अय्या ! डङ्की स्टिक
हिक्मतबहादुर माली व्यवसायी हुनुहुन्छ । उहाँले धेरै वर्षदेखि राजधानीमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आउनुभएको छ । कालीमाटीस्थित माली आयल स्टोर्सका मालिक हुनुहुन्छ । उहाँ नेपाल-रसिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज, नेपाल-जापान ट्रेड एन्ड इकोनोमिक फोरम र नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसनका अध्यक्ष हुनुहुन्छ । उहाँले ‘हिमाली’ नामक लुब्रीकेन्टस् बजारमा ल्याउनुभएको छ । मालीको जन्म २००९ सालमा कालीमाटीमा भएको हो । उहाँका पिताको नाम रामबहादुर र माताको नाम हरिप्रीया हो । हिक्मतकी एक बहिनी हुनुहुन्छ । ‘एमबीए’सम्म पढेका माली विश्वमा २० भन्दा बढी देशको यात्रा गर्नुभएको छ । उहाँले व्यवसायसम्बन्धी विभिन्न विदेशी कार्यक्रममा सहभागी हुने मौका पाउनुभएको छ । मालीले गाएका भजन, आधुनिक, नेवारी गरी करिब दुई दर्जन गीत रेकर्ड छन् । यसपटक माली सानो छँदाका केही सम्झना :
सानोमा मलाई ‘बाबु’ वा ‘बाबुचा’ भनेर बोलाएको याद छ ।
बल्खुबाट गुरु ‘छविलाल लुइँटेल’ पढाउनु आउनुहुन्थ्यो । गुरुलाई ‘डाँखा खुसी बाजे’ भनिन्थ्यो । उहाँसँग डर लाग्थ्यो । कक्षा १ त घरमै पढें । मेरो काका चुन्नेबहादुरले पनि अलिअलि पढाउनुभयो । उहाँले भने एबिसिडि पढाउनुभयो ।
कक्षा २ मा भने कालीमाटीकै जनप्रभात स्कुल गएँ । त्यहाँ २ महिनामात्र पढें । त्यसपछि राम्रो शिक्षा पाउने भन्दै मलाई जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा लगियो । अझ फुटबल खेल्न पाइन्छ भन्ने लोभ देखाएर त्यो स्कुल लगिएको हो । त्यहाँ स्ट्यान्डर्ड १ मा राखियो । त्यसपछि त्यहि स्कुलको होस्टलमा बसेर कक्षा १० सम्म पढियो । स्ट्यान्डर्ड १ मा पढ्दा उपेन्द्र शमशेर र अशोक तुलाधर साथि थिए । हामी धेरै मिल्थ्यौं । उपेन्द्रले केजीदेखि नै त्यहिं पढेकाले उसको अंग्रेजी राम्रो थियो । मलाई उसले नै अंग्रेजी सिकायो । ३ महिनामा अंग्रेजी जान्ने भएँ ।
त्यहाँ दसैं, तिहार, इस्टर होलिडे (वैशाखमा ७ दिन), गर्मी र जाडो बिदा हुन्थ्यो । घर आइन्थ्यो । घर आउँदा घरै रमाइलो र होस्टलमा बस्दा उतै रमाइलो हुन्थ्यो ।
घर आउँदा र कक्षा २ सम्म हुँदा पाङ्ग्रा गुडाउँदै स्वयम्भू पुगिन्थ्यो । त्यहाँ बाँदरले लखेट्थ्यो । मनमति खोलामा पुगेर खेल्थ्यौं । त्यो खोलालाई करखुसी पनि भनिन्थ्यो । त्यो खोला एक्कासी बाढी आउँछ भनिन्थ्यो । त्यसले आमा डराउनुहुन्थ्यो ।
मलाई ‘इंग्लिस लिटरेचर’ र नेपाली विषय मनपर्थ्यो । नेपाली पढाउने खनाल सर हुनुहुन्थ्यो । होमवर्क अनिवार्य हुन्थ्यो । गर्नैपर्थ्यो ।
नेपाली बोल्न पाइन्नथ्यो । फादर डाउनिङले पिट्नुहुन्थ्यो । उहाँले ‘डङ्की स्टिक’ ले पिट्नुहुन्थ्यो । अनुशासन तोड्यो भने चुपचाप रोल नम्बर टिपेर लगिन्थ्यो र पछि पिटाई खानुपर्थ्यो । मैले दुई पटक ‘डङ्की स्टिक’ ले पिटाई खाएको छु । एकपटक नदौडनु भनेको ठाउँमा दौड्दा र अर्कोपटक बढी बोलेको भनेर पिटाई खाएँ ।
हाम्रा धेरै शिक्षक गोरा हुनुहुन्थ्यो । केही दक्षिण भारतका र एकदमै कम नेपाली शिक्षक हुनुहुन्थ्यो ।
होस्टलको खाना नराम्रो थियो । बाहिरबाट लगेर खान पाइन्नथ्यो । किरा परेको भात हुन्थ्यो । किरा जति छुट्यायो । थालले छोप्यो र आँखा चिम्लेर खपाखप खायो । घरमै बरु धेरै मीठो खान पाउने हो ।
हामी स्कुलभरमा २ सय २० जना थियौं । कक्षामा बढीमा ४० जना हुन्थे । पुरानो दरबारमा स्कुल भएकाले भूत आउँछ भन्थे । केको आउनु नि, त्यसै डर देखाएका ।
मैले एसएलसीको ठाउँमा सिनियर क्याम्ब्रिज परीक्षा दिएको हुँ । त्यो २०२६ सालको कुरा हो । मैले सेकेन्ड डिभिजनमा पास गरें । सिनियर क्याम्ब्रिज पास भएपछि आइएको दोस्रो वर्ष पढ्न पाइन्थ्यो । मेरो पढाई ठिकै थियो । तर बढी खेलकुदमा लागेर सिनियर क्याम्ब्रिजमा सोचेजस्तो भएन । म फुटबल अलि राम्रो खेल्थें । समय तोकिएको हुन्थ्यो । गोरा शिक्षक नै हामीलाई खेल सिकाउनुहुन्थ्यो ।
मेरा कक्षाका साथिमा कुन्दा दीक्षित, प्रदीपमानसिंह, नन्द थापा आदि हुन् । प्रकाशमानसिंह, कनकमणि दीक्षित अलि पछिका हुन् ।
म गीत गाउँथे । गोपाल योञ्जनले सिकाउनुहुन्थ्यो । कर्माचार्य सरले पनि गीत सिकाउनुभएको थियो ।
कक्षा ५ देखि ९ सम्म गोदावरीको स्कुलमा बसियो । त्यहाँ बिजुली थिएन । एउटा खिरखिर गर्ने जेनेरेटर थियो ।
यसरी होस्टलमै बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ कात्तिक १५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)