गर्मीको एउटा ‘विकेन्ड’

 

शनिबार बिहान । घरनजिकको हाइवेमा गाडीका आवाज विस्तारै बढ्छन् । त्यही सुन्दै म ब्युँझन्छु । घाम उकालो लाग्दै गर्दा अरू आवाजहरू हाबी हुन्छन् । घरछेउको सडकमा पनि गाडी बढ्छन् । गाडीहरू नजिकै कतै गएका होलान् वा हाइवेमा । धेरै मानिसहरू शनिबार बिहान उत्तरतिर लाग्छन् । बिदा मनाउने सुरमा केही मानिसहरू शुक्रबार निस्कन्छन् । नभ्याउनेहरू शनिबार बिहान एकोहोरो उत्तरतर्फ लाग्छन् । रात बिताउँछन् । कोही दिन मात्र पनि बिताउँछन् । यो गर्मीको मौसम हो ।शुक्रबार बेलुका वा शनिबार बिहान उत्तर लागेका धेरैजसो गाडीहरू आइतबार बेलुका घर फिर्छन् । सोमबार त काममा जानुछ, सबलाई । हतारमा हुन्छन् ।
स्कूल-कलेजको बिदा
 

गर्मी, जुन-अगस्त, सबैजसो स्कूल-कलेज बन्द हुन्छन् । नानीहरूलाई घुमाउन र आफू घुम्न निस्कनेले कहीं सडक-जाम पनि हुन्छन् । अमेरिकी स्कूलहरू एक वर्षमा सामान्यतः १ सय ८० दिन लाग्छन् । स्कूल लाग्ने दिन र बिदा राज्यपिच्छे फरक हुनसक्छ । स्कूल-बिदा र स्कूल लाग्ने दिनको निर्णय राज्य सरकार वा स्कूल डिस्ट्रिक्टले गर्छन् । अमेरिकाको उत्तर-तिरका सबैजसो स्कूल लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) पछि खुल्छन् र अर्को वर्ष जूनमा गर्मी-बिदाका लागि बन्द हुन्छन् । त्यसैगरी दक्षिणका स्कूल मध्य-अगस्तमा खुल्छन् र अर्को वर्ष मध्य-मेमा बन्द हुन्छन् । राज्य सरकार वा स्कूल डिस्ट्रिक्टले गरेका निर्णयका कारण कहीं यो फरक पर्न सक्छ ।
बिदामा काम
स्कूल – कलेज बन्द भएपछि नानीहरूलाई निकै छट्पटि हुन्छ । ठूला नानीहरूले काम गर्न पाउँछन् र गर्छन् पनि । अधिकांश राज्यहरुमा १८ वर्ष पुगेकाले काम गर्न पाउँछन् । यस्ता बेलामा अरुको काम गर्ने मौका जाँगरिला विद्यार्थीले हात पार्छन् । विद्यार्थीहरूले सजिला काम गर्छन् । अधिकांश अप्ठ्यारा कामका लागि अनुभवी नै मान्छे आवश्यक हुन्छ र यस्ता काम विद्यार्थीले पाउँदैनन् । कामका लागि बाहिर विद्यार्थीहरू वा इन्टरनेट चहार्छन् । ठूला शहरहरूमा काम बढी पाइन्छ । विद्यार्थीलाई उपयुक्त काम खोज्न सघाउन कलेज आफैं पनि तत्पर हुन्छन् भने विभिन्न संस्था, वेबसाइट आदि पनि हुन्छन् ।
यसरी कमाएको रकमले उनीहरूमध्ये कसैले इच्छाएका सरसामान किन्छन् भने कोही पठनपाठन शुल्क तिर्छन् वा पाठ्यपुस्तक (किताब) किन्छन् । यसै पनि कोही विद्यार्थी वर्षका अरू महिनामा पनि काम गर्दै पढ्छन् । तर उनीहरुले काम गर्नका लागि कलेजबाट स्विकृति लिएको हुनुपर्छ ।
ठूला त ठूला भइगए, सानाका लागि बाबु-आमाले केही योजना बनाउनै पर्छ । ‘ब्याक टु स्कूल’ को किनमेल भनेर ‘मल’, ‘डिपार्टमेन्टल स्टोर’हरू चहार्नै पर्छ, सानाका लागि ।
घर बस्ने छैनन्, फूर्सदिला
घर बस्नेका आफ्नै व्यस्तता छन् । घरका काम छन् । बिलहरू केलाउने । मासु पोलिखाने (बार्बिक्यू) । घाँस काट्ने । हो, टाढाबाट मासु पोलेको पनि थाहा हुन्छ । हरियो घाँस काट्दा आउने बासना पनि । शनिबार गोल-टोलमा मासु र घाँसले एकैनाश साम्राज्य जमाउँछन् । घाँस काट्ने ‘लनमुअर’ को आवाज सबेरै सुन्न सक्नु हुन्छ । मध्यदिन, साँझमा । निरन्तर पानी छर्कीरहेका ‘फाउन्टेन’ हरू थाक्दैनन् ।
घर-आँगनमा आफूलाई काम नलाग्ने सामान बेच्ने गरिन्छ । यार्ड सेल, गराज सेल वा बार्न सेल भनेर सस्तोमा सामान बेचेर क्रेता-बिक्रेताकै भलो हुने देख्छु, म । यस्ता सेलमा पुराना सामान हुन्छन्, तर कामै नलाग्ने हुँदैनन् । एउटालाई नचाहिएको सामान अर्कालाई चाहिने हुनसक्छ । यो पनि गर्मीको एउटा आकर्षण हो ।
बिदाको चलन
यहाँका सार्वजनिक बिदालाई मिलाइएको छ । केही संघीय बिदाहरूलाई ‘यो महिनाको यो सोमबार’ भनेर बिदा दिइन्छ । शनिबार र आइतबार बिदा बसेपछि सोमबार बिदा पाउँदा निकै राहत हुन्छ । तिथिमितिले जे भने पनि ‘यो महिनाको यो सोमबार’ भन्ने सूत्र प्रभावकारी लाग्छ । ती सोमबारे बिदा यस्ता छन् : मार्टिन लुथर किङ्ग जुनियरको जन्मदिन (जनवरीको तेस्रो सोमबार), प्रेसिडेन्ट डे /राष्ट्रपति दिवस (फेब्रुअरीको तेस्रो सोमबार), ममोरियल डे/स्मारक दिवस (मे महिनाको अन्तिम सोमबार), लेबर डे/श्रमिक दिवस (सेप्टेम्बरको पहिलो सोमबार), कोलम्बस दिवस (अक्टोबरको दोस्रो सोमबार) ।
अरु बिदामा थ्याङ्कस गिभिङ डे भने नोभेम्बरको चौथो बिहिबार पर्छ । जुलाई फोर्थ अर्थात् अमेरिकाको स्वतन्त्रता दिवस त्यसै पनि जुलाई ४ हो, जुन बार पनि । उता नयाँ वर्ष जनवरी १ र क्रिसमस डिसेम्बर २५ भइहाले । एउटा सम्मानको बिदा छ, अमेरिकामा ‘भेटेरन्स डे’ का नामले चिनिन्छ । युद्धमा गएर फिरेका व्यक्तिको सम्मानमा मनाइने यो दिवस भने नोभेम्बर ११ मा मनाइन्छ ।
यी बिदा त बिदा नै भए, केही चाड छन्, निकै रमाइला । ती चाडहरू ग्राउन्डहग डे, भ्यालेन्टाइन्स डे, सेन्ट प्याट्रिक्स डे, इस्टर, मदर्स डे, फ्ल्याग डे, फादर्स डे र हलोविन हुन् । विभिन्न जाति र धार्मिक समूहहरूले अमेरिकामा आफ्नो महत्वका चाड मनाउँछन् । उदाहरणका लागि यहुदीहरू रोश हाशानाह र योम किप्पर, मुस्लिमहरुले रमजान, र मेक्सिकनहरूले सिन्को दी मायो मनाउँछन् । तिहारको दिपावलीमा हिन्दूले मात्र बत्ती बाल्ने होइन, ह्वाइट हाउससमेत राष्ट्रपति बाराक ओबामाले बत्ती बाल्ने कार्यक्रम राखेर सबलाई चकित पारेका थिए ।
र, अन्त्यमा
गर्मी छ, घरछेउ चराहरू आउँछन् । उनीहरूका चारो कतै राखिएको होला । सानो भाँडोमा पानी पनि । उनीहरूका चारो बजारमा किन्न पाइन्छ, बोराका बोरा । चराका गुँड पनि अनेकथरी ।
आकाश खुला रहन्छ । निकै माथि सेता धर्सा बनाएर जेट-विमान उड्छन् । कहीं हेलिकप्टरहरू । तै पनि मौसमको भर हुन्न । यो गर्मीको एउटा ‘विकेन्ड’मा । अमेरिकाको उत्तर-पूर्वी कुनामा गर्मीको एउटा दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<