वार्दाबाट पक्का
श्रीमती रामवदन जोशी सामाजिक क्षेत्रमा कार्यरत अग्रज महिला हुनुहुन्छ । उहाँलाई नेपाल स्काउटको माथिल्लो स्तरमा पुग्ने एकमात्र महिलाका रुपमा चिनिन्छ । शिशुको सुरुवाती विकास (इसिडि) मा पनि उहाँ तालिम लिन विदेश जाने पहिलो महिला हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । रामवदनको जन्म १९९५ साल वैशाखमा नःगलमा भएको हो । उहाँका पिता चन्द्रनाथ र माता गौरीमैयाँ (गुरुमा) हुनुहुन्थ्यो । एक दाजु, एक भाई र उहाँ जन्मनुभएको हो । उहाँ संस्कृतिविद् सत्यमोहन जोशीकी भाइ-बुहारी हुनुहुन्छ । विभिन्न क्षेत्रका सक्रिय भई लागेकाले उहाँले धेरै पुरस्कार र सम्मान पाउनुभएको छ । उहाँले केन्या, कोरिया, जापान, इरान, पाकिस्तान, न्यूजिल्यान्ड, इजरायल, अमेरिका, सिंगापुर, फिलिपिन्स, बंगलादेश, अष्ट्रेलिया, मलेसिया, हङकङ, बेलायतको भ्रमण गर्नुभएको छ । यसपटक जोशी सानो छँदाका केही सम्झना :
आमाले ‘सत्य निकुञ्ज’ खोल्नुभएको थियो । त्यो अहिले गाभिएर शान्ति निकुञ्जमा छ । आमा त्यहाँ पढाउन जाँदा म पनि पछिपछि जान्थें । घरमा अक्षर चिनाउने काम पनि आमाले गर्नुभयो । माया लागेर स्कुल नजाउ त भन्नुहुन्थ्यो । म सानै छँदा बुबा बित्नुभएकाले आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो ।
एकपटक हिसाब गर्न नजान्दा राजाराम सरले पिट्नुभयो । हातमा घाउ भएको थियो । खाना खानेबेलामा ‘पोल्यो पोल्यो’ भनेपछि आमालाई थाहा पाउनुभयो ।
मेरी साथी डा. विमला जोशीका दाजु राणाकालमा थुनिएका थिए । उहाँलाई हनुमानढोका भेट्न विमलासँग जाँदा गान्धीवादी तुलसीमेहर श्रेष्ठ भेट भयो । तुलसीमेहर महिला उत्थान चाहनुहुन्थ्यो । शिक्षा र सीप विकासबिना विकास असम्भव हुने भएकाले धेरै महिलालाई उहाँले अध्ययनका निम्ति भारत लग्नुभयो । उर्मिला गर्ग, महालक्ष्मी श्रेष्ठ, भद्र घले, नानीहीरा कंसाकार, मसमेत आठ जनाको ठाउँमा १६ जना गयौं । आठ जनाको खर्चमा तुलसीमेहरले १६ जनालाई पढ्ने व्यवस्था गर्नुभयो । म त्यसबेला नौ वर्षकी थिएँ । आफैं नुहाउन सक्दिनथें । नानीहिराले मलाई नुहाइदिनुहुन्थ्यो । भारतको मध्यप्रदेशको नागपुरनजिकै वार्दा भन्ने ठाउँ छ । त्यहाँ महिला आश्रम थियो । त्यहाँ म कक्षा १ मा भर्ना भएँ । त्यहिं पढ्यौं । भर्खर अंग्रेज भारतबाट हटेकाले अंग्रेजी विषय पढाइएन । त्यहाँ पाँच वर्ष पढेपछि ‘विनिता’ उपाधी मिल्थ्यो । म १५ वर्षकी भएपछि ‘विनिता’ सकेर नेपाल फर्के ।
वार्दामा रहँदा भद्रा घले नाटक तयार पार्नुहुन्थ्यो । मैले अभिनय गरेका धेरै नाटक छन् । त्यहाँ खेलकुद, व्यायाम प्रशस्त हुन्थ्यो । नेपाली भाषा बिर्सेलान् भनेर कृष्णचन्द्रसिंह प्रधानलाई पनि तुलसीमेहरले वार्दा लानुभएको थियो । प्रधान त्यहाँ तीन वर्ष बस्नुभयो । म कविता लेख्थे । नेपालमै रहँदा पनि कविता लेख्थें । पुरस्कारवापत कपि पाउँथे । कपि कहिल्यै किन्नु परेन । वार्दामा ‘ज्योति’ पत्रिका निकाल्दा म सम्पादक-मण्डलमा थिएँ ।
त्यहाँ सबैका बुबा लिन आउँथे । बुबाको चिठ्ठी आयो भनेर साथीहरू रमाउँदा मलाई पिडा हुन्थ्यो । मैले बुबालाई सम्झेर कविता लेखेकी थिएँ ।
एकपटक अप्रिल फुल मनाउँदा एउटी साथी इनारमा खसेको झुठो बोल्यौं । त्यसपछि अन्नपूर्णलाई सर्पले टोक्दा सरहरूले नपत्याएर झण्डै उनको ज्यान गयो । हामी रुन थालेपछि पत्याउनुभएको थियो ।
स्काउटमा जाँदा टोलछिमेकमा हेला गरिन्थ्यो । आमाले भने, ‘जाउ, पछि राम्रो हुन्छ’ भनेर हौसला दिनुहुन्थ्यो । स्काउटले नै मलाई मान्छे बनाएको हो । संसार बुझाएको हो ।
प्राध्यापक माणिकलाल श्रेष्ठले अंग्रेजी पढाइदिनुभयो । म यहाँको एसएलसीमा पद्मोदय स्कुलबाट सेकेन्ड डिभिजनमा पास भएँ । त्यसपछि नेपालमै सेवा गर्न थालें र गर्दैछु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ चैत १ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)