प्रा. डा. दुर्गाप्रसाद दवाडी सानो छँदा

आश्रम चलाउन के गरिएन ?

प्रा. डा. दुर्गाप्रसाद दवाडी संस्कृतका प्राध्यापक हुनुहुन्छ । उहाँले व्याकरण, वेदान्त, आगम, सर्वदर्शन, आचार्यलगायत हिन्दी र संस्कृतमा एमए गर्नुभएको छ । उहाँ सन् १९३१ जुलाई ११ मा कास्कीको कोटमुनिमा जन्मनुभएको हो । उहाँका पिताको नाम पं. सेतुपाध्याय र माताको नाम मधीदेवी हो । उहाँहरू पाँच दाजुभाइ र चार दिदीबहिनी जन्मनुभएको हो । उहाँ ठूलो-कान्छो छोरा हो । उहाँलाई सानैमा बनारस लगेपछि एमएसम्मका सबै पढाई उतै सक्नुभएको हो । उहाँले विद्यावारिधि त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको हो । उहाँ लामो समयसम्म शिक्षण पेशामा संलग्न हुनुभयो । संस्कृत विषयका विभिन्न सम्मेलन, गोष्ठिमा सहभागी दवाडी शिक्षाका विभिन्न समिति बसेर काम गर्नुभएको छ । आफूसमेत अनुसन्धानमा तल्लीन भएर लामो समय बिताएका उहाँ अहिले विद्यार्थीलाई अनुसन्धानमा अगुवा भइ मद्दत गर्नुहुन्छ । उहाँका अनुसन्धान कृति धेरै छन् भने सम्पादित कृति उत्तिकै संख्यामा छन् । उहाँ नेपालको धर्म र संस्कृति रक्षाका लागि संस्कृत भाषाको अध्ययन हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । यसपटक प्रा. डा. दवाडी सानो छँदाका केही सम्झना :
पिताजीले धार्मिक-ग्रन्थहरू : चण्डी, रुद्री, वेद आदि पढ्न लाउनु हुन्थ्यो । म ५/६ वर्षको भएपछि श्रीपञ्चमीका अवसर पारेर अक्षर चिन्न थालेको हुँ । सबै दाजुभाइ पढ्थ्यौं । अरुभन्दा म टाठो भएकाले पिताजीले ‘यहाँ पढेर हुँदैन । यसलाई अन्त लानुपर्‍यो’ भनेर मलाई नौ वर्षको हुँदा काशी लानुभयो ।
काशीमा फुपू र ज्यामै (बुबाकी सानिमा) हुनुहुन्थ्यो । तर म उहाँहरूसँग बसिन । मलाई अन्नपूर्ण ऋषिकुल ब्रह्मचर्य आश्रममा भर्ना गरियो । त्यहाँ २५ जना छात्र बस्थे । बाहिर जान पाइन्नथ्यो । खान-बस्नको बन्दोबस्त त्यहिं थियो ।
घरमा छँदा नै मासुको स्वाद पाएको थिएँ । त्यहाँ गएपछि छुट्यो । नियन्त्रणमा बस्नुपर्दा नराम्रा बानी लागेनन् । बाहिरका केही खानेकुरा खान नै पाइन्नथ्यो । जहिलेतहिले बाहिरै जान नपाएपछि कसरी खानु र ?
बिहान ४/५ बजे उठ्नुपर्थ्यो । उठ्ने बेला पनि घाम उदाउनुभन्दा एक घण्टाअघि हुन्थ्यो । अनि गंगा नदीमा गएर नुहाउनुपर्थ्यो ।
त्यसबेलाको काशीमा घना बस्ती थिएन । पाँच तलाका घरमा पनि पानी चढ्थ्यो । नगरपालिकाले दिएको पानी मानिसले खाएनन् । सक्नेले गंगाजल खान्थे । प्रत्येक घरमा इनार थियो । अरु इनारको पानी खान्थे । नगरपालिकाले दिएको पानी नखाएपछि सरकारले कर लिइन्छ भन्यो । त्यसपछि मानिसले धाराको पानी खान थाले ।
त्यहाँ सबैथोक सस्तो थियो । तीन पाइको एक पैसा र दुई अधेलाको एक पैसा हुन्थ्यो । दुई पैसामा एक सेर गुड पाइन्थ्यो । दुई रुपैयाँले महिनाभर खानपुग्थ्यो । १५ रुपैयाँमा जापानीज साइकल र १३/१४ रुपैयाँमा एक तोला सुन पाइन्थ्यो ।
त्यहाँ पढ्दाका मेरा साथी वासुदेव ढुंगाना, रामजी ढुंगाना, कृष्णप्रसाद ढुंगाना आदि हुन् । वासुदेव र रामजी त्यहाँ धेरै बसेनन् । कृष्णप्रसाद पछिसम्म रहनुभयो । हामीलाई भागवत चर्तुवेदी, रामाचल पाण्डेजस्ता गुरुले पढाउनुभयो ।
त्यहाँ हामी धोती र कुर्ता लगाउँथ्यौं । बुबाले नेपालमै ब्रतवन्ध गरेर लानुभएको थियो । घरमा मलाई ‘ठूलो-कान्छो’ भनेर बोलाइन्थ्यो । काशीमा दुर्गा भनिन्थ्यो ।
त्यहाँ पनि दसैं र तिहार मनाइन्थ्यो । हामीसँग पढ्ने सबै केटामात्र थिए । म पढाईमा अलि तिख्खर थिएँ । रटेर पाठ बुझाउनुपर्थ्यो । सरहरू पनि ‘यो जस्तो हुनुपर्छ’ भनेर मलाई उदाहरण दिनुहुन्थ्यो । एघार वर्षको हुँदा मैले अरुलाई जितेको रिसमा साथीले मलाई तीन तलाबाट खसाइदिए । मेरा तीनवटा दाँत नीला भए र हात भाँच्चियो ।
हामी कपर्दी खेल्थ्यौं । त्यस्तै डण्डीबीयो (गुलीडण्डा) पनि खेल्थ्यौं । वैशाख, जेठ र असारमा गर्मी बिदा हुन्थ्यो । म नेपाल फर्कन्थे । भारत-नेपाल सिमासम्म भारतको रेल र अरु गाडीमा त्यसपछि चार दिन हिंडेर घर पुगिन्थ्यो ।
उसबेला भारतमा अंग्रेजको शासन थियो । क्लर्क र लेखक जस्ता साना पदमा मात्र भारतीय हुन्थे । प्रहरीका हाकिम, कलेजका प्रमुखजस्ता ठूला पदमा अंग्रेज हुन्थे । भारतबाट अंग्रेज धपाउने आन्दोलन देख्न पाइएको थियो । भारतका नेता जवाहरलाल नेहरुले गरेको भाषण सुनेको थिएँ । भारत र पाकिस्तान विभाजन भएपछि उहाँ उत्तर प्रदेशका मुसलमानहरूलाई फकाउँदै भाषण गर्नुहुन्थ्यो ।
आश्रममा बस्दाको एउटा रोचक घटना छ । हामी विद्यार्थीलाई मिर्जापुरका एक जमिन्दारले २५ मुरी चामल दिन्छु भनें । त्यो चामल धेरै नै थियो । चामल ल्याउन एकजना गुरु र मलाई पो खटाइयो । एकदिन सबेरै ४ बजे हामी हिड्यौं । २/३ घण्टा जंगलको बाटो हिड्यौं । जेठको महिना थियो । गर्मी थियो । वृन्दाचल पहाडमा पानीको अभाव थियो । हामीले लोटा र डोरी त बोकेका थियौं । तर पानी पाइँदैनथ्यो । हामीसँग चामल ल्याउन २५/३० वटा बोरा पनि थिए ।
हिड्दाहिड्दै बिहानको १० बज्यो । पानी कहिं छैन । साथमा खानेकुरा पनि छैन । मध्यदिनमा पानीको स्रोत त भेटियो । त्यहाँ एउटा रुख पनि रहेछ । हामीले त्यहाँ नुहायौं । सन्ध्या-पूजा पनि गर्‍यौं । एकछिनमा त्यहाँ एक हुल जन्ती आइपुगे । उनीहरूले खानेकुरा बोकेका थिए । उनीहरू पनि त्यहाँ विश्राम गरे । हामीलाई देखेर भने, ‘ए, ब्राह्मणरू रहेछन् । के खान्छौं ? तिमीहरूसँग के छ त ?’
‘केही छैन ।’
‘हामीसँग छ । लिए हुन्छ ।’
‘हामी केही नदिई लिन्नौं ।’
हामीले केही पैसा (चवन्नी) दिएर गुड र चना लियौं अनि खायौं । त्यहाँबाट हिंडेपछि हामी अल्मलियौं । रात पर्‍यो । कतै मानिसको बस्ती देखिंदैन । जंगलको बाटो छ । बास बस्न नपाएपछि हामी त रुखमा चढ्यौं । तल बस्दा जंगली जनावरको डर थियो । एउटा-एउटा हाँगामा १२/१५ वटा बोरा बाँढेर डोरीले बाध्यौं र सुत्न खोज्यौं । भोक र थकानले निद्रा लागेन । ‘खसेर मरियो भने राम राम भनीदिनु’ मैले गुरुलाई भनें ।
अध्याँरो रात थियो । अढाइ बजेपछि चन्द्र उदाए । ४ बजेपछि उज्यालो नै भयो । रुखबाट उत्रेर अलिपर गयौं । ठूल्ठूला ढुंगा रहेछन् । हामी त त्यहिं निदायौं । ब्युँझदा मान्छेको आवाज सुनियो । त्यहाँ ‘मौवा’को फूल टिप्न आएका गरिब रहेछन् । उनीहरूलाई हामीले बोलायौं । तर उनीहरू भागे । ‘मौवा’ खान मिल्छ । त्यसैले उनीहरू त्यो टिप्न आएका रहेछन् । त्यस स्थानको अलिपर पानीको स्रोत रहेछ । आठ बजे चामल दिने जमिन्दारका घरमा पुग्यौं ।
ती महाजनका घरमा प्रशस्त खाना थियो । हामीले गोरुलाई बोकाएर चामल अरौरा भन्ने ठाउँसम्म ल्यायौं । अरौराबाट बयलगाडा (गोरुले तान्ने गाडा) मा ल्यायौं ।
अन्त्यमा, म हाम्रो देशको संस्कृति र सभ्यताको रक्षा होस् भन्ने चाहन्छु । संस्कार राम्रो बस्यो भने त्यसले हाम्रो भविष्य राम्रो बन्छ । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली सभ्यताको रक्षा निम्ति संस्कृत पढ्न जरुरी छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ मंसिर १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<