शरणार्थीको सूचीमा नेपालीभाषी

Nepali Bhasi Saranarthi_2070 Sawan 20‘अमेरिका जान/आउन पाए, कति भाग्यभानी रहेछन्, यी भूटानी शरणार्थीहरू !?’ धेरैले राख्ने गरेको जिज्ञासा वा आश्चर्य हो। तर जान/आउन पाउनेमध्ये कसैले आफूलाई भाग्यमानी ठान्नुहुन्छ र कसैले ठान्नुहुन्न । यो उहाँहरूकै आ-आफ्नो सोच हो। ‘अमेरिकाले कति धेरै माया गरेको भूटानीहरूलाई?’ अर्को जिज्ञासा ।
पहिलो प्रश्नको उत्तर त्यति सजिलो छैन। आफ्ना बाहुबलले भूटानमा स्थिति बसाएको पुस्ताले अमेरिकी जीवनलाई सहज ठानेको छैन । त्यो पुस्ताका धेरैले अमेरिका बसोबासलाई भाग्य ठानेको पाइँदैन । भाषा र शिक्षाका हिसाबले जो घरबाहिर जान सकेको छ र केही गर्न सकेको छ, माहिलो पुस्ता भनौं न उहाँहरूका लागि सहज छ । अनि सबभन्दा कान्छो पुस्तालाई भने भाग्यमानी ठान्न सकिन्छ, जसका लागि यहाँ धेरै अवसर छन् ।
दोस्रो प्रश्नको उत्तर चाहीँ अलि स्पष्ट छ । अमेरिकाले भूटानी शरणार्थी मात्र बसोबास गराएको छैन । यसले विभिन्न मुलुकबाट बर्सेनि बढीमा ८० हजार शरणार्थीलाई बसोबास गराउँछ । यो सीमा सुरुमा थिएन, कुनै वर्ष २ लाख र कुनै वर्ष १९ हजारमात्र पुनर्स्थापित गरेको पाइन्छ । सन् १९७५ अमेरिकाले औपचारिकरूपमा शरणार्थी पुनर्स्थापना थालेको हो। सन् २०१२ फेब्रुअरीसम्म अमेरिकाले ३० लाख शरणार्थी बसोबास गराइसक्यो । अमेरिकाको जनसंख्या ३१ करोडको हाराहारीमा छ। अमेरिकाले शरणार्थीलाई नयाँ जीवन, नयाँ आवास र नयाँ समुदाय प्रदान गर्दै आएको छ। सन् १९८० को दशकमा भियतानाम, लाओस तथा सोभियत संघ (अहिलेको रूस तथा अन्य विभाजित मुलुक) बाट शरणार्थी अमेरिका ल्याइन्थे । सन् १९९० को दशकमा पूर्व–युगोस्लाभियामा युद्ध भएपछि धेरै बोस्नियाली शरणार्थी अमेरिका आए । २१ शताब्दी सुरू भएपछि बर्मा, भुटान, इरान, इराक र सोमालियाबाट शरणार्थी ल्याएर अमेरिकामा पुनर्स्थापित गरिएको पाइन्छ । यस हिसाबले यो कूल शरणार्थी पुनर्स्थापनामा भुटानी शरणार्थी सानो अंशमात्र हुन् । सन् २०१२ मा विश्वका कूल ५८ हजार २ सय ३८ शरणार्थीमध्ये १५ हजार ७० भूटानी शरणार्थी रहे । गत मे महिनासम्म अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीको संख्या ६७ हजारभन्दा केही बढी पुगेको छ । संसारभरबाट भने यो संख्या ३० लाख ८८ हजार पुगेको छ । यसरी भुटानीमात्र अमेरिका ल्याइएका रहेनछन् र अरु पनि शरणार्थीका रुपमा आएका रहेछन् भन्ने तथ्य छर्लङ छ । त्यसैले भुटानी शरणार्थी जस्तै अमेरिका आउने जसलाई पनि भाग्यमानी ठान्नेका दृष्टिमा ३० लाख ८८ हजार नै भाग्यमानी ठहर्छन् ।
शरणार्थी तथ्यांक केलाउने अमेरिकी सरकारको एक विभागले भाषाका आधारमा अमेरिका भित्रिएका शरणार्थीको सन् २००७ देखि सन् २०१२ बीचका लागि एउटा सूची निकालेको छ । सूचीको रोचक पक्ष के छ भने पछिल्ला दश वर्षमा अमेरिका भित्रिएका शरणार्थीमा भाषाका आधारमा सबभन्दा नेपाली भाषी पहिलो नम्बरमा छन् । यसको अर्थ नेपाली भाषी भुटानी भन्ने त यसै बुझियो । यहाँ के उल्लेख गर्न जरुरी छ भने अमेरिकालगायत विश्वका ८ मुलुकमा नेपाली भाषी भूटानीको पुनर्स्थापना सन् २००८ मार्चमा थालिएको हो ।
नेपाली भाषीलाई पछ्याएका छन्, अरबी बोल्नेले । करेन (तिब्बती–बर्मेली मूलको भाषा) र सोमाली बोल्नेहरु तेस्रो र चौथो स्थानमा छन् भने पाँचौं स्थानमा छन्, स्पेनियाँ भाषी । चाल्डियन (बेबिलोनको सभ्यताका मानिसको भाषा), बर्मीज, अर्मेनियन र त्यसपछि अन्य भाषा बोल्ने शरणार्थी अमेरिका आएका छन् । सूचीको अन्तिम र दशौं स्थानमा कायाह (बर्माबाट आएका केही मानिसको भाषा) भाषा बोल्नेछन् ।
सूचीका अनुसार नेपाली भाषी ६० हजारभन्दा बढी छन् भने अरबीहरु ५७ हजार छन्। करेन ३१ हजार र सोमाली २५ हजार छन्। स्पेनियाँ २२ र चाल्डियन १३ हजार छन् ।
नेपालमा रहेका धेरैजसो भुटानी शरणार्थी अझै अमेरिकामा पुनर्स्थापित हुनेछन् । अहिलेसम्म कूल पुनर्स्थापितमध्ये करिब ८७ प्रतिशत अमेरिकामा छन् ।
(कोइराला, अमेरिकामा निस्कने ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरका सम्पादक हुन्। २०७० साउन २१ / २०१३ अगस्त ५ मा  ‘नागरिक‘ दैनिकमा प्रकाशित लेख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<