प्रा डा जीवन श्रेष्ठ सानो छँदा

बल्ल बाँचेर जीवन

प्रा डा जीवन श्रेष्ठ माछाबारे विद्यावारिधि गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँसँग ४१ वर्ष जीवविज्ञान पढाएको अनुभव पनि छ । उहाँको जन्म २००२ साल साउनमा तेह्रथुमको जलजले, सन्यासीछापमा भएको हो । जीवनका पिताको नाम मोतिबहादुर र माताको नाम लक्ष्मी मास्के हो । ४ दाजु र ४ दिदीबहिनीमध्ये उहाँ कान्छी छोरी हुनुहुन्छ । उहाँले ‘फिसेज अफ नेपाल’, ‘फिसेज, फिसिङ इप्लिमेन्ट एन्ड मेथड्स अफ नेपाल’ र बायोडाइभर्जिटी प्रोफाइल प्रोजेक्टमा माछासम्बन्धी किताब लेख्नुभएको छ । उहाँको अर्को पुस्तक चाँडै आउँदैछ । जीवन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्राज्ञ हुनुहुन्छ । उहाँले भारतबाट आइएस्सी गरेपछि बिएस्सी नेपालबाट गर्नुभयो । एमएस्सीका लागि भारत जानुभयो । मध्यप्रदेश, उज्जैनस्थित विक्रम युनिभर्सिटीबाट एमएस्सी सक्नुभयो । सन् १९६६ मा पढाई सकेर सन् १९६७ देखि त्रिभुवन विश्वविद्यालयमा पढाउन थाल्नुभयो । जीवशास्त्रको केन्द्रीय विभागका रुपमा डेढ वर्ष काम गर्नुभयो । उहाँ सेवानिवृत्त भएको दुई वर्ष भएको छ । श्रेष्ठले धेरै कदरपत्र पाउनु भएको छ । उहाँले भारत, जर्मनी, अमेरिका, जापान, चीन, ताइवान, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश आदि देशमा गएर विभिन्न कार्यपत्र पेश गर्नुभएको छ । ती देशमा अध्ययन गर्नुभएको छ । यसपटक जीवन सानो छँदाका केही सम्झना :
जलजलेमा हाम्रा दुईटा घर थिए । बिचमा आँगन थियो । आँगनमा धानको दाउनी हुन्थ्यो ।
एउटा अविस्मरणीय घटना छ । एकपटक आमा घरको पेटीमा बसेर फर्सी काट्दै हुनुहुन्थ्यो । म त्यहाँ पुगें । फर्सी काट्ने चुलेसीले मेरो खुट्टा काट्यो । घरायसी औषधि गरेर निको भयो । अर्को एकपटक नातेदारका घरमा भोज खान जाँदा बार्दलीबाट खसेकी छु । मान्द्रोको छेउ बार्दलीको परसम्म रहेछ । त्यहाँ बार्दली भने रहेनछ । मैले छेवैमा टेकेंछु । म लडें । मेरो कुर्कुच्चा भाँच्चियो । त्यसको पनि घरेलु उपचारबाट निको भयो ।
मेरो नाम ‘जीवन’ किन रह्यो भन्ने रोचक प्रसंग छ । म सानै छँदा बुबाले ‘नेपाल’ जाने योजना बनाउनुभयो । त्यसबेलाको नेपाल भनेको काठमाडौं हो । मलाई दाईले थैलोजस्तो बनाएर छातीमा टाँसेर बोक्नुभएछ । उहाँ घोडामा चढ्नुभएको रहेछ । एक ठाउँमा घोडा उफ्रदा म त खसेछु । दाईले थाहा पाउनु भएनछ । मलाई थाङ्नामा बेरेको रहेछ । म ओरालोमा बुर्लुङ बुर्लुङ पल्टदै जाँदा पछाडी आउने अर्का दाई (काकाका छोरा) को खुट्टाले छोएछ । गिलोगिलो लागेर हेर्दा त थाङ्नामा म रहेछु र उहाँले भन्नुभएछ, ‘ए बहिनी पो रहिछन् ।’ उहाँले नभेटेको भए अरुण खोलामा खस्ने रहेछु । काठमाडौंबाट फर्केपछि मेरा शरीरमा खटिरा आएछन् । एउटी बज्यैले मलाई बचाइछन् । यसरी दुइपटक बाँचेपछि मेरो नाम नै जीवन भएछ ।
जलजलेमा हुँदा धुलौटेमा सिन्काले लेखेर क ख … त मैले सिकेकी थिएँ । त्यहाँ शंकर विद्यालय थियो । म चार वर्षको हुँदा २००७ सालको क्रान्ति सुरु भएको थियो । हामी भागेर धरान आयौं । गाउँ नै खालि भयो । अरु केही नातेदार विराटनगर गएर बसे ।
धरानको शारदा बालिका विद्यालयमा पढ्न थालें । दिदी गीता र मैले पढ्ने मौका पायौं । दुई दाईहरूले पनि पढ्नु भयो । बाँकी चार जनाले पढ्ने मौका पाउनुभएन । जेठो दाजु नन्दकुमारले दार्जिलिङ गएर पढ्ने काम अगाडी बढाउनुभयो ।
शारदा बालिका विद्यालयबाट २०१६ सालमा एसएलसी दिएँ । म कहिल्यै सेकेन्ड भइँन । त्यस वर्ष एसएलसी दिने हामी सबै फूर्तिला थियौं । मेरा मिल्ने साथी : ललिता, मिथिला बस्नेत, रति, कुसुम, भारती आदि थिए । हामीलाई छविलाल शर्मा, गोविन्द सर आदिले पढाउनुभयो । गोविन्द सर मलाई संस्कृत पढाउन चाहनुहुन्थ्यो । स्कुलमा साइन्स पढ्न पाइँन । मैले होम साइन्स पढें । मलाई यति धेरै माथिसम्म ल्याउन दाईहरू चिरञ्जिवी, चन्द्रप्रकाश, यन्तकुमार र दिदी गिताको योगदान छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ पुस ५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<