अंग्रेजीभाषी स्रष्टा मञ्जुश्री थापाले आफ्नो उपन्यास ‘सिजन्स अफ फ्लाइट’ मा स्थायी बासिन्दा बन्ने डाइभर्जिटी भिसा (डीभी) चिठ्ठा परेर अमेरिका आएकी युवती प्रेमालाई उभ्याएकी छन् । प्रेमा अमेरिका आउँछे । लस एन्जलसमा उत्रन्छे । अपरिचित माहोलमा अभ्यस्त हुन संघर्षरत गर्छे । प्रेमाजस्तै लाखौं नेपालीको सपना हुन्छ, अमेरिका आउने । धेरैले यो पुस्तक पढेको छैन । तर लाखौंले नेपालीले डीभी २०१२ चिठ्ठामा सहभागिता जनाएका छन् । सबै सन् २०११ को मे महिनामा आउने नतिजाको पर्खाइमा छन् ।
डीभी के हो ?
एक वर्षे चिठ्ठामा विश्वका केहि मुलुकका ५० हजार नागरिकले अमेरिकाको कानुनसम्मत नागरिक हुन पाउँछन् । बितेको पाँच वर्षमा ५० हजार मानिस अमेरिका आएको मुलुकका लागि यो चिठ्ठा भर्ने अवसर प्राप्त छैन । यी देशमा मेक्सिको, चीन, भारत, पाकिस्तान, ब्राजिल, फिलिपिन्स पर्छन् । तर नेपाल यी देशमा पर्दैन र चिठ्ठामा सहभागी भइरहेछ ।
सन् २००८ मा २ हजार १ सय ३२ नेपाली अमेरिका आउने चिठ्ठाका विजेता भएका थिए । गत वर्ष २ हजार १ सय ८९ ।
अमेरिकाको कंग्रेसले सन् १९९० मा ‘डाइभर्जिटी भिसा प्रोग्राम’ ल्याएको हो । यस वर्ष ५० हजारका लागि १ करोड ५० लाखले चिठ्ठा भरेका छन् । योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी बासिन्दा हुने आधार छैन ।
चिठ्ठाका लागि स्नातक तह मात्र पुरा भएको हुनुपर्छ । विशेषज्ञता चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ ।
वर्षेनि कति मान्छे भित्रन्छन् ?
अमेरिकाबाट राजेश कोइराला लेख्छन्- यो चिठ्ठाबाहेक वर्षेनि १० लाख मानिस आफ्नो परिवारको कमाईका आधारमा वा काम गर्न अधिकार पाएर आउने गरेका छन् ।
वर्षेनि अमेरिका आउने कूल मानिसमा ६६ दशमलव १ प्रतिशत परिवारको कमाईका हुन्छन् । शरणार्थीका रुपमा ल्याइने वा मागेर शरण पाउने १५ दशमलव ७ प्रतिशत, रोजगारी पाएर आउने १२ दशमलव ७ प्रतिशत, चिठ्ठा परेर ४ दशमलव २ प्रतिशत र अन्य १ दशमलव २ प्रतिशत छन् ।
अमेरिका छिर्न चिठ्ठा पर्नेसँग एकदमै नचिनेको मानिसले विवाह गरेको पनि पाइन्छ । दुवै अमेरिका आएर नचिनेको मानिस कानुनी भएपछि सम्बन्धविच्छेद गरेको पनि पाइन्छ ।
बढ्दो छ
स्टेट डिपार्टमेन्टका अनुसार यस वर्ष गत वर्षभन्दा २५ प्रतिशत बढीले चिठ्ठा भरेका छन् । यस वर्ष एक घन्टामा ६२ हजारले चिठ्ठा भरे । पाँच वर्षअघि फारम भरेर पठाउँदा भन्दा यस वर्ष अढाई गुणा बढेको छ । पाँच वर्षअघि ५५ लाखले भरेका थिए । सन् २००६ मा ६० लाखभन्दा बढी, सन् २००७ मा ९० लाखभन्दा बढी, सन् २००८ मा सन् २००७ भन्दा केहि बढी र सन् २००९ मा १ करोड २० लाखको हाराहारीमा चिठ्ठा भरिएको थियो ।
कसले भरे ?
सबभन्दा बढी बंगलादेशीले भरेका छन् भने दोस्रोमा नाइजेरियाली छन् । ७६ लाख ७० हजारभन्दा बढी बंगलादेशीले भरेका छन् भने १४ लाख ७० हजारभन्दा बढी नाइजेरियाली ले भरेका छन् । तेस्रोमा युक्रेन छ, जहाँबाट ७ लाख ६० हजार, इथियोपियाबाट ५ लाख ८० हजार र इजिप्टबाट ३ लाख ४० हजारभन्दा बढीले भरेका छन् ।
चिठ्ठा भर्नेको सपना पनि अनौठो छ । एक बंगलादेशीले एक वर्षका लागि २ हजार ८ सय पटकसम्म भरेको स्टेट डिपार्टमेन्टले फेला पारेको छ । जबकि चिठ्ठा पर्न एक व्यक्तिले एक वर्षका लागि एक पटक भरे पुग्छ । एक वर्ष नपरे अर्को वर्ष पनि उसले भर्न पाउँछ ।
कुनै एक व्यक्तिले एक वर्षको चिठ्ठा जति पटक पनि भर्न सक्छ । तर कूल चिठ्ठाको ७ प्रतिशतभन्दा बढी भिसा एउटै मुलुकका नागरिकका लागि छुट्याइएको छैन । सन् २००९ सेप्टेम्बर ३० मा सकिएको आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने इथियोपिया, इजिप्ट र नाइजेरियाका मानिसले बढी भिसा पाएका छन् ।
किन बढ्यो ?
अफ्रिका होस् वा एसिया डिभी भरौं भन्ने नारा गाउँगाउँसम्म यो देख्न पाइन्छ । यो उत्सव जस्तो भएर आउँछ, केन्यादेखि कजाखस्तानसम्म । चिठ्ठा भर्नेको संख्या वर्षेनि बढ्दो छ । साइबर क्याफे बढेकाले पनि हो ।
कुनै शुल्कबिना भर्न मिल्ने यो चिठ्ठा भर्नेको संख्या बढ्नुको कारण इन्टरनेटको पहुँच र यसबारेको चेतना मुख्य कारणका रुपमा लिइएको छ ।
सुरक्षाले कठिनाई
केहि सांसदले ‘डाइभर्जिटी भिसा प्रोग्राम’ बन्द गर्न जोड दिइरहेका छन् । चिठ्ठा परेर आतंकवादि अमेरिका पस्ने मौका पाउला भन्ने उनीहरुको तर्क छ । चिठ्ठा पर्दैमा सिधै कोहि आउन पाउने हैन । स्टेट डिपार्टमेन्टका अनुसार अरु भिसामा जस्तै चिठ्ठा परेकाले सबै सुरक्षा जाँच पुरा गर्नुपर्छ । यसको प्रक्रिया पुरा गर्दा र सुरक्षाका विभिन्न तह पार गर्दा ती सांसदहरुले सोचेजस्तो हुन्न ।
सन् २००२ मा लसएन्जलसस्थित एल अल एयरलाइनको काउन्टरमा दुई जनाको हत्या गर्ने हेशम मोहम्मद अलि हेदायत आफ्नी श्रीमतीलाई चिठ्ठा परेका आधारमा अमेरिका थिए । ती इजिप्सियालीको भिसा म्याद सकिएको थियो, तर श्रीमतीको चिठ्ठा भएर बस्न पाएका थिए ।
सेप्टेम्बर ११, २००१ मा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गर्ने इजिप्टमा जन्मेका मोहम्मद अट्टाले अमेरिका आउन चिठ्ठा भरेको थियो । उसलाई चिठ्ठा परेन । उ बिजिनेस भिसामा अमेरिका छिरेको थियो ।
भाग्यका आधारमा होइन ज्ञानका आधारमा मानिस ल्याउन पनि अर्काथरी जोड दिइरहेका छन् ।
* अमेरिकामा राजेश कोइराला र काठमाडौंमा शेखर अधिकारी
(इकान्तिपुरमा पोष्टिङ गरिएको : २०६७ फागुन ८)