डा. केदारनाथ श्रेष्ठ सानो छँदा

सिस्नुपानी झ्याम्म

डा. केदारनाथ श्रेष्ठ शिक्षाविद् हुनुहुन्छ । उहाँले शिक्षाक्षेत्रमा निकै लामो समय काम गर्नुभएको छ । सबै कामका बारेमा लेख्दा निकै लामो विवरण बन्छ । शिक्षाकै क्षेत्रमा काम गर्दा उहाँ विश्वका धेरै देश जानुभएको छ । शिक्षाका विषयमा विभिन्न पुस्तक, लेख लेखेका श्रेष्ठले मुलुकका शिक्षाका सबै खाले निकायमा काम गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा उहाँका धेरै विद्यार्थी छन् । श्रेष्ठको जन्म १९९२ साल भदौमा पाटनको तापाहिटीमा भएको हो । उहाँका पिताको नाम कञ्चनलाल र माताको नाम सुवर्णकुमारी हो । उहाँकी एक दिदी मात्र जन्मनुभएको थियो । उहाँले अमेरिकाबाट एमए र पिएचडी गर्नुभएको हो । देश तथा विदेशमा विभिन्न सम्मान पाएका डा. श्रेष्ठ सानो छँदाका केही सम्झना :
मलाई घरमा आएर एकजना बाजेले पढाउनुहुन्थ्यो । अलिपछि स्थानिय गणेश नामका गुरुले पढाउनुभयो । उहाँ टोलका नानीहरू भेला पारेर पढाउनुहुन्थ्यो । उहाँले बाह्रखरी सिकाउनुभयो । २/४ जना शिक्षकले इखालुखुमा एउटा प्राइभेट स्कुल खाल्नुभएको थियो । त्यहाँ पढेपछि राम्रो स्कुलमा जान सक्ने हुन सकिन्थ्यो । त्यहाँ मैले २/३ कक्षा पढें । पाटन हाइस्कुलको कुन कक्षामा भर्ना लिनुपर्ने हो त्यहिअनुसारको तयारी गराइन्थ्यो । म पाटन हाइस्कुलको कक्षा ४ मा भर्ना हुन सक्ने भएँ । क्या मज्जा भयो ।
पाटन हाइस्कुलमा २, ३ र ४ कक्षामा एउटै किताब पढाइन्थ्यो । मैले ‘फर्स्ट बुक अफ रिडिङ’ नामको किताब पढें । यो २००२ सालतिरको कुरा हो । अरु किताब थिएनन् । कक्षा ५ मा पुग्दा नेपाली भाषा प्रकाशिनीले नेपालमै बनाएको ठूलो वर्णमाला आयो ।
मैले पाटन हाइस्कुलबाटै एसएलसी दिएँ । हाम्रो एसएलसी २००७ सालको थियो । सेकेन्ड डिभिजनमा पास गरें । त्यसबेला आठ वटा विषय थिए । राणाहरूको समयमा भएको एसएलसीमा किचलो भएको थियो ।
हामीलाई इन्द्रनाथ अर्यालले म्याथ पढाउनुहुन्थ्यो । हेडसर लोकमानसिंहले भूगोल र ललितबहादुर सरले अंग्रेजी पढाउनुहुन्थ्यो । हरेक विद्यार्थी पास हुने गरी पढाउने सर हुनुहुन्थ्यो । हरेक विद्यार्थीले वर्षभरको कापी दुरुस्त राख्नुपर्थ्यो ।
त्यसबेलाका मेरा साथीहरू डा. खगेन्द्रबहादुर श्रेष्ठ, वकिल कालीराज जोशी, स्वास्थ्यकर्मी लक्ष्मीनारायण प्रधान हुन् । जुद्ध शमशेरको छोरासमेत त्यहि स्कुलमा पढ्थे ।
स्कुल घरबाट नजिकै थियो । ३ मिनेटमा पुगिन्थ्यो । स्कुलमा घन्टि बजेको सुनेपछि दौडदै जाँदा पनि पुगिन्थ्यो ।
सानो छँदा जुत्ता लगाउनु परेन । थोरै किताब कापी हुन्थे । म स्कुल पढ्दा साधारण खालको विद्यार्थी हुँ । कक्षा ९ मा सेकेन्ड भएँ । त्यो पनि सेकेन्ड हुने साथी बिरामी परेकाले म सेकेन्ड भएको हुँ । नत्र सधैं त्योभन्दा तलै रहन्थे । फेल त कहिल्यै भइँन ।
टोलमा सानातिना खेल खेलियो । डन्डीबियो खेलियो । स्कुलमा बल खेलियो । स्कुलमा फुटबल, हकि पनि थियो । दरबार हाइस्कुलपछिको स्कुल भएकाले खेलकुद सामग्री ल्याइएको हो । राणाहरूकै पालामा ती सामग्री ल्याइएका हुन् ।
मलाई सानोमा दशैं मनपर्थ्यो । किनभने त्यसबेला चंगा उडाउन पाइन्थ्यो । छानामा बस्यो चंगा उडायो । पाटनको कात्तिकनाच महिनाभर हुन्थ्यो । नाच सिकाउने गुरुकै घरमा गएर बसेर महिनाभर नाच हेरिन्थ्यो । आहा, कति आनन्द ।
खानेकुरामा अण्डा मनपर्थ्यो । अण्डा निकै राम्रो खाना मानिथ्यो । जाँचमा त आमाले खुवाउनुहुन्थ्यो । दिमाग तेज हुन्छ भनेर खुवाइन्थ्यो ।
स्कुलमा सजाय दिने चलन थियो । स्कुलबाट भाग्यो भने सिस्नुपानी समाउन लगाइन्थ्यो । अरुले जानु हुँदैन भनेको ठाउँमा जाँदा मैले पनि ४/५ जना साथीसहित एकपटक सिस्नुपानी समाउनु परेको थियो । सबैका बारेमा शिक्षकलाई थाहा हुन्थ्यो । बाटोमा बाबुलाई भेटे, ‘तिम्रो छोरो स्कुल आएन है’ भन्नुहुन्थ्यो । एक-एकको ख्याल हुन्थ्यो । हामी भने समूह बनाएर झगडा पनि गर्थ्यौं ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ मंसिर १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<