वशुश्री पाण्डे सानो छँदा

मोटी र होची नाच्दा दर्शक हाँसे

वशुश्री पाण्डे बालसाहित्यकार हुनुहुन्छ । उहाँका ‘ज्ञानी बनौं’ (बालकवितासंग्रह, २०५७), ‘हावा चल्यो’ (बालकवितासंग्रह, २०५८), ‘सोमत र मोमत’ (बालकथासंग्रह, २०५८) र ‘भँगेरा र भँगेरी’ (बालकथासंग्रह, २०६१) प्रकाशित भएका छन् । उहाँको जन्म २००५ भदौमा काठमाडौंको कालधारामा भएको हो । उहाँका पिता डा. भरतप्रसाद र माता पदमकुमारी भट्टराई हुनुहुन्थ्यो । पाण्डे अहिले विराटनगर बस्नुहुन्छ । विभिन्न संस्थामा संलग्न र विभिन्न पुरस्कार प्राप्त पाण्डेको बाल्यकालका सम्झना प्रस्तुत छ :
हामी टोलमा सबैजना मिलेर बसेका थियौं । दाजुभाइ, दिदीबहिनीजस्ता थियौं । समाजमा मिलिजुली बसेको धेरै राम्रो हुन्छ । हाम्रै घरछेउमा पीपलबोट थियो । म सानो छँदा त्यही पीपलबोटमुनि जान्थ्यौं । गुच्चा, भुइँकासा आदि खेल्थ्यौँ ।
म सुरुमा लैनचौरको कन्या मा.वि.मा पढ्थेँ । त्यसपछि नरदेवीको कन्यामन्दिरमा पढेँ । कक्षा ७ देखि ९ सम्म डिल्लीबजारको पद्मकन्या स्कुलमा पढेँ । एसएलसी दिने बेलामा म नारीज्ञान मन्दिरमा सरेँ । त्यो २०२१ सालको कुरा हो । नारीज्ञान मन्दिर मेरै फुपूहरूले खोल्नुभएको थियो । त्यो स्कुल डिल्लीबजारमै थियो ।
हामीले देख्दा धेरै घरका छोरी स्कुल जाँदैनथे । मेरी फुपू मञ्जुश्री शर्मा अंग्रेजी साहित्यमा पी.एचडी. गर्ने पहिलो महिला हुनुहुन्थ्यो । त्यही देखेर हाम्रा अभिभावकले हामीलाई पढाउन पढाउनुभएको थियो ।
एकपटकको कुरा हो । म आठ वर्ष जतिकी थिएँ । तीजको बेला थियो । घरबाट सबैजना पशुपति जाने भनेर तयार हुनुभयो । मैले पनि जाने भनेँ । हजुरबुबाले ‘हुन्न’ भन्नुभाथ्यो । तर मलाई लानुभयो । क्षेत्रपाटी गाडी पुग्दा एक्कासि ढोका खुल्यो । मचाहिँ गाडीबाट खसेँ । अगाडि र पछाडिका चक्का बीचका ठाउँमा पुगेँ । तर बाटो हिंड्ने एकजना मानिसले मलाई तानेर बचाए । ती मान्छे को थिए होलान् ? यसरी मेरो ज्यान बच्यो ।
बिदाका बेला म प्रायःजसो मामाघर र फुपूका घर जान्थेँ । मेरो मावली आचार्य हो । मामाघर थापाथलीमा थियो । फुपूको घर बागबजारमा थियो । अझ दशैं बिदामा नौरथा लाग्दा त मामाघर पुगिन्थ्यो । त्यहाँ तास खेल्थ्यौं । मामाघरनजिकै वाग्मती नदी छ । हामी नदीमा माछा पक्रन्थ्यौँ । पानीमा रुमाल थाप्दा असला माछा पक्रन्थ्यौं । माछालाई एकछिन समातेपछि मर्छ कि जस्तो लाग्थ्यो र छाडिदिन्थ्यौं । थापाथलीमा सबैले मलाई चिन्थे । पूरै थापाथली मेरो मामाघरजस्तो थियो । साँझ परेपछि फोस्रा बदाम किन्थ्यौं । एक रुपैयाँको एक पोल्टा आउँथ्यो । वाग्मतीको घाट सफा थियो । त्यहाँ बदाम सुकाएको हुन्थ्यो । माइजूहरू वाग्मतीमा पानी लिन जानुहुन्थ्यो । नदी बीचमा पुगेर पानी ल्याउनुहुन्थ्यो । त्यही पानी खान्थ्यौं । कति कञ्चन पानी थियो । अहिले त दुर्गन्ध नै दुर्गन्ध छ ।
हाम्रो घरमा कोही गायक थिएन । अहिले पनि छैन । सानो छँदा मलाई गीत गाउन खुबै मनपथ्र्यो । मैले गीत गाएको बुबाले मन पराउनुहुन्थ्यो । काकाहरू पनि उत्तिकै हौस्याउनुहुन्थ्यो । मेरो बुबा जेठो हो भने दुईजना काका हुनुहुन्थ्यो । सबै एकै ठाउँमा संयुक्त परिवारका रूपमा बस्थ्यौं । बुबा र काकाहरू मिलेर बस्नुभएको थियो । दाजुभाइ मिलेर बसेको देख्दा सबै छक्कै पर्थे ।
मामाघरमा पनि गीत गाउँदा मामाहरूले स्याबास भन्नुहुन्थ्यो । मामाघरमा त आधा रातसम्म गीत गाउँथेँ । मलाई तारादेवीका ‘साँगुरी बारी नि हौ त्यो धारापानी..’, ‘डोकोको नाम्लो पोतेको दाम्लो भिरेर हुर्कियो…’, आदि गीत मनपर्थे । चकचक गर्दिनथेँ । भलादमी थिएँ । बुबाआमाले भनेको टेर्थें । हामी छात्रा मात्र पढ्ने स्कुल र कलेजमा पढ्यौँ । मैले दुर्गा भन्ने साथीसँग मित लाएकी थिएँ । अहिले दुर्गा कहाँ होलिन् ?
स्कुलमा पढ्दा नाँच्ने पनि गरेँ । डिल्लीबजारमा पढ्दा म नाचेको याद छ । स्कुलको कार्यक्रममा बच्चुकैलाश नै सिकाउन आउनुहुन्थ्यो । खेलकुदमा भाग लिए पनि पुरस्कार कहिल्यै जितिनँ । म कपर्दी, हाइजम्प, लङ्जम्पमा भाग लिन्थेँ । डोरी नाघ्ने पनि खुब मन पर्थ्यो । पढाइ उत्ति राम्रो थिएन । एउटा कार्यक्रममा म र मेरी साथी विभू ज्ञवाली नाच्यौँ । म मोटी र अलि होची थिएँ । मलाई देखेर दर्शक खुबै हाँसे ।
मैले १३ वर्षकी हुँदा ‘इन्द्रजात्रा’ शीर्षकको कविता लेखेकी थिएँ । शुक्रबार फुपूघर जाँदा म रेडियो नेपाल गएँ । त्यहाँ त्यही कविता सुनाएँ ।
फुपूका छोरीहरू पनि मेरै उमेरका थिए । फुपूघर जाँदा उनीहरूसँग खेल्थेँ । डिल्लीबजार पढ्ने र बागबजार फुपूघर हुँदा रमाइलै हुन्थ्यो । हामी कालधाराबाट हिंडेर डिल्लीबजार स्कुल जान्थ्यौं । त्यसबेला कालधाराबाट डिल्लीबजार जाने बस थिएन । ४५ मिनेटमा हामी घरबाट स्कुल पुग्थ्यौँ । साझा बस त चल्थ्यो । तर रानीपोखरीसम्म जान्थ्यो । त्यहाँबाट स्कुलसम्म फेरि हिंड्नु त परिहाल्थ्यो । त्यसैले बस चढ्नुभन्दा हिंड्न रमाइलो लाग्थ्यो । स्कुलबाट फर्केपछि आमासँग म स्वामी ईश्वरानन्दले गीता-पाठ गरेको सुन्न जान्थेँ ।
मामाघर गएर फर्कँदा चटामारी र मासको बारा किनेर खान्थेँ । त्रिपुरेश्वरमा चटामारी पाइन्थ्यो । त्यसबेला ३/४ वटा पसल थिए । एक पैसामा एउटा चटामारी आउँथ्यो भने चार पैसामा एउटा मासको बारा आउँथ्यो ।
माहिली सानिमाको घर कालधारामै थियो । हामी त्यहाँ गएर खेल्थ्यौँ । उहाँहरू बेलुकाको खाना चाँडै खानुहुन्थ्यो । हामी त्यहाँ खाना खाएर फर्कन्थ्यौँ । हाम्रो घरमा रातिमात्र खाना खाने चलन थियो । घरमा फेरि खाना खान्थेँ ।
मामाघरमा खेल्दाखेल्दै एकपटक म लडेँ । मलाई गाईको काँचो दूध दिनुभयो । अहिले पनि गाईको काँचो दूध ओखतीजस्तो लाग्छ ।
मलाई आफूले सिकेको कुरा अरुलाई सिकाउन मन लाग्छ । त्यसैले कथा, कविताका किताब लेखेकी हुँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ असार २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<