डा. रामबहादुर थापा सानो छँदा

‘ज्ञान देऊ’ भन्दै पूजा गर्दै

डा. रामबहादुर थापासँग लामो समय विभिन्न क्याम्पसमा पढाएको अनुभव छ । उहाँले ‘हिन्दु ग्रन्थ महाभारतमा स्वास्थ्य शिक्षा-शिक्षण’ विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । कलेजस्तरमा पढाइ हुने स्वास्थ्य शिक्षामा पीएचडी गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँको जन्म १९९९ साल कात्तिक मसान्तमा भक्तपुरको कटुञ्जेमा भएको हो । पिता जगतबहादुर र माता क्षेत्रकुमारीका पाँच छोरा र दुई छोरी जन्मिएका थिए । उहाँ काइँलो छोरा हो । घरको कमजोर अवस्थाका कारण नियमित पढ्न नपाएका थापाले आफू २५ वर्षको हुँदा मात्र एसएलसी दिन पाउनुभएको थियो । त्यसभन्दा माथि कलेज र विश्वविद्यालयको पढाइ पनि जागिर खाँदै पूरा गर्नुभएको हो । २०२४ सालमा प्राथमिक तहमा पढाउन थालेका उहाँ २०६३ मा सेवानिवृत्त हुनुभएको हो । कटुञ्जेकै अरनिको उच्चमाध्यमिक विद्यालय, ताथली निमावि, दुवाकोट मावि, सानो ठिमी क्याम्पस, महेन्द्ररत्न क्याम्पस (ताहाचल), ठाकुरराम बहुमुखी क्याम्पस (वीरगन्ज), डोटी शिक्षाशास्त्र क्याम्पसमा उहाँले पढाउनुभयो । यसपटक थापा सानो छँदाका केही सम्झना :
बुबाले आफैं पढेर अक्षर चिन्नुभएको थियो । त्यसैले मलाई उहाँले नै अक्षर चिनाउनुभयो । म बुबासँग सुत्थें । उहाँले क, ख… भन्नुहुन्थ्यो । म दोहोर्‍याउँथें । यसरी नै अक्षर चिनें । लेख्न सिक्दा घरमा धूलेपाटी थियो । पछि अँगार पिसेर धूलो बनाई पानीको घोलले लिपेको पाटी थियो ।
यसरी अक्षर चिनेपछि म कटुञ्जेको आधार स्कुलमा पढ्न थालें । त्यो स्कुल २००५ सालमा खुलेको थियो । कक्षा १ मा भर्ना हुन गएँ । भर्नाका लागि पैसा लाग्दैनथ्यो । माहिला दाइ दमनबहादुर मलाई पढाउन चाहनुहुन्थ्यो । हो पनि गाउँमा रसिद हेर्न जानेपछि के का लागि अरू पढ्नुपर्छ ? भनिन्थ्यो । उहाँका कारण नै म आधार स्कुल पुगें ।
उक्त स्कुलमा विकुलाल सर हुनुहुन्थ्यो । उहाँले मेरो अन्तर्वार्ता लिनुभयो । उहाँले इन्द्रकमलको फूल देखाएर ‘केशर कहाँ हुन्छ ?’ भनेर सोध्नुभयो । मैले देखाइदिएँ । उहाँले फूलको बास्ना कहाँबाट आउँछ भन्नुभयो । मैले ‘परागबाट’ भनें । उहाँले ‘ठीक छ । तिमी भर्ना हुन लायक छौं,’ भन्नुभयो । तर आधार स्कुल त्यहाँ २/४ महिनामात्र चल्यो ।
घरका ठूलाबडा मेलापात जाँदा हामीलाई पूजा गर्ने काम दिइन्थ्यो । हामी मुक्ति विनायकको पूजा गर्थ्यौं । पूजा गर्दा वर माग्ने गरिन्थ्यो । कहिले धन देऊ । कहिले लुगा देऊ भनेर वर मागिन्थ्यो । तर साहिँला दाइ जनकबहादुरले ‘सधैं एउटा वर मागे पो पाइन्छ’ भन्नुभयो । उहाँले ‘ज्ञान देऊ भनेर माग्नू’ भन्नुभयो । दाइ भन्नुहुन्थ्यो, ‘ज्ञानले सबथोक दिन्छ ।’ त्यसपछि मैले ज्ञान माग्न थालें ।
मेरो पढाइ २००७ सालमा मात्र फेरि चालू भयो । म भक्तपुर दरबार स्क्वायरको श्रीपद्म हाई स्कुलमा पढ्न पुगें । स्कुल जान घरबाट आधा घन्टा जति हिड्नुपर्थ्यो । कक्षामा ४०/५० जना थियौं । छोरी पढाउने चलन उत्तिको थिएन । तीनजना मात्र छात्रा थिए । गाउँबाट जाने १०/१२ जनामा तारा तिमिल्सिना थिइन् । उनले कक्षा ८ सम्म पढेको थाहा छ ।
स्कुल जाँदा-आउँदा उपद्रो पनि गरिन्थ्यो । मन नपर्ने साथीसँग झगडा हुन्थ्यो । बाटामा काँक्रा र फलफूल चोरेर खाँदै हिँडिन्थ्यो । हामी कपर्दी खेल्थ्यौं । मैले कक्षा दससम्म पढ्न पाइनँ । २०१५ सालमा जग्गा नापीका लागि ‘अमिन’ को तालिम लिएँ । दस वर्ष जागिर खाएँ ।
दसैंबिदामा आउँदा मलाई भेटेपिच्छे विष्णुचरण राय सरले पढ्नुपर्छ भन्नुहुन्थ्यो । यसैबीचमा हामी दाजुभाइ भिन्न भयौं । मेरो विवाह भयो । जागिर खाने काम पनि जारी रह्यो । २०२२ सालमा म शारदा रात्रि विद्यालय भर्ना भएँ । भर्ना गर्न पनि विष्णुचरण राय सरको कर थियो । अंग्रेजी गार्‍हो छ भन्दा उहाँले एक महिना एक घन्टा दिनहुँ पढाइदिनुभएको थियो । दिउँसो जागिर खाँदै साँझ पढ्थें । एसएलसी दिने भएँ । एसएलसी दिने बेलामा छोरा र छोरी जन्मिइसकेका थिए ।
म कक्षामा अगाडि बस्थें । कुरा बुझ्थें । यसरी विष्णु सरले मलाई राम्रो विद्यार्थी मान्नुभएको थियो । त्यसैले एसएलसी दिन जोड गर्नुभएको हो ।
एसएलसी दिने बेलामा जागिरमा बिदा मिलेन । १०/१२ दिन बिदा माग्दा बिदा किन चाहियो ? भनेर स्पष्टीकरण लेख्नुपर्ने भयो । प्रशासनतर्फ खरिदार जीवनाथ शर्मा हुनुहुन्थ्यो । स्पष्टीकरण लेखेर पुर्‍याउन जाँदा उहाँले भन्नुभयो, ‘पढ्यो भने यस्ता जागिर जत्ति पाइन्छ ।’
एसएलसीमा गणित, ऐन-स्रेस्ता, नेपाली, इतिहास, नागरिकशास्त्र, स्वास्थ्य एवं शारीरिक शिक्षाजस्ता विषय थिए । हाम्रो परीक्षाकेन्द्र भक्तपुर विद्यार्थी निकेतन हाई स्कुलमा थियो । घरबाटै धाएर एसएलसी दिएँ ।
मेरो एसएलसी रिजल्ट आउँदा म जागिरको सिलसिलामा नेपालगन्जमा थिएँ । यसबेलाजस्तो पत्रपत्रिका, रेडियो, टेलिभिजन थिएनन । मैले रिजल्ट निस्केकै ३/४ महिनापछि थाहा पाएँ । दाइ जनकबहादुरको चिठ्ठी आएपछि त रिजल्ट भएको थाहा पाएको हुँ । साइकल चढेर रिजल्ट हेर्न गोरखापत्रको अफिसमा गएँ । थर्ड डिभिजनमा पास भएको रहेछु । मलाई एसएलसी दिने बेलामा बिदा दिन नमान्न्ने हाकिमहरूलाई ‘जस्तालाई तस्तै’ गर्नुपर्‍यो भन्ने लाग्यो । पान किनेर लगें । उहाँहरूलाई पान दिएँ । उहाँहरूले पान खान थालेपछि मैले भनें, ‘तपाईंहरूले बिदा दिन नमान्नुभएको होइन । तिमीले पढेर के गर्छौं ? भन्नुहुन्थ्यो । म पास भएँछु ।’ यो सुनेर उहाँहरूको मुख रातो भयो ।
एसएलसीपछि पढ्न कृष्णबहादुर मानन्धरले धेरै सहयोग गर्नुभयो ।
हामी सानो छँदा दसैं, तिहार, गाईजात्रा, सुशीला भैरव जात्रा रमाइलो गरेर मनाइन्थ्यो । दसैंमा पिङ खेल्दाको मज्जा अर्कै थियो । पिङका निहुँमा झगडा पनि हुन्थ्यो । तिहारमा देउसी, भैलो खेलिन्थ्यो । यसबाट पैसा हुन्थ्यो । गाईजात्रामा स्थानीयस्तरमा नृत्य हुन्थ्यो । ठिमीमा वैशाख २ गते बिस्केट जात्रा हुन्थ्यो भने हाम्रो गाउँमा सुशीला भैरव जात्रा हुन्थ्यो । तीजमा आमा, दिदी, बहिनी नाचेको रमाइलो हुन्थ्यो ।
स्कुल पढ्दाका साथीहरूमा भारती शर्मा र मेरो सधैं फर्स्ट र सेकेन्डको प्रतिस्पर्धा हुन्थ्यो । शिक्षा विभागका महानिर्देशक भएर सेवानिवृत्त भएका सत्यबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता नारायण विजुक्छे (रोहित) मसँग पढेका साथी हुन् ।
हामीलाई पढाउने सरहरू- इन्द्रप्रसाद शर्मा, पशुपतिभक्त प्रधानाङ्ग, अखण्डप्रसाद धौभडेल, सूर्यमान विजुक्छे आदि हुनुहुन्थ्यो ।
उसबेला काठमाडौं आउन हिँड्नुपर्थ्यो । स्कुल पढुन्जेल त म काठमाडौं आइनँ । काठमाडौं आउन गाडी थियो, लरी थियो । २० पैसा तिरे काठमाडौं आउन पाइन्थ्यो । तर त्यो कम थियो । थोरै चल्थ्यो । २० पैसा तिरेर जोकोही काठमाडौं आउँदैनथ्यो । त्यो लरीमा कहिलेकाहीँ पराल ल्याइन्थ्यो । पराल हाल्न हामी सघाउँथ्यौं । त्यही काम गरेबापत एकछिन लरीमा चढ्न पाइन्थ्यो । यसरी लरीको रहर मेटिन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर: नवराज वाग्ले, २०६५ वैशाख २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<