डिभी २०१४ को चिठ्ठा पर्नेमा सबभन्दा धेरै नेपाली

DV website

अमेरिकाको डाइभर्सिटी भिसा २०१४ (डिभी- २०१४) पर्नेमा सबभन्दा धेरै नेपाली भएका छन् । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ को डिभीबाट ६ हजार ८२ नेपालीलाई भिसा छुट्याइएको छ ।
पहिलोबाट दशौं देश
पहिलो स्थानबाट दशौं स्थानमा यी मुलुक छन्-
पहिलो ……. नेपाल …………………… ६ हजार ८२
दोस्रो ……… नाइजेरिया …………….. ६ हजार ४३
तेस्रो ………. इरान …………………… ६ हजार २७
चौथो ……… प्रजातान्त्रिक कंगो …… ६ हजार २५
पाँचौं ……… युक्रेन …………………… ६ हजार ९
छैटौं ………. इजिप्ट …………………. ५ हजार ७ सय ५७
सातौं ……… इथियोपिया …………… ५ हजार ७ सय १८
आठौं ……… उज्वेकिस्तान ………… ५ हजार १४
नवौं ………. रूस (रसिया) ………….. ४ हजार ५ सय ४४
दशौं ………. क्यामरून ……………… ४ हजार २ सय ६८
कूल १ लाख ४० हजार ६ सय ६० लाई छानिएको छ, यीमध्ये बढीमा ५५ हजारलाई भिसा उपलब्ध हुन्छ । डिभी- २०१४ का लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो ।यसपटक ५५ हजारका लागि १ करोड ४६ लाख ३३ हजार ७ सय ६७ जनाले चिठ्ठा भरेका थिए । चिठ्ठा भर्ने ९३ लाख ७४ हजार १ सय ९१ भए पनि उनीहरूले परिवारको भरेको हुन्छ, त्यसो गर्दा चिठ्ठा भर्ने १ करोड ४६ लाख देखिएको हो । तर कूल चिठ्ठाको ७ प्रतिशतभन्दा बढी भिसा एउटै मुलुकका नागरिकका लागि छुट्याइएको छैन ।
अमेरिकाको कंग्रेसले सन् १९९० मा ‘डाइभर्जिटी भिसा प्रोग्राम’ ल्याएको हो । तर सन् १९९५ बाट मात्र डिभी खोलिएको हो । डिभीभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी बासिन्दा हुने आधार छैन ।
कहिले, कति नेपालीलाई ?
कुन वर्ष कति नेपालीलाई परेको थियो भन्ने जानकारीः
सन् २००२ ……………७ सय २९ जना
सन् २००३ ………….. २ हजार ३ सय २० जना
सन् २००४ ………….. ४ हजार २ सय ५९ जना
सन् २००५ ………….. २ हजार ६ सय ९८
सन् २००६ ………….. १ हजार ९ सय ३४ जना
सन् २००७ ………….. १ हजार ५ सय २९ जना
सन् २००८ ………….. २ हजार ५ सय ६२ जना
सन् २००९ ………….. १ हजार ८ सय ९१ जना
सन् २०१० ………….. २ हजार १ सय ३२ जना
सन् २०११ ………….. २ हजार १ सय ८९ जना
सन् २०१२ ………….. ३ हजार २ सय ५८ जना
सन् २०१३ ………….. ४ हजार ३ सय ७० जना
सन् २०१४ ………….. ६ हजार ८२ जना
परेका छानिने आधार
चिठ्ठाका लागि हाइस्कूल (१२ कक्षा) मात्र पुरा भएको हुनुपर्छ । विशेषज्ञता चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ । भिसा बुलेटिनले भनेको छ, ‘अन्तर्वार्तामा जानेले हाइस्कूल वा सोसरहको शिक्षा पूरा गरेको र केही वर्ष कुनै काम गरेको अनुभवको प्रमाण लानुपर्छ ।’
डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेलमार्फत जानकारी गराउने चलन छैन ।
नियमअनुसार सबै पूरा भए डिभी भिसा उपलब्ध हुन्छ । चिठ्ठा परेजति सबै आउन सक्दैनन्, किनभने भिसा दिंदै जाँदा ५५ हजार पुगेपछि डिभीका लागि छ्ट्याएको भिसा सकिन्छ र थपले नपाउने हो ।

कुन मुलुकबाट भरिदैन ?
बितेको पाँच वर्षमा ५० हजार मानिस अमेरिका आएको मुलुकका लागि यो चिठ्ठा भर्ने अवसर प्राप्त छैन । ती मुलुकमा बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन गणतन्त्र, इक्वेडर, एल साल्भाडोर, हाइटी, भारत, जमाइका, मेक्सिको, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (नर्दर्न आयरल्यान्डबाहेक) तथा यसका अधिनका भू-भाग र भियतनाम हुन्, जहाँका नागरिक डिभी २०१४ मा सहभागी थिएनन् ।
के डिभी रोकिन्छ ?
अमेरिकी संसद (हाउस अफ रिप्रजेन्टेटिभ) ले डिभी भिसा बन्द गर्ने पक्षमा मतदान गरेको छ । त्यो संख्याको भिसा यहाँ उच्च प्राविधीक शिक्षा लिएका विदेशमा जन्मेका विद्यार्थीहरुलाई दिने पक्षमा मतदान भएको हो । हाउस अफ रिप्रजेन्टेटिभमा भएको मतदानमा २४५-१३९ मत परेको थियो । यो प्रक्रिया यहाँभन्दा अघि बढेन ।
सन् २०१५ को डिभीको सूचना अर्को महिनाहरूमा आउने बुलेटिनमा उल्लेख छ । त्यसको अर्थ यो रोकिएको छैन । डिभीको आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov/ हो । यही वेबसाइटमा सूचना पनि आउने गरेको छ ।
नेपाली कति ?
अमेरिकामा नेपालीको संख्या सन् १९९० को जनगणनाले २ हजार ६ सय १६ र सन् २००० को जनगणनाले ९ हजार ३ सय ९९ थियो भने सन् २०१० को जनगणनाले ५९ हजार ४ सय ९० देखाएको छ । तर जानकारहरू अमेरिकामा २ लाखसम्म नेपाली भएको अनुमान गर्छन् । सन् २०१३ जुलाई अन्तिमसम्म अमेरिकामा पुनस्थापित भूटानीको संख्या ६८ हजार कटेको छ ।
र,
बधाई, जसलाई डिभी परेको छ ।
सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन, क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<