यतिबेला नेपाललगायत विश्वका करिब सवा सय मुलुकमा अमेरिका जाने ‘डाइभर्सिटी भिसा २०१४’ को चिट्ठा भर्ने मौसम छ । ‘डिभी भरौं’ भन्ने नारा लेखिएका ब्यानर अफ्रिका होस् वा एसिया गाउँगाउँसम्म देख्न पाइन्छ । वर्षेनि यो उत्सव जस्तो भएर आउँछ, दक्षिणी गोलार्द्धको केन्यादेखि उत्तरी गोलार्द्धको कजाखस्तानसम्म । चिठ्ठा भर्नेको संख्या वर्षेनि बढ्दो छ । कुनै शुल्कबिना भर्न मिल्ने यो चिठ्ठा भर्नेको संख्या बढ्नुको कारण इन्टरनेटको पहुँच र यसबारेको चेतना मुख्य कारणका रूपमा लिइन्छ ।
‘डिभी’ चिट्ठा अमेरिका आउने र बाकी जीवन यहाँ व्यतित गर्न चाहनेका लागि सबभन्दा सजिलो तथा सम्मानित उपाय हो । डिभी पर्नेबित्तिकै अमेरिका आउन भने पाइने होइन । चिट्ठा परेपछिका प्रक्रिया छन्, ‘फर्स्ट लेटर’, ‘सेकेन्ड लेटर’, अन्तर्वार्ता, स्वास्थ्य-परीक्षण आदि । तर सेकेन्ड लेटरपछि अन्तर्वार्तामा जाँदा गर्नुपर्ने तयारी, अनि अन्तर्वार्तापछि हातमा भिसा नपरून्जेल अमेरिका आउने ग्यारेन्टी पक्कै हुन्न ।
डिभी परेर अमेरिका आउनु भनेको उसले यहाँ काम गर्ने र बस्ने अधिकार पाउनु हो । यो अधिकार पाउने व्यक्ति र परिवारलाई अमेरिकाको ‘ग्रिनकार्ड’ प्रदान गरिने हो । ग्रिनकार्ड पाएको व्यक्ति यहाँको कानुनी वासिन्दा हो । ग्रिनकार्ड पाउनु भनेको यहाँको नागरिक हुनु होइन । नागरिक हुन उसले ग्रिनकार्ड पाएको पाँच वर्ष कुर्नुपर्छ । नियम, कानुनभित्र बसेको छ भने उसले नागरिकता पाउन आवेदन दिनुपर्छ । एउटा परिक्षामा सहभागी हुनुपर्छ । परीक्षा उत्तीर्ण भएपछि शपथ लिंदै आफ्नो मूल राष्ट्रको नागरिकता त्यागेर यहाँको नागरिक बन्न सकिन्छ ।
ग्रिनकार्डको सामान्यतः दश वर्षे म्याद हुन्छ । ग्रिनकार्ड पाएको व्यक्तिले यसलाई नविकरण गर्दै बस्न सक्छ । नागरिकता लिनु र नलिनु उसको इच्छा हो ।
कसरी बढ्यो?
डिभी भर्नेको संख्या र उसले आफ्नो भनी जनाएको परिवारको संख्या फरक पर्छ । घरमूलीले भर्दा परिवारका एक, दुई, तीन वा सोभन्दा बढी हुनसक्छन् । यहाँ भर्नेको संख्या मात्र जनाइएको छ ।
सन् २००७ देखि सन् २०१३ को संसारका डिभी भर्न मिल्ने देशबाट डिभी भर्नेको संख्यामा बढोत्तरी हेर्दा अहो भन्ने लाग्छ । डिभी २००७ पछि डिभी २०१३ सम्मको यो संख्या यस्तो छ :
डिभी २०१२ सम्म सहभागी बंगलादेशले डिभी २०१३ मा भर्न नपाउने भएपछि एक्कासी संख्या घटेको हो । नत्र डिभी भर्नेको संख्याका कमी आएको छैन । डिभी २०१२ मा बंगलादेशमा मात्र ८ लाख ५६ हजारभन्दा बढीले भरेका थिए । भर्न मिलेको भए र यति नै संख्याले भरेको भए, डिभी २०१३ मा २० लाख पुग्ने देखिन्छ । एक व्यक्तिले एक वर्षमा एकपटक मात्र डिभी भरे हुन्छ । तर डिभी २०१२ मा एक बंगलादेशीले एक वर्षका लागि २ हजार ८ सय पटकसम्म भरेको स्टेट डिपार्टेन्टले फेला पारेको तथ्य छ । एक वर्ष नपरे अर्को वर्ष पनि उसले भर्न पाउँछ । कुनै एक व्यक्तिले एक वर्षमा चिठ्ठा जति पटक पनि भर्नसक्छ । एकभन्दा बढी पटक भरेपछि रद्द हुन सक्छ । तर कूल चिठ्ठाको करिब ७ प्रतिशतभन्दा बढी भिसा एउटै मुलुकका नागरिकका लागि नछुट्याइन सक्छ ।
कति नेपाली?
सन् २००७ पछिको तथ्यांक हेर्ने हो भने करिब २ देखि ४ लाख नेपाली (डिभी भर्ने र उनको परिवारसमेत) ले डिभी भरेको पाइन्छ । सन् २००७ देखि सन् २०१३ सम्म नेपालबाट डिभी भर्नेको संख्या यस्तो छ :
अहिले नेपालबाट डिभी परेर अमेरिका आइसक्न लागेको समूह डिभी २०१३ हो । डिभी २०१३ मा ३ लाख ८ हजार ७ सय ९४ ले डिभी चिट्ठा भरेको देखिन्छ । यो संख्यामा परिवार १ लाख ८७ हजार ६ सय १६ समेत गरी ४ लाख ९६ हजार ४ सय १० जना हुन्छन् ।
कति अमेरिका आए?
पछिल्ला तीन वर्षको तथ्यांक हेर्ने हो भने निकै राम्रो संख्यामा नेपालीहरू डिभीका माध्यमले अमेरिका आएका छन् । डिभी २०११ बाट २ हजार १ सय ८९, डिभी २०१२ बाट ३ हजार २ सय ५८ र डिभी २०१३ बाट ४ हजार ३ सय ७० आएका छन् । सन् २०१३ को डिभीबाट आउने क्रम शायदै सकिएको छ ।
भर्न सजिलो
डिभी भर्न सजिलो छ । थोरै ध्यान पुर्याउनु पर्ने चाही फोटोमा हो । अमेरिकाले नागरिकस्तरमा चाहने सबै तथ्य, तथ्यांक, जानकारी एकदम पारदर्शी राखेको पाइन्छ । डिभी भर्ने सबै प्रक्रिया र जानकारी पनि सरकारका वेबसाइटहरूमा सजिलै फेला पार्न सकिन्छ । डिभी भर्ने व्यक्ति आफू कुनै विशेषज्ञ हुनुपर्छ भन्ने छैन ।
त्यो कुरा असोज १५ मा काठमाडौंस्थित अमेरिकी दूतावासले जारी विज्ञप्तिले स्पष्ट पार्छ, ‘भिसाका लागि योग्य हुन डिभी विजेताले कम्तीमा बाह्र वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्छ । उच्च शिक्षाका कुनै पनि संस्थानमा कुनै पनि विषय पढ्न पाउने गरी नेपाल सरकारले मान्यता दिएका सीटीईभीटी लगायतका व्यावसायिक डिग्रीलाई मात्र औपचारिक शिक्षा सरहको मान्यता दिइनेछ । सीमित उच्च शैक्षिक कार्यक्रममा मात्र सहभागी हुन पाउने खालका व्यावसायिक डिग्रीलाई बाह्र वर्षे औपचारिक शिक्षा सरहको मान्यता दिइनेछैन ।’
यतिको तह पुरा गरेको मानिसलाई डिभीको फारम भर्न गाह्रो हुँदैन भन्ने मान्यता दूतावास हुनुपर्छ भन्ने मान्यता उसको विज्ञप्तिले स्पष्ट पारेको देखिन्छ ।
अब यसलाई पैसा कमाउने बाटो बनाउनेहरूसँग सावधान हुन दूतावासको सतर्कतालाई जायज मान्न सकिन्छ । चिट्ठा भरिदिने र डेढ-दुई सय लिने मात्र त साधारण भइहाल्यो । डिभी भरेपछि आफ्नो ठेगाना राख्ने र पत्रहरू आएको सूचना आफ्नो ठेगाना आएपछि डिभी भरेकालाई आफ्नै वरपर घुमाइरहने काइदा अलि नाजायज लाग्छ । दोस्रो पत्र आएपछिका प्रक्रियाका लागि भनेर बोलाउने, कक्षा लिने, कागजात तयार पार्ने निहुमा दश हजार नेपाली रूपैयासम्म लिने गरेको डिभी परेर अमेरिका आइपुगेकाहरू बताउछन् ।
दूतावासले डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने मात्र भनेको छ । त्यसपछि हजारौं रूपैया खर्चन बाध्य बनाउनेहरूलाई के गर्ने? यसको भने जवाफ अर्का वर्षहरूमा खोज्न जरूरी छ ।
(कोइराला अमेरिकामा निस्कने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख २०६९ साल असोज २७ अर्थात् २०१२ अक्टोबर १३ मा ‘नागरिक‘ दैनिकमा प्रकाशित ।)