संगीता राना प्रधान सानो छँदा

वनभात कस्तो ?

संगीता राना प्रधान गायिका तथा शास्त्रिय गायनकी गुरु हुनुहुन्छ । उहाँ सन् १९६० जुलाईमा विराटनगरमा जन्मनुभयो । बुबाको नाम लक्ष्मण र आमाको नाम शान्तिदेवी हो । उहाँहरू दुई दिदीबहिनी र तीन दाजुभाई जन्मनुभएको हो । संगीता कान्छो सन्तान हुनुहुन्छ । उहाँको मावली भारतीय नेपाली-बसोबास क्षेत्र खर्साङ हो । उहाँले प्रारम्भिक शिक्षा मावलीमै पाउनुभयो । प्रारम्भिक शिक्षासँगै ६ वर्षको उमेरदेखि घरमा संगीत गुरु राखेर संगीत सिकाउने व्यवस्था मिलाइयो । उहाँका गुरुको नाम नेपाल बनर्जी हो । उहाँ विश्वभारती शान्ति निकेतनकी विद्यार्थी हुनुहुन्छ । त्यहिंबाट एमम्युज (संगीतमा स्नातकोत्तर) गर्नुभएको छ । उहाँले पचासौं चलचित्रका लागि गीत गाउनुभएको छ । उहाँले गीत गाएको पहिलो चलचित्र ‘भुँमरी’ हो । भजन र आधुनिक गीतका एल्बम चाँडै आउँदैछन् । उहाँको पहिलो एल्बम भारतको एचएमभी कम्पनिले निकालिदिएको थियो । उक्त एल्बमको नाम ‘संगीता प्रधान सिङ्स गीत, गजल एन्ड भजन’ थियो । उहाँले काठमाडौंको भोटाहिटीस्थित ललितकला क्याम्पसमा पढाउँदै आउनुभएको छ । धेरै सम्मान र पुरस्कार पाएकी संगीताले केही देशको भ्रमण पनि गर्नुभएको छ । उहाँले गायन सिकाएका विद्यार्थी पनि धेरै भएका छन् । यसपटक संगीता सानो छँदाका केही सम्झना :
म ३/४ वर्षको हुँदा परिवार नै उता गयो । हामीलाई पढाउने इच्छा लागेर उता जानु परेको हो ।
म सानैदेखि गाउँथे । कुनै कार्यक्रम भयो भने मलाई गाउन लगाइन्थ्यो । मलाई बुबा-आमाले भजन सिकाउनु भयो । उहाँहरू गाउनुहुन्थ्यो । अनि मलाई ‘ल गाउ’ भनेर अगाडी राख्नुहुन्थ्यो । मलाई गाउन मनै लागेको हुँदैनथ्यो । कति बेला खेल्न जानुजस्तो भएको हुन्थ्यो । म सुर-बेसुर रिसाएर पनि गाउँथे । उहाँहरू त दंग परेर सुन्नुहुन्थ्यो ।
अनुशासनमा बस्नु त पर्थ्यो नै । मलाई गायनको रियाज गर्न ढोका थुनिदिनुहुन्थ्यो ।
पढाईका लागि मेरो पहिलो गुरु आमा हो । उहाँ नै प्राइमरीको टिचर हुनुहुन्थ्यो । मैले सुरुमा नेपाली प्राइमरी स्कुलमा पढे । त्यहाँ हाम्रो हेडसर जगन्नाथ प्रधान हुनुहुन्थ्यो र उहाँले वर्षको एकपटक पिकनिक लानुहुन्थ्यो । हामी पिकनिकलाई, ‘वनभात खाने’ भन्थ्यौं । हामी लाइन लागेर स्कुलछेउकै वन जान्थ्यौं । मेरो बुबाले एउटा सुन्तला र दुईटा जिलेबी सबैलाई दिने गरी पठाउनुहुन्थ्यो । सबैथोक खाइसकेपछि हामी सुन्तला र जिलेबी खाँदै फिर्थ्यौं । फर्कदा हामी नारा लगाउँथ्यौं । हेडसर भन्नुहुन्थ्यो, ‘आजको वनभात कस्तो भयो ?’ हामी भन्थ्यौं, ‘मीठो भयो ।’ यो नारा आधा घण्टा लगाइन्थ्यो ।
त्यसपछि युनियन एकेडेमी (डुअर्स) मा पढें । दाई र दिदीहरूलाई बुबाले दार्जिलिङको स्कुलमा राखेर पढाउनुभएको थियो । मलाई र कान्छा दाईलाई चाहिं साना छोराछोरी भनेर आफूसँगै राख्नुभएको थियो । युनियनबाट कक्षा ११ सकियो । कान्छा दाई पनि त्यहि स्कुलमा पढ्नुभएको हो । युनियनमा पढ्दाका साथी मीता राई, पद्मा राई, सरस्वती राई, रुषा क्षत्री आदि थिए । हामीलाई विजय सर खुब माया गर्नुहुन्थ्यो । कहिलेकाही फेल हुँदा ढाढस दिनुहुन्थ्यो । ‘के भयो त ? यस्तो मान्छेकी छोरी राम्रो गरिहाल्छ्यौ नि,’ भन्नुहुन्थ्यो ।
प्राइमरीमा पढ्दा खेलकुदमा भाग लिन्थे । पुरस्कार पनि खुब पाउँथे । ठूलो स्कुल गएपछि मात्र संगीतमा लागे ।
म भलादमी थिएँ । कक्षामै मलाई सबभन्दा भलादमी विद्यार्थी भनिन्थ्यो । हेन्ड राइटिङ राम्रा थिएनन । पढ्नमा कान्छा दाई राम्रो हुनुहुन्थ्यो । मलाई पनि सबेरै उठाउनुहुन्थ्यो । मेरो पढाई राम्रो थिएन । पास चाहिं हुन्थें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ चैत १५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<