रानाग रिन्चेन रिम्पोचे सानो छँदा

आमा सम्झदै गुम्बामा

‘डोल्पो बुद्ध’ का रूपमा चिनिने रानाग रिन्चेन रिम्पोचे ताइवान बस्नुहुन्छ । उपल्लो डोल्पाको साल्डाङ गाविस २ लोरीमा जन्मेका रिम्पोचे पाँचौं अवतारी लामा हुनुहुन्छ । उहाँका पिताको नाम नोर्पु र माताको नाम बम्छोक गुरुङ हो । उहाँहरू दुई बहिनी र पाँच दाजुभाई जन्मनुभएको हो । उहाँ काहिंलो छोरा हो । उहाँले त्यहींको येत्सेर गुम्बामा प्रारम्भिक लामा शिक्षा लिनुभयो । पछि काठमाडौं र भारतमा गरी उहाँले बौद्ध धर्ममा स्नातकोत्तर गर्नुभएको छ भने काठमाडौंको विशालनगरमा ‘स्नोल्यान्ड रानाग स्कुल’ खोल्नुभएको छ । त्यसमा १ सय ५८ जना अनाथ र विपन्नले बस्ने-खानेलगायत सम्पूर्ण खर्चसहित निःशुल्क पढ्दैछन् । अति दुर्गममा जन्मेर आफूले स्तरीय शिक्षा लिन नपाए पनि हरेक गरिबले पढ्न पाओस् भन्ने उहाँको लक्ष्य छ । उहाँले डोल्पाबाट चोरिएर चिन पुगेका नेपाली मूर्ति फर्काएर त्यस भेगका बौद्धमार्गीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँसँग व्यायाम आदि माध्यमबाट उपचार गराउनेको ठूलो भीड नै लाग्ने गरेको छ । यसपटक रिन्चेन रिम्पोचे सानो छँदाका केही सम्झना :
मेरी आमालाई घरकै हजुरआमा र फुपुकी छोरीले खुबै हेला गर्थे । उनीहरू बसेर आमाका कुरा गर्थे । कुरा पनि हेला गरेर गर्थे । बच्चा ठानेर म भएको याद गर्दैनथे । तर म सबै कुरा बुझ्थे । मलाई यस्तो कहिल्यै मन पर्दैनथ्यो । हामी पशुपालन र खेती गर्न गर्थ्यौं । आमा त्यसका लागि जानुहुन्थ्यो । म चाहिं हजुरआमासँग बस्थे । तर मलाई हजुरआमा पटक्कै मन पर्दैनथ्यो । मलाई आमाको याद आउँथ्यो । आमाकहाँ पुग्थे । त्यहाँ जान दुई घण्टा लाग्थ्यो । फुपुकी छोरी पनि गोठाला जान्थिन् । म उनको खाना फोहोर हालिदिन्थे । एकपटक उसको ढिडोमा फोहोर हालिदिए । उ आएर खाई, अनि भनि, ‘कस्तो चर्को भएछ ?’
हामीलाई खाने र पशुलाई ख्वाउने पानी खोलाकै हुन्थ्यो । पशुपालन गर्ने ठाउँ भएकाले त्यहाँ ‘भाल्सेर’ भन्ने ठाउँ थियो । त्यहि ठाउँका नाममा एउटा भाल्सेर खोला छ । त्यसैको पानी हामीले पिउने र अन्य काममा प्रयोग गर्थ्यौं ।
पशुपालनबाहेक हामी खेती गर्थ्यौं । फापर, गहुँ, आलु आदि उब्जनी हुन्थ्यो । मलाई बाख्राले पाठापाठी जन्माउनेबित्तिकै दिने दूध खुब मनपर्थ्यो । सानोमा हामी बक्खु लगाउँथ्यौं । हामीलाई दिने बक्खुको रंग मलाई मनपरेन । अनि दाईले लगाउने बक्खु लगाएर म हिंड्थे ।
झगडा पर्दा म अगाडी जान्थे । सबलाई भगाउँथे । अनि पिटाई पनि खान्थें । मलाई गुम्बा जान मनलाग्थ्यो । म सानैमा मन्त्रहरू उच्चारण गर्थें । साना साथीहरू भेला पारेर मन्त्र सुनाउँथे । छ वर्षको भएपछि याछेर गुम्बा गएँ । म १२ वर्षको हुन्जेल त्यहिं पढें । गुम्बामा बस्दा आमाको खुब याद आउँथ्यो । अझ जाडो हुँदा आमा कहिले आउनुहुन्छ जस्तो लाग्थ्यो । सबै सुतेपछि म गुम्बामाथि चढ्थे र आमालाई सम्झन्थे । आमा र बुबा महिना-महिनामा त आउनुहुन्थ्यो । उहाँहरूले भात, रोटी ल्याइदिनुहुन्थ्यो । आमा आउँदा मलाई औधी खुसी लाग्थ्यो । सधैं सँगै बसौंजस्तो लाग्थ्यो । घर कहिले जाऊँ जस्तो हुन्थ्यो ।
गुम्बामा हाम्रा गुरु लुन्डुप पाल्जो हुनुहुन्थ्यो । उहाँ ४० वर्षजतिका हुनुहुन्थ्यो । उहाँका शिष्य हामी १२/१३ जना थियौं । सधैं बिहान करिब ५ बजे उठ्थ्यौं । घडी हुँदैनथ्यो । ध्यान गर्नुपर्थ्यो । किताबहरू थिएनन् । हातले लेखेर किताब तयार पारिन्थ्यो । मेरा अक्षर साह्रै राम्रा थिए । गुरु नहुँदा चकचक गर्थे । रोटी चोरेर खान्थे । गुरुले चिसोमा उभ्याउने र पछाडी पिटेर सजाय दिनुहुन्थ्यो ।
(शब्द : राजेश कोइराला/अखण्ड भण्डारी, तस्बिर : नवराज वाग्ले, २०६६ माघ ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<