पत्रकारलाई स्काउट पुरस्कार

काठमाडौं (कास)-  नेपाल स्काउटले २०६४ को ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार राजेश कोइराला र ‘नेपाल न्युज’ साप्ताहिक पत्रिकालाई प्रदान गरेको छ ।
स्काउटको ५६ औं वाषिर्कोत्सवको अवसरमा बिहीबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारमा १० हजार रुपैयाँ नगद र प्रमाणपत्र छ । स्काउटका गतिविधि ‘कान्तिपुर दैनिक’ को बालबालिका परिशिष्टाङ्क ‘कोपिला’ मा प्रकाशित गरी बालबालिकालाई स्वावलम्बी र अनुशासित बन्न प्रोत्साहन गरेबापत कोइरालालाई पुरस्कृत गरिएको हो । उनी कोपिलाका संयोजक हुन् ।
नेपाल स्काउटलाई विश्वमा चिनाउन योगदान दिएबापत शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव शंकरप्रसाद पाण्डे, प्रशिक्षक हरिमोहन ज्योतिलाई ‘असाधारण अलंकार सुनौलो गैंडा’ पदक प्रदान गरिएको थियो ।
त्यस्तै २४ वर्षदेखि स्काउटमा रहँदै आएका निर्देशक गौतम अधिकारीलाई ‘प्रशंसनीय आचरण पदक’, सडक बालबालिकालाई पनि समेटेकोमा प्रशिक्षक हरिबहादुर श्रेष्ठ र शिक्षक दीपेश केसीलाई ‘उत्तम सेवा पदक’ प्रदान गरिएको थियो । यसैगरी नरेश महर्जन, उमेश नेपालीलगायतलाई पनि पदक दिएको थियो ।
(२०६५ असार ६ को ‘कान्तिपुर दैनिक’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<