रेवतबहादुर कार्की सानो छँदा

माम्खाली केटो

रेवतबहादुर कार्की अर्थविद् हुनुहुन्छ । उहाँको जन्म ओखलढुंगाको माम्खामा २००९ वैशाख २३ मा भएको हो । रनजोरसिंह र राधादेवीका उहाँ जेठो छोरा हुनुहुन्छ । रेवतबहादुरका घरमा ३ दाजुभाइ र एक दिदी जन्मनुभएको हो । कार्कीले २५ वर्ष नेपाल राष्ट्रबैंक, ३ वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), २ वर्ष बैंक अफ नामिबिया (अफ्रिकी मुलुक) र दुई वर्ष नेपालगन्जस्थित ग्रामीण विकास बैंकमा काम गर्नुभएको छ । त्यसपछि उहाँ नेपाल स्टक एक्स्चेन्जका महाप्रबन्धक भएर दुई वर्ष काम गर्नुभयो । विश्वका दुई दर्जन देशको भ्रमण गर्नुभएको छ । बैंक तथा अर्थसम्बन्धी गोष्ठी तथा सम्मेलनमा भाग लिनुभएको छ । उहाँका लेख-रचनाहरू विभिन्न पत्रिकामा प्रकाशित छन् । अर्थक्षेत्रमा राम्रो पुस्तक लेख्ने र छात्रवृत्ति दिन उहाँलाई ‘सामना बैंकिङ्ग पुरस्कार गुठी’ स्थापना गर्नुभएको छ । यसपटक अर्थविद् कार्की सानो छँदाका केही सम्झना :
म सानो छँदा दाइ सुरेन्द्रबहादुर (ठूलो बुबाका छोरा) र म पढ्थ्यौं । घरमा पं. गंगाप्रसाद खतिवडाले पढाइको साइत गरिदिनुभयो । म सात वर्षको हुँदा अक्षर चिनाउने साइत गरिएको हो ।
घरमा हजुरबुबा हुनुहुन्थ्यो । उहाँ कडा स्वभावका हुनुहुन्थ्यो । ठूलो बुबा, बुबा र काका सबै डराउँथे । मैले पढे पनि दिदीलाई पढाउने कुराको विरोध गर्नुहुन्थ्यो । तर बुबाले दिदीलाई अक्षर चिनाउने काम गराउनुपर्छ भनेर लुकीलुकी घरमा पढाउनुहुन्थ्यो । उहाँले धेरै पढ्न पाउनु भएन ।
हाम्रो पालामा केटीमान्छेले पढ्दैनथे । केटीमान्छेले पढ्नु हुँदैन भन्थे । मैले एसएलसी दिँदा दुई जना छात्रा-सीता कार्की र सुशीला कार्की थिए । दुवैले पास गरे ।
घरमा अलिअलि पढेपछि म माम्खा प्राथमिक विद्यालयमा पढ्न गएँ । त्यहाँ गुणराज पोखरेलले पढाउनुभयो । म कक्षा १ मा भर्ना भएँ । स्कुल जाँदा खोस्टाको पिर्का र काठको फल्याक भिरेर जाइन्थ्यो । काठको फल्याकमा माटो छरेर सिन्काले अक्षर लेखिन्थ्यो ।
कक्षा ३ मा हो की ५ मा पुगेपछि मात्र डेस्क-बेच्नमा बस्न पाइयो । कक्षा ५ बाट मात्र एबीसीडी पढिएको हो ।
माम्खा प्रावि पछि गएर निम्न माध्यमिक विद्यालय भयो । त्योभन्दा माथिल्ला कक्षा पढ्न हामी ओखलढुंगाको सगरमाथा हाइस्कुल गयौं । म कक्षा १ देखि फर्स्ट हुँदै आएको विद्यार्थी थिएँ । माम्खाबाट अन्यत्र पढ्न गएकाले सबैलाई राम्रो लागेको थिएन । माम्खाको विद्यालयलाई पनि माध्यमिक बनाउन काम भइरहेको थियो । म कक्षा ७ सकेर माम्खाबाट सगरमाथा स्कुल त गएँ । कक्षा ८ मा ६/७ महिना पढेपछि माम्खाकै विद्यालय माध्यमिक भयो । म गाउँ नै फर्के ।
२०२५ सालमा एसएलसी दिएँ । हाम्रो परीक्षाकेन्द्र सगरमाथा स्कुलमै थियो । हाम्रो विद्यालयबाट ८ जनाले परीक्षा दिएकोमा ४ जना पास भयौं । सगरमाथा स्कुलका २५ जनामध्ये १०/१२ जना पास भए । मैले थर्ड डिभिजनमा पास गरेको हुँ । त्यसबेला गाउँठाउँका विद्यार्थीले त्योभन्दा राम्रो ल्याउन सक्दैनथे ।
हामीले एसएलसीको रिजल्ट तीन महिनापछि पायौं । जेठको पहिलो साता रिजल्ट भएको साउनमा मात्र थाहा भयो । पास त भइयो, कलेज पढ्न नपाइने भएकाले मेरो एक वर्ष गाउँमै बित्यो ।
सानो हामी डण्डीबियो, गुच्चा, भलिबल खेल्थ्यौं । कक्षा २ मा पढ्दा एकदिन साथीहरूका कुरा सुनेर दिनभर गुच्चा खेलियो । साँझमा स्कुल छुट्टी हुने बेलामा घर फर्कियो । घरमा कसैले थाहा पाएन ।
स्कुलमा ड्रेस थिएन । कक्षा ३ सम्म पढ्दा त चप्पलसमेत लगाइएन । दौरा लगायो । स्कुल गयो ।
हामी स्कुल पढ्दा एकजना सरमात्र आईए पढेका हुनुहुन्थ्यो । उहाँको नाम दिलराम लामिछाने हो । उहाँ सबै विषय पढाउनुहुन्थ्यो । उहाँबाहेक एकजना एसएलसी पास गरेका, अरू त्योभन्दा कम पढेका हुनुहुन्थ्यो ।
स्कुल खरले छाएको कच्ची थियो । कच्ची भनेको ढुंगाको गारो थियो ।
म सानोमा चकचक गर्दिनथे । शनिबार गाईवस्तु-बाख्रा चराउन जानुपर्थ्यो । दूध दुहुन मन पर्थ्यो । दूध तताउन खुब रमाइलो लाग्थ्यो । कहिलेकाहीं गोबर (भकारो) सोर्नुपर्दा भने नरमाइलो लाग्थ्यो । नजिक खोला थिएनन् । पौडी खेल्न जानिएन ।
माम्खामा मकै, धान र कोदोको खेती गरिन्थ्यो ।
आमा-दिदी बिहान घाँसपात जाँदा तरकारी पकाउँथे । आफैं खाना पस्केर खान्थे र स्कुल जान्थे ।
बेलुका सुत्ने बेला र बिहान उठेपछि बुबाले मलाई दुई एकान दुई ………… बीससम्म भन्न लगाउनुहुन्थ्यो । तर सधैं बुबाले दुई एकान दुई भन्न लगाएकोमा झर्को लाग्थ्यो । बुबा नभए कस्तो रमाइलो हुन्थ्योजस्तो लाग्थ्यो । तर बुबाकै त्यही ढिपीले गर्दा मेरो गणित राम्रो भएको थियो ।
त्योबाहेक बिहान-बेलुका पढिन्थ्यो । बेलुका टुकी बालेर पढिन्थ्यो । हाम्रो सिरहामा खेती थियो । त्यहाँको आम्दानीले मट्टितेल, लुगा, नुन किनेर पहाड लगिन्थ्यो । टुकीका लागि मट्टितेल त्यतैबाट आउँथ्यो ।
सानोमा मेरा ‘ह्यान्डराइटिङ’ राम्रा थिएनन् । अझै पनि त्यस्तै छन् ।
हामी सानो छँदा गाउँमा घडी देखिएन । मैले त एसएलसीपछि मात्र घडी बाँधेको हुँ । एसएलसीपछि काठमाडौं आउन पाइएन । मैले पनि गाउँको स्कुलमा पढाएँ । त्यसबेला गाउँमा एकजना लाहुरे घडी ल्याएको थियो । बुबाले तीनै लाहुरेसँग घडी किनेर मलाई दिनुभयो ।
गाउँमा रेडियो थिएन । अलिपछि बडाहाकिमका घरमा रेडियो ल्याइएको मलाई याद छ । म त्यसबेला ८/९ कक्षामा थिएँ ।
काठमाडौं आउन पथलैया वा धुलिखेल आउनु पर्थ्यो । जता गए पनि ६/७ दिन हिँड्नै पर्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ वैशाख १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<