धर्मभक्तलाई अँगालो
सगुन शाह समाजसेवी हुनुहुन्छ । उहाँले वृद्धाश्रम, विद्यालय जस्ता संस्था खोलेर सेवा गर्दै आउनुभएको छ । उहाँको जन्म १९९० साल कात्तिक ११ गते काठमाडौंको सानो गौचरण, मालीगाउँमा भएको । शाहका पिताको नाम भगतबहादुर र माताको नाम इन्द्रकुमारी शाह हो । उहाँहरू दश छोरी र दुई छोरा जन्मनुभएको हो । सगुन काहिली छोरी हुनुहुन्छ । उहाँको विवाह वरिष्ठ सञ्चारकर्मी भोग्यप्रसाद शाहसँग भएको थियो । भोग्यप्रसादको निधन भएको केही वर्ष बितीसकेको छ । उहाँले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन् । यसबाहेक उहाँ धेरै संस्थामा रहेर काम गर्दै पनि आउनुभएको छ । सधैं अरुको सेवामा लागिरहने शाह सानो छँदाका केही सम्झना :
सानो छँदा मलाई ‘मन’ नाम दिइएको थियो । अलि ठूलो भएपछि मलाई ‘मिस’ भन्न थालियो । मेरो नाम सगुन त श्रीमानले दिनुभएको हो ।
हामीलाई सानोमा मुमाले दूध चुसाउनु भएन । हाम्रा लागि धाइआमा हुनुहुन्थ्यो । मैले ‘बुबु धाइआमा’ पाएकी थिएँ । उहाँको नाम त मलाई थाहा भएन । हामी उहाँलाई ‘डल्ली बुबु’ भन्थ्यौं ।
म सानो छँदा बाबाले दुई रुखमा कपडा बाँधेर झुला बनाउनु हुन्थ्यो । त्यहि झुलामा हामी झुल्थ्यौं ।
फूपुका छोरैछोरा थिए । फूपुका दुई छोरा र म जहिले पनि मिलेर खेल्थ्यौं । म छोराजस्तो स्वभावकी थिएँ । उनीहरूसँग पोतेको टुक्रा पोलेर लोला बनाउने, बीत्ते, डण्डीबियो खेल्थें । माछा मार्न जान्थें ।
मेरो वाल्यकाल मालीगाउँ, गौचरणमा बित्यो । त्यहाँ नेवारहरूको बाक्लो बस्ती थियो । हाम्रो घरसम्म नेवारका बच्चाहरू खेल्न आउँथे । म सानैदेखि ती बालबालिकाको ख्याल गर्थें । सक्ने उमेरको भएपछि काखमा राख्थें । सानै हुँदा ठूलाको आदर र सानालाई माया गर्नुपर्छ भन्ने मैले सिकेकी थिएँ । मैले अरुको सेवा गर्न सात वर्षको हुँदादेखि नै गरेंछु ।
म नेतृत्व गर्ने स्वभावकी थिएँ । दयामाया धेरै गर्थे । त्यसबेला १४/१५ वर्षकै भएकी थिएँ । एउटी सुत्केरीको बिजोग देखें । म उनलाई के दिऊँ ? भनेर सोच्न थालें । मसँग केही थिएन । मेरो ओछ्यानमा नयाँ तन्ना हालिएको थियो । मैले त्यहि दिएँ । मेरा बाबाको अर्को तन्ना किन्ने क्षमता छ । त्यसैले अर्को आइहाल्छ भन्ने लागेर दिएर पठाएकी थिएँ । यसरी कसैलाई केही दिए पनि गाली भने उत्तिको खाइँन ।
हामी सानो छँदा वर्षको एकपटक गहना खोज्ने पोखरीको जात्रा हुन्थ्यो । त्यो निकै रमाइलो लाग्थ्यो । घरैबाट जात्रा देखिन्थ्यो । घरहरू अहिलेजस्तो कहाँ थिए र ? दशैं त वर्षमा दुईपटकमात्र आउँछ । तर हाम्रो घरमा चार नौरथाका पूजा हुन्थ्यो । मलाई कृष्ण जन्माष्टमी मनपर्थ्यो । बाबाले भजन गराउनुहुन्थ्यो ।
मेरो पालासम्म छोरी पढ्ने चलन थिएन । बहिनीहरूले पढ्ने मौका पाए । मैले पाइँन । बाबालाई धेरै बिन्ती गर्दा पनि पढ्न पठाउनु भएन । घरमै ‘मास्टरजी’ बोलाइएको थियो । मलाई अंग्रेजी मनपर्थ्यो । हिसाब (गणित) पटक्कै मन पर्दैनथ्यो । म अंग्रेजीको एउटा पाठ सकेर अर्को पाठ बुझाउन गइहाल्थें । हामीलाई पढाउन आउने गुरुको नाम त थाहा भएन । तर हामी उहाँलाई ‘बामु बाजे’ भनेर बोलाउँथ्यौं ।
बामु बाजे बाहुन हुनुहुन्थ्यो । जे जातको मानिस हो, त्यहि अनुसार भन्ने चलन थियो । मलाई यस्तो मन पर्दैनथ्यो । म नाता मिलाएर बोलाउँथे । शाहका घरमा ‘स्वस्ती’, ‘दर्शन’ गरेर अभिवादन गरिन्थ्यो । मलाई नमस्ते नै मनपर्थ्यो ।
छोरी घरबाहिर गएर पढ्ने मात्र होइन । एक्लै हिंड्न पनि हुन्नजस्तो गरिन्थ्यो । मुमासँग मोटर चढेर सिनेमा हेर्न जाँदा मोटरको सिसाभित्र पर्दा लगाएको हुन्थ्यो । छोरी-बेटीलाई सबैले नदेखुन् भनिन्थ्यो । मेरी एउटी स्वाँर साथी थिइन । उनी र म सिनेमा हेर्न जान्थ्यौं । हामी खुब सिनेमा हेर्थ्यौं । सिनेमाको कथा भएको किताब किन्थ्यौं । मनपरेको सिनेमा त तीन पटक पनि हेरिन्थ्यो ।
थोरै पढे पनि मैले रविन्द्रनाथ टैगोर, शरदचन्द्र चट्टोपाध्यायका किताब चाहिं पढें ।
घरको काम पनि गर्थें । मैले पकाएको टुसा र सानो केराउको तरकारी राम्रो भयो भनेर बाबाले एकैपटक ५० रुपैयाँ दिनुभएको थियो । फूपुको घर जाँदा बाटामा सिफल पर्थ्यो । त्यहाँ धर्मभक्तलाई राणाहरूले झुण्ड्याएको रुख थियो । त्यो रुख छुनुहुन्न भनिन्थ्यो, तर्साउँछ भन्थे । अझ साना नानीहरू त बिरामी हुन्छन् भनिन्थ्यो । मैले गएर घपक्क अँगालो हालें । बाबाले यो देखेर ‘स्याबास’ भन्दै पाँच रुपैयाँ दिनुभयो ।
बाबा प्रजातन्त्रका सहयोगी हुनुहुन्थ्यो । म पनि उहाँका कुरा बुझ्थे । १२ वर्षकै उमेरमा राणाविरोधी पर्चा बाँढ्न हिंडेकी थिएँ । एकपटक खजाना नै हाम्रो घरमा राखिएको थियो ।
हाम्रो घरमा ‘अल्ट्रा’ नामको रेडियो थियो । बाबा बम्बई गएर सामान ल्याउनुहुन्थ्यो र दरबारमा बेच्नुहुन्थ्यो ।
त्यसबेला म भोटो र सुरुवाल लगाउँथे । हाम्रो मामाघर थापाथली हो । मामाघर जाँदा हाम्रो लुगा देखेर मामा मलाई ‘डोले’ भनेर जिस्क्याउनुहुन्थ्यो । म पनि के कम मामाका कमजोरी फेला पारेर गीत गाउँदै जिस्क्याउँथें ।
मैले जीवनमा सिकेको कुरा के हो भने घर नै पहिलो स्कुल हो । राम्रो बानी घरबाटै सिक्न सकिन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ फागुन २ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)