एकनारायण गुरुङ सानो छँदा

चाँदी मुन्द्रे

क्याप्टेन एकनारायण गुरुङ समाजसेवी हुनुहुन्छ । उहाँले ब्रिटिस सेनामा २७ वर्ष बिताएपछि देश फर्केर गुरुङ समुदायको विकासका लागि काम गर्नुभएको छ । पोखरास्थित गोर्खा स्मृति संग्रहालय स्थापना गर्न धेरै काम गर्नुभएको छ । बेलायतको उच्च सम्मान भिक्टोरिया क्रस पाउने वीर नेपालीको अभिनन्दन तथा सम्मान कार्यक्रम गर्न उहाँ अगुवा हुनुहुन्थ्यो । एकनारायणको जन्म २००४ मंसिर १६ गते पर्वत जिल्लाको दुर्लु देउरालीमा भएको हो । उहाँका पिताको नाम हवल्दार मुखिया कुलबहादुर र माताको धनलक्ष्मी हो । उहाँहरू ३ दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । उहाँ जेठो हो । उहाँ गुरुङ (तमु) बौद्ध सेवा समिति, तमु छोंज धीं स्थापना गर्ने अगुवामध्ये हुनुहुन्थ्यो । उहाँले थुप्रै देश भ्रमण गर्नुभएको छ । बेलायती सेनाबाट फर्केपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युगान्डा (अफ्रीकाको देश) गई शान्ति स्थापनामा काम गर्नुभएको छ । देश तथा विदेशमा विभिन्न सम्मान पाएका गुरुङ सानो छँदाका केही सम्झना :
मभन्दा पहिले तीन दाजुहरू जन्मेर सानैमा बितेछन् । त्यसैले मलाई घरमा ‘काहिंला’ भनेर बोलाइन्थ्यो । बुबाले पहिले भारतीय सेना र पछि भारत स्वतन्त्र भएपछि बेलायती सेनामा काम गर्नुभयो । उहाँ बालबालिकालाई पढाउनुपर्छ भन्नुहुन्थ्यो । बुबाले गाउँमा एकजना ‘तेस्रा बाटे’ नामका गुरूलाई ल्याउनुभयो । हाम्रै घरमा राख्नुभयो । सुरुमा भाई र मैले मात्र पढ्यौं ।
हामीले काठको पाटीमा धुलो छर्केर त्यसमा लेखिन्थ्यो । ‘ठूलो वर्णमाला’ बाट क ख सिकियो । अक्षर चिनेपछि ध्वाँसो दलेर खरीढुंगाले लेखिन्थ्यो । हात बसेपछि कटुसको कलिलो पात ल्याएर पकाउँथ्यौं । त्यसबाट मसी बन्थ्यो । निगालोको सुइरो बनाएर लेख्थ्यौं । नेपाली ताउ कागजमा लेख्थ्यौं । गुरुले दुर्गा कवच, श्लोक, दृष्टिबन्धकी, भोगबन्धकी, कपाली, राजीनामा तमसुक लेख्न सिकाउनु भयो । त्यति जान्नु ठूलै कुरा हुन्थ्यो ।
घरमा भैंसी, खसी, बनेलको मासु खाइन्थ्यो । हल गोरु, दुईटा भैंसी, बाख्रा पालेका थिए । गोठाला जानुपर्थ्यो । थुमाचौर (पोखरी) मा गोठाला जाँदा अकबरे कामी, बौलाहा कामी, सेते सुनार, बलेली ठूला, गौसुमा घर्ती, तनितले ठूली मेरा साथी हुन्थे ।
भैंसी हेर्न जाँदा आहालमा पौडी खेलिन्थ्यो । रुखबाट पानीमा हामफाल्यो । ढुंगामा बसेर शरीरलाई न्यानो बनायो । भैंसीको आहाल फोहोर हुन्थ्यो । घर आएर नुहाउनु पर्थ्यो ।
नुन किन्न बटौली (बुटवल) र मुस्ताङ (भोटछेउ) जानुपर्थ्यो । भोटेनुन हुन्थ्यो । कुश्मा, बागलुङ बजार हाम्रो मुख्य बजार थियो ।
टोपी, चाँदीको मुन्द्रा, दौरा लगाउँथ्यौं । डण्डीबीयो र भैंसीको पानीपोकोको भकुन्डो खेल्थ्यौं । जाडोमा गाउँमा कुखुरा मर्थे । छानीछानी राम्रा चाहिं लग्यो र बाख्रा हेर्न जाँदा पोलेर खान्थ्यौं । ती कुखुरा रोगाएर मरेका वा अरु केही भएर थाहा हुँदैनथ्यो । गुइठा, उन्यु र उखुको लाँक्रा पड्काउँथ्यौं ।
दशैं, तिहार, माघेसंक्रान्ति, ल्होसार मनाइन्थ्यो । तिहारको भागले ‘स्यो केईं’ जान्थ्यौं । ‘स्यो केईं’ वनभोजजस्तै हो ।
एकपटक ऐंसेलुको काँडाबाट बाख्रा जोगाउँदा म लडें । हात मर्क्यो । साथीहरूले बाख्रा ल्याइदिए । हातमा घोडताप्रे पिसेर काम्रो बनाएर एक महिना बाँधियो । निको भयो । हात मर्केपछि सबै लाहुरे हुन नपाउने भयो भन्थे म भगवानलाई पुकार्थे ।
चौध वर्ष नपुग्दै म ब्रिटिस ब्वायमा भर्ती भएँ । त्यहाँ ३ वर्ष तालिम र पढ्ने काम भयो । आर्मी फर्स्ट क्लास गरें । त्यो एसएलसी बराबर हो । मलाई युद्धमा भन्दा पनि शिक्षाको काम जिम्मा दिइयो । ७ वर्ष त शिक्षक भएँ । पछि कार्यालयका काम हेर्थें । त्यहाँ युवक हुँदै गएँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ कात्तिक २९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<