रक्षाबन्धनका दिन डोरो बाँध्न घरघर हिँड्थें । कुनै घरमा २ पैसा, कुनैमा ४ त कुनैमा पाँच पैसा दिन्थे । ४ वा ५ रुपैयाँ हुन्थ्यो । केटाकेटीमा त्यो पैसा खुबै रमाइलो साथ खर्च गरिन्थ्यो । हाम्रो परिवारमा कसैले पुरोहितको काम त गरेन । मैले नाग टाँस्न, कुश राख्न र डोरो बाँध्न गएको कुरा मेरो बालापन थियो । रमाइलोका लागि थियो ।
हाम्रो बसोबास भएको ठाउँमा बाहुन, क्षेत्रीय, नेवार, तामाङ आदिको मिश्रित समाज थियो । सबै मिलेर बसेका थियौं । आहा, कति रमाइलो थियो- त्यो समाज ।
हाम्रो घरबाट मामाघर दुई कोस टाढा थियो । मेरा मावली कोइराला हुन् । म कान्छो छोरो भएकाले आमासँग धेरैपटक मामाघर जाने मौका पाएको थिएँ । दाजुहरूभन्दा म बढी नै मामाघर गएँ ।
म सानो छँदा अलि लजालु स्वभावको थिएँ । गाउँमा स्कुल थिएन । भाषा पाठशाला थियो । त्यहाँ रुद्री, चण्डी पढाइन्थ्यो । मैले पनि त्यही गएर पढें । हामीलाई ब्राह्मण गुरुहरू ताराप्रसाद सुवेदी र बद्री सुवेदीले पढाउनुहुन्थ्यो । गाउँमा त्यस्तो व्यवस्थित पढाइ भएन । समय काट्न पढियो भन्दा हुने खालको थियो ।
अनि २००८ देखि २०१२ सालका बीचमा मदनमणि दीक्षित र श्यामप्रसाद शर्मा मकवानपुरगढी पुगेको मलाई याद छ । उहाँहरू राजनीतिक चेतना फैलाउन त्यहाँ पुग्नुभएको थियो ।
गाउँबाट बाहिर पढ्ने जाने पनि थिए । कोही काठमाडौं जान्थे । कोही बनारस जान्थे । मैले पनि पढ्न जान्छु भनेर बुवालाई भनें । ‘दुई दाजुले पढेनन् । तलाईंमात्र पढाउँदा अरूलाई हेला गरेको हुन्छ कि ?’ भन्ने तर्क राख्नुभयो । महिनाको पचास रुपैयाँले पुग्ने भए पढ्न जानु भन्ने बुवाको आशय थियो । मैले पुग्छ भनें । त्यसपछि म काठमाडौं पढ्न आएँ ।
काठमाडौं आउनुअघि मलाई भक्तबहादुर श्रेष्ठले ‘फर्स्ट बुक’ पढाए । उनी काठमाडौं आएर एक नातेदारमा बसी पढेर एक वर्षपछि फर्केका थिए ।
२०११ सालमा काठमाडौं आएपछि कोठा लिएर बसियो । भीमसेनस्थानमा एउटा कोठा थियो । चारजना एकै कोठामा बस्थ्यौं । महिनाको ६ रुपैयाँ भाडा तिरे पुग्थ्यो । धेरैजसो पकाएर खान्थ्यौं । बाहिर महिनाभर राम्रै ठाउँमा खाए पनि २५ रुपैयाँ दुवै छाक मज्जाले खाना पाइन्थ्यो । दाउरा वा स्टोभमा खाना पकाइन्थ्यो ।
डेरा पनि सरेको याद छ । हामीसँग थोरै सामान भएकाले हामी राति डेरा सर्थ्यौ‌ । सामान नभएकाले लाज लागेर राति सरेका हौं । २/४ महिना त कलंकी स्थानमा आफन्तकहाँ पनि बसियो । स्कुल पढ्दा म नन्दी विद्यागृहको विद्यार्थी थिएँ । राति हिँडेर कलंकी आइपुग्थ्यौं । टर्च हुन्नथ्यो । साथीभाइसँग हिँड्दा डर पनि उत्तिको लाग्दैनथ्यो । स्याल त कराएको सुनिथ्यो ।
गाडी त काठमाडौंमा कहाँ थिए र ? न्युरोडमा ४/५ मिनेटमा एउटा गाडी गुड्थ्यो । पीपलबोट पत्रिका पाउने ठाउँका रूपमा चिनिएको थियो ।
पानीको प्रबन्ध उत्तिको थिएन । शौचालय पनि राम्रो हुन्न्थ्यो । भर्‍याङमुनि टिनमा दिसापिसाब गर्नुपर्थ्यो ।
हामी नुहाउन वागमती जान्थ्यौं । सफा पानी थियो । माछा पौडन्थे । कपडा धोएर त्यही सुकाउँन्थ्यौं । बेलुका फर्कंदा सफा लुगा लाएर कोठा फर्कन्थ्यौं ।
स्कुलमा दुइटा अंग्रेजी, भूगोल, नेपाली, गणितजस्ता विषय थिए । म ज्यामितिमा कमजोर थिएँ । अंकगणित गर्थें ।
फेल कहिल्यै भइनँ । एसएलसी सेकेन्ड डिभिजनमा पास भएँ । यो २०१२ सालको कुरा हो ।
नन्दीमा पढ्दा मेरा साथी पत्रकार रामचन्द्र न्यौपाने, लीलाराज बिष्ट आदि थिए ।
अन्तमा, अहिलेका बालबालिकालाई धेरै अवसर छन् । अवसरको सदुपयोग गर्न सिक्नुपर्छ । देशलाई माया गर्नुपर्छ । मान्यजनको आदरमा कमी आएको छ । यस्तो हुँदै हुनु हुन्न ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ भदौ २१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<