टेकनाथ रिजाल सानो छँदा

सधैं अधिकारका लागि बहस

टेकनाथ रिजाल नेपाली मूलका भुटानी नेता हुनुहुन्छ । भुटानी राजाले एक लाखभन्दा बढी नेपालीलाई त्यहाँबाट खेदाए । अरु भुटानका नेपालीजस्तै उहाँ नेपालमै बस्दै आउनुभएको छ । उहाँ भुटानबाट धपाइएका नेपाली उतै फर्कन पाउनुपर्छ भनेर आवाज उठाइरहनुभएको छ । उहाँको जन्म २००४ साल फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो । लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटानको सेवा गर्नुभयो । उहाँ भुटानका लोकप्रिय नेता हुनुभयो । उहाँले भारतको वनारसबाट संस्कृतमा आचार्य गर्नुभएको छ । उहाँ भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्ति हुनुभयो । भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा बाँढ्यो । नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजासमक्ष चित्त नबुझेको बताउनुभयो । राजाले मेरो विरोध पो गर्‍यो कि भनेर शंका गरे । संसद्को उपसभामुखमा राजाका मान्छेले जितेनन् । उहाँले समर्थन गरेको मान्छेले जिते । राजामा शंका बढ्यो । राजाका मान्छेले उहाँलाई खेदाए । उहाँलाई मार्न खोजियो । त्यसपछि भारतको आसाम हुँदै २०४५ भदौमा नेपाल आउनुभयो । रिजाललाई त्यसबेलाको पञ्चायती सरकारले मंसिर १ गते झापाबाट पक्राउ गर्‍यो । भुटान सरकारलाई बुझायो । त्यसपछि १० वर्ष थुनियो । जेलमा धेरै दुःख दिइयो । दश वर्षपछि मुक्त हुनुभयो । भुटानी राजासँग भेट्न भनेर उहाँ दुई वर्ष भुटानको राजधानी थिम्पूमा बस्नुभयो । तर भेट्न दिइएन । अनि भारतको सिलिगुढी जानुभयो । सिलिगुढी, कोलकाता र दिल्लीमा उपचार गर्नुभयो । जेलमा दुःख दिएकाले बिरामी हुनुभएको थियो । उहाँ नयाँदिल्ली हुँदै २०६० असोज ३० मा काठमाडौं आउनुभयो ।
उहाँको आत्मकथाको पुस्तक ‘निर्वासन’ प्रकाशित छ । उहाँले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कार पाउनुभएको छ । यसपटक रिजालको बाल्यकालका केही संझना प्रस्तुत छ :
भुटानमा एउटा अन्धविश्वास थियो- बाहुनका छोराछोरीले अरुसँग खेल्नु, पढ्नु, बस्नु हुँदैन । मान्छेमान्छेमा पनि त्यस्तो हुन्छ र ? कहिल्यै हुँदैन । त्यहाँ त्यस्तै थियो । यसो गर, उसो नगर भनिन्थ्यो । म पाठशाला र स्कुल दुवैमा पढ्थेँ । त्यसबेला अलि चकचके थिएँ । बाटोमा हिँड्दा सबैका घरका गाईवस्तु, बाछा-पाडा फुकालिदिन्थेँ । एकपटक बाटोमा एउटा पाठो भेटाएँ । त्यसलाई लिएर पाठशाला गएँ । रातभर करायो । त्यसबेला धेरै स्कुल र पाठशाला खुलेका थिएनन् । प्रशस्त पढ्न पाइएन ।
हामी बसेको लामीडाँडामा ठूलो नेपाली बस्ती थियो । एकदिनभर हिँड्दा पनि सकिँदैनथ्यो । म १७ वर्षको हुँदामात्र भुटानमा भोटेहरू पनि बस्दा रहेछन् भन्ने थाहा पाएँ । बाहुनको बस्ती भएकाले लामीडाँडालाई ‘ब्रह्मस्थलो’ भनिन्थ्यो । बेतिनीमा राईको बस्ती थियो । गैर्‍हीगाउँको सल्लेरीमा राई र तामाङको बस्ती थियो । गोपिनीमा गुरुङ बस्थे । लप्सीबोटेमा क्षेत्री बस्थे । जौंबारीमा शेर्पा थिए । त्यहाँका ठाउँका नाम पनि नेपालका जस्तै छन् । जस्तोः रमिते, गुराँसे, रातेखोला, गैर्‍हीखोला, सल्लेरी, चिउरीबोटे आदि । भुटानमा भएका नेपाली बस्तीमा दशैं मनाइन्थ्यो । घरको मूल खम्बा (खाबो) लाई टीको लगाएरमात्र घरमा टीका लाउन थालिन्थ्यो । अरु सबै चाडपर्व नेपालका जस्तै हुन्थे । मातातीर्थ औंसी भने उत्तिको मनाएको थाहा छैन । राति ‘फेरी लाउने’ चलन थियो । चुरा पोते बेच्न नेपालबाट जान्थे । बाँणाहरू भाँडा साट्न र बेच्न जान्थे । अँगेनामाथि नुनको बोरा राखिन्थ्यो । मोटो नुन पग्लन्छ भनेर त्यसो गरिएको हो । त्यो बोराको नुन मान्छे र गाईबस्तु दुवैलाई खान प्रयोग हुन्थ्यो । अहिले त आयोडिन मिसाइएको मसिनो नुन खाने चलन छ । हामी डन्डी-बियो खेल्थ्यौं । घरबाट लुगा लगेर भकुन्डो बनाउँथ्यौं । घरमा लुगा खोज्दा फेला नपरेपछि हामीले बनाएको भकुन्डोको कुरा हुन्थ्यो । दशैंमा लिङ्गे पिङ बनाइन्थ्यो । तिहारमा देउसी-भैलो पनि खेलिन्थ्यो ।
घरायसी सामान किन्न लामीडाँडाबाट सर्भाङ जाने चलन थियो । आउँदा-जाँदा एक हप्ता लाग्थ्यो । बाटामा बाघ-भालु लाग्थ्यो । एकपटकको कुरा हो । म त्यस्तै १०-११ वर्षको थिएँ । बाबा-आमा नुन लिन सर्भाङ जाँदा मलाई दाजुसँग घरमा छाडिएको थियो । मलाई सर्भाङ जाने रहर थियो । बाबा-आमा हिंडेको दुई/तीन घन्टापछि म पनि हिँडे । म पछि लागेँ । मैले बाबा-आमालाई भेटाउन सकिनँ । एकदिनको आधा बाटो हिँडेपछि अँध्यारो भयो । न फर्कनै सकिन्थ्यो, न जानै सकिन्थ्यो । कालीखोलाछेउमा भुल्के गाउँ थियो । त्यहीँ गाउँछेउको एउटा रुखमा चढेँ । अँध्यारो भयो । खुब डर लाग्यो । केहीबेरपछि राँको बालेर केही मान्छे म आएकै बाटो हुँदै आए । मलाई खोज्न गाउँबाट माहिली दिदीसहित अरु गाउँले आएका रहेछन् । बोलौं भने गाली गर्लान् भन्ने डर लाग्यो । सबैजना रुख कटेर अलि अगाडि पुगेपछि मैले खोकेजस्तो गरेँ । उनीहरूले मलाई देखे । म रुखबाट उत्रेँ । कसैले गाली गरे । कसैले अँगालो हाले । बाबा-आमा फर्केपछि सबैकुरा दिदीले सुनाइदिनुभयो ।
अर्कोपटक सर्भाङ जाँदा बाबा-आमाले मलाई लिएर जानुभयो । सर्भाङछेउ लरिङखोला तर्नुपर्ने थियो । अरु बेला त्यो खोला तर्न सके पनि वर्षामा सकिन्नथ्यो । खोला तार्ने मान्छे हुन्थ्यो । त्यसपटक हामीलाई खोला तार्ने मान्छे थियो । ठूला मान्छेलाई तारेपछि मलाई तार्दै थियो । खोलामा बाढी आएको थियो । खोलाको बीचमा पुगेपछि मलाई रिङ्टा लागेछ । म लडेँ र खोला तार्ने मान्छे पनि लड्यो । त्यो मान्छे उठ्यो । मलाई उठाएर खोला तार्न खोज्दा मैले पानी खाएँछु । खोला त बल्ल-तल्ल तारेछ । पानी खाएपछि मेरो पेट बाँधेर पानी निकाल्न लगाइयो । मलाई ज्वरो आयो । सर्भाङ बजार गएको र फर्केको मलाई केही याद छैन । उसबेला औषधिको उपाय थिएन । धामी लगाइयो ।
दाजु र म गोठमा बस्थ्यौं । गोठमा १२/१५ माउ गाई हुन्थे । ४/५ पाथे ठेकीमा मोही पारिन्थ्यो । दिउँसो गाई चराउन दाइ जानुहुन्थ्यो । बाछा-पाडा अल्मलिन्छन् भनेर गोठमै छाडिन्थ्यो । गोठको दूध, घ्यू आदि कुकुरले खाने डर हुन्थ्यो । म भने गोठमै बस्थेँ र दूध चोरेर खान्थेँ । ठेकीमा दूध तातो भए तर झिकेर खान्थेँ । तातो दूधमा फेरि तर जमिहाल्थ्यो । चिसो भए बाँसको पाइपले तानेर दूध खान्थेँ । यति धेरै दूध खान्थेँ कि दिसामा पनि दूधमात्रै जान्थ्यो । म बिरामी भइनँ । त्यो फट्याई कसैले थाहा पाएन ।
एकदिन मलाई दाइले गोठबाट घर जा भन्नुभयो । म घर गएँ । घरमा आमा हुनुहुन्न रहेछ । उहाँ मामाघर जानुभएको रहेछ । आमा नभएपछि म दाजुबाहेक अरुसँग मिल्दिनथेँ । म फर्केर गोठ गएँ । गोठमा दाजु हुनुहुन्नथ्यो । निकैबेर कुरेँ । दाजु आउनुभएन । बेतको एउटा ठूलो बाकस थियो । त्यसलाई हामी ‘डेली’ भन्थ्यौं । त्यसमा दूध, दही, मोही, घ्यू हाल्ने गरिन्थ्यो । भर्खर ब्याएको गाई ‘हुँ हुँ…’ गरेर कराउँथ्यो । बाहिर सुत्न डर लाग्यो । मैले डेलीका सबै सामान बाहिर निकालेँ । आफू डेलीमा पसेँ र गुढुलो परेर सुतेँ । डर धेरै लाग्यो । पिसाब लाग्दा पनि भित्रै बसेँ । निद्रा राम्रो लागेन । बिहानपख निदाएछु । सबेरै दाजु आउँदा त डेलीका सामान बाहिर छन् । हत्तारिँदै डेली खोल्दा मलाई देख्नुभयो । गाली गर्दै भन्नुभयो- ‘म नजिकै थिएँ । बोलाएको भए हुन्थ्यो ।’ दाइलाई घरमा आमा नभएर फर्केको बताएँ । आमाबाहेक मलाई माया गर्दो रहेछ भनेर दाजु पनि खुसी हुनुभयो ।
यस्ता धेरै प्रसंग छन् । कुनै रमाइला त कुनै नराम्रा । तर नराम्रो काम गर्नु हुँदैन । असल बन्न सिक्नुपर्छ । म सानो छँदा जहिले पनि स्कुलमा हेडमास्टर र पाठशालामा प्रधानाध्यापकसँग बहस गर्थेँ । अधिकारका लागि बहस गर्थेँ । झगडा पनि सबैभन्दा ठूलासँग गर्थेँ । पछि गएर भुटानका राजासँग झगडा गर्नुपरेको छ । हेरौं कसले जित्छ ?
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ साउन १२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<