सर्वाधिक धनीको सूचीमा महिला

विश्वका सर्वाधिक धनीको सूची सार्वजनिक हुँदा यसमा महिलाको स्थिति कस्तो रह्यो ? ‘फोर्ब्स’ पत्रिकाले यस्तो सूची बर्षेनी निकाल्दै आएको छ। यसपटकको सूचीमा अघिल्ला ११ स्थानमा पुरुष नै छन्।
‘फोर्ब्स’ को सूचीमा परेका महिलामध्ये सबैजसो आफूले कमाएर धनी भएको पाइँदैन । पिता वा श्रीमानको सम्पत्ति उनीहरूमा  सरेको पाइन्छ। पुरुषको विवरण हेर्दा आफैं कमाएर धनी हुने प्रशस्त छन्। सूचीमा उल्लेख गरिएकामध्ये १ सय स्थानभित्र परेका महिला को-को हुन् ? उनीहरू कति सम्पत्ति भएर अर्बपति छन् ? कस्तो छ, उनीहरूको पारिवारिक पृष्ठभूमि ?
बार्‍हौं स्थान : क्रिस्टी वाल्टन सूचीको बार्‍हौं स्थानमा ।
क्रिस्टी वाल्टन र उनको परिवार छ । ५५ वर्षीया क्रिस्टी वाल्टन अमेरिकी हुन्। उनको यो सम्पत्ति पैत्रिक हो। उनको सम्पत्ति २२ अर्ब ५० करोड अमेरिकी डलर छ। ‘वाल्मर्ट’ (विश्वकै ठूलो खुद्रा सञ्जाल) की धनी क्रिस्टी विधवा हुन्। लुकास उनका एक मात्र छोरा छन्। सन् २००९ मा पनि उनी बाह्रौं विश्व-धनी थिइन्। सन् २००५ जूनमा श्रीमान् जोन वाल्टनको निधन भएपछि १५ अर्ब ७० करोड डलरको सम्पत्ति उनको भएको थियो।
सोर्‍हौं स्थान : एलिस वाल्टन
‘वाल्मर्ट’ कै अर्की सदस्य एलिस वाल्टन सोह्रौं स्थानमा छिन्। ६० वर्षीया एलिसको २० अर्ब ६० करोड डलर बराबरको सम्पत्ति पैत्रिक हो। उनी वाल्मर्टका संस्थापक साम वाल्टन र हेलेन वाल्टनकी छोरी तथा वर्तमान वाल्मर्ट-प्रमुख एस. रब्सन वाल्टनकी बहिनी हुन्। उनी एलिस क्रिस्टीकी आमाजू हुन्। एलिस सम्बन्धविच्छेद गरेर बसेकी छिन्।
सत्रौं स्थान : लिलियन बेटेनकोर्ट
धनीको सूचीको सत्रौं स्थानमा शृंगार सामग्री उत्पादन गर्दै आएको ‘ला ओरियल’ कम्पनीकी ८७ वर्षीया मालिक्नी लिलियन बेटेनकोर्ट छिन्। उनको कुल सम्पत्ति २० अर्ब अमेरिकी डलर बराबर छ। उनका पिताले स्थापना गरेको ‘ला ओरियल’ ले सन् २००९ मा १ सय औं वाषिर्कोत्सव मनायो। फ्रान्सेली नागरिक लिलियनको यो सम्पत्ति पनि पैत्रिक हो। एक छोरी फ्रान्स्वाँ बेट्टेनकोर्ट-मेयर्सकी आमा लिलियनका श्रीमान्को निधन सन् २००७ मा भएको थियो।
चालीसौं स्थान : बिर्गिट रसिङ र परिवार
चालीसौं स्थानमा स्वीडेनकी बिर्गिट रसिङ छिन्। उनको कुल सम्पत्ति १३ अर्ब अमेरिकी डलर छ। सामान ‘प्याकेजिङ’ व्यवसाय गर्ने उनको कम्पनीको नाम ‘टेट्रा लाभल’ हो। उनको यो सम्पत्ति पनि पैत्रिक हो। ८६ वर्षकी बिर्गिट विधवा हुन्। उनका ३ सन्तान छन्। उनका ससुराले सन् १९४४ मा खोलेको उक्त कम्पनीमा सबै ३ सन्तान कार्यकारी समितिमा छन्। सन् २००० मा गाड रसिङको निधन भएपछि बिर्गिट स्विट्जरल्यान्डमा बुढ्यौली बिताउँदै छिन्।
चौवालीसौं स्थान : सावित्री जिन्दल
चौवालीसौं स्थानमा भारतकी सावित्री जिन्दल छिन्। उनका श्रीमान् ओमप्रकाश जिन्दलले सन् १९५२ मा ओ.पी. जिन्दल ग्रुप स्थापना गरेका थिए। ६० वर्षीया सावित्रीको कुल सम्पत्ति १२ अर्ब २० करोड डलर छ। स्टिल उद्योगका ओमप्रकाशको सन् २००५ मा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। जिन्दलका ९ सन्तान छन्। सावित्री हरियाणा राज्यकी विधायक पनि हुन्।
अठ्चालीसौं स्थान : अबिगेल जोन्सन
अठचालीसौं स्थानमा छिन्, अमेरिकाकी नागरिक अबिगेल जोन्सन। उनी पिता एडवार्ड सी. जोन्सनसँग काम गर्छिन्। फिडेलिटी इन्भेस्टमेन्ट उनीहरूको कम्पनी हो। यसले बीमासम्बन्धी काम गर्छ। ४८ वर्षीया अबिगेलको कुल सम्पत्ति ११ अर्ब ५० करोड अमेरिकी डलर छ। पैतृक सम्पत्तिलाई बढाउँदै लगेर अबिगेलले आफूलाई विश्वकै धनी मानिसको सूचीमा पार्न सफल भएकी हुन्। अबिगेल विवाहित हुन्। उनका दुई सन्तान छन्। उनलाई भविष्यमा पिताकै काम सम्हाल्ने उम्मेदवारका रूपमा हेरिँदै आएको छ।
एकाउन्नौं स्थान : सुसान क्लाट्टेन
पचासौं स्थान पूरा गर्दा केवल ६ महिला सूचीमा देखिन्छन् भने एकाउन्नौं स्थानमा जर्मनीकी सुसान क्लाट्टेन छन्। उनी बिएमडब्लु कार निर्माता कम्पनीसँग आबद्ध छिन्। उनको कुल सम्पत्ति ११ अर्ब १० करोड छ। पैतृक सम्पत्तिलाई बढाउने सुसानका पिता हर्बर्ट क्वान्डटले बिएमडब्लुको साख गिर्न नदिन ठूलो संघर्ष गरेका थिए। विवाहित सुसानका ३ सन्तान छन्। उनी जर्मनीमै बस्छिन्।
बाउन्नौं स्थान : इरिस फोन्टबोना
बाउन्नौं स्थानमा चिलीकी इरिस फोन्टबोना छिन्। उनी खानी उद्योगमा संलग्न छिन्। उनको सम्पत्ति ११ अर्ब अमेरिकी डलर बराबर छ। उनी अर्बपति एन्ड्रोनिको लुक्जिककी कान्छी श्रीमती हुन्। एन्ड्रोनिकोको २००५ मा क्यान्सरबाट निधन भएको थियो। उनका ३ सन्तान छन्। उनको उद्योग ‘एन्टोफागास्टा’ विश्वकै ठूलो तामा खानी उद्योग हो। यसका अतिरिक्त इरिस फोन्टबोना र परिवारसँग अन्य उद्योग पनि छन्।
चौसठ्ठीऔं  स्थान : एन कक्स च्याम्बर्स
इरिस फोन्टबोनापछिका एक दर्जन स्थानमा पुरुषकै बाहुल्य छ भने चौसठ्ठीऔं स्थानमा छिन्, अमेरिकाकी नागरिक एन कक्स च्याम्बर्स। उनीसँग १० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। उनका पिता जेम्स एम. कक्सले ‘कक्स इन्टरप्राजेज’ को स्थापना गरेका थिए।’ कक्स इन्टरप्राजेज’ मा धेरै कम्पनी छन्, सबैकी मालिक्नी एन कक्स च्याम्बर्स ९० वर्षकी छिन्। उनी सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन्। कक्सका पनि ३ सन्तान छन्।
चौरासीऔं स्थानः प्याटि्रसिया माट्टे
चौरासीऔं स्थानमा परेका एकै परिवारका ३ सदस्यमध्ये एकमात्र छोरी छिन्,  प्याट्रिसिया माट्टे। उनका साथ दाइहरू इलियोडोरो र बर्नाडो छन्। उनीहरू चिलीका हुन्। सबैको एकमुष्ट सम्पत्ति ८ अर्ब १० करोड अमेरिकी डलर छ। यो परिवार कागज उद्योगमा संलग्न छ।
धनीहरूको सूची २०१० मा महिला
बार्‍हौं : क्रिस्टी वाल्टन (अमेरिका)
सोर्‍हौं : एलिस वाल्टन (अमेरिका)
सत्रौं : लिलियन बेटेनकोर्ट (फ्रान्स)
चालीसौं : बिर्गिट रसिङ र परिवार (स्वीडेन)
चौवालीसौं : सावित्री जिन्दल (भारत)
अठचालीसौं : अबिगेल जोन्सन (अमेरिका)
एकाउन्नौं : सुसान क्लाट्टेन (जर्मनी)
बाउन्नौं : इरिस फोन्टबोना (चिली)
चौसठ्ठीऔं : एन कक्स च्याम्बर्स (अमेरिका)
चौरासीऔं : प्याट्रिसिया (चिली) साथमा दुई दाइ।
(२०६७ वैशाखको नारीमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<