ट्रम्पको तगारो

Himal_Page_18&19अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी स्वीकार गर्ने संख्यामा आधा कटौतीको घोषणा गरेसँगै नेपालीभाषी भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम प्रभावित भएको छ । पुनर्स्थापित शरणार्थीको संख्या गत वर्षको तुलनामा आधाभन्दा कम भएको छ ।
शरणार्थी स्वीकार आधाभन्दा कम गर्ने ट्रम्पको घोषणाको अर्थ वर्षमा करीब ५० हजारभन्दा बढी शरणार्थीलाई प्रवेश नदिने भन्ने हो । यो संख्या जुलाइ, २०१७ मै पुगिसकेको छ । त्यसकारण पनि अब कति भूटानी शरणार्थी अमेरिका पुनर्स्थापित हुने हुन् भन्न कठिन छ ।
२०१७ फेब्रुअरीदेखि ३१ जुलाइसम्मको ट्रम्प कार्यकालको अवधिमा १ हजार ६८ भूटानी अमेरिका भित्रिएको देखिन्छ । जबकि गत वर्ष यही अवधिमा २ हजार ८६६ भूटानी शरणार्थी पुनर्स्थापित भएका थिए । भूटानीसहित यो ६ महीनामा अन्य देशका कुल १८ हजार ३१ जना शरणार्थीका रूपमा अमेरिकामा आए । तर, गत वर्षको यही मितिमा ४० हजार ९३१ शरणार्थी पुनर्स्थापित भएका थिए ।
शरणार्थी पुनर्स्थापना प्रभावित गराउने ट्रम्पको अर्को निर्णय थियो– मुसलमानबहुल ७ राष्ट्र– इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकमाथिको यात्रा प्रतिबन्ध । अहिले यात्रा प्रतिबन्धको सूचीमा इराक छैन । तर, अमेरिकी सर्वोच्च अदालतले यात्रा प्रतिबन्ध अक्टोबर २०१७ सम्म आंशिक रूपमा बहाल राख्न मञ्जुरी दिएको छ ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको बहालीपछि मुख्य रूपमा मुसलमान शरणार्थी प्रभावित छन् । सबै शरणार्थीमध्ये करीब आधा इसाई र ३८ प्रतिशत मुस्लिम छन् । मुस्लिम शरणार्थीको संख्या घटाएर इसाईको संख्या बढाउने ट्रम्पको योजनाले गत फेब्रुअरीमै नतिजा देखाएको थियो । फेब्रुअरीमा मुस्लिम ५० प्रतिशत थिए भने अहिले ३१ प्रतिशतको हाराहारी मात्र छन् । तर विश्वव्यापी रूपमा शरणार्थी संख्या भने मुसलमानकै बढी छ, त्यसमा पनि सिरियाका सबभन्दा धेरै छन् । त्यसपछि अफगानिस्तान र सोमालिया आउँछ ।
सन् २००२ देखि २०१६ का बीचमा मुस्लिम शरणार्थीले इसाई शरणार्थीलाई तीन वर्ष मात्र उछिनेका थिएः २००५, २००६ र २०१६ मा । अमेरिकामा शरणार्थी पुनर्स्थापित हुने शीर्ष ६ देशमा तीन क्रमशः इराक, सोमालिया र सिरिया छन्, जसमध्ये बहुसंख्यक मुसलमान छन् ।
यता आएर दृश्य बदलिएको छ । ट्रम्प कार्यकालको अप्रिलमा शीर्ष ६ देशमा इराक, कंगो, म्यानमार, यूक्रेन, भूटान र इरिट्रिया देखिन्छन् । संख्या कटौतीमा परे पनि भूटान शीर्ष ६ देशको सूचीमा भने छँदैछ । भाषाका आधारमा भने अरबीपछि नेपाली बोल्ने दोस्रोमा छन् । त्यसपछि क्रमशः सोमाली र करेन छन् ।
अमेरिकी रणनीति बमोजिम नै शरणार्थीको अमेरिका प्रवेश घट्दो छ । सन् २०१६ मा ८५ हजार शरणार्थी सीमा तोकेको अमेरिकामा ८४ हजार ९९४ शरणार्थी पुनर्स्थापित भएका थिए । १ अक्टोबर २०१६ मा शुरू भएको चालू आर्थिक वर्षका ९ महीनामा भने केवल ५० हजार ४७९ जना मात्र पुनर्स्थापित भएका छन् । “५० हजार पुगेपछि त ठप्पै भएको छ”, अमेरिकास्थित इन्टरनेशनल इन्ष्टिच्यूट अफ न्यू इङ्गल्याण्डका शरणार्थी स्वास्थ्य संयोजक पुष्पमान जोशी भन्छन् ।
(कोइराला, अमेरिकामा ‘अक्षरिका’ नेपाली न्यूजलेटर सम्पादन गर्छन् । यो लेख ‘हिमाल खबर-पत्रिका‘ २०७४, भदौ ४-१० / सन् २०१७ अगस्त २०-२६ अंकमा प्रकाशित भएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<