भटमासको रुख
सीता पोखरेल समाजसेवी हुनुहुन्छ । उहाँले विराटनगरमा पूर्वाञ्चल अनाथाश्रम चलाउनुभएको छ । उक्त आश्रममा एक सय ५० भन्दा बढी बालबालिका र वृद्धवृद्धाले लाउन, खान र बस्न पाएका छन् । उहाँको काव्यकृति ‘स्मृतिका छाल’ हालै प्रकाशित भएको छ । उहाँ पिता पं. लक्ष्मीनारायण र माता सरस्वतीकी माहिली छोरीका रूपमा २००६ सालमा संखुवासभा, चैनपुरमा जन्मनुभएको हो । यसपल्ट पोखरेलका केही बालसम्झना प्रस्तुत छ :
चैनपुर पूर्वी नेपालमा छ । यो कोशी अञ्चलको संखुवासभामा पर्छ । मेरो बाल्यकाल त्यही बित्यो । हामी चारजना दाजु-भाइ र चार दिदी-बहिनी हौं । सानो छँदा स्याहार गर्ने मान्छे घरभरि हुन्थे । ठूल-ठूला खड्कुलामा भात, दाल पकाइन्थ्यो ।
म वैशाख पूर्णिमामा जन्मेकी हुँ । ठिक्क एक वर्षकी हुँदा बिरामी भएँ । मेरो शरीर सेलाएछ । सबैले मलाई मरेको भन्ठानेछन् । घरबाट बाहिर निकालिए छ । आँगनमा गोबरले लिपेर मलाई त्यहाँ सुताइएछ । त्यसबेला पहाडमा डाक्टर हुँदैनथे । झारफुक गर्ने, धामी लाउने चलन थियो । मलाई पनि झारफुक गरियो । बुबाले डमरु र शंख बजाउनुभयो । त्यो बेला त्यस्तै उपायमा विश्वास हुन्थ्यो । म बाँचे रे । यो त धेरै सानो छँदाको कुरा हो ।
बुबा सिक्किम, दार्जिलिङ तथा भारतका अन्य ठाउँ जानुभएको थियो । उहाँले त्यहाँका धेरै कुरा देख्नुभएको थियो । घर बनाउँदा काठको खाँबो गाडी बनाएको थियो । त्यसमा गोलाकार चक्का चाहिन्छ । गाडी यस्तो बनाऊ भनेर बुबाले सिकाउनुभएको थियो । बुबाले देशबाहिरै पढ्नुभएको थियो । बुबालाई पण्डित भन्थे । उहाँले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र पूर्वमन्त्री सुशीला थापालाई अक्षर चिनाउनु भएको हो । तर हाम्रा घरमा पढ्ने वातावरण बनेन । बुबा जागिर खान बाहिर जाँदा अरुलाई भने पढाउनुभयो । बुबा अन्न फ्याक्नु हुन्न भन्नुहुन्थ्यो । खाना फ्याँकेको देख्दा गाली गर्नुहुन्थ्यो । परालको गुन्द्रीमा धान सुकाउने चलन थियो । धान सुकाउँदा र उठाउँदा पोकिएको देख्नुभयो भने पनि गाली गर्नुहुन्थ्यो ।
आमा सिक्किममा हुर्कनु भएकाले पढ्नुपर्छ भन्नुहुन्थ्यो । ‘बार्दलीमा गएर पढ’ भन्नुहुन्थ्यो । हजुरआमा अलि कडा स्वभावकी हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘छोरीले पढ्नु पर्दैन ।’ हजुरआमाका राम्रा बानी पनि थिए । बत्ती कात्दा, दुना-टपरी गाँस्दा सिकाउनुहुन्थ्यो । जानिनस् भने लोहोरोले हात कुच्याइदिन्छु भन्नुहुन्थ्यो । डरले पनि हामी सिक्थ्यौं। हामी केटाकेटी नै साँझमा देवताको थानमा बत्ती बाल्थ्यौं । बत्ती ढोका र तुलसीको मोठमा पनि राख्थ्यौं ।
केटाकेटीमा म सार्है जिद्दी थिएँ । २०१४ सालतिरको कुरा हो । सानीमाको छोरा योगेन्द्र त्रितालको ब्रतवन्ध हुने निम्तो आयो । योगेन्द्रको घर वाना भन्ने ठाउँमा थियो । दुईजना दाजु जाने भएपछि मैले पनि जिद्दी गरेँ । म गएरै छाडेँ ।
हाम्रो घरमा विस्तारो बोल्ने चलन थियो । घरभित्र बोलेको बाहिरसम्म सुनिँदैन थियो । घरमा आउने पाहुनालाई केही नकेही खुवाएर पठाउँथ्यौं । फलफूल टिपेरै टन्न राखेको हुन्थ्यो । बुबा पाहुनालाई अंखरा वा गिलासमा मात्र पानी वा मोही दिनुहुन्न भन्नुहुन्थ्यो । गिलासलाई थालमा राखेर पानी वा मोही दिन्थ्यौं । बुबा भन्नुहुन्थ्यो :
भोकालाई खानदिनु, नाङ्गालाई लाउन
बिरामीलाई औषधि देऊ, त्यही ठूलो धर्म
मन्दिरमा घन्टी बज्यो, देवता सुन्दैनन्
भोक लाग्यो भन्दै हिंड्दा देवता सुन्दैनन्
घर वरपर बगैंचा थियो । फलफूल कहिल्यै टुट्दैन थियो । बगैंचालाई ढुंगाको पर्खालले घेरेको थियो । आँखाले भ्याएसम्म जमीन थियो । पहाड भएकाले बाटोघाटो, स्कुल, औषधिउपचार केन्द्र भने थिएनन् । तर बुबाले परदेशमा उपचार गर्ने उपाय सिक्नुभएको थियो । थोरै औषधि घरमै थियो । एकपटक एकजना मानिसलाई खुट्टामा ठूलै चोट लागेकाले हाम्रो घर ल्याए । उसको खुट्टाबाट रगत चुहिएको थियो । त्यसबेला ‘आइटिन’ भन्ने झोल औषधि लगाइदिनुभयो । पछि थाहा पाउँदै जाँदा त त्यो औषधि ‘टिन्चर आयोडिन’ पो रहेछ ।
म आठ वर्ष लाग्दाको कुरा हो । माहिला सानुबुबा हाम्रो घर आउनुभयो । उहाँ सिक्किमबाट आउनुभएको थियो । हाम्रो मामाघर पनि सिक्किममै थियो । चैनपुरबाट मामाघर पुग्न सजिलो थिएन । सानुबुबासँग सिक्किम जान्छु भनी जिद्दी गरेँ । त्यसबेला छोरी सानै छँदा बिहे हुन्थ्यो । सानुबुबा भन्नुहुन्थ्यो- ‘यति सानोमा बिहे नगर्नु । बरु पढ्नु ।’ उहाँ असाध्यै माया गर्नुहुन्थ्यो । पछि सीधैं सिक्किम नजाने भएपछि मलाई बराहक्षेत्र जाने मान्छेसँग पठाइदिनुभयो । आमाले शख्खर, घ्यू, चिउरा पोको पारेर हालिदिनुभयो । जुत्ता किन्न खोज्दा पाइएन । म खाली खुट्टा नै हिंडे । म धरान आएँ । कान्छा सानुबुबा सूर्यप्रसाद र सानिमा पुष्पा उपाध्यायको विजयपुर घरमा गएँ । त्यहाँ एक साता बसेँ । इटहरी, विराटनगर र जोगबनी हुँदै भारत भएर म सिक्किम गएँ ।
सिक्किममा दुई वर्ष बसेँ । मामाघर बस्दा गायिका लोचन भट्टराईका बुबा योगनाथ दाजुजस्ता पनि र साथीजस्ता पनि हुनुहुन्थ्यो । मलाई ‘भटमासको रुख देखेकी छौं । त्यो त सुन्तलाको रुखभन्दा ठूलो हुन्छ’ भन्नुहुन्थ्यो । पहाडमा भटमास नदेखेकाले म पत्याउँथे । वास्तवमा भटमासको त सानो बोट पो हुँदोरहेछ । योगनाथ दाइले नै मलाई ‘ए’ र ‘बी’ ‘सी’ सिकाउनुभयो । म योगनाथलाई पहिलो गुरु मान्छु । दार्जिलिङ र सिक्किममा पढेलेखेका महिला देख्दा पढ्नुपर्छजस्तो लाग्थ्यो । सिक्किममा बस्दा योगेन्द्र, गोपाल त्रिताल र म सुन्तला घारीमा लुकामारी खेल्थ्यौं । खुब सुन्तला खान्थ्यौं ।
हाम्रा भान्दाजु दुर्गा अधिकारी मेरा अर्का गुरु हुनुहुन्छ । वनारसमा पढेर उहाँ हाम्रो घर आउनुभयो । त्यहाँ बस्दा बुबाले सबै भाइबहिनीलाई पढाउन अर्हाउनुभयो । उहाँले नै मलाई क, ख, ग, घ….सिकाउनुभयो । त्योभन्दा पहिले आमाले पनि क, ख, ग…त सिकाउनुभएको थियो ।
हामीले राम्ररी पढ्न पाएनौं । सानै छँदा बिहे हुन्थ्यो । म दिदीको बिहे भएको सम्झन्छु । भिनाजु लामा-लामा जुँगा पाल्नुहुन्थ्यो ।
हामीले आफ्ना पूर्खा कहाँबाट आएका हुन् ? उनीहरू कस्ता थिए ? बिर्सनुहुन्न । यस्ता कुरा जान्नुपर्छ भन्ने मेरो मान्यता छ । केही गरेर देखाउनुपर्छ । जीवन महत्वपूर्ण छ । कोसिस गरे जे पनि हुन्छ । सफल हुन समय लाग्छ । तर अवश्य सफल हुन सकिन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : भीम घिमिरे, २०६२ मंसिर १७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)