स्काउटको झन्डोत्तोलन

काठमाडौ, २०६५ असार ५ गते । प्रधानमन्त्री एवं नेपाल स्काउटका प्रमुख संरक्षक गिरिजाप्रसाद कोइरालाले नेपाल स्काउटको ५६औं स्थापना दिवसको अवसरमा नेपाल स्काउटमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्नुहुने महानुभावहरूलाई पुरस्कार, पदक तथा कदरपत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटको झन्डोत्तलन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटलाई विश्वमाझ चिनाउन स्काउटका प्रवर्द्धक लर्ड वेडेन पावेलको नाउँमा नेपालमा ‘वेडन पावेल हिमशृङ्खला’ (वीपी पिक) नामकरणका लागि विशिष्ट योगदान गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव शङ्करप्रसाद पाण्डे र विगत ५० वर्षदेखि स्काउटमा संलग्न राष्ट्रिय प्रशिक्षक, हरिमोहन ज्योतिलाई नेपाल स्काउटको सर्वोच्च पदक ‘असाधारण अलङ्कार सुनौलो गैंडा’ प्रदान गर्नुभयो ।
यसैगरी कान्तिपुर राष्ट्रिय दैनिकको साप्ताहिक बालकोसेली ‘कोपिला’का संयोजक एवं पत्रकार राजेश कोइराला र नेपाल न्युज राष्ट्रिय साप्ताहिकलाई जनही १० हजार रुपियाँ राशिसहितको नेपाल स्काउट पत्रकारिता पुरस्कार-२०६४ बाट पुरस्कृत गर्नुभयो ।
उहाँले वीपी हिमशिखरको प्रथम आरोहण गरी नेपाल स्काउटको इतिहासमा कीर्तिमान राख्ने स्काउट शिक्षक नरेश महर्जनलाई पराक्रम पट्ट तेस्रा र नेपाल स्काउटको विभिन्न उत्सव तथा समारोहमा प्रकाशित स्काउटको हुलाक टिकट प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्काउट शिक्षक उमेश नेपालीलाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपाल, प्रमुख आयुक्त श्रीराम लामिछाने, राष्ट्रिय सचिव चन्द्रकला पन्त, सहप्रमुख आयुक्त चन्द्रदेवलाल कौशिकलगायतले नेपालमा स्काउटको आवश्यकता र यसको महत्वबारे चर्चा गर्नुभयो । त्यस अवसरमा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्ने नेपाल स्काउटका विद्यार्थीले स्काउट कवाज प्रदर्शन गरे ।
(गोरखापत्र दैनिकमा प्रकाशित यो समाचार पढ्न यो लिंकमा जानुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<