एडमन्ड हिलारी सानो छँदा

रेलमै पढ्थें

एडमन्ड हिलारी र तेन्जिङ शेर्पा सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । शेर्पाको सन् १९८६ मा निधन भएको हो भने हिलारीको गत महिना निधन भयो । हिलारी न्युजिल्यान्डका नागरिक हुनुहुन्थ्यो । उहाँको जन्म न्युजिल्यान्डको अकल्यान्डमा सन् १९१९ जुलाई २० मा भएको थियो । पेसाले मौरीपालक हिलारीले पर्वतारोहणको थालनी न्युजिल्यान्डबाटै गर्नुभएको थियो । उहाँ सन् १९५१ मा नेपाल आउनुभएको थियो । ब्रिटिश एभरेस्ट पर्वतारोहण दलको सदस्यका रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति बन्नुभयो । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेकको दिन १९५३ जून २ तारिख लन्डनमा एउटा सुखद समाचार पुगेको थियो- ‘बेलायती आरोही दलका दुई सदस्य एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा सर्वोच्च शिखरमा पुगे ।’ त्यसको केही दिनपछि पुगेका ती नायकद्वयलाई महारानीले ‘नाइटहुड’ प्रदान गर्दा लाखौं बेलायतीले सडकमा भव्य स्वागत गरेका थिए । उहाँको यस बहादुरीका लागि बेलायतले सन् १९५३ जुलाई १६ मा ‘सर’ पदवीद्वारा विभूषित गर्‍यो । सन् १९५८ जनवरी ४ मा उहाँ अन्टार्कटिका (दक्षिणी ध्रुव) मा पुग्नुभयो । नेपाल र नेपालीको नाम विश्वभर फैलाउन मद्दत गर्ने एडमन्ड सोलुखुम्बु क्षेत्रमा हिमालयन ट्रस्ट नामक संस्थाका नाममा सहयोग गर्दै आउनुभएको थियो । उहाँ विद्यालय बनाउने, स्वास्थ्यसेवा पुर्‍याउने काममा सधै जुटिरहनुहुन्थ्यो । २०६० साल जेठ १५ गते एडमन्डलाई नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गर्‍यो । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १० मा ‘अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सकिने’ व्यवस्थाअनुसार उहाँलाई मानार्थ नागरिकता प्रदान गरिएको थियो । उक्त संविधान क्रियाशील भएको करिब १३ वर्षमा यस्तो नागरिकता पाउने हिलारी पहिलो व्यक्ति हुनुभयो । सगरमाथा आरोहणपछि उहाँले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै आउनुभएको थियो । उहाँको आत्मकथाको पुस्तक ‘भ्यू फ्रम द समिट’ प्रकाशित छ । यसपटक उक्त पुस्तकबाट एडमन्डको बाल्यकालको सम्झना :
बुवा धेरै दुःख गर्नुहुन्थ्यो । उहाँ परिवारको दुःख देख्न सक्नुहुन्नथ्यो । त्यसैले स्थानीय एक पत्रिकामा काम गर्न थाल्नुभयो । उहाँको काम राम्रो भएकाले समाचारदाता हुनुभयो । उहाँ फोटो पत्रकार पनि हुनुभयो ।
पहिलो विश्वयुद्ध सुरु भएपछि उहाँ स्वयंसेवकका रूपमा काम गर्न युद्धमा जानुभयो । युद्धमा घाइते हुनुभयो । धेरै दिन बिरामी भएपछि युद्धमा काम गर्न सक्नु भएन । सन् १९१६ मा फर्कनुभयो । त्यसपछि उहाँको विवाह भयो । बुवा र आमा नयाँ सहर तुआकाउ सर्नुभयो । त्यो सहर अकल्यान्डबाट ४० माइल दक्षिणमा छ । त्यहाँ बुवाले नयाँ पत्रिका सुरु गर्ने काम पाउनुभयो । पत्रिकाको नाम ‘तुआकाउ डिस्टिक्ट न्युज’ थियो । मेरी दिदी जून सन् १९१७ जन्मनुभयो । म सन् १९१९ मा अकल्यान्डको एक अस्पतालमा जन्में । एक वर्षपछि रेक्स जन्मियो ।
मेरो बुवा काम त थाल्नुहुन्थ्यो । पूरा गर्नुहुन्नथ्यो । तुआकाउमा एउटा घर बनाउन थालेको थियो । अकल्यान्ड बसाइ सर्दासम्म त्यो घर पूरा बनेको थिएन । उहाँ व्यावहारिक हुनुहुन्थ्यो । उहाँ हामीलाई परीकथा सुनाउनुहुन्थ्यो । उहाँका कथाको पात्र ‘जिम्मी जब’ हुन्थ्यो । ऊ टोड्के रूखमा बस्थ्यो । कथा सुन्न पाउने बेला हाम्रा लागि सबैभन्दा खुसीको समय हुन्थ्यो । हामी ठूला हुँदै गएपछि बुवासँग हाम्रा कुरा मिल्न छाडे । उहाँ सधैं एकै तरिकाको र एउटै थिति मान्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ अस्पताल लानैपर्ने बिराम नहुन्जेल उपचार नगर्ने भन्दै ढिपी पनि गर्नुहुन्थ्यो । खाएन भने पो बिरामी हुन्छ भन्नुहुन्थ्यो । केटाकेटीमा हामीलाई ‘पकेट मनी’ दिइँदैनथ्यो । एक रात म बुवा आमा सुतेको कोठा पसें । बुवाको आधा क्राउन चोरें । त्यो पैसाले मैले ठूलो कमिक्सको किताब किने । मेरो किताब आमाले देख्नुभयो । त्यसपछि मैले पैसा चोरिन । बुवा बालबालिकालाई सजाय दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । म आफ्ना गल्ती स्विकार्दिनथें । यसरी हामीबीच एक आपसमा बुझ्ने अवस्था आउँदैनथ्यो । यसरी म समस्याग्रस्त बालकका रूप चिनिन्थे ।
सुरुमा तुआकाउ प्राथमिक विद्यालयमा भर्ना भएँ । आधा माइल हिँडेर स्कुल पुगिन्थ्यो । हामी खाली खुट्टा स्कुल जान्थ्यौं । त्यसबेलाका धेरैजसो न्युजिल्यान्डी बालबालिका खाली खुट्टा नै स्कुल जान्थे । मेरी गुरुआमा सार्‍है राम्रो पढाउनुहुन्थ्यो । मैले कक्षा ३ र कक्षा ६ मा पूरा वर्ष पढ्नु परेन । कक्षा टपेर माथि जान पाएँ । त्यसैले कक्षामा म अरूभन्दा सधैं कान्छो हुन्थें । अनि मेरा साथी पनि कम हुन्थे । स्कुलमा म एक्लो र चुपचाप बस्ने केटो थिएँ ।
कक्षा ४ मा पढ्दाको कुरा हो । भूगोलको कक्षामा मलाई हेडसरले मानचित्रमा एसिया देखाउन भन्नुभयो । मैले सकिनँ । उहाँले गाली गर्नुभयो । सबै साथी हाँसे ।
तुआकाउमा बस्दा एउटा रमाइलो सिनेमाको हुन्थ्यो । बुवा घरमा प्रायःजसो हुनुहुन्नथ्यो । आमा सधैं जूनलाई लिएर सिनेमा जानुहुन्थ्यो । छोरीलाई एक्लै घरमा छाडन नमानेर त्यसो गर्नुभएको हो । रेक्स र म भने खुब जिद्दी र ढिपी गर्थ्यौं । रुन्थ्यौं । त्यसपछि सिनेमा हेर्न जान पाइन्थ्यो । त्यो काम साताभरकै रमाइलो हुन्थ्यो ।
एघार वर्षको हुँदा मैले प्राथमिक शिक्षा पूरा गरें । अरूभन्दा दुई वर्ष कान्छो उमेरमै मेरो उपलब्धि थियो । आमा मेरो माध्यमिक तहको पढाइ राम्रो भन्ने चाहनुहुन्थ्यो । त्यसैले अकल्यान्ड ग्रामर स्कुलमा पढ्ने भएँ । स्कुलको पहिलो दिन म उठें । साइकल चढें । तुआकाउ रेल स्टेसन गएँ । रेल चढें । स्कुल पुगें । स्कुलको ठूलो हलमा सबै विद्यार्थी भेला भएका थिए । म पनि त्यहीँ बसें । कसैसँग बोलिनँ । हेडसरले सबैको नाम पढ्नुभयो । सबै कक्षामा गए । म ध्यान दिएर सुनिरहेको थिएँ । मेरो नाम आएन । पछि एकजना दयालु शिक्षक आए । मेराबारेमा बुझे र कक्षामा जान अर्‍हाए । स्कुलको पहिलो साता त म एक्लो भएँ । कसैसँग बोलिनँ । स्कुलपछाडि गएर ‘सेन्डविच’ खाएँ । त्यहाँ धेरै कमिला थिए । एक सातामा मेरा साथी तिनै कमिला भए ।
साढे तीन वर्ष मेरो पढाइको यात्रा लामो भयो । सधैं बिहान ७ बजे तुआकाउ रेल स्टेसनमा पुग्थेँ । साँझ घर फर्कदा ६ बजेर १५ मिनेट गएको
हुन्थ्यो । फुच्चे बालकका लागि यो यात्रा लामै हो । यसरी धेरै समय रेलमा बित्ने भएकाले म रेलमै पढ्थे र समय सदुपयोग गर्थें ।
(अनुवाद : राजेश कोइराला, ‘भ्यू फ्रम द समिट’बाट, तस्बिर : इन्टरनेट, २०६४ माघ ४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<