कृष्णबहादुर देउजा सानो छँदा

किताब किन्ने बानी

कृष्णबहादुर देउजा राष्ट्रसेवक हुनुहुन्छ । उहाँसँग २००८ सालदेखि २०२६ सालसम्म राष्ट्रको सेवा गरेको अनुभव छ । देउजा विसं १९८३ चैतमा काठमाडौंको बत्तीसपुतलीमा जन्मनुभएको हो । उहाँका पिताको नाम योगेन्द्रबहादुर र माताको नाम पूर्णकुमारी हो । कृष्णबहादुर एक्लो सन्तान हो । उहाँ विभिन्न मन्त्रालयमा सहायक सचिव, नायब सचिव, सहसचिव, सचिव हुनुभयो । नेपाल औद्योगिक विकास निगमको कार्यकारी अध्यक्ष हुनुभयो । उहाँले प्रशासन व्यवस्थापन विभाग, गाउँ फर्क अभियान, निर्वाचन आयोगमा रहेर काम गर्नुभयो । सरकारले समयभन्दा पहिले सरकारी-सेवाबाट हटायो । त्यसपछि पनि उहाँ जुट डेभलपमेन्ट एन्ड ट्रेडिङ कर्पोरेसन र नेपाल बिमा संस्थानको कार्यकारी अध्यक्ष भई काम गर्नुभयो । यस्तै धेरै अनुभव भएका देउजाको सानो छँदाका केही सम्झना :
म ३ वर्षको भएपछि बुबाको निधन भयो । आमाले आफ्नो घर छाड्नुपर्‍यो । म मामाघरमा पुगे । मेरा मावली नरदेवीका देवकोटा हुन् । आमा मलाई धेरै राम्रो मान्छे बनाउन चाहनुहुन्थ्यो ।
आमा रामायण, महाभारत, दुर्गेस नन्दनी आदि पढ्नुहुन्थ्यो । उहाँको पढ्ने बानी थियो । म पनि आमासँगै लागेर पढ्न थालें । २/४ पैसा जम्मा हुने बित्तिकै किताब किन्ने बानी बसालें । मैले त्यसबेला चुटकिलाका किताब किनेर पढ्थें ।
नब्बे सालको भूइँचालोपछि मेरो औपचारिक पढाई सुरु भयो । म कक्षा ५ मा भर्ना हुन गएँ । म लगनखेलको एउटा छाप्रो स्कुलमा भर्ना हुन पुगें । त्यो पाटन स्कुल थियो । स्कुलमा त ठाउँ छैनन् भने । मैले सुकुलमै बसेर पढ्छु भनें । पछि पाटनढोकामा भवन बन्यो । त्यहि सरियो ।
मलाई पढाउन घरमै शिक्षक आउनुहुन्थ्यो । उहाँलाई महिनाको पाँच रुपैयाँ दिनुपर्थ्यो । उहाँ असाध्यै राम्रा शिक्षक हुनुहुन्थ्यो । उहाँकै कारण मेरो संस्कृत राम्रो भयो । अंग्रेजी पनि राम्रो भयो । यो सबै आमाकै देन थियो । आमाले गर्दा नै म राम्रो बन्दै गएँ । मलाई पनि पढ्नमा चासो लाग्थ्यो ।
हामी सधैं त मामाघर बसेनौं । आमाले बढो कष्टका साथ मलाई हुर्काउनुभयो । पढाउनुभयो । बढाउनुभयो ।
उसबेला सात दिनसम्म गाईजात्रा मनाइन्थ्यो । म राणाका घर-आँगनमा पुगेर पुराना रेकर्ड सुन्थे । मलाई थोरै शास्त्रिय संगीतको पनि ज्ञान भयो । हार्मोनियम र तबला पनि सिकें । नृत्य आदिमा पनि मैले चासो दिएकाले ती सबै जाने । खेल्न पनि खेल्थें । हामीले जे पनि सिक्न चासो दियौं भने राम्रो हुन्छ जस्तो लाग्छ । तर मैले पौडी खेल्न चाहिं कहिल्यै जानिन् ।
शिक्षक पनि असल हुनुहुन्थ्यो । हामीलाई लोकमानसिंह, ललितबहादुर श्रेष्ठ, तुलसीबहादुर श्रेष्ठ, वैकुण्ठप्रसाद लाकौलले पढाउनु भयो । ललितसर त हेडसर हो । तुलसी सरलाई हामी ‘काल पुरुष’ भन्थ्यौं । उहाँ सधैं काला लुगा लगाउनुहुन्थ्यो । वैकुण्ठ सर चाहिं बढी सजाय दिनुहुन्थ्यो ।
पढ्दा कुनै कुराको कमी थिएन । हामीले पढ्दा छात्रा थिएनन ।
मसँग डा. नगेन्द्रध्वज जोशी, सूर्यबहादुर श्रेष्ठ, पुष्पलाल प्रधान, पद्मानन्द वैद्य, गौरीमान अमात्य आदि पढ्थे । पुष्पलाल उनै कम्युनिष्ट नेता हुन् । उनी साथीभन्दा पनि राम्रा थिए । पढाईमा तेजिला थिएनन् । म भन्दा जेठा थिए ।
हामी डम्प बेल उठाएर कसरत गर्थ्यौं । चना भिजाएर खान्थ्यौं । गंगालाल शहिद भएपछि पुष्पलाललाई हामीले मद्दत गर्नुपर्ने अवस्था आयो । उनलाई हामीलाई किताब दियौं । पुष्पलालका अरु दुई भाइ थिए- गौरीलाल र जवाहरलाल ।
गंगालाल मारिएपछिको एउटा घटना छ । पुष्पलाल र म न्यूरोडमा हिड्दै थियौं । त्यहाँ विसुनध्वज सुब्बाको स्टुडियो थियो । त्यहि स्टुडियो सामुन्नेबाट हामी हिंडिरहेका थियौं । सुब्बा जुद्ध शमशेरका हजुरिया थिए । उनी पुष्पलाललाई हप्काएर आफू ठूलो हुँ भन्ने देखाउन चाहन्थें । उनले पुष्पलाललाई एक्कासी गाली गरे, ‘के हेरिस् ?’
पुष्पलालले भने, ‘भित्र हेरेको ।’
सुब्बाले फेरि सोधे, ‘किन हेरिस् ?’
पुष्पलालले रिसाउँदै भने, ‘तेरो फिल्म कस्तो छ भनेर ।’
हाम्रो एसएलसीको परीक्षाकेन्द्र विशाल बजार भएका ठाउँको सभागृहमा भएको थियो । त्यसबेला दश विषयमा परीक्षा दिनुपर्थ्यो । अंग्रेजी ३ पेपर, नेपाली २ पेपर, भूगोल २ पेपर, गणित एक पेपर र इतिहास दुई पेपर थियो । ३ घण्टाकै परीक्षा हुन्थ्यो । म एक नम्बरले गर्दा सेकेन्ड डिभिजनमा पास भएँ । ‘यात्रा’ का बारेमा लेख्न दिएको मैले त झुक्किएर ‘जात्रा’ का बारेमा लेखेंछु । अनि अंक कसरी आउँछ नि ?
हामीले २००० सालको एसएलसी पास हुँदा जम्मा १ सय ५ जनामात्र पास भएका थिए । त्रिचन्द्र कलेजमा भर्ना हुन जाँदा अहो कत्तिका धेरै पास भएका भन्थे ।
त्यसबेला स्कुल पनि कहाँ धेरै थिए र ? राजधानी उपत्यकामा जम्मा चार वटामात्र स्कुल थिए ।
सानो छँदा सानोतिनो बदमासी गरियो । बदमासी नै गरेन भने बालक कसरी चतुरो हुन्छ ? लडेपछि ‘ए लडिंदो रहेछ’ भन्ने शिक्षा पाउँछ । हाम्रा समयमा सिक्न-जान्न धेरै मेहेनत गर्नुपर्थ्यो । अहिले त धेरै सजिलो छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ पुस २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<