विश्वविमोहन श्रेष्ठ सानो छँदा

किताबको संगत

विश्वविमोहन श्रेष्ठ साहित्यकार हुनुहुन्छ । उहाँको जन्म २०१३, वैशाख १६ गते तेह्रथुमको म्याङलुङमा भएको हो । उहाँका पिताको नाम चन्द्रमान र माताको नाम मंगलादेवी हो । उहाँहरू तीन भाइ जन्मनुभएको हो । विश्वविमोहन कान्छो छोरा हो । उहाँका प्रकाशित कृतिहरू : ‘विश्वविमोहनका केही कविताहरू’ (०४४), ‘अङ्गारका धमिला धर्साहरू’ (०६२), ‘द हेजी लाइन अफ द कोल’ (अंग्रेजी कवितासंग्रह, सन् २००५), ‘एउटा गन्तव्यको खोजीमा’ (०६२) हुन् । उहाँले केही कविता क्यासेटमा स्वर दिनुभएको छ भने केही तयार पार्न अगुवा भई काम गर्नुभएको छ । श्रेष्ठको पहिलो रचना विसं ०२६ तिर ‘तीनजुरे’ तेह्रथुम साहित्यिक पत्रिकामा दुइटा मुक्तक प्रकाशित थिए । उहाँले तीनजुरेबाहेक सोपान (सामयिक संकलन, ०३१), स्पन्दन (साहित्यिक पत्रिका, ०३२), नवरत्न (साहित्यिक पत्रिका, ०३५) र सिर्जना (साहित्यिक पत्रिका, ०४०) को सम्पादन पनि गर्नुभएको छ । उहाँ साहित्यिक पत्रकार संघको अध्यक्ष हुनुभयो । त्यसबाहेक विभिन्न साहित्यिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । उहाँले ०४४ को राष्ट्रिय युवावर्ष मोती पुरस्कार, ०४४ मा रत्नश्री स्वर्णपदक, ०३२ मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा दोस्रा पुरस्कार आदि पाउनुभएको छ । साहित्यिक कार्यक्रमकै सिलसिलामा देशबाहिर पुगेका विश्वविमोहन सानो छँदाका केही सम्झना :
मेरा बाजे लोकमान ललितपुरको मंगलबजारका हुनुहुन्थ्यो । व्यापारको सिलसिलामा पूर्वी नेपाल जानुभएको हो । उहाँले धनकुटामा बिहे गर्नुभयो र तेह्रथुमको म्याङलुङमा बसेर व्यापार गर्न थाल्नुभयो । बाजेले कोलकाताबाट समेत सामान ल्याएर बेच्नुहुन्थ्यो । राजधानीबाट म्याङलुङ पुगेकाले उहाँले व्यापारमात्र गर्नु भएन विकासका काम पनि गर्नुभयो । उहाँले ००४ सालमा म्याङलुङमा सिंहवाहिनी स्कुल खोल्नुभयो । हाम्रो स्कुल त्यही हो । हाम्रो स्कुल पूर्वाञ्चलमा सबभन्दा पहिले खुलेका स्कुलमध्येको एक हो । लाहुरबाट फर्केकालाई अंग्रेजी पढाउन लगाउने काम गर्नुभयो । हाम्रो बुबाहरू सात भाइ । म माहिलोको छोरा । मेरा काकाहरूमध्ये नारायणमान श्रेष्ठ भारतको इलाहावाद गएर स्नातक (बीए) पढ्नुभयो । उहाँ तेह्रथुम फर्केपछि सिंहवाहिनीमै हेडसर हुनुभयो ।
मलाई काकाले नै पढाउनुभयो । मैले जानेपछि कापीमै लेखे । पुरानो पत्रिकाको छेउछेउको भागमा पनि लेखिन्थ्यो । अक्षर राम्रो पार्न कापीको सट्टा पत्रिकाको छेउछाउ खोजेको हो । दाजुहरूले लेखेर छाडेका कापीको भागमा पनि लेखियो । मैले शिशु कक्षादेखि तीन कक्षासम्म सरस्वती प्राथमिक विद्यालयमा पढें । कक्षा ३ मा स्कुल सेकेन्ड भएँ । कक्षा ४ पछि सिंहवाहिनीमा पढें ।
हाम्रो आफ्नै पुस्तक पसल ‘स्टुडेन्ट सप’ पनि थियो । पत्रपत्रिकाको अभाव थिएन । त्यसबाहेक कक्षा ६ भन्दा माथि स्कुल छुटेपछि म स्थानीय श्रीकृष्ण पुस्तकालय जान्थें । पुस्तकालय चलाउन सघाउँथे । बेलुका साढे चारदेखि साढे छ बजेसम्म पुस्तकालय बसेर घर फर्कन्थें । त्यहाँ बस्दा प्रशस्त किताब पढ्ने मौका पाएँ । हाम्रो घरमा पनि पढ्ने वातावरण थियो । तेह्रथुम दुर्गम नै भए पनि जिल्ला जागरुक हो ।
कक्षा ८ देखि १० सम्म त नाटकमा पनि खेलें । म सधैं नायक हुन्थें । ०२४ सालको ‘बालदिवस’ मा मैले जिल्लाव्यापी कविता प्रतियोगिता जितें । त्यो मेरो पहिलो कविता थियो । त्यसपछि कक्षा १० सम्म नै जिल्लाव्यापी कविता प्रतियोगितामा सधैंजसो पहिला भएँ ।
म स्कुलको असल विद्यार्थी हुँ । काकापछि बनेका हेडर टीकाराज जोशीले मलाई हरेक शुक्रबार हुने कार्यक्रम चलाउन लगाउनुहुन्थ्यो । मैले त्यो सिप स्कुलमै छँदा सिकें । एकपटक रामेश, मञ्जुल, रायनको ‘राल्फाली समूह’ म्याङलुङ पुग्यो । उहाँहरू गीत गाउने, मानिसहरूमा चेतना फैलाउने काम गर्नुहुन्थ्यो । उहाँहरूले कार्यक्रम चलाएको देख्दा, ‘यस्तो त मैले यहीँ सिकिसकें,’ जस्तो लाग्थ्यो । वास्तवमा सिकेको पनि थिएँ ।
असल विद्यार्थी भएकाले मेरो आदर गरिएको एसएलसीको फारम भर्दाको एउटा रोचक घटना छ । फारम भर्ने बेलामा म बिरामी भएँ । म बिरामी भएकाले हेडसरले मैले फारम नभरी अरूलाई भर्न दिनुभएन । उहाँले भन्नुभएछ, ‘त्यस्तो राम्रो विद्यार्थीले भरेपछि मात्र भर्नु,’ भन्दै अरूलाई फर्काउनुभएछ । म निको भएर गएँ । मैले फारम भरेपछि मात्र अरूले मौका पाए ।
मैले ०२८ सालमा एसएलसी दिएँ । आफ्नै स्कुलमा परीक्षाकेन्द्र परेको थियो । हामी ४७ जनाले परीक्षा दिएका थियौं । १२ जना सेकेन्ड डिभिजनमा पास भयौं । म पनि सेकेन्ड डिभिजनमै पास भएँ । २० जना जति थर्ड डिभिजनमा पास भए । त्यसबेला जिल्लामा मानिसमा चेतना फैलिएको थियो । हामीसँग ७/८ जना छात्रा पढ्थे ।
सानोमा भलिबल, भकुन्डो खेल्थें । तर मलाई खेलकुदमा रुचि थिएन । ०२१ सालमा बुबा खस्नुभयो । बुबापछि जेठो दाइ भगवानमानले मेरो हेरचाह गर्नुभयो ।
मेरा मामा धनकुटाका जोशी हुन् । मामाहरूले पढे पनि आमाले पढ्ने मौका पाउनुभएन । तर मलाई पत्रिका, रामायण, महाभारत पढेर सुनाउन लगाउनुहुन्थ्यो । मैले पुरस्कार जितेर घर पुग्दा मभन्दा बढी आमा खुसी हुनुहुन्थ्यो । मैले कविता सुनाएँ भन्दा आमा त्यही कविता सुनाउन लगाउनुहुन्थ्यो । हाम्रा दिदीबहिनी नजन्मेकाले म कान्छो आमालाई सघाउँथें । घरमा बस्दा पसलमा बस्थें ।
तेह्रथुममा लिम्बू बस्ती ठूलै छ । लिम्बू समुदायको धाननाच हुन्थ्यो । लाखेनाच पनि हुन्थ्यो । लाखेनाचमा म पनि भाग लिन्थें । कृष्णाष्टमी, माघेसंक्रान्तिको मेला लाग्थ्यो । त्यो पनि रमाइलो हुन्थ्यो । मदन शमशेरको सहयोगमा आठराई भन्ने ठाउँमा नयाँ वर्षमा तीन दिन ‘मदन मेला’ लाग्छ, त्यो पनि रमाइलो हुन्थ्यो ।
मामाघर जाँदा मलाई भरियाले डोकोमा बोक्थे । अर्को डोकोमा आमालाई बोकेको हुन्थ्यो । तेस्रो डोकामा खानेकुरा हुन्थ्यो । उसबेला म्याङलुङबाट धनकुटा पुग्न २ दिन लाग्थ्यो ।
म ०२४ सालमा पहिलोपटक काठमाडौं आएँ । हाम्रा लागि यो सहर अनौठो थियो ।
काठमाडौंमा स्कुल-ड्रेस लगाएर पछाडि झोला भिरेर विद्यार्थी स्कुल गएको देखेर म छक्क पर्थें । मेरा मामा काठमाडौंमा नै हुनुहुन्थ्यो । म तेह्रथुम फर्कदा मामाले काठमाडौंकै स्कुलको ड्रेसजस्तो लुगा र झोला किनिदिनुभयो । मैले उहाँ केही दिन लगाएँ । तर पछि अलि अप्ठ्यारो लाग्यो । अनि उहाँकै लुगा लगाएँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ जेठ ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<