विक्रम सुब्बा सानो छँदा

सिके सर कति बाठो !

विक्रम सुब्बा साहित्यकार हुनुहुन्छ । उहाँको खास नाम डिल्लीविक्रम इङ्वाबा हो । उहाँको जन्म २००९ साल पुस २० गते पाँचथर जिल्लाको फिदिम ६, वोदिनमा भएको हो । उहाँका पिताको नाम नरेन्द्रबहादुर इङ्वाबा र माताको यनहाङ्मा नेम्बाङ हो । उहाँहरू तीन दिदीबहिनी र एक भाइ जन्मनुभएको हो । विक्रम एक्लो छोरो हो । साहित्यबाहेक उहाँ विकाससम्बन्धी तालिम दिनुहुन्छ । उहाँसँग विदेशीलाई भाषा सिकाएको लामो अनुभव छ । भाषासम्बन्धी अनुसन्धानमा पनि सम्मिलित सुब्बाले नेपालका धेरै दुर्गम ठाउँको पनि यात्रा गर्नुभएको छ । उहाँले एमए (ग्रामीण विकास, बेलायतबाट) सम्म पढ्नुभएको छ । सुब्बा ‘हर्डेक नेपाल’ नामक संस्थाका निर्देशकसमेत हुनुहुन्छ । उहाँका छापिएका किताब ‘शान्तिको खोजमा’ (खण्डकाव्य), ‘कविको आँखा कविताको भाका’ (कवितासंग्रह), ‘सगरमाथा नाङ्गै देखिन्छ’ (कवितासंग्रह), ‘सुम्निमा पारुहाङ’ (मुन्धुम काव्य), ‘कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी’, ‘विक्रम सुब्बाका कविता र गीतहरू’, ‘निरंकुस जुँगाविरुद्ध’ हुन् । यसपटक सुब्बा सानो छँदाका केही सम्झना :
बुबा शिक्षित भएकाले मैले पढ्ने मौका पाएँ । मैलेमात्र के भनौं वोदिन गाउँका धेरैले पढ्ने मौका पाए । भारतीय सेनामा जागिर खाएर फर्केका हवल्दार हुनुहुन्थ्यो, लीलाप्रसाद तुम्बाफो । उहाँ नै हाम्रा गुरु हुनुभयो । उहाँलाई गुरु बनाउने काम बुबाले गर्नुभएको हो । राति पनि पढियो । लाल्टिन बालेर गइयो । खेतमा बनाएको गोठमा बस्यौं । त्यहीँ मैले ए बी सी डी … र क ख ग घ … सिके ।
त्यहाँपछि बुबाले नै एक हुल केटाकेटी लगेर प्रसादसिंह हाइस्कुलमा लगेर भर्ना गरिदिनुभयो । हामी १२/१३ जना भुराभुरी थियौं ।
स्कुल जाँदाआउँदाका धेरै रमाइला घटना छन् । हामीसँग एकजना काका पर्ने साथी जस्तै हुनुहुन्थ्यो । बाटोमा एउटा खोल्सो थियो, जामुने । उहाँलाई हामीले गिज्यायौं । पिट्यौं पनि । हामी खोल्सामै खेल्न थाल्यौं । स्कुल गएनौं । उहाँ जानुभयो । हामी भने कोही पौडन थाल्यौं । कोही खोल्सामा गडेरा (सानो खालको माछा) मार्न थाल्यौं । रमाइलो गरेर बसेका थियौं । उहाँले गएर पोल लगाइदिनुभएछ । रामचन्द्र सर त आउनु पो भयो । रामचन्द्र सर हामीलाई संस्कृत पढाउनुहुन्थ्यो । उहाँ आएपछि हामी लुगा र झोला बोकेर उकालो लाग्यौं । हामी बच्यौं भनेको त सर त अर्को बाटोबाट त्यही आइपुग्नुभयो । फेरि ओरालो भाग्यौं । अलि तल पुगेर लुक्यौं । दिनभर लुकेर साँझमा घर फर्क्यौं ।
यो एकपटकको बदमासी थियो । तर पछि त म उहाँको प्यारो विद्यार्थी बनें । गुरुपूजाका दिन हजुरआमाले घ्यू र केरा बोकाएर पठाउनुभयो । अरू सरको भन्दा प्यारो उहाँकै भएँ । उहाँ प्राइमरीको सर हुनुहुन्थ्यो । कक्षा ३/४ भन्दा माथि गएपछि अरू सरहरू आउनुभयो । अर्को रमाइलो सर हुनुहुन्थ्यो, सिके सुब्बा सर ।
सिके सर दार्जिलिङबाट आउनुभएको थियो । उहाँ बाजा पनि बजाउन जान्ने हुनुहुन्थ्यो । सबैथोक जान्नेजस्तो लाग्थ्यो । उहाँ साथीजस्तो हुनुहुन्थ्यो । कहिलेकाही साँझ उहाँसँग बसेर खाजा पनि खाइन्थ्यो ।
एकपटक हामी फेमेखोलामा पिकनिक गयौं । सिके सर टिस्टा पौडी खेलेको भनेर गफ गर्नुहुन्थ्यो । त्यही गफको सुरमा पौडन जानुभयो । खोलाले त बगायो । हामी बचाउन कुद्दै गयौं । अचम्म भयो, पानीले हुत्याएर फ्याँक्यो र ढुंगामाथि पो राखिदियो । अनि उहाँले भन्नुभयो, ‘देख्यौं म कसरी बचें ।’ अर्को पटकको पिकनिकमा म गइँन । फेरि पौडन पसेका सिके सर बग्नुभएछ । साथीहरूले बचाएछन् ।
अर्का सर हुनुहुन्थ्यो, साहित्यकार भानुभक्त पोखरेल । उहाँ अलि होचो । त्यसैले होचोपुड्कोलाई व्यङ्ग्य गरेका संवाद भएका नाटक बनाउनुहुन्थ्यो ।
कक्षा ७ बाट म मधेस आएँ । मोरङ जिल्लाको दक्षिणमा पर्ने रंगेली बजार आएँ । बुबाले मोरङकै सौठामा जग्गा किन्नुभयो । म रंगेलीको पब्लिक स्कुलको होस्टलमा बसेर पढ्न थालें ।
म रंगेलीमा भलिबल र फुटबल जान्ने विद्यार्थी भएँ । कक्षामा सेकेन्ड/थर्ड हुन्थें । खेलकुदले गर्दा धेरैले चिन्न पनि थाले ।
होस्टलको खानपानले बिरामी भएँ । काँचो आँप नुनमा चोपेर खुब खाइयो । त्यसले बिरामी परेको हुँ । त्यसपछि बुबाआमा नै रंगेलीमा आएर बस्नथाल्नुभयो । बुबाआमासँग बसेपछि त म बढी स्वतन्त्र भएँ । त्यसपछि मलाई अंग्रेजी पढाउने दयानन्द सरको घरमा राख्नुभयो । उहाँ हेडसर हुनुहुन्थ्यो । उहाँको घरमा बस्दा मैले हिन्दी र मैथिली भाषा सिकेँ ।
पहाडबाट त्यहाँ पुग्ने म चौथो विद्यार्थी थिएँ । त्यसपछि विस्तारै अरू आए ।
स्कुलमा पढ्दा ‘गुराँस’ भित्तेपत्रिका निकालिएको थियो । मैले पहिलोपटक कविता लेखें । म गीत गाउँथें । बच्चुकैलास अनि पछि नारायणगोपाल र फत्तेमानको गीत गाउँथे ।
रंगेलीको बक्राहा खोला छेउ बयरघारी थियो । त्यहाँ गएर बयर खाइन्थ्यो । बक्राहामा गएर पौडी खेलिन्थ्यो । पहाडजस्तो गाह्रो भने हुँदैनथ्यो ।
मैले एसएलसी दिन विराटनगर जानुपर्‍यो । आदर्श विद्यालयमा हाम्रो सेन्टर परेको थियो । २०२७ सालमा परीक्षा दिएको हो । म सेकेन्ड डिभिजनमा पास भएँ ।
पहाडबाट मधेस पुगेर अनेक अनुभव सँगालेर मेरो बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ वैशाख २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<