काठमाडौं महँगो र वनारस सस्तो
होमनाथ उपाध्याय (निरौला) लामो समयदेखि संगीतका क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँ तबलाका गुरु हुनुहुन्छ । तबलाकै विषयमा उहाँले ‘ताल पुष्पाञ्जली’, ‘काशी टु कान्तिपुर’ (अंग्रेजी) शीर्षकका दुई पुस्तक लेख्नुभएको छ । उहाँको जन्म काठमाडौंको ज्ञानेश्वरमा २००० साल असार २० मा भएको हो । पिता तुलसीप्रसाद र माता भागिरथीका पुत्र होमनाथका एक भाइ र दुई बहिनी हुनुहुन्छ । उहाँले ७ वर्षभन्दा बढी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा तबलाका विषयमा प्राध्यापन गराउनुभयो । भारतमा रहेर संगीतकार आर.डी. बर्मनसँग करिब पाँच सय चलचित्रमा संगीत दिनुभयो । उपाध्याय अहिले राजधानीका विभिन्न संगीत संस्थासँग आबद्ध हुनुहुन्छ । उहाँ र नृत्यका गुरु पं. सुरेशप्रसाद मिश्र मिलेर तबला र नृत्यका लागि कमलपोखरीमा प्रशिक्षण संस्था खोल्नुभएको छ । यसपल्ट उहाँका केही बालसम्झना प्रस्तुत छन् :
म नौ वर्षको हुँदा पिताले पढ्नका लागि मलाई वनारस लानुभयो । वनारस जाँदा बुबा तीर्थयात्रामा निस्कनुभएको थियो । मलाई पनि लिएर जानुभयो । कक्षा ५ देखि बी.ए. सम्म मैले वनारसमा पढेँ ।
त्यसअघि मैले डिल्लीबजारको विजयस्मारक विद्यालयमा कक्षा ४ सम्म पढेँ । स्कुल त म दुई वर्षमात्र गएँ । त्यसबेलाका केही कुरा मलाई याद छन् । प्रजातन्त्रको आन्दोलन गर्नेहरू जुलुस लगाउँथे । मानिसहरू प्रहरी देखेर भाग्थे ।
काठमाडौंमा उत्तिको धेरै गाडी थिएन । सडक पनि त थिएन । पाटे कलरको ट्याक्सी हुन्थ्यो । जीपलाई रंगाएर ट्याक्सी बनाएको हुन्थ्यो । सुन्धाराबाट चल्थ्यो । अलि पैसा हुनेहरू ट्याक्सी चढ्थेँ । नहुनेहरू पैदल हिंड्थे । चार/पाँच जनाको परिवार बाहिरबाट काठमाडौं आउँदा ट्याक्सी चढ्थे । ट्याक्सी भाडा १५/२० रुपैयाँ लाग्थ्यो । महँगो थियो । सुन्धाराबाट रिक्सा पनि चल्थे । रिक्सा चढ्दा पाँच रुपैयाँमा ज्ञानेश्वर आइन्थ्यो । रिक्सा सस्तो थियो ।
यस्तै सम्झनासहित म वनारस गएँ । वनारस काठमाडौंभन्दा धेरै सस्तो रहेछ । आधै सस्तो थियो । २ पैसामा एक सेर पालुंगो आउँथ्यो । एक रुपैयाँ भए, कोठा भाडा पुग्थ्यो । ५० पैसामा महिनाभर बालेको बिजुलीको खर्च पुग्थ्यो ।
वनारसमा गर्जुर पाठशालामा पढेको हुँ । काठमाडौं र वनारसका धेरै विषय मिल्थे । उस्तै थिए । मलाई साहित्य मनपर्थ्यो । आई.ए. र बी.ए.मा अंग्रेजी, पुष्कर नाम गरेका एक जना साथी थिए । उनी मसी खान्थे । पछि त्यो खराब बानी उसले छाड्यो ।
दस कक्षापछि डा. भूमिराज शर्माका छोरा बल्लभराज पनि मसँग पढ्थे । वनारसमा पढ्दा इलाम, झापा, मोरङतिरबाट पढ्न गएका साथीहरू थिए । मलाई इलामका जीवनहरि अधिकारी, नरहरि अधिकारी आदि साथीहरूको नाम याद छ । त्यस्तै हामीसँग कमल राई र छिरिङ स्याङ्दार्पा भन्ने मेरा साथी थिए ।
केटीहरू पनि त्यहाँ पढ्न गएका थिए । हाम्रो विद्यालयमा केटाहरूमात्र पढ्थे । अहिलेजस्तो केटा र केटी सँगै पढ्ने स्कुल थिएनन् ।
म पढाइमा औसत थिएँ । जेठो छोरा भएकाले बुबाले कति दुःख गरेर पढाउनुभएको छ भन्ने बुझ्थे । बुबाले धान बेचेर मलाई खर्च पठाउनुहुन्थ्यो । हाम्रो विराटनगरमा खेती थियो ।
सानैदेखि म भाँडाकुँडा बजाउँथे । मलाई त्यसो गर्दा खुबै आनन्द लाग्थ्यो । कसौडी घोप्टो पारेर लोकधुन र फिल्मी गीतको धुन दिनु मेरो बानी नै थियो । म काठमाडौं छँदा श्यामबाबु घिमिरे गाउनुहुन्थ्यो । म भाँडाकुँडा बजाएर संगीत दिन्थेँ । अनौठो मेल थियो ।
स्कुलको पढाइ सकेपछि मैले प्राइभेट रुपमा पं. अनेखोलालका छोरा रामजी मिश्रसँग तबला सिकेँ । मैले संस्कृत पढेको थिएँ । खर्चले निकै अप्ठ्यारो परेका बेला संस्कृतको अध्ययनले खुबै काम दियो । एकजना मद्रासी पं. प्राणलाल आचार्यले दशैंको नवरात्रिमा तबला बजाएपछि पाँच रुपैयाँ दिनुभयो । त्यसबेला पाँच रुपैयाँले एक महिनाको खर्च टर्थ्यो ।
पं. आचार्यलाई हिन्दुग्रन्थ ‘गीता’ छाप्ने काम दिइएको रहेछ । पं. आचार्यले मलाई छाप्नुअघि शुद्धाशुद्धिका लागि सघाउने काम दिनुभयो । महिनाको ४५ रुपैयाँ पाएँ । त्यही पैसाले मैले बी.ए.को पढाइ पूरा गर्न खर्च पुर्याए ।
बी.ए. पढेपछि म नेपाल फर्के । मलाई विभिन्न ठाउँमा जागिर खान बोलाए । मलाई संगीतमै रुचि थियो । यस क्षेत्रलाई मैले छाडिन ।
मलाई हरिप्रसाद रिमालले रेडियो नेपाल लानुभयो । नातिकाजीले खुब सहयोग गर्नुभयो । लामो समय रेडियो नेपालमा काम गरेँ । प्रज्ञाप्रतिष्ठानबाट खोजको काम पाएँ । यसरी एकोहोरो संगीतका क्षेत्रमा लागेको छु ।
त्यसबेला संगीत गर्नेहरुलाई हेँला गरिन्थ्यो । अहिले सम्मान मिल्छ । यसले गर्दा मलाई धेरै खुसी लागेको छ ।
मलाई लाग्छ- लगनशील भएर एउटा क्षेत्रमा काम गरिरहँदा सफल हुन सकिन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ पुस ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)