रामायण र महाभारतका कथा
अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी हुनुहुन्छ । उहाँ जनकपुरमा बस्नुहुन्छ । उहाँले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९ मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाइएको थियो । ठाकुर विमानस्थलमा पक्राउ पर्नुभएको थियो । झालाई मृत्युदण्ड दिइयो । आजन्म कारावासको सजाय भोगिरहेका ठाकुर १६ वर्षपछि अन्तर्राष्ट्रिय दबावबाट २०३४ असोजमा रिहा हुनुभयो । उहाँलाई ललितपुर जिल्लाको नखु कारागारबाट मुक्त गरिएको थियो । पछि उहाँले नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा ६ वर्ष काम गरिसक्नु भएको छ । उहाँको पिताको नाम श्यामसुन्दर ठाकुर र माताको नाम सितादेवी हो । उहाँको जन्म २००६ साल फागुनमा धनुषा जिल्लाको लोहना गाउँमा भएको थियो । बाल्यकालमा उहाँलाई पिताले रामायण र महाभारतको धार्मिक कथा सुनाएर एउटा चरित्रवान र निर्भिक्क व्यक्ति बन्न सिकाउनुभएको थियो । यसपटक ठाकुर सानो छँदाका केही सम्झना :
मेरी आमा सुन्दर हुनुको साथै सरल खालकी हुनुहुन्थ्यो । कम र विस्तारै बोल्नुहुन्थ्यो । उहाँको अनुहार बढो लोभलाग्दो थियो । उनी पनि बुबाजस्तै रामायण र महाभारतको कथा सुनाउनु हुन्थ्यो । मीठा खाना पकाउनु हुन्थ्यो र खुवाउने गर्नुहुन्थ्यो ।
गर्मीको मौसम थियो । साँझको कुरा हो । बुबासँगै म पराठा र तेलमा तारेको परबलको मीठो भुजिया खाँदै कथा सुन्दै थिएँ । बुबा कथा सुनाउँदै हुनुहुन्थ्यो र म पनि बुबासँगै खाँदै कथा सुन्दै थिएँ । थाल रित्तो देखेपछि बीचबीचमा आमा परबलको भुजिया थपिदिने गर्नुहुन्थ्यो । खाँदै जाँदा सबै भुजिया सकिएछ । त्यो सम्पूर्ण परिवारका लागि बनाएको रहेछ । हामी दुवै बाबुछोराले नै खाई सिध्याई सकेका पो रहेछौं । म खाईसकेर उठेपछि कराईमा तेलमात्र बाँकी थियो । त्यहाँ परबलको एउटा चानो पनि थिएन । त्यो देखेर म साह्रै दुःखी भए, बुबाले पनि त्यो हेर्नुभयो । त्यो हेरे पनि बुबाले आमालाई किन आफ्ना लागि पनि नराखेको भन्दा आमाले हाँस्दै भन्नुभयो, ‘यो केही कुरै होइन ।’ त्यो उदारताको घटनापछि मेरो मनमा उहाँप्रति झन माया जागेर आयो । मैले मनमनै मानिस कतिको उदार बन्न सक्छ भनेर मैले उहाँबाट सिके ।
बुबाले खाना खानबेलामा महाभारत र रामायणको कथाहरू बडो तत्परताका साथ सुनाउने गर्नुहुन्थ्यो । म पनि ती कथामा बडो अभिरुचि राखि सुन्ने गर्थे । मलाई कथामा अब के होला ? भन्ने भइरहन्थ्यो । कथाहरू सुनेपछि मेरो मनमा पनि एउटा चरित्रवान र धनुषधारी (धनुष बोक्ने मान्छे) बन्न मन लाग्यो । तर म सानो भएकाले त्यो धनु र काँड मैले पाउन सकिन । त्यो धनु र काँड प्राप्त गर्न खोजिरहेकै अवस्थामा एकदिन मैले गाउँको पछाडीको पोखरीमा एउटा घटना देखें । आकाशमा उडिरहेको चरालाई एउटा केटोले गुलेली हानेर चरा खसालेको देखें । अनि मलाई गुलेलीको चाहना भयो । मैले पनि निकै मेहनतपछि एउटा गुलेली फेला पारें । मैले केही मट्यांग्रा बनाएँ । चरा मार्न बिहानैदेखि यताउति आँपको बगैंचातिर लाग्थे । तर मैले एउटा पनि चरा मार्न सकिन । म साह्रै दुःखी भएँ । म बढो एकाग्र भई चरालाई ताकेर गुलेली हान्थे । त्यसै क्रममा एकदिन म बिहानै गुलेली लिई आँपको बगैचातिर जान लाग्दा अम्बाको रुखमाथि थुप्रै बुलबुल चराहरू देखें । मैले ती चडाहरूलाई साह्रै सोझा र निरिह ठान्थे । यस्तो ठान्दाठान्दै पनि मैले ती चरामध्ये एउटामाथि बडो एकाग्र भई निशाना लगाएँ । एउटा बुलबुल चरा निस्प्राण भएर खस्यो । म बढो उल्लास र आनन्दपुर्वक त्यो खसेको चरा हेर्न गएँ । मैले त्यो चरा मर्यो कि ज्यूँदै छ, थाहा पाउन खोजे । त्यो त मरिसकेको थियो । त्यो देखेपछि मेरो सबै उत्साह र उमंग एकैछिनमा दुःखमा परिणत भयो । म सोच्न थाले- मैले किन यो निरिह र सोझो चरालाई अनाहकमा मारें ? यो त मेरा लागि वीरता र पराक्रम पनि होइन । त्यसपछि मैले मनमनै यस्ता निरिह चरा नमार्ने अठोट गरे र मैले पछि काग र त्यस्तै दुष्ट चरालाई हेरी गुलेली हान्न थाले ।
(यो ठाकुर आफैंले लेख्नुभएको हो । यसमा केहि सम्पादनमात्र गरिएको छ । २०६६ पुस १२ कान्तिपुरको बालकोसेली ‘कोपिला’मा प्रकाशित)