मीरा राणा सानो छँदा

मीरा बेपत्ता

मीरा राणा प्रसिद्ध गायिका तथा संगीतकार हुनुहुन्छ । उहाँले करिब १ हजार ६ सय गीत गाउनुभएको छ । २०३५ पुसदेखि रेडियो नेपालमा गीत-संगीतको सेवा गर्न थाल्नुभयो । सुरुमा सुब्बा पदमा नियुक्त हुनुभएको थियो । उहाँ गत असोजमा मुख्य संगीत प्रबन्धकका रुपमा सेवानिवृत्त हुनुभयो । मीराको जन्म २००८ असोज विजयादशमीका दिन काठमाडौंको कमलपोखरीमा भएको हो । उहाँका पिता पं. शम्भुप्रसाद मिश्र हुनुहुन्थ्यो । मीराकी माताको नाम निर्मला हो । उहाँका दाजु, दुई भाई र बहिनी जन्मनुभएको हो । मीराको घरमै संगीतमय वातावरण थियो । पिता पं. शम्भुप्रसाद तबलाका ज्ञाता हुनुहुन्थ्यो । मीराले भारतको इलाहावादबाट संगीतमा विशारद गर्नुभएको छ । उहाँले २०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर गीत गाउनुभयो । त्यसबेला गीत रेकर्ड हुँदैनथे । उहाँले विभिन्न भाषा र करिब दुई दर्जन चलचित्र-गीत गाउनुभएको छ । विश्वका थुप्रै देश भ्रमण गरेकी मीराले धेरै सम्मान तथा पुरस्कार पाउनुभएको छ । यसपटक गायिका राणा सानो छँदाका केही सम्झना :
मेरो घरमा बोलाउने नाम पनि मीरा हो । म सानोमा खुब ठूलो स्वरमा रुन्थे रे । रुँदा मुख ठूलो हुन्थ्यो । टोलछिमेकमा कस्ती छोरी पाएको, यति ठूलो मुख भएकी, संसार नै निल्ने भन्थे रे । त्यसैले मैले गीत-संगीतमा कहिल्यै हार्नुपरेन । सधैं फर्स्ट हुन्थे ।
मलाई गीत-संगीतमा लाग्ने प्रेरणा पिताजीले दिनुभयो । मातालाई यो मनपर्दैनथ्यो । भागीभागी लुकीलुकी गाउनुपर्थ्यो । समाजमा छोरीले गाएर हिंडेको त्यति रुचाउँदैनथ्यो । स्कुलमा पनि कुनै कार्यक्रममा मात्र गाउने मौका मिल्थ्यो । स्कुल बिदा भएपछि बेलुका गाउन सिकाइन्थ्यो । म चाहिं ढोकाबाहिर बाट चियाएर रियाज गरेको हेर्थे ।
मैले कक्षा १ देखि ४ नन्दी स्कुल पढें । कक्षा ७ सम्म विजयस्मारक पढें । त्यसपछि छात्राका लागि डिल्लीबजारमा कन्या स्कुल खुल्यो । म त्यहाँ पढ्न गए ।
वियय स्मारकमा पढ्दाकी साथी संगीत जोशी हुन् । त्यहाँ जनक सरले अंग्रेजी पढाउनुहुन्थ्यो । कन्या स्कुलका हेडसर कालो लुगा लगाउने र कालै साइकल चढ्नुहुन्थ्यो । त्यहाँ नायिका सनी रौनियारकी बज्यैले अंग्रेजी पढाउनुहुन्थ्यो । मलाई अंग्रेजी मनपर्थ्यो । दुवैतिरका पढाउने शिक्षक र शिक्षिका मन परेर होला । तर एसएलसीमा त्यहि अंग्रेजीमा फेल भएँ । कन्या स्कुलका साथी इन्दिरा र सकिला शिवाकोटी हुन् ।
केटाकेटीका घटना अहिले सम्झदा रमाइलो लाग्छ । त्यसबेला मीत लगाउने चलन थियो । विजय स्मारकमा पढ्दा मीरा नामकी एउटी साथीसँग मीत लगाउने भइयो । त्यो दिन शुक्रबार थियो । हामी दुईका साथ अरु साथी पनि कमलपोखरी कुमारीस्थान गयौं । त्यहाँ गएर मीत लगायौं । मीत लगाएपछि केही सामान साट्नुपर्छ भन्ने भयो । म कक्षा ६ मा फर्स्ट भएकाले बुबाले बनाइदिएका सुनका रिङ लगाएकी थिएँ । मैले दिएँ । उनले टप दिइन । त्यो दिन त त्यसै बित्यो । भोलिपल्ट बिहान बज्यैले चिया खान बोलाउनुभयो । मुमाले कानमा हेर्नुभयो । रिङ नदेखेपछि सोध्नुभयो । मैले हिजोको घटना सुनाएँ । उहाँले, ‘त्यो सुनको थियो । महँगो पर्थ्यो,’ भन्नुभयो । गाली गर्नुभयो र पिट्नु भयो । ‘मागेर ल्याऊ’, भन्नुभयो । आइतबार उनी आइनन् । सोमबार आइनन् । मंगलबार आइनन् । उनले स्कुल नै छाडिन् । स्कुल जाँदा आज आउलिन भन्यो, आउँदिन थिइन । दिउँसो यताउता गर्दै मन बरालिन्थ्यो । स्कुल बिदा भएपछि घर फर्कन किताब बोकेपछि आज घर गएर के भन्ने हुन्थ्यो । मेरो बिहा भएपछि ०३३/३४ मा मीरासँग भेट भयो । रिङको के कुरा ?
सानामा हामी खैं कासा, चुरोटको बट्टाका कित्ता खेल्थ्यौं । मलाई कर्कलोको तरकारी धेरै मन पर्थ्यो । अनि रायोको साग खुब मन पराउँथे । अहिले पनि मन पराउँछु । मेरो मावली जाजरकोटका ठकुरी हुन् । मामाघर विशालनगरमा थियो । चाडपर्वमा दशैं खुब मनपर्थ्यो । नौरथामा नौ दिन नौ वटा लुगा लगाउन पाइन्थ्यो । डम्बरु दिने चलन थियो । डोकोभरि डम्बरु ल्याएर बाँढिन्थ्यो । आहा, क्या रमाइलो । टिका लगाउने दिन आफ्नो बर्थडे पर्ने । तर बर्थडे कहिल्यै मनाउन नपाउने, कस्तो नमज्जा हुन्थ्यो ।
म स्कुल पढ्दा मोटी थिएँ । १०/१२ वर्षकै हुँदा फुटबल खेल्ने भइयो । केटा र केटीको फुटबल भयो । मैले भकुन्डोलाई लात्तीले हानेको छ त हुत्तिएछु । तीघ्राको भागमा कपडा च्यातियो । म लडें । सबै हाँसे । साथीको सल बेरेर घर पुगें । मुमाले, ‘के गरेर आउनु भयो नि महारानी ?’ भन्नुभयो । अनि गाली खाएँ ।
म अलि दयालु स्वभावकी छु । ५/६ मा पढ्दा होला । घरमा फर्सी फलेका थिए । एउटी लाटी आएर मागी मैले टिपेर दिएँ । भेट्नो चाहिं भाँचिएन । मुमाले बिहान सधैं फर्सी गन्ती गर्नु हुँदो रहेछ । भोलिपल्ट बिहान दाँत माझ्दा गन्नुभयो । एउटा कम भयो । काम गर्ने बज्यैले गाली खाइन् । मैले फर्सी दिएको पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकहाँ काम गर्ने लाटीले देखेकी रहेछ । त्यसले भनिदिइ । मामुले कान समातेर घरबाहिर ल्याउनुभयो । मैले, ‘दुःखी देखेर दिएँ,’ भने । तर चोरी गर्ने काम भनेर पिताजी मलाई सजाय दिनुभयो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ कात्तिक २२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<