प्रा. शंकरराज पाठक सानो छँदा

चुस्ता लाउने केटो

प्रा. शंकरराज पाठक शिक्षासेवी हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । काठमाडौंको सरस्वती कलेजका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ । पाटन कलेज र वाल्मीकि संस्कृत महाविद्यालयमा पढाउनुभयो । शिक्षाबाहेक सामाजिक सेवा, स्वास्थ्यसेवा, प्रकृति संरक्षण, धार्मिक संस्थाको सुधार, भाषा, विश्वमा नेपालका लागि भएका काम आदिमा पनि उहाँ संलग्न हुनुभयो । पाठकको जन्म १९९० कात्तिक भाइटिकाको भोलिपल्ट काठमाडौंको ठमेलमा भएको हो । उहाँका पिताको नाम पं. पद्मराज र माताको खेमकुमारी हो । उहाँहरू दुई भाई मात्र जन्मनुभएको हो । शंकरराज जेठो छोरा हो । उहाँले अर्थशास्त्रमा एमए गर्नुभएको छ । उहाँले केही पुस्तक र थुप्रै लेख, रचना लेख्नुभएको छ । उहाँले तयार पारेको अंग्रेजी-नेपाली बृहत् शब्दकोष (डिक्स्नरी) निकै चर्चित छ । उक्त डिक्स्नरी तयार पार्न उहाँलाई ९ वर्ष लागेको थियो । यसपटक विश्वका थुप्रै देश भ्रमण गरेका र धेरै मान-सम्मान पाएका शंकरराज सानो छँदाका केही सम्झना :
बुबाले सानैमा बिहे भएको थियो । उहाँ २० वर्षको हुँदा आमाको निधन भयो । बुबा त्यसै बस्नुभएको थियो । उहाँ स्वर्गद्वारी बाबाको चेलो हुनुहुन्थ्यो । बाबाले नै भनेपछि बुबाले ५० वर्षको उमेरमा अर्को विवाह गर्नुभयो । अनिमात्र म जन्मेको हुँ ।
मेरो न्वारानको नाम निलराजमणि हो । मेरा मावली भेट्वाल हुन् ।
बाबाले छोराको व्रतबन्ध सात वर्ष गर्नु भन्नु भएछ । मेरो सातै वर्षमा व्रतबन्ध भयो । म ९ वर्षको हुँदा आमा बित्नुभयो । आमाको काजक्रिया गर्न पाएँ । त्यो एउटा छोराको कर्तव्य हो । म नौ वर्षको हुँदा नै बिहे भयो ।
आमा बितेपछि बुबाकी सानिमाकी छोरी (फुपू) ‘ठूली मैयाँ’ ले मेरो लालनपालन गर्नुभयो । मैले आमा पाएँ । फुपूले आमाको भूमिका निर्वाह गर्नुभयो ।
मैले सुरुमा संस्कृत पढें । मलाई तोयानाथ पाण्डेयले अक्षर चिनाउनुभयो । पाण्डेय, राधानाथ लोहनी हाम्रै घरमा आएर पढाउनुहुन्थ्यो । लोहनी सरका घरमा कहिलेकाही म पनि पढ्न जान्थे । पं. रामचन्द्र रेग्मी र घनश्याम पौडेलका घरमा गएर पढ्थे । सुरुमा कौमुदी, रघुवंश, अमरकोष, रुद्री पढें ।
म १२ वर्षको भएपछि बुबाका चेलाहरूले मलाई किन अंग्रेजी नपढाएको भनें । यो जमानामा पनि संस्कृत पढाएर हुन्छ भनेपछि मैले अंग्रेजी पढ्ने मौका पाएँ । मलाई रामजी उपाध्याय, चित्रबहादुर रायमाझी, बद्रीबहादुर मानन्धर र कीर्तिरत्न वज्राचार्यले अंग्रेजी पढाउनुभयो ।
म एकैपटक जेपी स्कुलमा कक्षा ६ मा भर्ना भएँ । त्यहिंबाट एसएलसी दिएँ । हाम्रो परीक्षाकेन्द्र पनि जेपी स्कुलमा परेको थियो । २००७ सालमा म सेकेन्ड डिभिजनमा पास भएँ ।
स्कुल पढ्दा विवेकबहादुर प्रधान, रामप्रसाद लामिछाने, कुमार ज्ञवाली, ललितमणि दीक्षित, गोविन्दबहादुर प्रधान आदि मेरा साथी थिए ।
एकदिन गोविन्दबहादुर प्रधानले मलाई ‘यहाँ आइज’ भन्दै बोलाए । उनले भने, ‘आज हामीले राणाशासन खत्तम पार्न एउटा काम गर्नुपर्छ ।’ हामी नयाँ सडकको भूगोलपार्क गयौं । उनले चारतारे झण्डा झिके । हामी तीनजना भएर झण्डा निकाल्यौं । हामीलाई प्रहरीले लखेट्यो । म त एउटा जुत्ता छाडेर भागें ।
राणाहरू बुबाका चेला थिए । म भने त्यहाँ राणाविरोधी हुँदा खुब कुरा भयो ।
भारतको कोलकातामा राणाहरूको बसोबास थियो । त्यसैले बुबा त्यता जानुहुन्थ्यो । म बुबासँग बारम्बार जान्थे । एकपटक उहाँबाट फर्कदा मैले दुईटा पेन्ट लिएर आएँ । त्यसबेला पेन्ट लगाउने चलन थिएन । पेन्टलाई ‘चुस्ता’ भनिन्थ्यो । मैले यहाँ पेन्ट लगाएर हिड्दा पाठक बाजेका छोराले चुस्ता लगाएर हिड्यो भन्ने हल्लासमेत भयो ।
टेनिस खेल्ने जुत्ता लगायो भने कांग्रेस भयो भन्थे । म सानोमा फुटबल, ब्याडमिन्टन, टेबुलटेनिस, भलिबल खेल्थें । दशरथ रंगशाला (पहिले सानो टुँडिखेल) मा फुटबल खेलिन्थ्यो । फर्कदा ‘धरहरा माहिला होटल’ मा चप र निम्कि खाइन्थ्यो । प्रशस्त किताब पनि पढ्थें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ साउन २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<