लय संग्रौला सानो छँदा

ढकाल सरलाई च्यालेन्ज

लय संग्रौला टेलिभिजनको क्षेत्रमा चिनिएको व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपाल टेलिभिजनको स्थापनादेखि गत वर्षसम्म काम गर्नुभयो । २०४१ सालदेखि २०६५ मा उहाँ नायब प्रबन्धक बन्नुभएको थियो । उहाँलाई सानोपर्दा (टेलिभिजन) का निर्माता, निर्देशक र कलाकारका रुपमा चिनिन्छ । उहाँले सानोपर्दाका ६ सय जति चलचित्र र टेलिश्रृंखला निर्देशन गर्नुभएको छ । लयको जन्म २०१३ वैशाख १ गते तेह्रथुमको आठराईमा भएको हो । उहाँका पिताको नाम जीवनाथ र माताको नाम धनमाया हो । उहाँहरू आठ दाजुभाई र छ दिदीबहिनी जन्मनुभएको हो । लय काहिलो छोरा हो । उहाँले लेखेका गीतको एल्बम ‘कल्पवृक्ष’ चाँडै आउँदैछ । जर्मनी, चीन, सिंगापुर, मलेसिया, रुस, थाइल्यान्ड, दक्षिण कोरिया, हङकङ आदि मुलुक पुग्नुभएको छ । यसपटक विभिन्न सम्मान तथा अभिनन्दन पाएका संग्रौला सानो छँदाका केही सम्झना :
म सानो छँदाका केही वर्ष हामी आठराईमै बस्यौं । त्यसपछि झापाको बुधबारे आयौं । स्कुल सक्दासम्म म बुधबारेकै बासिन्दा भएँ ।
आठराईमा पोखरी हाइस्कुलमा पढियो । त्यहाँ क, ख … सिकियो । हामीलाई शेरबहादुर इङ्नाम, सूर्य कन्दङ्वा, मदन थापाले पढाउनु भयो । काठको पाटीमा रातो माटो छरेर धुलौटेमा लेख्थ्यौं । आफूले लेखिसक्न लाग्दा छेऊमा बसेको साथीको कुहिनोले ठोक्किन्थ्यो । लेखेको सबै मेटिन्थ्यो । उसलाई ड्याम्म पिट्यो । फेरि लेख्यो । हामी पढ्ने त कोठाबाहिर बसेर हो । हामीलाई पढाउने सरहरू पनि ८/९ सम्म पढेकामात्र हुनुहुन्थ्यो । स्कुलछेउमा छातेढुंगो थियो । कहिले त्यहाँ त कहिले चिहान भएका ठाउँमा बसेर पढ्थ्यौं । डर लाग्दैनथ्यो । छातेढुंगोछेउमा गएर तालि बजाउँदा ‘इको’ (प्रतिध्वनि) हुन्थ्यो । खुब रमाइलो लाग्थ्यो ।
घरबाट स्कुल पुग्न आधा घण्टा लाग्थ्यो । छिटो हुँदा वन र करेसाछेउमा कटुस, ऐंसेलु हुन्थ्यो । त्यो खान पाइन्थ्यो । घरमा खाजा भनेको भुटेको मकै हुन्थ्यो ।
दाजुहरू बाठा थिए । मेरा हातमा मसी लगाईदिन्थे र उनीहरूका सबै किताब बोकाउँथे । मसी लगाएपछि देख्नेले मलाई खुब पढन्त ठान्थें । म भरिया हुन्थे ।
घरमा ग्रामोफोन थियो । बुबाले दम दिएपछि गीत बज्थ्यो । म दुई वर्षको हुँदा नै गीतमा मच्चीमच्ची हल्लिन्थे भनेर आमाले सुनाउनुहुन्थ्यो । त्यसबेला ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो…’ भन्ने गीत बजाएको याद छ ।
पहाडपछि २०२२ सालमा हामी झापा आयौं । बुधबारेमा सिमलका बडेमान रुख हुन्थे । ती रुख सबै सलाई बनाउन काटेर लान्थे । स्कुल बुद्ध आदर्श मावि जान हिड्नुपर्थ्यो । जंगलको बाटो बिर्सेर कहिले त होक्सेको स्कुल पुगिन्थ्यो ।
जंगलामुलुक थियो । औलो लागिहाल्थ्यो । बिहान स्कुल ठिकै गएको फर्कदा औलो लिएर आउँथ्यो । घरमा ‘क्वीनाइन’ नामको औषधी राखेको हुन्थ्यो ।
म सानोमा गुच्चा खेल्थे । खोपी पनि खुब खेल्थे । लुकीलुकी तास खेल्थें । सुकामा साना खालका एक सेट तास पाइन्थे । सिमलको रुखमुनि गयो । खेल्यो ।
साथीहरू दलबहादुर रोका, राम वली, विष्णु शिवाकोटी, भक्तबहादुर खपाङ्गी आदि थिए । सरहरू पुरुषोत्तम सिग्देल, हेड सर देवमणि ढकाल, एकराज अधिकारी, कृष्णकुमारी गौतम म्याडम हुनुहुन्थ्यो । म्याडमले त्यहि पढाउँदापढाउँदै बिहा गर्नुभयो । हामीले म्याडमको बिहेभोज खायौं । मलाई चाडपर्वमा तिहार राम्रो लाग्थ्यो । देउसी खेल्न पाइने, डाइस खेल्न पाइने अनि पैसा पाइने भएर पनि होला ।
झापाका विभिन्न ठाउँमा मेला लाग्छन् । मेला खुब घुमिन्थ्यो । रातरातभर मेला घुम्थें । घरमा त कराउनुहुन्थ्यो । गृहकार्य बुझाउँदिनथें । सजाय पनि धेरै पाएँ । कक्षा चाहिं कहिले पनि छाड्दिनथें । ध्यान दिएर सुन्थें । सुनेकैभरमा पास हुन्थें । फेल त भइँन । कक्षामा पाँचौं वा छैटौं भन्दा तल पनि झरिन । सरहरू भन्नुहुन्थ्यो, ‘ए पढ न है पढ । नपढी पास हुन्छस् । पढे अझ राम्रो ।’
कक्षा ९/१० मा हुँदा छुकछुके थिएँ । स्कुलमै पढ्ने कृष्णकुमारी धौरालीलाई ढुंगाले ट्वाक्क हिर्काएँ । त्यसदिन हेडसर ढकाल हुनुहुन्नथ्यो । निमित्त हेडसर सिग्देल सर हुनुहुन्थ्यो । कपालमा समातेर अफिसमा लानुभयो । टिका पोख्रेल सरले भन्नुभयो, ‘यस्ता फटाहालाई किन ल्याएको ?’ त्यसपछि त मलाई छाडियो । भोलिपल्ट हेडसर आउनुभयो । उहाँले सखुवाको चारपाटे लौरो लिनुभयो । मैले भनें, ‘हानेर त हेर्नु । तपाईंले बिए पास गरेर हेडसर हुनुभएको होइन । अबका चार वर्षमा म पनि बिए पास गरेर म हेडमास्टर भएर देखाउँछु ।’ यसो भनेपछि सरलाई चुनौति भयो । त्यसदिन साँझ मभन्दा पहिले सर हाम्रो घर पुग्नुभएछ । मलाई डर लाग्यो । तर उहाँले भन्नुभयो, ‘यत्रो वर्षमा मलाई चुनौति दिने एउटा विद्यार्थी फेला पर्‍यो । मलाई खुसी लागेको छ ।’
यसरी मेरो बाल्यकाल बित्यो । धेरै सम्झना छन् ।
हामी चौध जना छोराछोरीमध्ये मैलेमात्र अलि बढी पढ्ने मौका पाएँ । त्यसैले पढ्ने बानीलाई निरन्तरता दिनुपर्छ । सधैं पढिरहनुपर्छ । नपढी ठूलो मान्छे बन्न सकिदैन । किताबै सिरानी लगाएर बाँच्नुपर्छ । असल मान्छे बन्नुपर्छ । ठूलोभन्दा असल भएको ठिक हो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ मंसिर २८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<