जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको….

अमेरिका – जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
स्वरसम्राट नारायण गोपालले चलचित्र ‘चिनो’का लागि गाएको यो गीतजस्तै ।
सन् २०१० मा ३० नेपाली बालबालिकाले हुर्काउने अभिभावक सात समुद्र पारीका पाए ।
त्यो पनि अमेरिकाका ।
अमेरिका संसारमा सबभन्दा बढी धर्मसन्तान पाउने देश हो ।
तर अमेरिकी अभिभावकद्वारा सन् २०१० मा अघिल्लो वर्षको तुलनामा धर्मसन्तान ग्रहणमा कमी आएको छ । यो संख्या सन् १९९५ पछिको थोरै मात्र बढी हो । अनियमितताका कारण धेरै धर्मसन्तान ग्रहण गर्दै आएको ग्वाटेमालाबाट धर्मसन्तान ग्रहण निकै रोकिएपछि यो कमी भएको हो ।
सन् २०१० मा धर्मसन्तान ग्रहणमा चीन नै पहिलो रह्यो, जहाँबाट ३ हजार ४ सय १ चिनियाँ बालबालिकाले अमेरिकी अभिभावकत्व पाए । दोस्रो नम्बरमा इथियोपिया आएको छ, जहााबाट २ हजार ५ सय १३ सन्तान ग्रहण गरिए । तेस्रो रुसबाट १ हजार ८२ र चौथो दक्षिण कोरियाबाट ८ सय ६३ शिशुले अमेरिकी अभिभावकत्व पाएको स्टेट डिपार्टमेन्टले जनाएको छ ।
सन् २००८ मा सबभन्दा बढी ४ हजार १ सय २३ बालबालिकाले अमेरिकी अभिभावकत्व पाएकोमा सन् २००९ मा ७ सय ५६ र सन् २०१० मा ५१ ले मात्र अमेरिकी अभिभावकत्व पाए ।
सन् २०१० मा ११ हजार ५९ विदेशी बालबालिकाले अमेरिकी अभिभावकत्व पाए भने सन् २००९ मा १२ हजार ७ सय ५३ ले पाएका थिए । सन् २००४ को भन्दा सन् २०१० मा अमेरिकी अभिभावकत्व पाउने बालबालिकाको संख्या ५० प्रतिशत कम भएको छ । सन् २००४ मा २२ हजार ८ सय ८४ विदेशी बालबालिकाले अमेरिकी अभिभावकत्व पाएका थिए । सन् १९९५ मा भने ९ हजार ६ सय ७९ विदेशी बालबालिकाले अमेरिकी अभिभावकत्व पाएका थिए ।
सन् २०१० मा अमेरिकी अभिभावकत्व पाउने ११ हजार ५९ मा गत जनवरीमा हैटीमा आएको भूकम्पपछि ल्याइएका १ हजार १ सयभन्दा बढीको संख्या समावेश छैन ।
अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार सन् २०१० मा ४३ अमेरिकी बालबालिकालाई भने धर्मसन्तानका रुपमा अरु देश लगियो । ती ४३ मध्ये १९ क्यानडा, १८ निदरल्यान्ड लगिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<