बुबाको गुनगुन
ज्ञानु राणा प्रतिष्ठित गायिका हुनुहुन्छ । उहाँले एक हजार चार सयभन्दा बढी गीत गाउनुभएको छ । ती गीतमध्ये राणाले करिब ४ सय भजन र एक दर्जन जति बालगीत गाउनुभएको छ । उहाँको जन्म २००६ कात्तिक ३ मा काठमाडौंको ठमेलमा भएको हो । उहाँका पिता जनकविकेशरी धर्मराज थापा हुनुहुन्छ । माता सावित्री हुनुहुन्छ । उहाँले गायिका रूपमा चीन, जापान, दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, ताइवान, बर्मा, तत्कालिन सोभियत संघको भ्रमण गर्नुभएको छ । इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, संगीत महाविद्यालय प्रथम पुरस्कार आदि पाउनुभएको छ । संगीतमा स्नातक राणा सानो छँदाका सम्झना :
म ठमेलमा जन्में । त्यो त त्यसबेला खेल्ने ठाउँजस्तो रमाइलो थियो । गाउँभन्दा फरक थिएन । हाम्रो घर थिएन । बुबाले हामीलाई डेरा लिएर राख्नुभएको थियो ।
बुबाको उत्तिको कमाइ थिएन । गीत लेख्नुहुन्थ्यो । साना पर्चा बनाउनुहुन्थ्यो । किताब बनाउनुहुन्थ्यो र रत्नपार्कको खरिको बोटमा तीनै गीत गाउनुहुन्थ्यो । मान्छे झुम्मिन्थे । बुबा पर्चा, किताब बेच्नुहुन्थ्यो । त्यहि पैसाले हाम्रो गुजारा हुन्थ्यो । म दुई वर्षकी भएपछि बुबाले परिवार पोखरा, बाटुलेचौर लानुभयो ।
म तीन वर्षको भएपछि पोखरामा पढ्न थाले । तर त्यसको दुई वर्षपछि बुबाले परिवार फेरि काठमाडौं ल्याउनुभयो । हामी ठमेलमा त्यहि घरमा आएर बस्यौं । डोकोमा हालेर म र भाईलाई बोकिएको थियो । काठमाडौं ल्याउन ३/४ दिन लागेको थियो । डोकोबाट उतारेर ‘उठ उठ हिंड’ भनेको मलाई याद छ ।
म सानोमा ज्ञानी थिए । आमा धेरैबेर कोठा छाडेर हिंड्दा पनि चुपचाप बसेको देखेर घरधनी आमाले मलाई ‘कस्तो ज्ञानी बच्चा रहेछ ?’ भनेपछि मेरो नाम ज्ञानु भएको हो । मेरो खासनाम त ‘योगमाया’ हो । एकपटक मैले खाना पोखें । ‘तैंले खाना पोखिस अब तलाई भुँईमा दिन्छु,’ आमाले भन्नुभयो । मैले भुँईमा दिएको खाना खाएँ । सानोमा मेरो एउटा कचौरा थियो । त्यसमा बाहेक अरु केहीमा पनि म खाना खान्न थिएँ । यस्तै शान्त स्वभाव भएकाले नामै ज्ञानु रह्यो ।
ठमेलमा बस्दा नेवार समुदायका धेरै साथी थिए । नाम त मलाई याद छैन । म पनि नेपाल भाषा (नेवार समुदायको भाषा) जान्दथे । साथीका आमाले ‘थनवा ज्ञानु’ भनेको याद छ ।
पोखराबाट फर्केपछि म डिल्लीबजारको पद्मकन्या कन्या स्कुलमा कक्षा २ मा पढ्न थालें । ठमेलबाट हिंडेर जान्थें । त्यसको २ वर्षपछि डिल्लीबजार नै सर्यौं । हाम्रो कोठा अंगुरबाबा जोशीको घरमा थियो ।
एकपटक बुबाले ‘तिमीहरूलाई मिठाई ख्वाउँछु’ भन्नुभयो । बुबासँग पैसा त थिएन, कसरी ख्वाउनुहुन्छजस्तो लाग्यो । उहाँले ‘मेरो नेपाल भ्रमण’ शिर्षकको पुस्तक लेख्नुभएको थियो । त्यहि किताब इन्द्रचोकको एउटा मिठाई पसलमा दिएर हामीलाई मिठाइ ख्वाउनुभयो । म त्यसबेला १३/१४ वर्षकी थिएँ ।
पद्मकन्या पढ्दा निर्मला दाहाल मेरी सबैभन्दा मिल्ने साथी थिइन । शान्ता रायमाझि र उमा कटुवाल मेरा साह्रै नजिकका साथी थिए । सरहरू सबै सम्झन्न । टोपी, दौरा, सुरुवाल सबै कालो कपडाको लगाउने हेडसर हुनुहुन्थ्यो । सतिशचन्द्र रेग्मीले सितार र बच्चु कैलाशले गीत सिकाउनुभयो ।
छोरीहरू घरबाहिर खेल्न जाँदैनथ्यौं । भाइहरू बाहिरको खेल खेल्न मन पराउँथे । म भने गट्टा खेल्थे । पुतली बनाएर खेल्थे ।
बुबा गीत लेख्ने र गुनगुनाउनाले मलाई प्रभाव पर्यो । अरुलाई सिकाए पनि हामीलाई गाउन सिकाउनु भएन । हामीलाई पढ भन्नुहुन्थ्यो । म कोही नभएका बेला, स्कुल जाँदा गुनगुनाउथे । गुरुसँग संगीत सिक्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । २०१६ मा म रेडियो नेपाल गएँ । त्यहाँ ‘बालबाटिका’ कार्यक्रम हुन्थ्यो । कार्यक्रम खगेन्द्र नेपालीले चलाउनुहुन्थ्यो । बुबाले दुईटा गीत लेखिदिनुभयो । मैले ती गीत गाएँ । जनार्दन सम र बच्चु कैलाशले प्रशंसा गर्नुभयो । ‘मेरो घर जन्मेको …’ गीत त स्वर परीक्षा नदिई नातिकाजीले रेकर्ड गरिदिनुभयो । धेरैको माया र बुबाआमाको आर्शिवादले मैले यो चिनारी पाएकी हुँ ।
गणित साह्रै गाह्रो लाग्थ्यो । संगीतमा ध्यान दिन्थे भने अरुमा ध्यानै दिन्नथे । एसएलसीमा थर्ड डिभिजनमा पास गरें । तर मेहनत गर्दा एक क्षेत्रमा सफल हुन सकिने रहेछ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असोज ४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)