गाम्छामा चामल
मोहनप्रसाद जोशी वरिष्ठ सरोदवादक हुनुहुन्छ । उहाँ कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रीन्सिपल पनि हुनुहुन्छ । उहाँसँग ०१६ देखि ०५० सालसम्म रेडियो नेपालमा काम गरेको अनुभव छ । जोशीको जन्म २००१ चैत २० मा पाटनको न्हूबहालमा भएको हो । उहाँका पिता बिजुलीप्रसाद र माता पद्मकुमारी हुनुहुन्थ्यो । जोशीका एक भाई र एक बहिनी जन्मनुभएको हो । जोशीले भारतको इलाहावादबाट एम म्युज (संगीतमा एमएबराबर) गर्नुभएको छ । उहाँले संगीतयात्रामा नर्वे, जापान, थाइल्यान्ड, हङकङ, भारत आदि मुलुकको भ्रमण गर्नुभएको छ । केही समय ललितकला क्याम्पस, रत्नराज्य क्याम्पस, पद्मकन्या क्याम्पसमा पनि संगीतका कक्षा लिनुभएको छ । सरोदसहित उहाँ सितार, सारंगी, भ्वाइलिन, सहनाई, बासुरी जस्ता एक दर्जनभन्दा बढी वाद्यवादन बजाउनुहुन्छ । अझै पनि आफ्नो घरमा समेत धेरै साना नानीहरुलाई कक्षा लिदै हुनुहुन्छ । यत्तिका धेरै काम गरेका जोशी सानो छँदाका केही सम्झना :
मेरो मामा ज्यानहीः पाटनको कृष्णमन्दिरका पूजारी हुनुहुन्थ्यो । म दुई वर्षको भएपछि मामाले मलाई कृष्णमन्दिर लानुभयो । त्यसपछि त दिनहुँ मन्दिर जाने रुटिन नै बन्यो । मन्दिरमा भजन गाइन्थ्यो । म सानै भए पनि भजन सुन्दो रहेछु । सानोमा ढुंगाको भर्याङ चढेर गएको देख्दा भजन गाउन आएकाहरु छक्क पर्थे रे । आरती गरेको म झनै रमाइलो मान्थें ।
मामा मन्दिर बसे पनि खाना हाम्रो घरमा खानुहुन्थ्यो । उहाँ एक छाक मात्र खानुहुन्थ्यो ।
अलि ठूलो भएको कुरा अलि भिन्न छ । मन्दिरमा चढाएको चामल मलाई दिनुहुन्थ्यो । म गाम्छामा पोको पारेर घर ल्याउँथें । चढाएको पैसा पनि मैले पाउँथे । कृष्णमन्दिरसँगैको शिव मन्दिरले गर्दा झनै रमाइलो हुन्थ्यो । शिवरात्री र कृष्ण-जन्माष्टमीमा त्यहाँ भीड लाग्थ्यो । त्यसबेला त चढाउने पैसा पनि धेरै हुन्थ्यो । म शिवरात्री र कृष्णमन्दिर कहिले आउँला भनेर दिन गनेर बस्थें । त्यसबेला बीचमा प्वाल परेका पैसा हुन्थे । ती दुई पर्वमा १ सय ५० देखि २ सय रुपैयाँसम्म हुन्थ्यो ।
स्कुल जानुअघि र स्कुल सकेपछि म मन्दिरमै हुन्थें । मन्दिरकै वातावरणले मलाई संगीततिर तान्यो ।
मन्दिरमा प्रशस्त परेवा हुन्थे । परेवा हुँदा रमाइलो हुन्थ्यो । तर फोहोर पनि उत्तिकै हुन्थ्यो । परेवाले बिष्ट्याउँथे । मामा मलाई सुकेका बिष्टा बटुल्न लाउनुहुन्थ्यो । एक टिन बिष्टा बटुलेको एक मोहर दिनुहुन्थ्यो ।
मैले पाटनको त्रिपद्म स्कुलमा पढें । पढाई राम्रो थियो । अंग्रेजी बोल्न सक्थें । संगीत बजाएर पढ्थे ।
म १३ वर्षको भएपछि मामाले मलाई संगीतका गुरु गणेशलाल श्रेष्ठकहाँ लानुभयो । उहाँ गाःबहालमा बस्नुहुन्थ्यो । मसँग संगीत सिक्ने कुमारलाल श्रेष्ठ, पन्नाकाजी, हरिप्रसाद रिमाल हुनुहुन्थ्यो । तर म १४ वर्ष पनि लागे, बुबा पनि बित्नुभयो । जेठो छोरा भएकाले परिवारलाई सघाउने काम मैले गर्नुपर्यो । त्यसैबेला रेडियो नेपालमा सरोदवादनको ओहदा खाली भएको थाहा पाएँ । मैले निवेदन दिएँ । लोकसेवाको परीक्षा दिएर नायब सुब्बासरहको जागिर खान थालें ।
जागिर खान बिहान-बेलुका रेडियो नेपाल जाने र दिउँसो स्कुल जान्थे । २०१६ सालमा राजाकहाँ बाजा बजाउन जाने निम्ता आयो । मैले आफैंलाई चिमोटें । पत्यार लागेको थिएन । १५ वर्षको फूच्चेलाई किन बोलाएको होला जस्तो लाग्यो । राजाकहाँ जानु परेकाले राम्रा लुगा लगाउनु पर्ने भयो । मैले कोट लगाएँ । आफूले आफैंलाई हेरेर हाँसे । कसरी जाने होला ? जस्तो लाग्यो ।
गमक्क परेर बसें । सितार र सरोद बजाएर करिब २४ घण्टा दरबारमै बिताएँ । मसँग गुरु कृष्णदत्त मिश्र र गणेशलाल गुरु हुनुहुन्थ्यो ।
युवराज रहँदै वीरेन्द्रको ब्रतवन्धमा बाजा बजाउन जाँदा ४० रुपैयाँ मिलेको थियो । विदेशीहरूलाई सिकाउँदा त झनै धेरै मिल्थ्यो । किनभने रेडियो नेपालको तलब एक सय २५ रुपैयाँमात्र थियो ।
मैले २०१७ सालमा एसएलसी दिएँ । सेकेन्ड डिभिजनमा पास भएँ । मलाई गणित मनपर्ने विषय थियो । सानोमा मलाई फुटबल र स्विमिङ मनपर्थ्यो । कुम्भेश्वरमा पौडिन्थ्यो ।
यसरी नै मेरो बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ साउन १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)