खुकुरीले झण्डै..
शकुन्तला शर्मा चर्चित नाटक-निर्देशक हुनुहुन्छ । उहाँले २०२६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा कलाकारका रुपमा काम गर्न थाल्नुभएको हो । शर्माले अभिनय गरेका नाटकको संख्या त धेरै छ । यसबीचमा उहाँले ‘बदलिंदो आकाश’, ‘वासुदेव’, ‘चेलिबेटी’, ‘सिन्दुर’, ‘सन्तान थरिथरिका’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँको जन्म २००८ मंसिरमा काठमाडौंको लाजिम्पाटमा भएको हो । उहाँका पिताको नाम आसमान गुरुङ र माताको नाम माधवी गुरुङ हो । उहाँका एक दाजु, एक दिदी र एक बहिनी जन्मनुभएको हो । शकुन्तला माहिली छोरी हो । उहाँले रेडियो नेपालबाट प्रसारण हुने धेरै रुपक (रेडियो नाटक) मा काम गर्नुभएको छ । नाटकको बोलीका कारण उहाँ धेरै स्रोताकी प्रिय पात्र बन्नुभएको थियो । शर्माले एकल, समूह र युगल (दुईजना) मा गाएका धेरै गीत पनि रेकर्ड भएका छन् । उहाँले प्रज्ञामा ४० वर्ष बिताइसक्नुभएको छ । नाटकका क्षेत्रमा राम्रो काम गरेकै कारण विभिन्न सम्मान पाएकी शर्मा सानो छँदाका केही सम्झना :
मेरो बुबा भारतीय सेनामा लाहुरे हुनुहुन्थ्यो । त्यसैले अरु घरका छोरी नपढे पनि हाम्रो घरमा छोरीलाई पढाउन छेकथुन थिएन । मलाई दाजु एलबी गुरुङले पढाउनुभयो । उहाँ नै मेरो पहिलो गुरु हो । म लाजिम्पाटकै वंशोदय विद्यालयमा पढ्न जान थालें ।
म एघार वर्षको भएपछि दाजुका साथी जगतमर्दन थापाले ‘बहिनीलाई नाटकमा खेलाउने होइन ?’ भनेर दाजुलाई भनेपछि म नाटक खेल्न गएँ । त्यसबेला ‘पलाँसको फूल’ नाटकमा अभिनय गरें । त्यो मेरो पहिलो नाटक थियो ।
त्यसपछि त पढाईभन्दा नाटकको नशा लाग्यो । स्कुल जान्छु भनेर घरबाट हिड्यो । जति धेरै किताब बोक्यो, त्यति पढन्ते देखाउन टन्न किताब बोकिन्थ्यो । बाटोमा पुगेर लुकाएर लगेको झोलामा किताब हाल्यो । झाडिमा झोला लुकायो । नाटक खेल्न, नभए हेर्न गयो । स्कुल छुट्ने बेलामा फर्क्यो । झोला लियो र घर पुग्यो ।
नाटक नहुँदा स्कुल गयो । वंशोदयपछि बालकुमारी विद्यालयमा पुगें । म कक्षा १० मा एकपटक दाजु स्कुल जानुभएछ । म स्कुलमा नियमित नभएको थाहा पाएपछि २/४ झापटसमेत लगाउनुभएको छ । अनि त घर छाडेर हिंडे रातीराती फर्कन थालें । उहाँलाई नपढेकोमा चित्त दुखेको थियो ।
म मीठो गाउने भएकाले सरहरूले भने माया गर्नुहुन्थ्यो । ‘ए आइज’, ‘ए बस’ भन्नुहुन्थ्यो ।
नाटकमा लाग्दा कहिलेकाहिं राती ८/९ बज्थ्यो । केटाहरू पनि पुर्याउन जान्थे । छरछिमेकी कुरा काट्थें । एकपटक राती घर पुग्दा कसैले ढोका खोलेन । भोक लागेको थियो । डर पनि लागिरहेको थियो । जाडो थियो । मैले ढुंगा टिपेर झ्यालको सिसा फुटाएँ । घरभित्र छिरे । भर्याङ चढेर माथिल्लो तलामा जानुपर्थ्यो । भर्याङ सकिनेबित्तिकै दाजुको कोठा थियो । दाजुले चाहिं चोर पस्यो भनेर खुकुरी लिएर बस्नुभएको छ । उहाँले खुकुरी हान्दा म छलिएर मात्र बाँचे ।
नाटकको नशा कडा लाग्दै गयो । २०३१/३२ मा एसएलसी दिने समय आयो । मेरा दुईटा पेपर दिनुपर्ने थियो । विजय मल्ल गाडी लिएर आउनु भयो र भन्नुभयो, ‘तिमीजस्तो राष्ट्रको गहनाले किन पढ्ने ?’ म पनि ठूलै भएँछु भनेर गएँ । यसपछि पढाई पनि त्यत्ति अघि बढेन ।
दाजुको निधन भयो । गुरुङ समुदायमा दाजुको काजक्रिया १३ दिन बारिन्छ । म त्यसबेलामा समेत नाटकमा काम गर्न गएँ ।
म एकलकाँटे स्वभावकी हुँ । भवानी, मीना आदि मेरा साथी थिए । मीना पनि लाहुरेकी छोरी थिइन । उनी आफ्ना बुबासँग धेरै देश पुगेकी थिइन । उनी केटाको जस्तो सर्ट, पेन्ट, जुत्ता लगाएर हिड्थिन । उनीजस्ता केटी शहरमा देखिंदैनथे । अझ उनी त कपाल पनि केटाको जस्तो काट्थिन । पातली, कालीकाली पनि थिइन ।
म त्यसबेला १४ वर्षकी थिएँ । एकदिन बिहानै मीना मेरो घरमा आइन । मेरो कोठामा पसेर ‘म पनि सुतें’ भनेर सुतिन् । म सात नबजी उठ्दिनथें । सात बजेपछि चिया लिएर आमा आउनुभयो । चिया राख्दा त एउटा लोग्नेमान्छे मसँग सुतेको देख्नुभयो । आमालाई भयंकर रिस उठेछ । उहाँले मीनालाई सर्टमा समातेर फुत्त फ्याँक्नुभयो । यति हुँदा घरका सबै भेला भए । उता पछारिएको तोडमा मीना दुई/तीन मिनेट बोल्नै नसक्ने भइन । त्यसपछि उनले लुगा खोलेर म केटी नै हुँ भनेपछि आमाले पत्याउनुभयो ।
यसरी नाटक-नाटक भन्दाभन्दै धेरै समय यतै बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असोज २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)